यो टपरे बाहुन पढेर खाँदैन
हजुरबुवा भोलि करङ्गे रुद्र राउतको घरमा श्राद्द छ है अघि भर्खर रुद्र काका खबर गर्न आउनु भको थियो ।
ए.. गाह्रो पो पर्ने भो त अरु ३ ठाउँ पनि भ्याउनु छ । भन्दै हजुरबुवाले रातो कपडाले गाँठो पारेर ल्याउनु भएको पोको भुइँमा राख्दै भन्नु भो। मैले हतपत पोको खोल्दै सेलरोटी टोक्दै भनेँ 'अरु चाहिँ कस्कोमा श्राद्द छ नि हजुरबुवा ?' 'माझाघरे दाजुभाइकोमा छ', यति भन्दै हजुरबुवा पुरानो कमिज लगाएर भैंसी दुहुन ढुंग्रो लिएर कटेरो तिर जानुभयो।
यतिकैमा आमा कुवाबाट पानी लिएर आउनु भो। 'जुठो पारिस कि क्या हो ?' भन्दै आमाले गाग्री बिसाउँदै भन्नुभो। 'हैन आमा मैले श्राद्दबाट ल्याएको रोटी मात्र खाएको हुँ अचार अनि खिर छोकै छैन।'
'ओए टपरे बाहुन खै त कान्छा पुरेत कता जानुभो ' भन्दै मलाई खड्का कान्छा अंकलले भन्नुभो। भैंसी दुहुन जानुभको छ एक्छिन बस्नुस भने। 'अनि आज कति पैसा जम्मा गरिस नि' भनेर खड्का अंकलले सोध्नुभो 'आज त गइन म पौडेल गाउँमा थियो श्राद्द, हजुरबुवाले जान दिनु भएन भोलि जान्छु ३/४ घरमा श्राद्व छ ' यति भन्दै गर्दा हजुरबुवा पनि आइपुग्नु भो। 'तिथिले ६ गते चाहिँ मेरो घरमा श्राद्द परेको रैछ छिटै आउनु है कान्छा बा' भन्दै हजुरबुवालाई खबर गरेर खड्का अंकल जानू भयो।
मेरो हजुर बुवालाइ गाउँ घरमा सबैले कान्छा पुरेत, कान्छा बा भनेर चिन्ने गर्छन् । अनि मलाई चाहिँ कान्छा पुरेतको नाति तपरे बाहुन भनेर गाउँ घरमा जिस्क्याएर बोलाउने गर्छ्न । अनि घरमा सबैको कान्छो भएकाले सानो भाइ भनेर बोलाउछ्न तर मेरो वास्तविक नाम चाहिँ सविन निरौला हो।
यो सोह्र श्राद्ध लागे पछि मलाई धेरै फाइदा भएको छ। गाउँघरमा हजुरबुवा जुन जुन घरमा श्राद्द गर्न जानु हुन्छ त्यो घरमा म पनि पुग्ने गरेको छु । अनि टीका लगाएर ५/१० रुपैया पाउने गरेको छु। पछि गएर म पनि हजुरबुवा जस्तै जजमानी बाहुन बन्छु।
यो मेरो सानैदेखिको इच्छा थियो। हुन त जस्ताको संगत गर्यो उस्तै बन्छ भनेर हाम्रो समाजमा भन्ने गरिन्छ। त्यस्तै म पनि पण्डित हजुरबुवाको संगत गरेर भविष्यमा पण्डित नै बन्छु होला पक्कै पनि यस्तै कुरा सोच्ने गर्थे म ।
यसरी नै दिनचर्या बित्दै जाँदा म ५ कक्षाबाट ६ मा उतिर्ण भएँ । अब त पनि हाइस्कुल पढ्ने भइस् भन्दै ममीले भन्नु भयो। हजुर बुवा र ममी बुवा बस्ने घर एक कान्लो मुनि र मास्तिर मात्र थियो। ममीले काम अराउनु हुन्छ भनेर म धेरै जसो हजुरबुवाकै घरमा बस्ने गर्थे।
'ल जतन गरेर बोक्नु है' भन्दै हजुरबुवाले नयाँ झोला किनेर ल्याई दिनुभयो । हाइस्कुल पढ्न करिब १ घन्टा उकालो चढेर जानुपर्थो। उकालो ओरालो गर्दै एक वर्ष बित्यो बार्षिक परीक्षाको नतिजा पनि आयो तर म फेल भएँ ।
कान्छा पुरेतको नाति त फेल भएछ नि दोकान नीर चौतारीमा बसेर गाउँका केही मानिसहरु एक अर्काकामा कुराकानी गर्दै थिए, त्यो टपरे बाहुन टपरी सोरेरै खान्छ पढाइ लेखाइ गर्न सक्दैन गाउँको मैँहु भन्ने एक दुई जनाले भने म भने भर्खर बाख्रा चराएर घर फर्कँदै थिएँ अनि चुपचाप केही नबोली घरतिर लागे।
घरमा हजुरबुवाले त साउ बेगारी फेल भैछ्स नि भनेर भन्दै हुनुन्थियो कुरा सकिन नपाउँदै म कान्ला मुन्तिर ममीको घरतिर ओर्लेँ।
हुनपनि गाउँमा हजुरबुवाको नाम कान्छा पुरेत भनेसी सबैले चिनछ्न त्यही माथि म फेल भएको खबर सबैले एक कान दुई कान मैदान भनेझैं गाउँ भरी हल्ला भयो। म भने झोक्राएर बसेँ । अनि त्यो रात खाना नखाई घुर्की देखाएर सुतेँ। केही दिन यसरी नै बिते त्यतिकैमा गाउँका केही दाइहरु काठमाडौं पढ्न जाने तयारीमा थिए ।
अब म पनि काठमाडौ जान्छु भनेर घरमा ममी बुवालाई भने जानु पर्दैन गाउँमै बस भनेर भन्नु भो तर मेरो मनले मानेन अनि जबर्जस्तिले गर्दा आमा हजुरबुवाले गाउँकै एक जना काका काठमाडौ बस्नु हुन्छ त्यही जानु भनेर कागजमा फोन नम्बर र १५०० खर्च दिनु भो।
भर्खर भर्खरै काठमाडौ र चैनपुर सिधा बस चल्न थालेको थियो म सानै भएको हुनाले मैले मेरो पैसा राख्न बिक्रम दाइलाइ दिएको थिएँ। आँखाभरी आशुँ पार्दै म बस बाट आफ्नो गाउँतिर हेर्दै हातले गाउँलाई बाइबाई भन्दै हात हल्लाए।
गोपाल काका मलाई लिन बस स्टप मै आउनु भएको रैछ। गाउँबाट हजुरबुवाले फोन गर्नु भको थियो भनेर गोपाल काकाले भन्नुभो । बेला बेलामा दसैं तिहारमा गाउँ आउने जाने गर्नु हुन्थ्यो । म पनि राम्रोसँग चिन्थेँ गोपाल काकालाई। ममी म आइपुगेँ है भनेर काकाको फोनबाट कल गरेँ ।
काठमाडौँ आएको भोलिपल्ट गोपाल काकाले मलाई घर नजिकैको सरकारी स्कुलमा भर्ना गराइदिनुभो तर कक्षा ५ मा सहरको पढाइ कडा हुन्छ, त्यही भएर ५ मा भर्ना गर्देको छु कापी किताब पनि छ राम्रोसँग पढ्नु है भनेर काकाले स्कुल आउने जाने बाटो देखाउदै भन्नु भो।
गाउँमा टपरे बाहुन भनेर जिस्काउने बोलाउने गर्थे मलाई तर यहाँ सहरमा सबैले मेरो आफ्नै नाम सबिन भनेर सम्बोधन गर्दा मलाई केही दिन अप्ठ्यारो लाग्यो तर बानी पर्यो केही दिन पछि आफ्नै नाम त होनि भनेर।
यसरी दिनहरु बित्दै थिए । ल बधाई छ कान्छा भनेर गोपाल काकाले भन्नुभो । पास भएछु भन्ने मलाई लाग्यो। अनि काकाले घरमा पनि सुनाउ यो खुसीको कुरा भनेर भन्नुभो अनि मैले हजुरबुबा ममी सबैलाई सुनाएँ।
काठमाडौ बसेको एक वर्ष बढी भैसकेको थियो । बेला मौकाका विभिन्न ठाउँ घुमघाम गर्न जाने गर्थेँ । गोपाल काकासँग बाटो हिड्दा ठूलाठूला गाडी देख्दा म एकोहोरो भएर हेरिरहन्थेँ । आकल झुक्कल आफ्नो जिल्ला संखुवासभा लेखेको साइन बोर्ड देख्दा खुसीको सीमै हुँदैन थियो । हाम्रो गाउँको मान्छे यहाँ आएर बसेको रैछ भनेर आफ्नै आफन्त भेटे जस्तै खुसी लाग्थ्यो।
आज पशुपति मन्दिर दर्शन गर्न जानुपर्छ नुहाइहाल कान्छा भनेर गोपाल काकाले भन्नुभो । मैले नि नुवाइ धुवाइ गरेर गरेर अस्ति दसैँमा टीका लगाउँदा जम्मा भएको पैसाले नयाँ सर्ट र पाइन्ट लगाएँ। काठमाडौ आइकन मेरो पहिलो पल्ट थियो पशुपति मन्दिर दशर्न गर्न गएको। आज म:म खान जानुपर्छ है काकाले भन्नुभयो । यो म म भनेको केहो काका गर्दा मीठो खाने कुरा भनेर बताउनु भयो ।
आज काकाको जन्म दिन रैछ मन्दिर दर्शन गरेर फर्कँदै गर्दा काकाको साथीले ल गोपाल शुभ जन्म दिन छ तिमीलाई भन्दै हात मिलाउनु भो अनि मैले थाहा पाएँ आज काकाको जन्म दिन रैछ भनेर । मैले नि काका तपाईलाई जन्म दिनको धेरै धेरै शुभकामना छ मलाई यसरी नै माया गर्नु है भने। काकाले हाँस्दै भन्नु भयो । मैले घृणा नै कहिले गरेको छु र मेरो कान्छो भतिजलाई ।
यस्तै कुरा गर्दा गर्दै बाजेको सेकुवा भन्ने ठाउँमा काकाले लग्नु भयो मैले सोचे यो बाजेको सेकुवा भनेको बूढो बाजेले अँगेनोमा सेकाएर बनाउने खाना होला भने। भाइ बफ म:म ल्याउ ३ प्लेट अनि चिसो कोक पनि भनेर त्यहाँको काम गर्ने वेटरलाई काकाले अराउनु भो मैले भने काका बाजेको सेकुवा भनेको छ तर काका यहाँ काम गर्ने खाना बनाउने त भर्खर को मान्छे छन् त ? काका र काकी मुर्छा पर्ने गरि हाँस्नु भो काकी खासै हाँसेको देखेको थिएन । मैले आजै हो अनि काकीले भन्नुभो नाम मात्र बाजेको सेकुवा हो । यहाँ काम गर्ने खाना बनाउने सबै भर्खरका तन्नेरीले गर्ने गर्छन् ।
हो नि त भनेर काकाले काकीको कुरामा सहमति जनाउँदै अब त बुजिस् नि कान्छा भनेर भन्नुभो । यति भन्दै गर्दा म:म पनि आइपुगो मैले खाएँ तर अलि चाम्रो चाम्रो लाग्यो भनेर काकालाइ सुनाउँदै थिएँ । यो म:म चाम्रै हुन्छ भनेर मीठो मानेर खाँदै हुनुहुन्थियो। मैले भने आज पहिलो पल्ट म:म खाँदै थिए । यसअघि काकासँग घुमफिर गर्दा चाउमिन खाने गर्थेँ ।
यो केबाट बनेको यसरी डल्लो कसरी बन्छ भनेर काकालाइ सोधेँ, 'यो मैदाबाट बनेको हो । सानो सानो डल्लो पारेर बेलेर पोको पार्छन्' भन्दै काकाले भन्नुभो। अनि यो डल्लोभित्र हालेको मासु चाहिँ केको नि ? मैले चिसो कोक पिउँदै सोधे यो त भैँसीको मासु हो कान्छा यसलाई बफ म:म भन्छन् । राम राम हो र ? काका लौ बर्बाद भो अघि नै भन्नु पर्दैन । म झर्केर काकातिर हर्दै भने । काठमाडौमा मात्र हो म खाने गाउँघर तिर म पनि खान्न । भैँसीको मासु बुवाले गाली गर्नु हुन्छ भन्दै काकाले भन्नु भो।
म खसीको मासु मात्र खान्छु आज यस्तो भैसीको मासु त्यो पनि पोको पारेको म:म हो कि के हो छि भन्दै मैले मुख कुल्ला गर्न ट्वाइलेटतिर लागेँ । गाउँमा हुँदा हजुरबुवाले कुखुरा सुँगुर छुनु हुँदैन भनेर सिकाउनु हुन्यो आज आएर भैसीको मासु खाइयो छि थु थु। मैले आफैँलाई मनमनै गाली गर्दै भने।
आज झुक्किएर बफ म:म खाए अबदेखि म मासुनै खान्न भनेर भने पछि काका काकीले खसिकै मासु भनेर मासु पसल नै देखाए । ल्याएको मासु पनि खाइँन मैले ।
यसरी दिन चर्या बित्दै गयो कक्षा १० को परिक्षा एस.एल.सी. दिएर घर फर्केँ । अब भोलि चैनपुर जाने है कान्छा भनेर गोपाल काकाले भन्नुभो । काका काकीको छोराछोरी नभएको हुनाले मलाई आफ्नै छोरा जस्तै माया गर्नु हुन्थ्यो । मैले नि काकीलाई घरमा काम सघाउने गर्थेँ।
गाउँ पुगेपछि दोकानको चौतारोमा बसिरहेको थिएँ एस.एल.सी कस्तो भयो त टपरे बाहुन भनेर जिस्काउदै मलाई खड्का कान्छा अंकलले सोध्नुभयो । मैले राम्रो भयो भएको जवाफ दिएँ ।
एस.एल.सीको नजिता पनि सार्वजनिक भयो । प्रथम श्रेणीमा उतिर्ण भएछु। अनि गोबिन्द र रन्जनाको के भयो नि काका रिजल्ट ? मैले मोहन काकालाई सोधेँ । 'दुइटै फेल भएछन्' न्याउरो अनुहार पार्दै काकाले भन्नुभो। हिजो मलाई कान्छा पुरेतको नाती पढेर खाँदैन भनेर भन्ने काका आज आफ्नै छोरा छोरी फेल भएको देखेर मलाई दुख लाग्यो तर मैले बिस्तारै भनेँ' पढेर त खाइन होला तर लेखेर त खाएछु नी' भन्दै साथीसँग क्यारेम्बोड खेल्न तिर लागेँ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया