सप्ताहन्त

आखिर तिमी ओठको लाली भयौ

हृदयन्द्रजंग शाही |
मंसिर २८, २०७९ बुधबार ८:२० बजे

- हेल्लो म्याम, कहाँ होइसिन्छ ? 
- घरमा । 
- कतिखेर पुगिस्यो ? 
- भर्खरै । 
थाकेकी हुँदी हो, बोल्नै मन नभए जसरी यत्ति भनी । तर ऊसँग बोलिरहने हुटहुटी व्यग्र थियो । अलि संयम भएर भनेँ, ‘म भेट्न आउन मिल्छ ?’ 
हाँस्दै जवाफ दिई, ‘एपोइन्टमेन्ट छ ?’

मैले पनि हाँस्दै जवाफ दिएँ, ‘आफ्नै मान्छेलाई भेट्न पनि एपोइन्टमेन्ट चाहिन्छ र ?’ 
‘अघि भर्खरै कलेजमा भेटेको होइन ?’
‘हो, तर मलाई भोक लाग्या छ ?’ 
‘क्यान्टिनमा तेत्रो मःम मैले खाएको हो अनि ।’ 
‘अँ, नाइँ तिमीसँग कुरा गरेर भोक मेटिएको छैन के ।’
‘उफ्स ! गफ हान्न त कसले सिकाओस् गफाडी ।’
उसको कुरा खासै वास्ता गरिनँ । आफ्नै जिद्दीमा जोड गरेँ । 
‘भन कहाँ आऊ ?’ 
‘फ्लेभर्समा आऊ न ।’ 


यत्ति भए मलाई के चाहियो । इन ड्राइभ गरेँ । खोइ उसको कस्तो मादकता लागेको थियो । हुरुक्कै भएको थिएँ उसलाई भेटिरहन, देखिरहन, बोलिरहन...।

बाइकमा चिसो हावाले मेरो कपाल उडाइरहेको थियो । यता म र मेरो मन चङ्गा जस्तै उसलाई सम्झिँदै बहलाउँदै थियो । न्यानोपनको आभास भइरहेको थियो । ऊ क्याफे अगाडि मलाई कुर्दै यताउति गरिरहेकी थिई । मलाई देख्नेबित्तिकै मुसुक्क हाँसेर टक्क अडिई । 

नजिकै गएर हग गरेँ अनि बिस्तारै कानमा सुसेरा हालेँ, ‘धेरै कुर्न त परेन नि ।’ 
उसले पनि बडा जोसले हुर्याइदिई मलाई । ‘सातसात जन्म त भन्दिनँ, सास रहुन्जेल जति पनि कुर्न तयार छु ।’ 
अनि ऊ ‘हाहा’ गर्दै हाँस्न थाली । 

मुटु चसक्क दुख्यो । दुख्यो पनि के भनौँ, मुटुमै छेड्यो । भावुक भएछु क्यारे आँसु आउला जस्तै भयो । 

ऊ हाँसिरहेकी थिई । उसका शब्द वाणले घायल भएछु । अन्जानमै जोडले अँगालोमा बेस्सरी कसेँ । ‘ऐय्या दुख्यो । झसङ्ग भएँ,’ अनि हात समातेर क्याफेतिर लाग्यौँ । 

क्याफेमा स्वरसम्राट् नारायण गोपालको गीत फैलिँदै फैलिँदै हाम्रै कानमा आएर ठोक्कियो, ‘केही मीठो बात गर, रात त्यसै ढल्किँदै छ...’ । हामी एक अर्कालाई हेर्दै मीठा बात गुनगुनाउन थाल्यौँ । 

ऊ निधार छोपेको कालो कपाल माथि सार्दै अनि कानभित्र लुकाउँदै मुस्कानको लाली भरेर बोल्थी । कर्के आँखा लगाउँथी । कति कतिखेर गिज्याउँदै मुख बिगार्थी । 

‘अरुसँग भको भए यसरी बस्थेँ ? तिमीसँग ई यसरी बस्छु, हेर,’ पलेँटी कस्दै देखाउँथी ।

बेलाबेलामा एक–दुई घुट्की कफी सुरुप्प पिउँथी अनि उडिरहेको बाफ जस्तै आफ्नै दुनियाँमा उड्थी । चिनी घोलिए जस्तै हराउँथी । म सुटुक्क फोटो खिच्थेँ । 

घुक्र्याउँदै भन्थी, ‘उसलाई त जहिल्यै मलाई भेटेको प्रुफ चाहिन्छ फेरि ।’ 

जिस्किँदै भन्थेँ, ‘बाइ चान्स तिमी भएनौ भने कमसेकम तिम्रा याद त रहन्छन् ।’

कड्किँदै भनी, ‘के गर्छौ ती यादहरूको ?’ छुट्टिने कुरा गरेर माहोल बिगार्न चाहँदैन थिएँ । ‘पोलेर खान्छु’ भन्दिएँ । 

‘ए’ गर्दै ‘यो समात त’ भनेर मोबाइल दिई । अनि ऐना हेर्दै ओठमा लिपस्टिक भर्न थाली । म पनि के कम ?

जिस्किँदै भनेँ, ‘एकैछिनमा मेटि नै हाल्छ, किन लगाउँछ्र्यौ ?’ 

‘तिमीलाई याद चाहिँदैन ?’ मुस्कुराई । 

एउटा कोमल हाँसो देखेँ, उसको ओठमा । समय मस्त भइरहेको थियो । गफमा लठ्ँिठदै थिएँ । कतिखेर सूर्य अस्ताइसकेछ । 
‘ढिला हुन्छ’ भनी । हामी घर फर्कियौं । 

यसरी फाट्टफुट्ट भेटिरहन्थ्यौँ । झन् यस्ता विषयहीन वार्तालाप त कति हो कति ! पहिले पूरै समय साथीहरूसँग बिताउने म पूरै समय ऊसँग बिताउन खोज्थेँ । 
कति साथी त रिसाउँथे । यस्तो बेलामा कन्सिडर गर्नुपर्छ के भन्दै उल्टो सम्झाउँथे ।

घरमा पनि चाँडो चाँडो पाँच मिनेट कुरा गरेर घन्टौँ बेपर्वाह गफिन्थेँ । त्यसपछि साथीहरूसँग टाढिँदै गएँ । अरुको वास्ता लाग्नै छाड्यो । मात्र ऊ भए पुग्थ्यो । 

हुन त सम्बन्ध भन्ने चिज काँक्रोको झाल जस्तै जता आड पायो उतै मौलाउँदै जाने रहेछ । ऊसँगको निकटतामा लहसिएर कता जाँदै थिएँ, पत्तो थिएन । अनि त कतिसँग साथसाथै हिँड्ने पाइलाहरू यही छुटे । मेरा गोडा त सिर्फ ऊसँग मात्रै हिँड्न चाहन्थे । 

एक दिन अचानक मेरो रुममा गमलातिर हेर्दै प्रश्न गरी । गमलामा एउटा मात्रै फूल फुल्ने बोट थियो । त्यो पनि चन्दाले लगनखेलमा किन्देको । खोइ हावापानी के नमिलेर, त्यो पनि मर्याे । त्यसपछि अरु ल्याउन जाँगर चलेको थिएन 

‘तिमी कस्तो उजाडिलो ? एउटै फूल छैन । तिमीलाई फूलहरू मन पर्दैन, हो ?’ 
‘होइन, तिमी हँुदाहुँदै अर्को फूललाई कसरी मन पराउन सक्छु र !’ पूरै 
साहित्यिक पारामा डाइलग मारेँ । 
‘एउटा फूल फुलाउन नसक्नेले आफ्नो हृदयमा मलाई फुलाउन सक्छौ ?’ चिढिँदै बोली ।
‘अहिलेसम्म फूल भेटेको थिइनँ । एकपटक मौका दिएर त हेर पूरै बगँैचा फुलाइदिन्छु,’ उसको आँखाको गहिराइ नाप्दै भनेँ ।
‘ए भनेसि मुटुमा सयथरी फूल फुलाउने भयौ होइन ?’ अझ बढी निहुँ खोज्दै चिढिई । 
फेरि हात समातेर ढाडस दिँदै भनँे, ‘सबै बगैँचामा सयथरी फूल फुल्दैनन् । कहीँ कहीँ गुलाबको मात्रै बगैँचा हुन्छ ।’
घरमा सयपत्रीको मात्रै बगैँचा थियो । 
‘मेरो मनको बगैँचामा तिमी मात्र फुल्नेछ्यौ प्यारी ।’
‘ल भयो भयो,’ ऊ मुसुमुसु हाँसिरहेकी थिई मेरा बकम्फुसे कुरा सुनेर । 

यसरी प्रेममा परेपछि जति नै मच्युर भए पनि आखिरी मूर्खताले नै जित्ने रैछ । जिन्दगीले पनि अनेक रूप देखाउँदो रहेछ । हाँसो, खुसी, पीडा, रोदन सबै देखियो । बिस्तारै हामी विनाकारण, विनाआरोप–प्रत्यारोप आफ्नो मेन्टल पिस बिग्रिन्छ भने नबोली एक्लै ठीक छौँ भन्ने अवस्थामा पुग्यौँ । 

मिलिक्क सपना जस्तो भयो सबै । भुसुक्कै निद्रामा सुते जस्तो । विपनीमा सपना हराए जस्तै ऊ पनि हराई । हुन त मैले फूल न सोचेको थिएँ । ओइलाउनु त जायज थियो । म निराश भएर डायरीमा अक्षर कोर्दै रात बिताउँथेँ । यो स्टोरी पनि त्यही डायरीको एउटा टुक्रा हो । 

रात पर्नेबित्तिकै अँध्यारो पर्दापछाडि ऊ मुस्कुराउँदै हेरिरहेकी छे जस्तो लाग्थ्यो । त्यसपछि त न कसैसँग बोल्न मन लाग्छ । न कसैलाई आफ्नो कुरा सुनाउन । न कसैलाई झट्ट विश्वास गरेर संगत नै गर्न मन लाग्छ । त्यसपछि त म म नै रहिनँ । कोही अर्कै म भएर मभित्र बसेको थियो, सायद । साथीहरू पनि त्यो अर्कैलाई साथी बनाउन चाहँदैन थिए होलान् । 

हुन पनि महिनौँ बितिसकेको थियो, उनीहरूको साथीले बेवास्ता गरेको । उल्टै मेरा बारेमा कुरा लगाउँदै हिँड्ने रहेछन् । अरुको बेवास्तालाई पनि वास्ता गर्ने सबै साथी कहाँ हुन्छन् र ! सब्बै छुटे । 

धन्न सन्ध्या र चन्दा थिए साँझ पर्न लागे पनि अँध्यारो हुन दिएनन् । झेल्नुसम्म मलाई झेले । म डुब्न लागेको माझीलाई खोलाको किनार लगाइदिए । नत्र त डिप्रेसनमै डुब्ने थिएँ । 

आज अचानक यी तमाम कुरा ताजा भएर आएका छन् । त्यस बेलाका सुनौला दिन अहिले खल्लो अनुभूतिका रूपमा निर्जीव विगत बनेको छ । यसरी जीवनका अध्याय डायरीका पानाभन्दा छिटो कसरी सकिन्छन् ? लेखेका अक्षर कसरी मेटिन्छन् ? भगवान् जानून् । तर अध्याय न सक्केको छ, जीवन नै त सकिएको छैन ।

स्कुल छँदा सयौँ साथी बनाउने म । प्रत्येक हप्ता केही न केही जितेर रातो अबिर लगाउने सबैको प्यारो म । समसामयिक विषयमा लेखिराख्ने, बोलिराख्ने म । 

समाज सेवा र सामाजिक कार्यमा अग्रसर हुने म आफैँलाई सामाजिक बन्न कस्तो गाह्रो परेको ? सामाजिक सञ्जाल चलाउन खासै मन नलाग्ने । कसैका अगाडि गएर पाँच मिनेट बोल्न पनि धौधौ लाग्ने । के बोलौँ, के बोलौँ हुने । बोलिहाले पनि कसैले कुरा काट्छन् कि ? ब्याकबाइट गर्छन् कि डर लाग्ने । कोही बोल्न आइहाले पनि खासै रुचि नलाग्ने । एक्लै बस्न मन लाग्ने । यसरी सँगै हिँड्न तम्सिएका कति पाइला पनि यत्तिकै छुटेर गए । सपना, इच्छा आकांक्षा त परको कुरा । आखिर ऊ याद बनी । ओठको लाली बनी ।

अब त बस्, कलेजमा साथी भनेका चन्दा र सन्ध्या छन् । केटामा हरि र सन्दीप छन् । बेलाबेलामा केटी साथी पनि बना यार कलेजमा नत्र तँलाई नि केटी नै भन्लान् भन्दै खिसी गरिरहन्छन् । 

यसरी जीवनको गोलचक्करले चर्के पिङभन्दा बेस्सरी घुमाउँदो रहेछ । नदीले बगाएर सधैँ समुद्रमै पुर्याउँछ भन्ने नहुने रहेछ । कति त किनारमै छाडेर जाने रहेछ । त्यसैले जीवनमा भेटिएका सबै मान्छे सधैँभरि आफैँसँग नहुँदा रहेछन् । 

सँगै हिँडेका पाइलाहरू कहीँ न कतै छुटिजाने रहेछन् । हुन त नयाँ पालुवा पलाउन पुराना पात झर्नैपर्छ । तर यसरी पनि नझरोस् कि रुखै सुकिहालोस् । जीवनको अन्तर्यात्रामा यस्ता पाइलाहरू कति जोडिन्छन्, कति छुट्छन् । क्रतु फेरिएर हरियाली छाए जस्तै जीवनको समयचक्र पनि फेरिन्छ । तर केही यस्ता पाइला सधैँभरि हुन् । जसले थोरै लड्दा पनि हात अघि बढाएर फेरि सँगै हिँडाउन सकून् । 
एक्लै मान्छे त बौराइजान्छ । घाटमा जाँदा पनि चार पाइला त चाहिन्छ । 

(सुर्खेतका शाही नेसनल ल कलेजमा बीए एलएलबी तेस्रो सेमेस्टर अध्ययनरत छन् ।) 


Author

थप समाचार
x