सप्ताहन्त

साहित्य सप्ताहन्त

कविलाई कोरोना

बिरही बाबु ढुंगेल |
मंसिर ६, २०७७ शनिबार ९:३८ बजे

कविजीले आफ्ना थुप्रै पुस्तकलाई श्रीमतीको नाममा समर्पण गरे । कुनै कुनै पुस्तकको अग्रभागको सिङ्गो एक पेज नै श्रीमतीलाई टक्य्राएर मायाका दुई शब्द लेखे । ‘... ... ... उनैलाई ।’ कुनै कुनै पुस्तकमा धन्यवादका सबै पात्रभित्र श्रीमतीलाई यसरी राखे- ‘... .... मेरी प्राण पियारीको अमूल्य माया प्रेरणाको साथै लेखनलाई उपयुक्त वातावरण नबनाई दिएको हुन्थ्यो भने यो कृति कसरी तयार हुन सक्थ्यो र ? ऋणी छु, म यो पुस्तकमा, जाबो एउटा धन्यवादले त्यत्रो गुण कसरी चुक्ता हुन सक्थ्यो ?’

हुन पनि हो नि, कविजीलाई लेख्न उनकी श्रीमतीले कहिले उपयुक्त वातावरण बनाइनन् र ? जहिल्यै बनाइदिइन् । डेरावालकै जिन्दगी भए पनि सहरको ठाउँमा एक फ्ल्याट पूरै डेरा थियो । डेरामध्येको एउटा डेरा कविजीका लागि छुट्टै थियो । त्यही डेरामा रच्थे कविजी अनेक कथा कविता ।


कविजीको मुख्य पेसा भनेको नोकरी थियो । लेखन कार्यलाई चाहिँ सहायक पेसा पनि नभनौँ, एकछिन नलेखी सन्तोष नलाग्ने भएपछि यसलाई शब्दको नसा भनौँ । मनभरि शब्दहरू हुर्हुरी आउँछन्, ती शब्दलाई कपिमा नफिँजाए एकतोला बराबरको पनि शान्ति मिल्दैन । उसो त कविजीलाई अक्षरको बाली नफस्टाएको हैन, प्रकाशन गृहहरूले राम्रै बाली बुझएका छन् । त्यसै बालीबाट कविजीले आफ्नी प्राणा पियारीलाई एउटा आइफोन टक्य्राएर प्राण पियारीको जन्मोत्सव मनाइदिएको थिए ।

प्यारी सबकुरा छोड्न सक्थिन् तर आइफोन छोड्न सक्दैन थिइन् ।  त्यो फोनप्रति उनको त्यतिठूलो लगाव देख्दा कविजीलाई यस्तो लाग्दथ्यो, ‘बल्ल मेरो मस्तिष्कका शब्दले उनको दिल समायो । यो पनि एउटा मजवुत प्रितिको माला हो ।’ कोहीबेला कविजी सोध्थे, ‘प्रिय, तिमीलाई यो फोन कस्तो लगेको छ ?’ प्रतिउत्तरमा प्रिया मुस्कुराउँदै भन्थिन्, ‘यो त हजुरले दिएको मुटु हो मुटु । किनकि यसलाई म एकछिन पनि छाड्न सक्दिन ।' आखिर मुटु छाड्न सक्छ पनि कसले ?

डेड-दुई घण्टापछि म बाहिरबाट संकेत गरौँला अनि ताला खोलौँला कि कसो ?’ ‘सही आइडिया ।’ कविजीले थपडी मारे ।

कविजीलाई कतिपय लेखकहरू, अझ बढी नयाँ लेखकहरूले भेट्न खोज्नु स्वभाविक नै हो । कतिपयलाई यो पनि आश हुन्थ्यो, ‘मेरो यो कृतिमा कविजीले दुई शब्द लेखिदिएमा सुनमा सुगन्ध नै हुन्थ्यो ।’ त्यही भएर कविजीकोमा पाण्डुलिपि देखागन आउने मान्छेको कमी थिएन । यतिमात्र हैन, पाठकहरूलाई पनि त आफ्नो प्रिय लेखकसँग भेटेर दुई-चार बात मार्नपाए हुन्थ्यो भन्ने धोको हुन्छ नै । अनि फेरि पत्रकार मित्रले चाहिँ लेखकलाई नभेट्ने कुरो आउँछ र ? त्यसैले कविजीको डेरामा प्राय कोही न कोही मान्छेको आगमन हुन्थ्यो नै । यो सबै कुराको व्यवस्थापनि मिलाउने जिम्मा उनकै श्रीमतीको थियो । अब कविजीलाई लेख्ने समय मिलाउने कि भेट्ने समय मिलाउने ।

एकदिन पत्नी प्यारीले कविजीलाई भनिन्, ‘हैन हजुर, यसरी सारा मान्छेलाई फोकटमा यत्रो समय दिएर त अक्षरको बनिबुतो बिग्रन्छ त । अब आइडिया केही त लगाउनु पर्‍यो भन्या ।’ कविजीले यसो गम खाएर सोचे, ‘अब आइडिया नै के लगाउनु र !’ उनको मनमा विचार आयो प्रियसीकै मनमा विचार होला, ‘केही त्यस्तो सोचेकी छौ र प्रिय ?’ कविजी बोले ।

‘यो त मामुली कुरा भै गो नि हजुर ।’
‘भन त एकचोटी ।’
‘अब हजुर डेरामा आएपछि हजुरको फोन मलाई उठाउन दिने, भेट्न आउने मान्छे को कस्तो हो त्यसको विचार म गर्छु । अनि हजुर कोठाभित्र बसेर लेख्ने, म बाहिरबाट ताला लाइदिन्छु । डेड-दुई घण्टापछि म बाहिरबाट संकेत गरौँला अनि ताला खोलौँला कि कसो ?’ ‘सही आइडिया ।’ कविजीले थपडी मारे ।

जतिसुकै मुटुको टुक्रा बराबरको भए पनि त्यो मोबाइललाई ट्वाइलेट जाँदा पनि एकछिन भुईँमा नछाड्नुमा के छ कारण ?

त्यसपछिका दिनमा कविजीले आफ्नी प्यारीलाई प्रितिको मीठो बोलीमा मौरी भनेर बोलाउन लागे । उनको कथन यो थियो कि मेरो लेख्ने कुसलता त तिमीले दिएको रस हो । यसरी तिमीले रस नदिएको भए म कसरी कवि ? यो खुसियालीमा कविजीले आफ्नी प्यारीलाई आफ्नो झुसे गालाको स्पर्ष दिएर चुमे ।

तर आज त्रासमय कोरोनाको गुप्तबासी चौबिसौँ दिनमा आइपुग्दा यत्रो अमर प्रितिमा कतै छिर्की लागेको छ भन्ने कुरा पानी झैँ सलल, जून झैँ टलल बुझ्ने मौका पाए कबिजी ले। कविजीको पहिलो आँकलन- जतिसुकै मुटुको टुक्रा बराबरको भए पनि त्यो मोबाइललाई ट्वाइलेट जाँदा पनि एकछिन भुईँमा नछाड्नुमा के छ कारण ? फेसबुकलाई नै सिङ्गो ब्रह्माण्डबुक मानेर बस्नुलाई उनले अनार्थ केही ठानेनन् । तर मोबाइल ट्वाइलेटसम्म किन छिर्‍यो ? मोबाइल ट्वाइलेट पस्नुमा कतै विशाल साहित्यको कथन त छैन ? यदि छ भने लेख्न किन बाँकी राख्यौँ ? यो गुप्तबासी जीवन त्यसै पट्ट्यारलाग्दो भै राखेको छ, प्यारीको आग्रह छ, ‘हजुर मस्त लेख्नुस् ।’

के कविको जात चाहिँ आगाको तातो भट्टीमा बसाले पनि लेख्न सक्ने जात हो र ? अरु केही नभए पनि हातमुख जोड्ने धन, अलिकति मनमा चैन त चाहियो नि । अब सय समस्याले हजार फन्को बेर्न लागिसक्यो कसरी मस्त लेख्नु ? लेख्ने कपिसम्म किन्ने औकात हराउन लागेको अवस्थामा मस्त भन्ने कुरालाई सुस्त पारामै लेख्दा राम्रो होला भन्ने सोचेर कविजीले प्यारीको मोबाइलको पिछा गरे ।

बेलुका खाना खाइसकेपछि दिउसोमात्र रचेको कविता प्यारीको कानमा वाचन गरे । प्यारीले प्रशंसा गरिन्, ‘बहुत राम्रो छ बहुत राम्रो छ ।’ कविजीले अलिकति नाक फुलाए । त्यसपछि प्यारी ट्वाइलेट गइन्, प्यारीसँगै मोबाइल पनि ट्वाइलेट गयो । कविजीले सोचे, ‘यो मोबाइल निकै दिनदेखि ट्वाइलेट पसिरहेकोछ, कतै यसले बात व्यहोरा त गर्दैन !’ आवाजको प्रतिक्षामा कविजीले आफ्ना कानलाई ट्वाइलेटको ढोकामा लगेर टाँसे । बिस्तारै कविजीले साहित्यको अमूल्य खजाना भेटे । मनमनले सोचे, ‘हो प्रिय, तिमी मौरी नै रहिछौ, भुन्भुनाउ प्रिय, अझै भुन्भुनाउ ।’

‘ओ ब्रो !’ को ब्रो हो खै, ब्रो को आवाज कविजीको कानमा पसेन । प्यरीको आवाजमात्रै सुनियो ।
‘मेरो याद आएर मर्न आँटेँ रे ?’
एकछिन समय शुन्य रह्यो ।
‘याद आए हेर्न त मलाई । त्यही अस्ति मोबाइलमा खिचेर राखिथिइस् त ।’
‘भो !’, कविजीले टाँसिएका कानलाई उप्काए । सोचे, ‘अब यो कथाले कविता माग्छ कि काव्य माग्छ ?’
भोलिपल्ट कविजीले उही समयमा कविता सुनाए-
‘रानो भयो खोलापारी मौरी खोलावारी,
बाटैमा छ झुसेघारी कसले देला तारी ।।'

‘हत्तेरिका, हजुर आउनेमात्रै भन्नु न, म यो झुसेलाई पल्लो कोठामा थुन्दी हाल्छु नि । उता ऊ लेख्छ, यता हामी लेखौँला ।’

प्यारीलाई यो कविताले सारै दिल छोयो । उनले पनि कविजीसँग कण्ठस्थै पारिन् अनि ट्वाइलेट छिरिन् । कविजीले हिजोकै जसरी कथा खोजे । खै कसलाई हो, प्रियले उही कवितालाई मोबाइलको दुलामा वाचन गरेर उसको कानसम्म पुर्‍याइन् र एकछिन हाँसिन् । सायद उताको श्रोता पनि हाँस्यो होला । हाँसोपछि गफ चल्यो- ‘हजुर भोलि बिहान आउने हो त ?’
खै, उसले के भन्यो !
‘हत्तेरिका, हजुर आउनेमात्रै भन्नु न, म यो झुसेलाई पल्लो कोठामा थुन्दी हाल्छु नि । उता ऊ लेख्छ, यता हामी लेखौँला ।’

भो भो, कविजीले योभन्दा बड्ता सुन्न सकेनन् । आखिर सुन्नु पनि कसरी ? साहित्यको राम्रै खुराक पुगिहाल्यो । एकमनले कविजीलाई रिस पनि उठ्यो । तत्कालै सोचिहाले, ‘रिसाउनु त हुँदैहुँदैन नि । साहित्यको सागर भेटेको बेलामा कहीँ रिसाउनुहुन्छ ? त्यहाँमाथि कवि उसै पनि सागर हो । सागरमा के चाहिँ आउँदैन र ? त्यो सबै कुरालाई सागरले पवित्र मानेकै हुन्छ नि । के ‘वैराग्य शतक’ त्यसै रचिएको हो ?’

निद्रा नआउन्जेल कविजीले मनभरी एउटा उपन्यासको रूपरेखा तयार पारे । शिर्षक राखे ‘मौरीका फूलहरू’ । अब सहर बसेर के लेख्नु, लाग्छु गाउँ ।
प्रियको अनुमति लिएर कविजी बिहानै सहरभित्रको बस्तीबाट एउटा छड्के झोला भिरेर निस्किए । मुल सडकमा आएपछि पुलिस दाजुले हप्काए, ‘ए झुसे, लकडाउन भन्ने था छैन ? काँ निस्केको ?’ पुलिसको यो भनाइबाट कविजीको उपन्यासमा अर्को एक अध्यायको विकास भयो । ‘यसले झुसे नै किन भन्यो मलाई ? यो पनि मौरीको आँखामा सुन्दर फूल त बनेको छैन ?’

कविजीले बडो कष्टकासाथ पैदलयात्रा पार गरेर गाउँमा आइपुगे । गाउँमा आइपुग्ने वित्तिकै पहाडको चिसो पानी स्वच्छ वायुले कति आनन्दित पारामा कविजीको मुटुमा सिर्का हान्यो । वन-जङ्गल, पहाड-पर्वत, खोला-नाला, सेतै फुलेको कविजस्तै गम्भीर चेहराको सेतो हिमाल । ‘अँ, अब पो लेखिन्छ त उपन्यास ।’ कविजीले गमक्क परेर झुसे गाला मुसारे । शब्द कोरले, खण्ड-खण्डका पत्र पट्ट्याए ।

‘आउन त आइस्, कस्तो भएर आइस् ? हामी त के जान्नु बाबु, कोरोनो आयो भन्छन्, कस्तो खालको कोरानो आएको हो ? अब त बाउदेखि छोरो, छोरोदेखि बाउ डराउनु पर्छ अरे ।’ घरको आँगनको डिलमा पाइला रख्ने बित्तिकै छयहत्तरवर्षे बाउबाट कोरोना पुराणको एक अंश सुन्न पाएपछि कविजीका पाइला टक्कै रोकिए । ‘अब के भन्ने ?’ मनमा शब्दको सागर उर्लिएर कविजीले दुनियाँमा अहिले कोरोनाको रामराज्य छ भन्ने कुरै बिर्सिएछन् । बल्ल उनी झस्किए । पिताको अनुहार हेरे । पिताको अनुहार कारोनाको त्रासले लगलग कामिरहेको थियो । अब आफूले सजगताको कुरा सोचिएन भने कोरोना आउनुभन्दा पहिले नै पिता पितृ हुन के बेर । गाँठे ! बुढाले हरिया बुटा अझै देख्नु पर्छ ।

पितातिर हातले सान्त्वनाको इसारा मिलाउँदै कविजीले आश्वासन दिए, ‘चिन्ता नलिनू न बुबा, म तीनहप्ता छोइछिटो नगरी अलग्गै बसौँला ।’तीनदिन बित्यो, कविजीले पचासपाने कापिलाई सिध्याए । अब गुप्तबास त जतिदिन बिताउनु परे पनि कुन चिन्ताको विषय छ र ! तर कापि छैन । यसो सोचे, ‘गाउँको पसलमा कापि कसो नहोला । बाक्लो कापि दशओटा जति ल्याउनुपर्ला, अनि आनन्दसँग लेख्नुपर्ला । होम क्वारेन्टाइन पनि हुने, उपन्यास पनि बन्ने ।’ झुसे गाला मुसारेर छोटा पाइला चाल्दै मनमा शक्दका तानामाना बुन्दै पुण्डरी काजीको पसलतिर लम्कँदै थिए ।

कविजीको गाउँमा अलग्गै प्रतिष्ठा थियो । सम्मानित मान्छे नै हुन् उनी । साँचो कुरा बताउनुपर्दा उनले समाजको लागि पुर्‍याएको योगदानले नै सम्मान कमाएका थिए । समाजको स्कूल, बाटो स्वास्थ्य चौकी, सहकारी, विभिन्न संघसंस्था पहिले उनी गाउँमा बस्दा उनकै अगुवाइमा सञ्चालन भएका थिए । त्यसैले त उनको राम्रै इज्जत थियो । जब अहिले कविजी कापि किन्न पसलमा पुगे, तब उनी अर्कै अनर्थमा परे । बाफ्रे ! कविजीलाई देख्नेजतिका स्वर एउटै लयमा कुर्लिए, ‘के हो गुरु ! यसरी सहरबाट सरासर गाउँ आएर जताततै होमिन मिल्छ ? कमसेकम तपाईँ त बुझ्ने मान्छे हो नि गाँठे, के पाराले डुलेको यसरी ?’ फेरि अर्कोतिरबाट पनि स्वर थपिए, ‘गुरुलाई लैजाऊ, लैजाऊ क्वारेन्टाइनमा लैजाऊ ... .... ।’

छिनमै कविजीको घरलाई गाउँलेले घेरा हाले । सिङ्गो गाउँबस्तीबाट दुनियाँदार जगत जागेर आयो ।

कविजीको सातो उड्यो । कापि न सापि । कविजी उफ्रँदै घरमा आए । यतिखेर चाहिँ पिताजीले अलि चर्कोस्वरमा प्रश्न उठाए, ‘काँ गाको तँ ?’ 
‘कापि किन्न ।’ 
‘तँलाई अहिले किन चाहियो कापि ? तेरा बाउलाई जन्तर बाँध्न आँटिस् र मन्तर लेख्न चाहियो कापि ?’

छिनमै कविजीको घरलाई गाउँलेले घेरा हाले । सिङ्गो गाउँबस्तीबाट दुनियाँदार जगत जागेर आयो । कविजीभन्दा दशहात परबाटै दुनियाँको एक स्वरले अलाप गायो, ‘के हो गुरु ! तपाईँले के सिङ्गो गाउँलाई एकैचोटी सोलोलो पार्न खोजेको हो ? के हो कोरोना तपाईँलाई थाहा छैन ? यस्तो महामारीको रूप फैलिसक्यो । अब पैताला टेके पैतालामै कोरोना, हाइ आए पनि कोरोना, हाच्छ्युँ आए पनि कोरोना, जे गर्दा पनि कोरोनै कोरोना भैसक्यो ।’

कविजी शालिकसरी बिच आँगनमै उभिइरहे । जागाज्योति समाजतिर ढल्किएर बाउ बोले, ‘यसलाई कोरोनै भएजस्तो छ, एकछिन चुप लगेर बस्न मानेको छैन, चम्चमाइहाल्छ ।’ सब लागे । कविजीलाई क्वारेन्टाइनमा पुर्‍याए । एउटा लिठिक्क पाल टाँगेको क्वारेन्टाइनम, उनको आत्माले कापि र कलम माग्छ । माग्दा दुनियाँ एउटै स्वरमा जगमगाएर बोल्छ, ‘हैन, कापि समाउनु हुँदैन कोरोना लाग्छ ।’  


Author

थप समाचार
x