महाकविको छोरा बन्न साह्रै गाह्रो रहेछ
‘सालैपिच्छे लक्ष्मीपूजा आउँछ । सालैपिच्छे लक्ष्मीपूजाताका महाकवि देवकोटाउपर असीम श्रध्दा राख्ने अनेकौँ मानिसका साथै पत्रकार, साहित्यकार, साहित्यप्रेमी, चियाप्रेमी, जुलेबीप्रेमी, हल्लाप्रेमी, कवितावाचनप्रेमी, आत्मप्रचारप्रेमी र अनेकौँ यस्तै यस्ताको कुनै सार्वजनिक थलोमा वा सभाकक्षमा भीड लाग्छ ।’ हालै प्रकाशित आफ्नो किताब ‘सम्झनामा बुबा महाकवि देवकोटा’मा महाकवि पुत्र पद्म देवकोटा लेख्छन् ।
सुरुसुरुमा पद्मलाई यस्तो भीड रुचिकर लाग्थ्यो । उनी भीडमा श्रोताका रूपमा मिसिन्थे । आठ वर्षैमा बुबा गुमाएका पद्मलाई बुबाको संगत गरेका मानिसका कुरा सुन्न रमाइलो लाग्थ्यो । उनी लक्ष्मी जयन्तीमा हुने विभिन्न कार्यक्रममा जान्थे ।
तर, ‘हर साल उही हल्ला, मिथक र विवेकहीन’ कुरा फलाकेको सुनेर दिक्क लाग्न थालेपछि उनी जान छोडे । पद्म यस्तै सुन्थे :
— उनी महान् थिए किनकि उनी गरिब थिए ।
— उनी महान् थिए किनभने उनले आफ्नो तलब बाटोभरि बाँड्दै घर पुग्थे । लगाएको कोटसमेत फुकालेर माग्नेलाई दिन्थे ।
सामान्य साक्षर समूहले महानताको यस्तो मिथ भट्याइरहनुमा पद्मको कुनै टिप्पणी छैन । तर उनी समालोचक र प्राध्यापकको पगरी गुथेकाहरूले समेत महानताको कारणमा यस्तै यस्तै मात्र कुरा गर्न थालेपछि वाक्क भएको लेखेका छन् ।
उनी लेख्छन्, ‘राहुल सांकृत्यायनले देवकोटालाई पन्त, प्रसाद र निरालासँग गरेको तुलना आजसम्म पनि दोहोर्याएर बसेका विद्वान्का भाषण सुन्न झिँझो लाग्दै गयो । लक्ष्मीजयन्तीमा हुने कार्यक्रममा पुरानै रेकर्ड धेरै बजाइएको अनुभव हुन थाल्यो ।’
जूनै जून
महाकविलाई धेरै समालोचकले प्रकृतिप्रेमी, रोमान्टिक कविका रूपमा चिनाएका छन् । पुत्र पद्म भन्छन्— साँझ खानापछि तल चोकमा सुकुल बोकेर गइन्थ्यो । बुबा नै यस्तो प्रस्ताव गर्नुहुन्थ्यो, ‘शीतल छ र पूर्णिमाको जून पनि लागेको छ । हाम्रो नियम पनि लैजाऔँला र केही बेर त्यहीँ बसौँला ।’
महाकवि बच्चाबच्चीसित बराबर जूनेली रातमा चोकमा सुकुल ओछ्याएर बस्थे । उनी हार्माेनियम बजाएर गाउँथे अबेरसम्म ।
करिब एक महिनासम्म बुबा लाटोजस्तै हुनुभयो । उहाँको मुखबाट एक शब्द पनि निस्किएन । कसैसँग पनि नबोल्ने र एक्लै ट्वाल्ट्वाल्ती हेरिरहने स्वभावको हुनुभएको थियो ।
पद्म बुबाकै काखमा सिरान हालेर उत्तानो पल्टेर सुत्थे । उनले बयान गरेका छन्— आकाश सफा, जूनले पोतेको । गोलो चन्द्रमा उज्यालो । म बुबाको गाना सुनेर पूर्ण चन्द्रमालाई एकोहोरो हेरेर आफ्नै दुनियाँमा रमाइरहेको थिएँ । मैले त्यसरी हेर्दाहेर्दै चन्द्रमा कहिले नजिक आउँथ्यो, कहिले टाढा जान्थ्यो । म त्यसलाई आफ्ना हातले टिप्ने प्रयास गर्दै थिएँ । त्यो मलाई छक्याउँदै थियो । ठूलो बन्दै वर आउँथ्यो अनि सानो बन्दै पर जान्थ्यो । केही बेरपछि त्यो चन्द्रमा मोतीफूलको पछाडि गयो ।
पद्म देवकोटाले सम्झेको यो जुनेली सम्झनाले यो पंक्तिकारलाई पनि बाल्यकालको सल्यानको परिवेशमा पुर्याएको हुँदा यहाँ अलि लामै उतारियो । यसमै जोड्न खोजेको कुरा के पनि छ भने पद्म देवकोटालाई यस्तै जून–मिटिङको प्रभावले नै हो— उनलाई ‘यात्री’, ‘मार्ग’, ‘भिखारी’ हैन, ‘शरच्चन्द्र’ कविता सबैभन्दा बढी मन पर्छ ।
चन्द्रागिरी र त्रिवि
फेरि चन्द्रकै प्रसंग ।
पद्म जिद्दीवाल थिए । बुबालाई खुब पछ्याउने । बाहिरफेर हिँड्दा बुबासँगै जान्छु भनेर धेरै ढिपी गर्ने ।
बुबाले आफू त्यो टाढाको पहाड जान्छु, तँलाई थकाइ लाग्छ भने ।
पद्म सम्झिन्छन्, ‘बुबाले मलाई सानो झ्यालमा उभ्याएर पर क्षितिजमा नीलो बाक्लो रेखा देखाउनुभयो । देखिस् त पहाड, चन्द्रागिरी भनेको यही हो ।’
‘चन्द्रागिरी भनेको के हो ?’ पद्मले सोधे ।
अहिले वा पछिका पुस्ताले भए ‘चन्द्र ढकालले संरक्षण गरेकाले यसको नाम चन्द्रागिरी’ भन्दा हुन् । महाकविले जवाफ दिए, ‘चन्द्रमालाई काँधमा बोकेर बस्ने पहाड भएकाले चन्द्रागिरी भनेको ।’ (कविले ‘एक सुन्दरी वेश्याप्रति’मा यस्तै लेखेका छन्, ‘न साँझ चान्द्र शैलमा प्रभापुरी अघि स्फुटी, गुलाफिइन् हिमालका समस्त टाकुरा जली ।)
महाकवि त्यसताका ‘त्यो टाढाको पहाड’ गइरहेका थिए रहेछन् । पद्म लेख्छन्, ‘त्यसताका उहाँ विश्वविद्यालय बनाउने क्रममा स्थान छनौट गर्न घुम्दै हुनुहुन्थ्यो । उहाँका औँलाले फूलचोकीको काखमास्थित गोदाबरीको इलाका देखाएजस्तो लाग्छ । पछि थाहा भयो, उहाँ जग्गा हेर्ने क्रममा धेरै घुम्नुभएको थियो र अन्त्यमा कीर्तिपुरको फाँट उहाँलाई मन पर्यो । त्यस बेलाको सहरभन्दा पर भए तापनि दैनिक आवतजावत गर्न सम्भव दूरीमा प्रकृतिको काखमा पूर्वी भिरालो मात्र हैन कि माथि फराकिलो अर्धगोलाकार जग्गा तल साँघुरिँदै वर्षाको पानीले प्रत्येक दिन उदाएको सूर्यलाई अर्घ चढाउने फाँटले आर्य सभ्यताको विकासका निम्ति शैक्षिक योगदान दिनेछ भन्ने लागेछ होला, त्रिभुवन विश्वविद्यालय त्यहीँ बस्यो ।’
फेरि पनि जूनकै प्रसंग ।
यो खास छ । पद्म लेख्छन्, ‘मुमा भन्नुहुन्थ्यो, करिब एक महिनासम्म बुबा लाटोजस्तै हुनुभयो । उहाँको मुखबाट एक शब्द पनि निस्किएन । कसैसँग पनि नबोल्ने र एक्लै ट्वाल्ट्वाल्ती हेरिरहने स्वभावको हुनुभएको थियो । उहाँका दाज्यूभाइ र दिदीबहिनीले उहाँलाई जिस्क्याउँथे, गिज्याउँथे, चिमोटिदिन्थे, माया गरेर बोलाउँथे । उहाँकी सबैभन्दा प्यारी छोरी सावित्री दिदीलाई बुबासँग कुरा गर्न लगाउँथे तर उहाँको मौनता कसैले तोड्न सकेनन् । एक दिन अकस्मात् उहाँले आकाशतिर हेर्नुभयो र पूर्णिमाको जून देखेर एउटा भजन गाउनुभयो । त्यसपछि उहाँले अरूसँग कुरा गर्न पनि थाल्नुभयो ।’
एक महिने मौनता तोडिदिने पनि जून नै !
यो महाकविलाई राँची लैजानुअघिको कुरा हो ।
मन्त्री महाकवि
२०१४ साल । कविकुञ्जको उत्साहसाथ सरसफाइ गरेरहेकी आमाले भनिन्, ‘अहिले हल्ला नगर्, रेडियो सुन्नुपर्छ ।’ पद्मको सम्झनामा आमा रेडियो सुन्न बसेको यही पहिलो थियो । आमाले भनिन्, ‘कसैलार्ई नभन्, आज तेरो बुबा मन्त्री बन्दै हुनुहुन्छ ।’ हल्ला नगर्, कसैलाई नभन् मनदेवीले किन भनी होलिन् ?
घरमा आठपहरिया आए । परिवारको परिचय लिए । लालटिन र म्यानटोल बालियो ।
कविकुञ्ज सानो भएकाले सुरक्षाकर्मीलाई राख्ने ठाउँ नभएपछि उनीहरू अलि ठूलो घर खोज्दै कालिकास्थानको अंगुरबाबा जोशीको सिमन्टीको घरमा बहालमा बस्न गए ।
मन्त्रीज्यूको डेरामा धेरै मान्छे आउँथे । ६—सात वर्ष हुँदासम्म पनि पद्म नांगै हुन्थे । मन्त्रीज्यूले बज्यै (पत्नी)लाई भने— बाबुलाई कट्टु वा सुरुवाल लाइदिनुपर्छ । अनि बल्ल पद्मले लाज छोप्न थाले । राजनीतिको पनि लाज छापियो !
मन्त्री भएको ११८ दिनको रमझमपछि उनीहरूको परिवार फेरि कविकुञ्ज सर्यो । पद्म लेख्छन्, ‘मूल ढोकाबाहिर विरोधी समूहले हुलका हुल आएर नाराबाजी गरेका थिए । भोेलिपल्टै बुबालाई आठपहरियाको समूहले उल्टो सलामी दियो र बिदा लियो ।’
रिस
जुध्द सडकको सालिकको दक्षिण–पश्चिम कुनामा वारुण यन्त्रालय र त्योभन्दा दुई–चार घर पर भारतीय पुस्तकालय थियो । उनी बुबासितै गए । महाकविले छोरोलाई ज्ञानी भएर बस्न भने ।
महाकविले कोटको खल्तीबाट किताब झिकेर पढ्न पो थाले । ज्ञानी भएको लामै समय भएपछि पुत्रलाई छटपटाहट भयो । किताब ढालिदिन थाले । पढेको पढ्यै गरिरहेका पितालाई के झोँक चल्यो कुन्नि, पुत्रलाई गाली मात्र गरेनन्, एक चड्कन पनि दिए ।
यही पहिलो र अन्तिम चड्कन भयो पद्मलाई ।
दोहोरी
महाकविको स्वास्थ्य अलि गडबड हुन थालेपछि केही साता—महिनाका लागि उनीहरूको परिवारै काँठतिर बस्न जान्थे । इचंगु—आदेश्वरमा कुखुरा काटेर खाइदिएका थिए । आफूले देखेको यो यात्रा–घटना महाकविले आफ्नो निबन्ध ‘चिकन ब्रथ’मा लेखेको बताउँछन्, पद्म ।
यस्तै गाउँघरको यात्रामा मान्छेहरूले दोहोरी खेलिरहेको देखेपछि महाकविले भने, ‘मदन मलाई पनि गाऊँ गाऊँ लाग्यो, सकिएला ?’
‘मामाले किन नसक्नु ?’ पद्मका भानिज दाइ मदनले भने ।
‘त्यसको लोग्नेसँग अनुमति लिनुपर्ला हगि ? तर बज्यैले सुनिन् भने फसाद पर्ला नि !’ महाकविले भने ।
मदनले घँसिनीको लोग्नेसँग कुरा मिलाए । गाउन त गाउने तर सर्त के भने— घँसिनी गोठ भित्रैबाटै झ्याल अलिकति खोलेर गाउने । महाकविले बाहिरैबाट गाउने ।
खोल्सो वारिपारि दोहोरी सुरु भयो । पद्म सम्झिन्छन्, ‘दुवैको स्वर घन्किएको थियो । तर बुबाले दोहोरी सकिएपछि भन्नुभयो, ‘यस्ता दिनहुँ दोहोरी खेलिरहनेसँग कहाँ सकिन्थ्यो र !’
उता घँसिनीको श्रीमान्ले सर्तसहित गाउने अनुमति दिए । यता महाकवि पत्नीले भने पतिले दोहोरी खेलको चालै पाइनन् ।
यस्ता थिए ती दिन !
खरीको बोट
महाकविको अन्तिम दिनताकाको ‘शान्तभवन र आर्यघाट’ च्याप्टर पाठकका लागि छोड्दै म यसपछिको च्याप्टरमा फड्किन्छु है त ।
१६ सालमा ६१ वर्षअघि महाकविको निधन भएको तेह्रौँ दिन । टुँडिखेलमा खरीको बोटमा मञ्च खडा गरी सभा गरियो ।
आठ वर्षको बच्चो पद्मलाई पनि मञ्चमा चढाएर बोल्न लगाइयो । सिकाएको कुरा सिकाएकै जस्तो भाकामा उनले भने, ‘मेरो बुबा भर्खरैजसो स्वर्गे हुनुभयो । अब मलाई हेर्ने को होला ? त्यसैले मैले तपाईंहरू सबैलाई आफ्नो बुबा बराबर मानेको छु ।’
सबैले ताली पिटे । पद्म दौडिएर फर्किए ।
महाकवि हिरो, मनदेवी प्रतिहिरो
यो पुस्तक महाकवि—मनदेवीको सम्बन्धबारे चलेको हल्लामा पनि केन्द्रित छ । चूडामणि बन्धुले ‘महाकवि लक्ष्मीप्रसाद देवकोटा’ शीर्षकको किताबमा ‘उनीहरूले एकअर्कालाई उत्तिको खुसी पार्न सकेनन् जति सक्नुपर्थ्यो । देवकोटा एउटा कवि भए, उनकी दुलही व्यावहारिक स्वास्नीमान्छे । यसैले देवकोटाको वैवाहिक जीवन उत्तिको रमाइलो भएन’ लेखिदिएपछि देवकोटा परिवार पूरै रिसायो ।
एकचोटि त स्वयं बन्धु देवकोटाको घर पुगेका थिए । मनदेवीले बन्धु यिनै लेखक हुन् भनेर चिनिनन् । उनैसित पीडाको पोयो खोलिन् । भनिन्, ‘हेर्नुस् न बाबु, त्यो फटाहा बन्धु भन्नेले...।’
बन्धुको चेहरा कालोनीलो भयो । केही बेरपछि उठेर फेरि आउँछु भनेर निस्किए ।
बन्धुले पछि आफ्नो अर्को किताब ‘महाकवि देवकोटा’मा अघिल्लो किताबमा जस्तो लेखेनन् । बन्धुको पछिल्लो किताबलाई पद्मले पनि ‘जीवनी र कृतिगत विश्लेषण राम्ररी मिहिनेत गरेर व्यवस्थित पारेको प्रशंसनीय कृति, यसले साहित्यमा राम्रो योगदान पुर्याएको छ’ भनेर धाप दिएका छन् ।
सत्य—तथ्यतिर नलागी सन्सनी र भ्रमको दाल—भात खानेहरूसँग सभ्य र तार्किक संवाद सम्भव नै छैन ।
तर, लेखक/वक्ताले आफूले सच्चिएको महसुस गरिसके पनि त्यसका पाठक—स्रोता भने सच्चिएका नहुन सक्छन् । यो पढ्ने वा सुन्नेको मात्र दोष होइन । शब्द ब्रह्म हो, यसै त भनिएको होला नि !
मैले सानोमा सल्यानमा देवकोटाको जीवनी पढेको पनि हैन । कोर्सबुकमा रचना पढ्नेबाहेक थाहा पनि थिएन । तर, मैले स्कुलमै सुनेको थिएँ— महाकवि पत्नी पापिनी थिइन् अर्थात् पतिव्रता थिइनन् । देवकोटालाई भोकले ग्यास्टिक भएर क्यान्सर भएको थियो, तर उनी बाहिर सल्केकी थिइन् । घरबाट लुकाएर, पतिलाई नदिएर बाहिरको पूजारीलाई दिन्थिन् । एक दिन त देवकोटाले के लगेकी छस् भनेर रिसाएर हेर्दा दहीको ठेकीभित्र मीठामीठा खानेकुरा र डल्लर (सिक्का) भेटेका थिए रे ।
यस्तो थियो, मैले किस्ता किस्तामा सुन्दै आएको किस्सा । महाकविलाई महान् बनाउन मनदेवीलाई तुच्छै किन बनाइयो होला ? नायक जब मात्र हुन्छ, तब कोही प्रतिनायक हुन्छ भने जस्तो । खैर, यस्तै छ हाम्रो समाज कि ‘देउता’ देख्छ, कि ‘दानव’, देख्नुपर्ने त गुणदोषसहितको मानव होला ।
कविप्रसाद गौतमको हरेराम कुञ्जमा मनदेवी सल्केकी थिइन् भन्नेहरूलाई कडा प्रतिवाद गर्दै केही वर्षअघि कालीप्रसाद रिजालले ‘कान्तिपुर’मा लेखेको लेख ‘अन्यायमा परेकी मनदेवी’ यो पंक्तिकारले धेरैलाई पढ्न सिफारिस गरेको थियो ।
पद्म लेख्छन्, ‘मनदेवी २००४ देखि मात्र हरेराममा लाग्नुभएको हो । यो त्यही बेला हो जब मेरा पिता कसैलाई केही खबर नगरीकन बनारस जानुभयो । उहाँ गएको छ महिना बित्दा नबित्दै दाज्यू कृष्णको मत्यु भयो । एकातिर श्रीमान् हराउनु, अर्कोतिर सरकारले घर र सम्पत्ति खोस्नु, अनि यसै ताका छोराको निधन हुनु र कंग्रेसको घर भनेर लास उठाउन छिमेकी त के आफ्नै माइतीसमेत आउन डराउनु, ती दिनका बेसहारा नारीले भगवान्को सहारा खोज्नु स्वाभाविक थियो । यो कुनै पाप थिएन, न कि श्रीमान्उपर अन्याय । मनदेवीले श्रीमान् र बालबच्चाको स्याहारसुसारमा जीवन कसरी अर्पिनुभयो भन्नेबारे सत्यतथ्यतिर नलागी सन्सनी र भ्रमको दालभात खानेहरूसँग सभ्य र तार्किक संवाद सम्भव नै छैन ।’
यो पंक्तिकारले सानैमा सुनेको हल्लाको यथार्थ पनि यस पुस्तकमा लेखिएको छ । कतारोको दहीमा पाँच—छवटा मोहोर लुकाएर लगेको देखेका पद्म पछि मुमालाई सोध्छन्, ‘किन मोहोरलाई दहीमा हालेको ?’
महाकवि रुसको अस्पताल त पुगे तर खर्च कसरी धान्ने ? बेडमै महाकवि चिन्तित भए । उपाय के त ? महाकविले बेडमै बसेर निबन्ध लेखे ।
पाठकमित्र ! यसको जवाफका लागि पुस्तक नै पढ्नुहोला है ।
पद्म लेख्छन्— मनदेवीको पुस्ताका आमाहरूका लागि मनोरञ्जनका साधन र उपाय के थिए त ? दिन—रात ठूलो परिवार पाल्न घोटिनुपर्ने । एकथरीलाई खुवाएर स्कुल—अफिस पठाउँदा पठाउँदै ढिलो भएर आफूले गाँस हाल्ने बेलामा बाह्र—एक बज्थ्यो । अनि केटाकेटीहरूको खाजा खाने बेला भइसक्थ्यो । फेरि लगत्तै बेलुकीको भान्सामा जोतिनुपर्ने । स्याहार्ने, कपडा—थाङ्ना धुने । यस्तोमा एकछिन हरिकीर्तन गरे के भयो त ?
थप्न मन लाग्छ— बाहिर निस्केर महिलाले सास फेर्नुलाई समाजले पति नै फेरेको देख्छ भने, के भन्ने यार ?
०००
घरमा आएर फिर्ता गर्ने सर्तमा लगेका ‘इन्द्रेणी’का अंक कञ्चन पुडासैनीले फिर्ता गरेनन् । महाकविले पढेका किताब भिनाज्यूमार्फत एकएक गरी बेचिएछ । महाकवि बितेको एक वर्षपछि घर खर्च टार्न फिलिप्स रेडियो बेचिएछ । ग्राहक खोजेका भिनाज्यूले ‘बोक्न सक्दिनँ’ भनेपछि त्यो रेडियो काँधमा बोकेर क्रेता तबल्चीको चोकमा पुग्ने पद्म नै थिए । रेडियोले नब्बे रुपैयाँ भाउ पाएको थियो ।
०००
रुसको एफ्रो एसियाली सम्मेलनमा भाग लिन माधव घिमिरे र महाकवि देवकोटा जाने भए । बिरामी पतिलाई एक्लै जान दिन मनदेवीको मनले मानेन । उनी पनि गइन् ।
धेरैपछि २०५४ सालमा पद्मले माधव घिमिरेको ‘अस्वत्थामा’को अनुवाद गर्ने सिलसिलामा एक साँझ माधव घिमिरे देवकोटाकहाँ आए । मनदेवी र माधवबीच त्यो ४० वर्ष पुरानो यात्राबारे कुराकानी भएको पद्मले चाखपूर्वक सुने ।
रुसबाट माधव घिमिरे फर्के तर महाकवि पेटको उपचारका लागि त्यहीँ बसे । महाकवि अस्पताल पुगे तर खर्च कसरी धान्ने ? घर फर्किंदा कोसेली केले किन्ने ? अस्पतालको बेडमै महाकवि चिन्तित भए । उपाय के त ? महाकविले बेडमै बसेर निबन्ध लेखे । रुसी युवा रेड्कोभनाम (पछि नेपालमा कल्चरल आटाचे भएर आए) ले ती निबन्ध लिएर गए । कोसेली दिए ।
यही यात्राको अर्को रमाइलो के भने, नेपाल फर्किन एयरपोर्टतिर हुइँकिरहेका महाकविले रुसी भाषामा आफैँले रचेको गीत गाए, ‘क्रासिभाया मास्कोभा, दास्बीदानिया, दास्बीदानिया ।’ (सुन्दर मास्को, बिदा भएँ, बिदा भएँ ।)
यति छोटो बसाइमा यसरी गीत नै रचेर सुनाएको देखेपछि सवारी चालक, रेड्कोभ र अरु यात्रु सबै ट्वाँ !
माधव घिमिरेको प्रसंग आइहाल्यो । अब पुस्तकको अर्को प्रसंग पनि झिकिहाल्न मन लाग्यो । हालै दिवंगत भएका कविलाई अब कसरी सोध्ने र ? म अल्छी पंक्तिकार फ्याक्टचेक गर्नतिर लागिनँ, क्षमा पाऊँ है ।
पद्म लेख्छन्— २०६२ सालमा कविकुञ्जलाई सरकारले किनेर संरक्षण गर्ने कि भनेर छुट्याइएको ६० लाख रुपैयाँ माधव घिमिरेले खर्च गरे । उनले ‘मालती मंगले’ नाटक अमेरिकामा मञ्चन गर्न भनेर संस्कृति मन्त्रालयका उपसचिव किरण ढुंगेललाई साथै लिएर प्रज्ञा—प्रतिष्ठानको टोलीसहित अमेरिका—यात्रा गरे ।
कविकुञ्जको संरक्षणमा परिवारले चासो नदेखाएको, अझ कतिपय बेला भाँजो हालेको भन्ने कुरामा पद्म तथ्यसहित उपस्थित भएका छन् । यस प्रसंगमा प्रदीप नेपालको प्रसंग पुस्तकमा पढ्नुहोला ।
आफूबारे तथानाम लेखेको लेख छाप्ने तर पाठकपत्र पठाउँदा नछाप्ने निर्णय गर्यौँ भन्ने ‘मधुपर्क’का सम्पादकसँगै महाकविका किताबको रोयल्टी, अनुवाद, प्रकाशनबारे उठेका, आफूले गरेको पहलबारे पनि उनले मुख खोलेका छन् ।
महाकविका नाममा सरकार आफैँले र अरुअरु झोले—दले—जहाने संस्थाहरूलाई बर्षेनि लाखौँ बजेट बाँडिनु तर महाकविका कति कृतिले अहिले पनि प्रकाशक नपाउनु उदेकलाग्दो छ ।
महाकविको नाममा सयौँ त के हजारौँ ‘सम्मानित’ भइसके तर उनका पाण्डुलिपिले पुस्तकको रूप धारण गर्न पाएका छैनन् । योगी नरहरिनाथले देखेको भनिएको पाण्डुलिपि भेटिने सम्भावना छ त ?
लेखक बितेको ५० वर्षपछि उनीहरूका सिर्जना रोयल्टी फ्री हुने नियम पद्मलाई जँचेको छैन । महाकविबारे मनोमानी भइरहेकामा उनी जति चिन्तित छन्, भ्रम र मिथमा विश्वास गर्ने, बिल्ला लाइदिने प्रवृत्तिबाटै उत्तिकै आजित ।
महाकविका कृति जोसुकैले छाप्ने हुँदा तोडमरोड गरिएको, भाषा बिगारिएको पाउँछन् उनी । मुद्दामामिला, उजुरबाजुर, स्पष्टीकरण, प्रतिरक्षामा पनि विगतमा अघि सरेका पद्मलाई अब विकृति धेरै भइसकेको हुँदा संग्लिने आशा कमै छ । आफैँ ७० पुगेका उनी आफ्नो गच्छेअनुसार महाकवि—मीमांसामा भने लागिपरेकै छन् ।
नेपाली साहित्यमा सर्वाधिक लोकप्रिय लेखक लक्ष्मीप्रसाद देवकोटा र उनको वरिपरिको दुनियाँ बुझ्न यो पुस्तक गजबको सन्दर्भ सामग्री हो । पद्मलाई धेरैले घमण्डी, आफू केही नगर्ने अरुलाई पनि गर्न नदिने, गरेको देखिनसहने भन्दा रहेछन् । किताब पढिसकेपछि मलाई चाहिँ उनी घमण्डी भन्दा पनि स्वाभिमानी लाग्यो । हामी मेहनत गरेर तथ्यमा टेकेर धेरै काम गर्दैनौँ, अनि सत्य—तथ्य बुझेको मान्छेलाई मिथ्याप्रचार हुँदा दुख्नु—बाझ्नुलाई मैले चाहिँ स्वाभाविक रूपमा लिएँ ।
पुत्र प्राडाले लेखेको किताबमा पुस्तकभरि नै ‘शान्ताभवन’, ‘सांस्कृत्यायन’ जस्ता केही गडबडी नभएको भए हुन्थ्यो । यत्रो १९७ पृष्ठको किताब पढिसक्दा पनि देवकोटाबारेका धेरै जिज्ञासा भने मेटिएनन् । मेरा ती जिज्ञासा के—के हुन् ? पद्म सरले मान्नुभयो भने उहाँसामु तेर्स्याउनेछु र इकागजमा फिँजाउनेछु । (एक दशकअघि म त्रि—चन्द्र कलेज पढ्दा मेरो फोन—निम्तो स्वीकारी लक्ष्मीजयन्तीका दिन तपाईं आइदिनुभएको स्मरण गराउँछु । जयराज आचार्य, चूडामणि बन्धु र तपाईंले हामी विद्यार्थीलाई महाकविबारे धेरै गजपका कुरा सुनाउनुभको थियो ।)
र अन्त्यमा,
महाकवि मरीमरी हाँसेको दृश्य ।
छोराछोरीले आमालाई बुबाको लुगामा सजाइदिए । सेतो नेभी पाइन्टको मोता माथितिर बेरिएको । बुसर्टको फेरले पाइन्टलाई कम्मरमा अडाउने धागो छोपेको । एक हातमा लठ्ठी र अर्को हातका औंलाले चुरोट ओठमा च्याप्न उचालेको । शिरमा टोपी । साँझ अबेर घर छिरेका महाकविले सुरुमा त पत्नीलाई चिन्दै चिनेनन् । जब चिने— यहाँहरू जस्तै महाकवि पनि मरीमरी हाँसे ।
महाकविको छोरा बन्न साह्रै गाह्रो रहेछ ।
सानामा महाकविको छोरा भनिदिऊन् भन्ने लाग्थ्यो, पद्मलाई । पछि त सबैले पिताबारे नै प्रश्न सोध्न थालेपछि उनलाई घरीघरी लाग्थ्यो— महाकविबारे यति धेरै चासो हुनेले नित्यराज पाण्डेले लेखेको जीवनी पढ्नु नि । एमए पढ्न कीर्तिपुर पुगेपछि यस्तै प्रश्नको घेराबन्दीमा परेर आजित भएका उनले आफूलाई पद्म पौडेल भनेर चिनाए । तर, केही बेरमा उनलाई आत्मग्लानि भयो । महाकविको छोरो हुनुमा उनलाई गर्व छ । अनि महाकविका मानसपुत्र कहलिन रुचाउने आत्म प्रचारकहरूका बीचमा उनी भन्छन्— महाकविको छोरा बन्न साह्रै गाह्रो रहेछ ।
यति लेखिसकेपछि पुस्तक पढ्नुहोस् भनेर भन्नु त यहाँहरूको तथ्यतृष्णाकै अपमान गरेको ठहरिएला । हस्त, लागेँ है ।
११२औँ लक्ष्मीजयन्तीको शुभकामना ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया