कविता
नेपाल सन्चै छ
रात छिप्पिँदै गएपछि
कोखा हान्दै हान्दै गयो ।
खरानी पानी खाएर
बेथा ठीक पारेपछि
पटुकाका गाँठा फुकाएर
रित्ता बटुका लुकाएर
थुप्रेको पैसाले
विदेश जाँच्न गयो नेपाल ।
जाँच पास भएपछि
नेपालले खबर पायो ।
नेपाल सन्चै छ ।
नेपालीलाई सन्चै छ ।
नुनपानी खाएर तृप्त नेपाल ।
सुनपानी छर्केर स्वच्छ नेपाल ।
भोकै बसेर शान्त नेपाल ।
बेसार घसेर स्वस्थ नेपाल ।
ओखती हामी चिन्दैनौं ।
ओखतीले हामीलाई चिन्दैन ।
हलेदो अम्बा बेथा चट
खोप नेपालले किन्दैन ।
बन्नुहुन्न अस्पताल
टावर, मूर्ति ठड्याउने हो ।
दबाईको सवाई गाएर के काम
किलोका किलो सुन चढाउने हो ।
बन्नुहुन्न डाक्टर नर्स
अम्बा विद्या पढाउने हो ।
चिर्नुहुन्न शरीर ।
फाल्न हुन्न जेथा ।
शरीर हाम्रो बलियो छ
आफैँ जान्छ बेथा ।
देश
घाउ, घटिरा, गिर्खाको हैन ।
भोक, शोक र तिर्खाको हैन ।
वीर गोर्खाको हो ।
बहादुर पुर्खाको हो ।
किटले जाँचेर हैन
दाँत किटेरै
नेपालीको आँत निको हुन्छ ।
नेपाललाई जाँच्छु नभन ।
नेपालीलाई जाँच्छु नभन ।
ऐय्या नभन, आच्छु नभन ।
नेपाल सन्चै छ ।
नेपालीलाई सन्चै छ ।
समृद्धिको सातु
गफैगफले मुछेर
फुक्कै खान्छ नेपाल ।
रेल र पानीजहाज चढेर
संसार जाँच्न जान्छ नेपाल ।
घाउ खोज्दै नबस ।
जाँच्ने दाउ खोज्नै नबस ।
नेपाल सन्चै छ ।
नेपालीलाई सन्चै छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया