कोभिड अनुभव
तन्द्रादेखि चंगासम्म : जहिल्यै आजै हो अन्तिम लाग्ने
स्थानीय तहले विद्यालय खोल्ने नीतिगत निर्णय गरिरहँदा त्यसको केही दिन अगाडि मात्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विद्यालय खोल्न हतार नगर्न आग्रह गर्नुभएको थियो । संघीय सरकारले करिब ९० लाख विद्यार्थीको पढाइ प्रभावकारी नभएकाले वैकल्पिक विधिबाट नै गरिरहेको थियो ।
इमेज च्यानलमा मैले शिक्षा, वातावरण र सुरक्षा/अपराध बिटको रिपोर्टिङ गरिरहेको थिएँ । यही रिपोर्टिङ लागि कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्ण थापा र भौतिक रूपमा सञ्चालनमा आएका संस्थागत विद्यालयका प्रधानअध्यापकहरूसँग कुरा गरिसकेको थिएँ ।
मूलपानीतिर गएर यो रिपोर्टिङ पूरा गर्छु भन्ने सोचेर क्यामरा शाखामा खबर गरेँ, ‘मलाई भोलि बिहान ८ बजे मूलपानी क्षेत्र आसपास जानु छ बाइक भएको क्यामराम्यान मिलाइदिनुस् ।’
तर, सोही रात एक्कासि स्वास्थ्य समस्या आयो । लक्षण कोभिड १९ सँग मिल्दाजुल्दा थिए । आत्तिँदै अस्पताल पुगेँ र स्वाब दिएँ । यो चक्करमा अफिसको क्यामरा डिपार्टमा भन्नै बिर्सेछु । भोलिपल्ट क्यामराम्यान तयार हुनुभएछ तर मेरो अत्तोपत्तो छैन । क्यामरा डिपार्टबाट फोन आएपछि अस्पताल आएको जानकारी गराएँ । अन्तिम दिन आजै हो कि !
स्वाद कम हुँदै थियो । खानामा रुचि कम हुँदै थियो । भोक लाग्थ्यो तर मुखबाट खाना गए पो ! कोभिड हुनुभन्दा अघि नै खानामा अरुचि हुन थालेको थियो । ग्यास्ट्रिकले हो कि भनेर चेक गराएर औषधि खाइरहेको थिएँ । भिटामीन ‘डी’ को कमी भएर भिटामीन ‘डी’ पनि सेवन गरिरहेको थिएँ । यो क्रम करिब तीन महिनादेखि चलिरहेको थियो । यही बीचमा श्रवण शक्ति ह्रास भएको, स्वाद त थाहा हुने तर कतिको मात्रामा तिख्खर छ, त्यो भने खुट्याउन नसकिने भएको थियो ।
सामान्यतया कोरोनाको लक्षणसँग मिल्दोजुल्दो भनेको स्वाद हराउँदै जानुमात्र हो भन्ने हेक्का गरेको थिएँ । न त ज्वरो थियो, न त रुघाखोकी । त्यसमाथि चिकित्सकले ९८-९९ डिग्रीसम्मको ज्वरोलाई सामान्य नै मान्दा रहेछन् । मौसम परिवर्तनको समयमा खाना बेस्वाद भएको अनुभव छँदै थियो त्यसैले सुरक्षा सावधानीमा अझै चनाखो बनेँ, दैनिकी चल्दै थियो ।
अस्पताल जानु अघिल्लो दिन रिपोर्ट बनाएर साँझ डेरा फर्किएँ । साथीले फोन गरेर चिया खान बोलायो, चाबहिल चोकमा चिया खान गएँ र डेरा फर्किएँ । खाना बनाएर खान लागेँ । खानामा रुचि थिएन । साबिकको भन्दा आधा खाना पस्किएँ । तर, दुई तीन गाँस के मुखमा हालेको थिएँ एक्कासी बमिट होला जस्तो भयो । बल गरेर एक दुई गाँस खाएँ तर तेस्रो गाँस मुखमा लैजान सकिनँ ।
पेट हावा भरिएजस्तै टम्म भयो । भर्खरै पानी पिएको छु निको हुन्छ होला भनेर सोचमग्न भएँ । मनमा अनेक तर्कना आयो । बिस्तारै शरीर शिथिल हुँदै गयो । चिट-चिट पसिना आउन थाल्यो । बाल्यकाल देखि जीवनका कठिन मोड सिनेमाका रिलझैं एकैसाथ दिमागमा घुम्न थाले ।
पहाडमा घाँस दाउरा गर्दा मुस्किलले बचेको क्षणदेखि, अरिंगाल, चितुवाको सिकार बन्नबाट बचेकोसम्मका झन् दिमागमा आए । चाबहिलदेखि नुवाकोटको सूर्यगढी र विदुर क्षेत्र मनैमनले नापेँ । म तन्द्रामै थिएँ । डेरा अगाडि नाम चलेका अस्पताल छन्, इमर्जेन्सीमा भर्ना हुन जाऊँ भन्ने पनि सोचेँ । तर, दिमागले सोच्यो मात्र, जिउ उठेन । शरीरबाट अनौठो गन्ध आइरहेको महसुस गरेँ । त्यस्तो गन्ध पहिलो पटक अनुभव गरिरहेको थिएँ । नजिकका साथीलाई फोन गरुँ भनेर फोन हातमा लिएँ पनि तर औंलाले नम्बर डायल गर्न सकेनन् ।
उहाँले गुनासो गर्नुभयो, ‘किन नभनेको मलाई ? ‘बूढी आमैले धेर पिर गर्नुहोला भनेर नि ?’ आमालाई जिस्किँदै भनेँ । आमाले मायाले भन्नुभयो, ‘ठूलो भइछस् तँ पनि । मेरो चिन्ता गर्ने भइस् ।’
चाबहिलमा म सुतेको बेड कहिले चक्रपथ पुग्छ, कहिले गौशाला । आँखा झिम्क्याउन पनि नसक्ने भएँ । आधा होसमा आएजस्तो आधा बेहास भएजस्तो गरेर छटपटिइरहेँ । अस्पतालको नम्बर त गुगल गर्दा पनि भेटिन्छ,.... आफैँलाई भन्छु होइन अस्पताल जानुपर्छ... उठ् ! सके पो उठ्नु ? बेडबाट झरेर ढोकासम्म पुगेर घ्यार...घ्यार आवाज निकाल्न सके पनि वल्लोपल्लो कोठाका छिमेकीले थाहा पाएर केही सहयोग गर्ने थिए कि ?
सम्पर्कको सूत्राधार फोन टेबलमा भए पनि हात उठ्न सकेन । पर कुनै कुनामा पुगेको जस्तै भयो । आज अन्तिम दिन रहेछ सायद । ‘मरण लेखान्त जस्तो छ त्यस्तै हुन्छ ।’ बुबाको किरिया बस्दा अग्रज तथा पण्डितले सात वर्ष अघि भनेको कुरा याद आयो । सोचेँ, सायद ढोका बन्द गर्न बिर्सिएको भए पनि अन्य कोठाका साथीहरूले देख्ने थिए र मैले मृत्युवरण गरेमा लास छिट्टै उठाउन पहल गर्ने थिए ।
शरीरको अंग-अंग दुख्थ्यो । यस्तो दुखाइको अनुभव अहिलेसम्म गरेको थिइनँ । मांसपेसीले हड्डी छोडेजस्तो । दुःखमा आमाको याद आउँदो रहेछ । अहिले म यत्रो भए पनि उहाँको जिउभित्रबाट त हुर्केको हो । म जन्मेपछि न भगवान, भूत, प्रेत अनि बाहिरी संसार थाहा पाएँ । आज नै मेरो अन्तिम दिन भए पनि मेरी आमालाई उतिसाह्रो नदुख्दो हो किनकि उहाँ यसअघि पनि आफ्नो सन्तानले आफ्नै काखमा मृत्युवरण गर्दा साक्षी बसिसक्नुभएको थियो ।
सिनो फतक्क गलेपछि सजिलै हड्डिबाट छुटिन्छ । मेरो शरीर त्यस्तै भएको थियो । चार-पाँच घण्टाको समय मृत्युसँग पौँठेजारी खेलेजस्तै भयो । दुखाइसँग लड्दा लड्दै झपक्क भएछु । एक्कासि झस्किएँ । ओहो पेट कटक्क काट्यो । हलचल गर्न सक्ने भएछु । कति बज्यो ? घडी थिएन फोन खोजेँ, किचन र्याकमुनि पुगेछ । अलिकति स्क्रिन फुटेछ । अन गरेँ बिहानको चार बजेछ । हिँड्ने साहस थिएन । भित्ता छाम्दै बाथरुम छिरेँ ।
बिहानको साढे छ भएछ । अब त उठ्नसम्म सक्ने भएँ । राति भएको ऐँठन सम्झेर अत्यास लाग्यो । आफैँलाई सम्झाएँ मर्न कहाँ सजिलो रहेछ ?
पेट त हावाले डुम्म भएछ । फेरि छट्पटी सुरु भयो । तातोपानी पएँ, ग्यास्ट्रिकको औषधि खाएँ तर समस्या बीसको उन्नाइस भएन । शरीर थरथर काँपिरहेको थियो । सुत्न नसक्ने तर टुसुक्क बस्न सक्ने भएँ । फेरि समस्या सुरु भयो । चिटचिट पसिना छुट्यो, मांसपेसी दुख्न थाल्यो । ऐय्या र आथ्था गर्दै छटपटिँदा छटपटिँदै फेरि निदाएछु ।
बिहानको साढे छ भएछ । अब त उठ्नसम्म सक्ने भएँ । राति भएको ऐँठन सम्झेर अत्यास लाग्यो । आफैँलाई सम्झाएँ मर्न कहाँ सजिलो रहेछ ? अब जतिसक्दो अस्पताल जानु छ । इन्डोस्कोपी गरेर ग्यास्ट्रिकको औषधि हेल्पिङ ह्यान्ड्स अस्पतालबाट सेवा लिइरहेको थिएँ । कोठाबाट निस्किएँ । हिँड्दा आनन्द आयो । सास फेर्न सहज भयो । फेरि सोचेँ, अफिस जाऊँ कि के हो ? होइन कोरोनाको परीक्षण गर्नुपर्छ कम्तीमा ढुक्क त भइन्छ ।
अस्पतालतिर पाइला लम्काउँदै गर्दा धेरै सहज भयो । सोचेँ, मेडिकलतिर गएर औषधि लिए मात्र होला कि ? होइन अस्पताल नै जाऊँ अहिले सहज भयो भन्दैमा खेलाँची नगरौँ । मन अन्तद्र्वन्द्वमा पर्यो । रातिको अत्यासलाग्दो गाह्रो सम्झेर एकछिन बाटोमै रोकिएँ । बाइकको हर्नले झस्किएँ । मेरो मोटरसाइकल अस्पतालतर्फ सोझियो ।
अस्पतालको काउन्टर पुगेर फाइल दिँदै भनेँ, ‘म इमर्जेन्सीमा भर्ना हुन्छु, कति लाग्छ ?’ तपाईंलाई के भयो ? छोटकरीमा लक्षण सुनाएँ र अवस्था बताएँ । फाइल हेरेर काउन्टरबाट जवाफ आयो, एकैछिन पर्खनुस् आठ बजे हजुरलाई हेर्ने डक्टर आउनुहुन्छ । टिकट काटेर कोठा फर्किएँ । चिफ रिपोर्टर रामप्रसाद दाहाललाई अस्वस्थ भएर बिहानको योजना बमोजिम अफिस जान नसक्ने बताएँ । उहाँले आराम गर्न सुझाउनुभयो । आठ बज्यो अस्पताल पुगेँ । डाक्टरसँग रातभर भएका लक्षण र अवस्था बताएँ ।
शरीरमा तागत थिएन । ग्यास्ट्रिकसँग मिल्दोजुल्दो लक्षण बताएँ । उहाँले रगत परीक्षण गर्न र कोरोनाको परीक्षण गर्न सिफारिस दिनुभयो । कोरोनाको स्वाब १० बजे गर्ने भयो । रगत परीक्षण गर्दा सुई रोप्न डर लाग्यो । सिरिन्ज रोप्न हात काटे बराबर डराएँ । रगतको रिपार्ट ठीक रहेछ ।
सिरिन्जले पनि डर लागिरहेको थियो । भाउन्न भयो । अस्पतालको एक छेउमा गएर बसेँ । कोरोनाको लक्षण नदेखिए पनि राति एक्कासी भएको गाह्रो र अस्पतालको माहोल नियालेपछि अब कोरोना भयो भन्ने भयो । नेपालटारमा रहनुभएका दिदीभेनालाई गाह्रो भएर पीसीआर गर्न लागेको खबर गरेँ ।
दिदीभेनाले सान्त्वना दिनुभयो । तर कथंमकदाचित कोभिडको लक्षण देखियो भने चाहिँ दिदी भिनाजु पनि चोखो रहनुहुन्थेन । किनकि तीन दिन अघिमात्र म त्यहाँ गएको थिएँ । भान्जाभान्जीसँग खेलेको थिएँ । ७ वर्षका अनमोल भाञ्जासँग सुतेको थिएँ । रिदम र रितिस्मासँग जिस्किएको थिएँ । अफिसमा कोरोना संक्रमण देखिएयता सबै व्यवस्थापनमा अग्रसरता लिनुभएको सिनियर प्रोड्युसर दीपेन्द्रराज डंगोललाई पनि जानकारी गराएँ । हिजोसम्म रिपोर्ट बनाएर बसेको मान्छे एक्कासी पीसीआर गराउन लागेको खबरले उहाँ अचम्भित हुनुभयो ।
जब पोजेटिभ रिपोर्ट आयो
बाह्र बजे स्वाब दिएँ । साँझ ७ बजे थाहा पाएँ । मलाई कोभिड पोजेटिभ भएको रहेछ । सिटी भ्यालु १० रहेछ । कोरोना पोजेटिभ देखिएको भन्दा पनि २१ दिनपछि पीसीआर गर्नुपर्ने सुझावले झट्का लाग्यो । कोरोना पोजेटिभ भएको अफिसमा जानकारी गराएँ । दिदीभेनालाई जानकारी गराएँ, परिवारका अन्य सदस्यलाई जानकारी दिने÷नदिने दोधारमा परेँ । आमाले धेर पीर मान्नुहोला भनेर नभन्ने निधो गरेँ र माइला दाजुलाई मात्र खबर गरेँ ।
कहाँबाट सर्यो ?
कहाँबाट सर्यो ? अलमलमा परेँ । नेपालटार जाँदा सार्वजनिक बस चढेको थिएँ । तर, सुरक्षा सावधानी अपनाएको थिएँ । पल्लोपट्टि कोठाका साथी एक हप्तादेखि बिरामी थिए । तर उनी नियमित अफिस गइरहेका थिए । उनीसँगै बस्ने अरु पनि नियमित अफिस गइरहेका थिए । हालसालै प्राइम टाइम्स टिभी गएका सहकर्मी सागर महर्जनले मेसेजमा स्वास्थ्य अवस्था सोध्दै थिए ।
पल्लो कोठाको बिरामी साथी तीन-चार दिनदेखि बाहिर देखेको थिइनँ । उसलाई सोधेँ, तिम्रो अफिसको समाचार प्रस्तोता फलानालाई कोभिड भएको हो ? बिरामी थियो तीन-चार दिनदेखि बाहिर देख्दिनँ ? उसलाई कोराना पोजेटिभ भएको र कोठामा बस्दा अरुलाई खतरा हुने भन्दै अस्पताल भर्ना गरिएको तीन-चार दिन भएको सागरले बतायो । अब ढुक्क भएँ, सँगै बस्ने गरेको फ्ल्याटबाट कोरोना सर्यो ।
आइसोलेसनको खोजी
एकरात होम आइसोलेसनमा बसे पनि अरुलाई खतरा हुने भएपछि अस्पताल वा आइसोलेसन खोज्न सम्भव हुने जतिलाई फोन गरेँ । पहिला अफिसमा फोन गरेँ । पत्रकार महासंघदेखि चलचित्र पत्रकार संघ तथा चिनेजानेकोलाई खबर गरेँ तर कसैले केही गर्न सकेनन् ।
पाँच घण्टाको बीचमा बाह्र पटक स्वास्थ्य मन्त्रालय र एम्बुलेन्समा फोन गरेपछि दुई निकायको समन्वयमा मलाई लिन एम्बुलेन्स आइपुग्यो ।
अफिसका साथीहरूले एपीएफको कोरोना युनिफाइड अस्पताल जान सुझाए । सो अस्पतालमा कार्यरत मामालाई फोन गरेँ । बल्लबल्ल बेड मिल्यो । अस्पतालले १०२ नं को आपतकालीन एम्बुलेन्स सेवालाई खबर गर्यो । तर, एम्बुलेन्सले मसँगैसँगै नाम टिपाएका साथी आफैँ बाइकमा गएकाले म पनि सोही बाइकमा गएको अनुमानले खबर गरेको रहेनछ ।
पाँच घण्टाको बीचमा बाह्र पटक स्वास्थ्य मन्त्रालय र एम्बुलेन्समा फोन गरेपछि दुई निकायको समन्वयमा मलाई लिन एम्बुलेन्स आइपुग्यो । चाबहिलबाट एम्बुलेन्स एपीएफ युनिफाइड अस्पतालतर्फ हुँइकियो । अहो ! म पनि बिरामी ? अनि यो एम्बुलेन्स । म तन्द्रामा थिएँ । एम्बुलेन्स चाबहिलबाट गौशालातर्फ साइरन बजाउँदै हुँइकिदै गर्दा सोचे ‘यसले पनि म बिरामी भएको खबर प्रसारण गरिरहेको छ ।’
मृत्युशैय्यामा ऐय्या...भनिरहेका बिरामी बोक्दा बज्ने साइरनले ब्रेकिङ न्यूज भनिरहेको छ र फ्लास न्यूज दिइरहेको छ । म कोराना भाइरस शरीरमा बोकेर एम्बुलेन्समा सयर गर्दैछु । अघिपछि सामान्य लाग्ने सहरको संरचना, घण्टाघर, जामे मस्जिद टुँडिखेल, भत्किएको धरहराले मलाई गिज्याइरहेको जस्तो लाग्यो । सोचेँ, यो सहरमा कोरोनाको संक्रमणबाट अब को बचेको होला ?
अस्पताल पुगेपछि झस्किएँ
एम्बुलेन्स अस्पताल पुग्यो, नाम बोलावट भयो । सेतो पोलेथिन झोला लिन भनियो र बेड नं १५३ मा जान भनियो । चारबाटा ब्लक रहेको र सी टु ब्लकको टपमा जान भनियो । श्रवणशक्ति क्षय भएको थियो । थप प्रस्ट हुन फेरि सोधे । अस्पतालको बेडमा पुगुन्जेलसम्म दिमाग तन्द्राबाट निस्किसकेको थिएन । ओहो ! म त कोरोना संक्रमित भएर अस्पतासको बेडसम्म पुगेँ । म झस्किएँ । दसओटा बेडमा संक्रमित रहेछन् ।
सब पुरुष तर बाहिर महिला वार्ड लेखिएको छ । हो कि होइन भन्दै कोठा प्रवेश गरेको म अन्य बेडमा ओढ्ने ओछ्याउने देखेपछि बल्ल जागा भएँ । अहो ! मैले त केही पनि ल्याएको छैन कपडा बाहेक । रातको आठ बज्नै लागेको थियो । सबैले खाना खाइसकेका रहेछन् । दिएको समान र आफ्नो झोला बिसाउँदै नजर डुलाएँ । एक जनाले सुझाए, झोलामा ओढ्ने ओछ्याउने छ त्यो लगाऊ अनि त्यहाँ भएको कागजमा खानाको नम्बर छ, फोन गरेर मगाऊ ।
कोरोना संक्रमितको उपचारको बिल लाखौँ आएको खबर पढिरहेको थिएँ । एकपटक बिल कति उठ्ने हो भन्ने चिन्ताले चिन्तित भएँ । फेरि चित्त बुझाएँ, ‘सरकारी अस्पताल हो । ढाडै त नसेक्ला नि ।’ परीक्षण अघिको रातको समस्या झेलिसकेपछि बाँच्न चैँ बाँचियो भन्ने लागेको थियो । तर, २१ दिन कसरी पो बिताउने ? २ ओटा उपन्यास लगेको थिएँ । अब केही दिन त साथ देलान् नि !
अस्पताल पुगेपछि आफन्त तथा साथीहरूलाई जानकारी गराएँ । अस्पतालको बसाइ सुरु भयो । सास फेर्न गाह्रो हुने र ज्वरो घटबढ हुने समस्या त छँदै थियो । बिहानै शरीरको ज्वरो, रक्तचाप अक्सिजनको मात्रा लगायतका कुरा भाइबर गरेर डाक्टरकोमा पुर्याउनुपर्ने रहेछ ।
मास्क लगाउँदा सास फेर्न गाह्रो हुन्थ्यो । अक्सिजन त ८२ आउँछ । नाप्न सहजीकरण गरिरहेका अर्का साथी झस्किए । अहो ! तपाईंले डक्टरलाई फोन गर्नुस् । बिहानको समय, शरीरमा भाइरस धेरै भए अरुलाई जोखिम नहोस् भनेर मास्क लगाउँथेँ । मास्क खोलेर एकछिनमा जाँचेँ, ८९ आयो । केही सुधार भएकाले ती मित्रले फेरि नाप्न भने बल्ल ९३ पुग्यो । अनि लामो सास तानेर उनले भने, अक्सिजनको मात्रा ९० भन्दा तल भयो भने अक्सिजन दिनुपर्छ । अस्पताल बसेको एक हप्ताभन्दा बढी भएकाले उनले थाहा पाएका रहेछन् । अधिकांश बिरामी एपीएफकै थिए । कोही भन्थे, ‘अहिले कुदाए पनि हामी २ माइल कुद्न तयार छौँ केको कोरोना ?’
पहुँचवालको मात्र उपचार
कोभिड १९ युनिफाइड अस्पतालमा भुइँमान्छे कसरी पुग्नु ? जसलाई उपचार प्रक्रिया कसरी हुन्छ ? थाहा छैन । एपीएफकै विभागीय कर्मचारी संक्रमित हुँदा समेत उपचार गर्न कठिन हुने रहेछ । ३० जना दरबन्दी रहेको गणमा २८ जनाको रिपोर्ट पोजेटिभ, अब के गर्ने ? सुरक्षा प्रोटोकल अपनाएर ड्युटी गर्नुको विकल्प थिएन । कोरोना परीक्षण गर्न विभागले अस्पताल नपठाई अन्य ठाउँमा पठायो । यस्तै कुराकानी र गुनासो गर्थे, अधिकांश विभागीय संक्रमितहरू ।
असोज २६ गते नयाँ पत्रिकाको ‘तातो सडकपेटीमा कोरोना संक्रमित’ भन्ने समाचारका ६२ वर्षीय सोमबहादुर लामाजस्ता संक्रमित आइसियुमा स्वास्थ्यकर्मीको निगरानीमा हुनुपर्ने थियो । उनीजस्तै संक्रमितको लागि बनाइएको थियो कोरोना अस्पताल । तर, लामा जस्ता संक्रमित कसरी पुगुन अस्पतालसम्म ?
एकजना विभागीय कर्मचारीको परिवार नै संक्रमणमा परेछ । उपत्यकाका रैथानै उनीहरूलाई उपचारका लागि पैसाको कमी रहेनछ । ती कर्मचारीका सात दशक उमेर पुगेका बुबा पूर्वकर्मचारी तथा राजनीतिमा पनि सक्रिय व्यक्ति रहेछन् । उनी अहिले पनि यौनकर्मीको तिघ्रो चिमोटेकोदेखि खसीको घिच्रो निमोठेको कुरा निर्धक्क राख्थे ।
आफ्नो ज्वाइँ संक्रमित भएको र ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा पाँच दिनमा ५ लाख खर्च भएको फेहरिस्त सुनाउँथे । विभागीय कर्मचारीले उपचार प्रक्रिया थाहा भएर सहजै उपचार गराए पनि लामा जस्ता उपचार प्रक्रिया थाहा नभएका संक्रमित तातो सडकमा कोरोना भाइरस सेकाउँदैछन् । भित्र काम गर्ने आफन्त नभएका भए सायद म पनि स्तरीय सेवा दिने कोभिड अस्पतालबाट विमुख हुनुपर्थ्यो ।
अर्का एकजना पुल्चोकतिरका युवा थिए । उनी होम आइसोलेसनमा बस्दा समस्या छैन भन्थे । कब्जियतका बिरामी रहेछन् । घण्टा घण्टामा रक्तचाप लिइरहन्थे । गाह्रो भयो भनिरहन्थे । जब डाक्टरले यहाँ कब्जियतको उपचार हामीले गर्न सक्ने यति हो भने अनि कोरोना पोजेटिभमै स्वेच्छिक डिस्चार्ज लिएर गए । अर्का कोभिडका बिरामी रहेछन् । अस्पतालले उपलब्ध गराएको खाना खाजा केही खाएनन् । घोत्लिरहे फोनमा नै झुम्मिरहे र आएको ६ घण्टामा फोन घुमाएको भरमा डिस्चार्ज भए । फोनमा भने खाना खाजा केही स्तरीय र स्वास्थ्यवर्धक नभएको जिकिर गरिरहन्थे ।
निको भयो कोभिड-१९
ल्याबले २१ दिन पछि मात्र पुनः परीक्षण गर्नुपर्ने बताइरहँदा रियल टाइम पीसीआरमा १० दिनमा नै नेगेटिभ आयो । सास फेर्दा छाती चिर परेजस्तो हुँदा अस्पताल छिरेको म त्यहाँको खानपान र साधना तथा योगले छिट्टै निको भएँ । मास्क लगाएर बस्न आदेश आइरहँदा मास्क लगाउन नसक्ने भएपछि किताबले अनुहार छोपेर पढ्थेँ । त्यसो गर्दा सिसीटिभीमा मेलै मास्क नलगाएको देखिँदैन थियो । फौजी शैलीबारे परिचित म अधिकांश फौजी साथीहरू चाँडै घुलमिल भएँ ।
२-४ दिनको बसाइले उनीहरू आत्मीय भइसकेका थिए । १४ दिन अनिवार्य आइसोलेसन बस्नुपर्ने अस्पतालको नियम रहेछ । रियल टाइम पिसीआर गर्दा ‘उनीहरूले भन्थे मज्जाका साथीहरू जाने भए ।’ यो भनाइमा उनीहरूले म होइन मसँगै भर्ना भएका विनय चौधरीको व्यवहार सम्झिनेछन् । विनय हरेक कुरामा जोक गर्थे । आइसोलेसन कक्षमा होइन, प्रहसन कक्षमा बसेको फिल हुन्थ्यो ।
कोभिडले ‘बच्चालाई कान काटूँ’ वा ‘भुँडी खाइदिन्छु’ भनेर जिस्काए जसरी जिस्काएजस्तो लाग्थ्यो ।
मेरो रिपोर्ट आउन ढिला भयो । मलाई शंका लाग्न थाल्यो । डाक्टरलाई फोन गरेर सिटी भ्यालुदेखि अघिल्लो परीक्षणको फेहरिस्त सुनाएँ । डाक्टरले नआत्तिन सुझाए । १४ औँ दिनमा डिस्चार्ज हुनेको नाममा मेरो नाम आयो । तन्द्रामा अस्पताल छिरेको म, चंगा भएर निस्किएँ ।
मातृत्व र भ्रातृत्व
अस्पताल भर्ना भएको १४ औँ दिनमा डिस्चार्ज भएँ । आमालाई यतिन्जेलसम्म पनि भनेको थिइनँ । घरमा अरुलाई पनि नभन्नु भनेको थिएँ । कतैबाट जेठो दाइले भने थाहा पाएछ । ‘ठिक भइसकेँ, कोठामा छ’ भन्दा ‘मलाई ढाँट्छस् ?’ भन्दै हप्कायो । उसको मायाले द्रबित भएँ । आइसोलेसनमा शुभचिन्तकहरूको निरन्तर कलले गर्दा फोन पनि बिग्रिए बराबर भएको थियो । यस्तो बेलामा आउने फोनले ‘मलाई पनि माया गर्ने छन् है’ भन्ने हुँदो रहेछ ।
अस्पतालको कौसीबाट उपत्यका नियाल्दा प्रत्येक घर होम आइसोलेसन जस्तो लाग्थ्यो । १४ दिनपछि बाहिरको चहलपहल हेर्दा हावामा घुमिरहेको कोरोना भाइरसले ‘बच्चालाई कान काटूँ’ वा ‘भुँडी खाइदिन्छु’ भनेर जिस्काए जसरी जिस्काएजस्तो लाग्थ्यो ।
१५ औं दिनमा चाबहिल पुगेँ र सबैभन्दा पहिला आमालाई कल गरेँ । आफू कोरोना संक्रमित भएर अस्पतालबाट निको भएको जानकारी गराएँ । उहाँले गुनासो गर्नुभयो, ‘किन नभनेको मलाई ? ‘बूढी आमैले धेर पीर गर्नुहोला भनेर नि ?’ आमालाई जिस्किँदै भनेँ । आमाले मायाले भन्नुभयो, ‘ठूलो भइछस् तँ पनि । मेरो चिन्ता गर्ने भइस् ।’ मैले केही जवाफ दिइनँ ।
आजभोलि फेरि म नियमित काममा फर्किएको छु । दिनभरि अफिसको काम र रिपोर्टिङ । तर, जब कोठा पुग्छु त्यो दर्दनाक रातको ‘फ्ल्यासब्याक’ आइहाल्छ । थाहा छैन त्यो ‘फ्ल्यासब्याक’ बिर्सन मलाई अझै कति समय लाग्छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया