सप्ताहन्त

बार्डो (कथा)

ऋतेश |
फागुन १३, २०७९ शनिबार ८:४१ बजे

आवाजको न रूप छ, न त स्वरूप । आवाज कुन दिशाबाट आइरहेको छ, मलाई थाहा छैन । सायद यो आवाज म जस्तै अथवा म भन्दा बिल्कुलै भिन्‍न आत्माहरूको सामूहिक स्वर हो । हुन सक्छ, यो आवाज मैले कहिल्यै सुन्‍न नसकेको मेरै अन्तर्मनको हो । 

‘भन, तिमीलाई के चाहिएको हो ?’ उक्त आवाजले मलाई कोतार्छ । 


मैले सुनेको थिएँ, विभिन्‍न कारणले अथवा पहिल्यैबाट अदृश्य भएकाहरू यहाँ आउने गर्छन् । उनीहरू यहाँ भेटिने गर्छन् । यस्तो लाग्छ, यहाँ सब थोक पाइन्छ । यहाँ मैले चाहेको हरेक आवश्यकतालाई आवाजले पूरा गरिदिन्छ । के यहाँ आफ्ना लागि परिचय पनि किन्‍न पाउँछ ? 

‘मलाई अस्तित्व चाहिएको छ,’ म भन्छु । 

‘अस्तित्व महँगो छ । के तिमीले त्यसको मूल्य चुकाउन सक्छौ ?’ पुनः आवाज सुनिन्छ । 

मलाई म जस्तैले एकपटक सुनाएको थियो, अरूको तुलनामा अस्तिस्वको मूल्य महँगो हुने गर्छ । अस्तित्व खोज्नेहरू अक्सर कतै न कतै अल्झिरहन्छन् । उनीहरूले अरूले भन्दा ज्यादा दुःख पाउँछन् । 
तर मलाई अस्तित्वको स्वाद चाख्नु छ । कोही भएर कतै आफ्नो उपस्थिति जनाउनु छ । नभए कम्तीमा कसैका लागि केही भइदिन मन छ । मलाई थाहा छैन, यो मेरो सपना हो या स्वार्थ ? 

‘सक्छु ।’ म आत्मविश्वासका साथ भन्छु । 

‘अस्तित्वको चाहना राख्नेहरूले धेरै समयसम्म भट्किनु पर्छ । तिमी सक्छौ ?’

‘सक्छु ।’ म संक्षिप्त जवाफ दिन्छु । 

०००
सानो छुँदा मलाई आमाले भन्‍नुभएको थियो, ‘छोरा, तेरो बुबा ठ्याक्कै तँ जस्तै थिए ।’

म दौडिँदै आफूलाई ऐना अगाडि पुर्याउँथेँ । उत्साहित हुँदै माथिबाट तलसम्म आफूलाई कहिल्यै नदेखेको जसरी नियाल्थेँ । दङ्ग पर्थें, के साँच्चै मेरो बुबा म जस्तै थिए ?

बेला–बेला आमाभित्र कसैको हंस पस्थ्यो र एकसुरको बन्‍नुहुन्थ्यो । उहाँको आँखामा आँसु पलेँटी कसेर बस्थ्यो । त्यो बेला उहाँ खिया लागेको थोत्रो बाकस खोलेर निदाइरहेको आफ्नो अतीतलाई ब्युँझाउनुहुन्थ्यो ।

त्यहाँबाट एक टुक्रा यादलाई निकालेर त्यसलाई प्रेमले सुम्सुम्याउनुहुन्थ्यो । कसैले नबुझ्ने भाषा र इसारामा मनमनै खोइ कुन्‍नि के–के बर्बराइरहनुहुन्थ्यो । त्यो बेला म आमाको आँसुलाई न पुछ्न सक्थेँ न त बुझ्न । 

मलाई त्यो बेला लाग्थ्यो, मेरो सन्मुख रहेकी महिला मेरी आमा होइन कसैको स्वास्नी हो जो आफ्नो लोग्नेको प्रतीक्षामा बसिरहेकी छ । जसलाई म कत्ति पनि चिन्दिनँ । 

म पनि आफूले कहिल्यै नदेखेको, नभोगेको आमाका सम्झनाहरूलाई छाम्न खोज्थेँ । आमाको अनुहार देखेर निन्याउरो हुँदै सोध्थेँ, ‘आमा, यो फोटो कसको हो ?’

आमाको आँखामा जमेर बसेको आँसु छछल्किन्थ्यो । गलामा अड्किएर बसेको आवाज भक्कानिएर बाहिर निस्किन्थ्यो । आमा आगोमा परेको प्लास्टिक जसरी खुम्चिनुहुन्थ्यो । मलाई बेस्सरी आफ्नो अंगालोमा बेर्दै भन्‍नुहुन्थ्यो, ‘तेरो बुबाको फोटो हो ।’

आमाको अंगालोबाट आफूलाई छुटाउँदै म बुबाको फोटो हेर्थेँ । फोटो धेरै पुरानो भएर होला खुइलिसकेको थियो । फोटोमा बुबाको अनुहारलाई समयले निलिसकेको थियो । म आफ्नो मस्तिष्कपटमा बुबाको आकृतिलाई कोर्न, कल्पिन खोज्थेँ । केही बेर म पनि फोटोमा घोत्लिरहन्थेँ, कतै समयले ओकलि हाल्छ कि बुबाको अनुहारलाई ? 

हाम्रो जीवनबाट मात्रै होइन बुबा फोटोबाट पनि हराइसक्नुभएको थियो । सबैबाट हराइसकेको मान्छे सम्झनामा मात्रै भेटिँदो रहेछ । 

म आमालाई बारम्बार सोधिरहन्थेँ, ‘आमा, बुबा घर कहिले फर्किनुहुन्छ ?’

मैले सोधेका अधिकांश प्रश्नहरूको जवाफ म पाउँदिनथेँ । मलाई त्यो बेला थाहा थिएन आमालाई बुबाको यादले ज्यादा रुवाउँथ्यो कि मेरा प्रश्नहरूले ?

सायद यो ठाउँ म जस्तै भट्किनेहरूका लागि हो । सायद म यहाँ आफ्नो आमाबुबालाई पनि भेट्नेछु ।

मेरा साथीहरूले मलाई भन्थेँ, ‘तेरो बुबाले अर्कै विहे गरेर तलाईं र तेरी आमालाई छाडेर गएका हुन् ।’

यो सुन्दा मभित्र केही गाँठो परेको जस्तो हुन्थ्यो । मलाई बुबा सम्झेर होइन साथीहरू देखेर रिस उठ्थ्यो । 

मलाई थाहा थिएन, आफ्नो परिवारलाई छाडेर जान कुनै पनि मान्छेसँग कति वजनको मुटु हुनुपर्छ ? 

रिस मत्थर भएपछि सोच्थेँ, के साँच्चै मेरो बुबा निठुर थिए ?

मलाई लागेको थियो, मेरो बुबा पैसा कमाउन देशको सिमाना कटेर अरब जानुभएको हो । यहाँ रहेको अभावको खाडललाई पुर्न उहाँ एकदिन खुसी बोकेर आउनुहुनेछ । तर बुबा नहुँदा एक्लोपन र अधुरोपनले यहाँ रहेको खाडलको आयतन र गहिराइ झन्झन् फराकिलो र गहिरो बनाउँदै गइरहेको थियो । 

आमा आफ्नो लोग्नेको र म आफ्नो बुबाको प्रतीक्षामा हरेक दिन घरको आँगन जोडिएको बाटो हेर्थ्यौँ । बुबा जस्तै नदेखिए पनि छ भन्‍ने आस्था बोकेर हरेक रात भगवान्सँग पुकार गर्थ्यौँ । तर कल्पना र सपनामा हरबखत आइरहनुहुने बुबा यथार्थमा कहिल्यै हाम्रो आँखा सन्मुख पर्नुभएन । 

बुबाको नाम र खुइलिसकेको फोटो लिएर आमाले मलाई बेलाबेला कता–कता लिएर जानुहुन्थ्यो । विभिन्‍न मान्छेहरूलाई भेट्नुहुन्थ्यो जसलाई मैले कहिल्यै देखेको भेटेको थिएन । ती व्यक्तिहरू समक्ष आमा याचना गर्नुहुन्थ्यो । कहिले अनुहारमा क्रोध जमाएर विरोध गर्नुहुन्थ्यो । आमालाई म त्यस्तो रूपमा देख्थेँ जुन रूप मैले त्यो भन्दा अघि कहिल्यै देखेको थिइनँ । 

ती मान्छेहरूले हामीलाई दयनीय नजरले छाँम्थे । मलाई ती आँखाहरू काँडाझैं लाग्थेँ । 

केही छिमेकी काकीहरूले मलाई ढाडस दिँदै भन्थे, ‘तेरो बुबा तँ ठूलो भएपछि आउँछ ।’

समयको खुड्किला छिटोछिटो चढेर मलाई ठूलो हुन हतार हुन्थ्यो । म जतिजति ठूलो हुँदै गएँ बुबा टाढ–टाढा हुँदै जानुभयो । आमा अधुरो र म झन्झन् एक्लिँदै जान थाल्यौँ । मैले मान्छेलाई र समाजलाई बिस्तारै बुझ्दै जान थालेँ ।

मैले हाँस्ने भन्दा हाँसिदिनेहरू धेरै देखेँ । रूने भन्दा रूइदिनेहरू धेरै भेटेँ । एक्लो हुनु भनेको सायद यस्तै देखावटीहरूबाट घेरिनु रहेछ । माया देखाउनेहरू भन्दा दया देखाउनेहरू ज्यादा भेटिनु रहेछ । कसैले मलाई सुनायो, ‘तेरो बुबा माओवादी थिएँ । युद्धका बेला सैनिकहरूबाट मारिए ।’

त्यो सुनेर मेरा पैतालाहरू चिलाउन थाल्थे । पूरै शरीर झम्झमाउन थाल्थ्यो । मेरो आकाश घुम्न थाल्थ्यो । 

बुबा जङ्गलका रूखहरू र पछाडिबाट लखेटिरहेका गोलीहरूलाई छल्दै भागिरहनुभएको म कल्पन्थेँ । त्यसको केही समयमा रगत्ताम्मे भएर भुइँमा लडिरहनुभएको बुबालाई देख्थेँ । मेरा जोर्नीहरू छुटिँदै गइरहेका झैं लाग्थे । के साँच्चै मेरो बुबा माओवादी थिए ?

आमा र म ओछ्यानमा सँगै गए पनि हामी निदाउने समय फरक–फरक थियो । 

एक बिहान आमा ब्युँझिन मान्‍नुभएन । उहाँलाई कसैले उठाउन सकेनन् । थाहा छैन, रातको कुन प्रहरमा आमाले फोक्सोमा हावा भर्न छाड्नुभएको हो । आमाको शरीर हिउँ जस्तै चिसो भइसकेको थियो । उज्यालोमा नभेटिएको बुबालाई सायद अन्धकारमा खोज्न जानुभएको थियो आमा । यस्तो लाग्थ्यो, कालले आमालाई होइन आमाले काललाई बोलाउनुभएको हो । उहाँले आफ्नो लोग्नेसम्म पुग्ने बाटो आफैंले खन्‍नुभएको हो । 

सायद त्यो बेला उहाँले मलाई बिर्सिनुभएको थियो । आमाले मलाई जसरी बुबालाई पनि बिर्सिनुभएको भए अथवा बिर्साउन सक्नुभएको भए सायद हामी आमाछोरा कहिल्यै एक्लो हुँदैनथ्यौँ होला । म एक्लो मात्रै थिएँ । आमाले पनि छाडेपछि अनाथ भएँ । 

मेरो घाउ माथि केही मान्छेहरूले नुन छर्किदिए, ‘तेरो बुबा आर्मी थिए । युद्धका बेला माओवादीहरूबाट मारिए ।’

त्यो सुनेर म निमोठिन्थेँ । मेरो धर्ती डगमगाउन थाल्थ्यो । 

दुश्मनहरूले थापेको एम्बुसमा परेर बुबाको शरीर क्षत्विक्षत् भएको म कल्पिन्थेँ । बुबाका शरीरका टुक्राहरू हावामा उडिरहेको म देख्थेँ । मेरा मांसपेशीहरू च्यातिए झैं हुन्थे । के साँच्चै मेरो बुबा आर्मी थिए ?

मैले बुबाको बारेमा धेरै सुनेँ । बुबा कस्तो देखिनुहुन्थ्यो लगभग मैले आफ्नो मस्तिष्कको भित्तामा कोरिसकेको थिएँ । उहाँको रूप, स्वरूपको अड्कल, अनुमान, कल्पना सबै गरिसकेको थिएँ । तर बुबा के हुनुहुन्थ्यो मैले 

कहिल्यै थाहा पाउन सकिनँ । मेरो लागि उहाँ रहस्य हुनुहुन्थ्यो । यस्तो पेहेलि हुनुहुन्थ्यो जसलाई मैले कहिल्यै पहिल्याउन, सुल्झाउन सकिनँ । 

विभिन्‍न परिचय बोकेर मेरो वरिपरि बुबा हावा जसरी घुमिरहनुहुन्थ्यो । बुबा कहिले उज्यालो प्रकाश बन्‍नुहुन्थ्यो त कहिले अँध्यारो अन्धकार । कहिले हुस्सु बन्‍नुहुन्थ्यो त कहिले झरी । कहिले ऐेँठन बन्‍नुहुन्थ्यो त कहिले अनिन्द्रा । 

अनेकौँ रूप धारण गरेर बुबा मलाई छाया जसरी पछ्याइरहनुहुन्थ्यो । 

कहिलेकाहीँ देखिरहने मान्छेले भन्दा कहिल्यै नदेखेको मान्छेले ज्यादा सताउँदो रहेछ । 

बुबा मेरा लागि मात्रै होइन, थुप्रै मान्छेहरूका लागि कहानी भइसकेका थिए । इतिहास बनिसकेका थिए । धेरैले बुबालाई बिर्सिसकेका थिए । शरीर मात्रै होइन, एक प्रकारले उहाँको अस्तित्व नै हराइसकेको थियो । 

मैले थाहा पाएको थिएँ, बुबाले देशका लागि लड्नुभएको हो । तर बुबाको नाम देशको कुनै पनि ठाउँमा उल्लेख भएको छैन । बुबा न बेपत्ता नागरिकको सूचीमा फेला पर्नुहुन्थ्यो न त मृतकको । बुबा हावा जस्तै भइसक्नुभएको थियो, भएर पनि अद्दश्य हुनुहुन्थ्यो । बुबाले देशलाई के दिनुभयो थाहा छैन तर आमालाई र मलाई धेरै थोक दिएर जानुभएको थियो । धेरै थोक बनाएर जानुभएको थियो । धेरै थोक लिएर जानुभएको थियो । 

अस्तित्व खोज्नेहरू भट्किन्छन् कि भट्किनेहरूले अस्तित्व गुमाउँछन् ? 

मलाई बिस्तारै लाग्न थालेको थियो, मेरो बुबा देशको विम्ब हो । थुप्रै मान्छेहरूका प्रतिबिम्ब हो । यस्तो रूपमा बुबालाई न मान्छेहरूले सम्झिए न त देशले । 

लड्नेहरूले स्थान र सम्मान कहिल्यै पाएनन् । सोच्थेँ, यो देशमा यो देशका लागि बुबा जसरी लड्नेहरू कति थिए होलान् ? 

देशलाई नयाँ परिचय दिएको बुबाले आफ्नै परिचय भने गुमाउनुभएको थियो । 

बुबालाई परिचय दिलाउन मैले पनि आमा जसरी बुबाको नाम र उहाँको खुइलिसकेको फोटो बोकेर थुप्रै कार्यालय चहार्न थालेँ । बुबा जस्ता कयौंलाई देशको नाममा आफ्नो स्वार्थमा लडाउनेहरूका ढोकामा ढक्ढकाउन थालेँ । 

मान्छेहरूले रूखका हांगाबिङ्गा र पातहरूलाई मात्रै देख्छन् । रूखलाई बलियोसँग अडाउने जरालाई देख्दैनन् । सायद बुबा जरा हुनुहुन्थ्यो । उहाँलाई कसैले देखेनन् अथवा देख्न चाहेनन् । म पानीबाट उछिट्टिएर बाहिर छट्पटाइरहेको माछाझैँ भएको थिएँ । 

सोच्थेँ, आफ्नो परिवारको, आफन्तजनको मैले जसरी परिचय खोजिरहेका कति होलान् यो देशमा ? 

देशका लागि बुबाले मात्रै लड्नुभएको थिएन । आमाले पनि लड्नुभएको थियो । फरक यत्ति थियो, बुबाले रगत बगाउनुभयो आमाले आँसु । देशले दुवैलाई निलेका थिए । यस्तो लाग्थ्यो, देशले मलाई पनि खान खोज्दै छ । 

बिस्तारै मलाई आफ्नो देश र मान्छेहरू बिरानो लाग्दै गयो । यस्तो लाग्यो, म गलत देशमा गलत समयमा जन्मिएँ । यहाँ मेरो केही थिएन, कोही थिएन । म भएर पनि मेरो अस्तित्व हराइसकेको थियो । युद्धमा कसैको हातबाट नमारिए पनि म मरिसकेको थिएँ । मैले पनि आफ्नो परिचय गुमाइसकेको थिएँ । 

कहिलेकाहीँ सोच्थेँ, म पनि आमा जसरी निदाइरहेको बेला सधैंका निमित्त निदाउन पाए अथवा बुबा जसरी एकाएक हावामा विलीन हुन पाए कत्ति जाती हुन्थ्यो । 

मलाई लाग्यो, यो देशमा भगवान्भन्दा पनि गाह्रो रहेछ आफ्नो परिचय खोज्न । आफ्नो अस्तित्व जोगाउन । 

भत्किएका यादहरू बोकेको मान्छे सायद राम्रोसँग कहिल्यै उभिन, अडिन नसक्दो रहेछ । 

सोच्थेँ, यो देशमा म जस्तै गुमनाम भएकाहरू कति होलान् ? कति होलान् युद्धपछि पनि आफ्नो अस्तित्वको लागि अर्को युद्ध लडिरहेका ? 

यहाँ म जस्तै भट्किरहेका आत्माहरू कति होलान् ? 

अरूलाई खोज्दै हिँड्नेहरू बिस्तारै आफैं हराउँदै जाने रहेछन् । 

सायद म केही नभएरै शून्यतामा विलुप्त हुँदै थिएँ । अथवा म कोही भएर पनि आफूलाई कहिल्यै चिन्‍न सकिनँ । हुन सक्छ, म आफूले आफैंलाई नै निल्दै थिएँ । 
मैले निलेँ । म निलिएँ । 

०००
म आवाजको निर्दशनमा अर्को बाटोतिर मोडिन्छु । सायद मैले त्यहाँ फेरि अर्कै आवाज अथवा अरू ने केहीको सामना गर्नुपर्नेछ । 

केही समयपछि म यस्तो ठाउँमा पुग्छु, जहाँ कयौँ आत्माहरू भट्किरहेका हुन्छन् । सायद यो ठाउँ म जस्तै भट्किनेहरूका लागि हो । सायद म यहाँ आफ्नो आमाबुबालाई पनि भेट्नेछु । 

अस्तित्व खोज्नेहरू भट्किन्छन् कि भट्किनेहरूले अस्तित्व गुमाउँछन् ? 


Author

थप समाचार
x