सप्ताहन्त

साहित्य सप्ताहन्त

ध्वनि

चे शंकर |
मंसिर ६, २०७७ शनिबार १०:४५ बजे

दृश्य १
झिसमिसे बिहानी । कुहिरोले गर्दा रंगमञ्चमा आकृति अस्पष्ट देखिन्छ । मञ्चको दायाँ भागमा मक्किसकेको काठको सानो घर छ । बायाँ भागमा परालको कुन्यु छ र आडमा चिरेका दाउरा । परालको कुन्युमा कसैको धुमिल आकृति देखिन्छ । घरबाहिर आगोको चुल्हो, नजिकै बसेकी साहूनी आँखा मिच्दै-मिच्दै धुवाँ हातले हटाउँछिन् । भ्याल्भेटको चोलो, पछ्यौरा र बुट्टे लुँगीमा देखिन्छिन्, उनी ।

नाकको बुलाकी आगोको भिल्कोले गर्दा टल्किरहेको छ । थोरै धुवाँ उडेसँगै आगो बल्न थाल्छ । उनी कालो किल्तीमा पानी बसाल्छिन् । बाहिर आँगनमा ग्राहक बस्ने सानो टेबल र चारवटा पुराना मुढा मिलाउँछिन् । भित्तामा भएको थोत्रो खोल ओडेको पानासोनिक रेडियो खोल्छिन् । रेडियो क्यारक्यार गर्दै बज्छ । रेडियो नेपालको बिहान ६:३० बजेको कार्यक्रम सुनिन्छ । उनी रेडियोको आवाज अलि ठूलो बनाउँछिन् । टेबलमा भएको प्लास्टिकको पहेँलो खाली जग बोकेर कराइरहेका बाख्रालाई गाली गर्दै भित्र पस्छिन् ।


परालको कुन्युबाट छालाको खैरो रङको ज्याकेट, सेतो सर्ट, कालो पाइन्ट र चप्पल लगाएको ३५ वर्षको युवक हाम्फाल्छ । तल झरेर ऊ आफ्नो लुगा मिलाउँछ । कालो रङको झोला कुन्युबाट तान्छ र घरतिर जान्छ । यता उता हेर्छ, चुल्होमा के पाकिरहेको रहेछ भनेर पनि हेर्छ । आँगनको डिलमा गएर धारोको चिसो पानीले मुख धुन्छ । रेडियो नेपालमा बिहान सात बजेको घन्टी सुनिन्छ । केटो सारंगी निकाल्छ र बजाउन खोज्छ । धुन मिलाउँछ, आवाज सुनेर साहूनी बाहिर आउँछिन् । चुलोबाट दाउरा अलिक अगाडि तान्छिन्, आगो अलिक सानो बल्छ । उनी केटोलाई हेर्छिन् । केटो बजाउन रोक्छ र एक गिलास रक्सी माग्छ ।

केटो  :  गाउँमा त सबै पवित्रै हुन्छन् हैन र ? 
साहूनी  :  (बोल्दै भित्र जान्छिन्) हिजो भर्खर पारेको । आफ्नै बारीको कोदोको हो । हामी ढाँट्दैनौँ ।
केटो  :  हिजो राति आइपुगेँ । तपाईंहरू सुतिरहेको देखेर बोलाउन मन लागेन । माफ गर्नुहोला, यो चिसोमा पराल न्यानो होला झैँ लागेर उतै यसो ढल्किएँ ।
साहूनी :  (बोल्दै बाहिर आउँछिन्) यसो ढकढक गर्नुभएको भए पनि हुने नि ! 
केटो :  हैन भैगयो दिदी, पराल न्यानो थियो । जन्ती गएको बेला माँच खोजीखोजी सुतिन्थ्यो उसबेला ।
साहूनी :  (रक्सी टेबलमा राख्दिन्छिन् र रेडियो बन्द गर्छिन्) भाइलाई त मैले पहिले देखेको थिइनँ त ? 
केटो :  गाउँमा नयाँ नै दिदी, यी यसो यो बाजा लिएर दु:ख-सुख सुनाउँदै हिँड्छु ।
साहूनी :  भाइको घर कहाँ पर्‍यो नि ? 
केटो :  कहाँ पो भन्नु दिदी ? पूर्व पर्छ हौ । (साहूनी चुलोबाट तातो पानी निकालेर दूध बसाल्छिन् । केटो पालामा कति दूध दिन्छ नि भनेर सोध्छ ।)
साहूनी :  एउटी बुढी गाई छ, फेरि हत्तपत्त त्यसको थुन पग्रिँदैन । दिक्क बनाइसक्यो । नपालौँ भने नि दुई-चार गिलास चिया खाने आउँछन् । दु:खजिलो नि भाइ ।
केटो :  दिदी ? (साहूनी केटोलाई हेर्छिन् ।)
केटो :  मीठो रैछ, अर्को एक गिलास लिम् कि भनेर ?
साहूनी :  बिहान बिहानै यस्तो उमेरमा यसरी खार हुन्छ ? घरजम गर्नु । भाइ त सितन पनि केही नलिने रैछौ फेरि । अस्ति माथि गाउँको झलके पुक्लुक्कै भएछ । (अर्को गिलास लिन ढोकाभित्र लम्किन्छिन् ।)
केटो :  यति त जाला दिदी ।
साहूनी :  (बाहिर देखिन्छिन्) उमेरमा ख्याल गर भनेको है भाइ । अप्ठेरो नमान्नुहोला ।
(साहूनी अर्को गिलास लिएर टेबलमा राख्दिन्छिन् । पुरानो गिलास टिप्छिन् ।)
केटो :  दिदी दुई पोटी लसून छ त ? 
साहूनी :  बजार भाउ बढेर आकाश छोइसक्यो । गरिब बाँच्ने दिन जालाझैँ लाग्छ मलाई त ।
(केटो साहुनीलाई हेरिरहन्छ । साहुनी स्टिलको प्लेटमा दुई पोटी लसुन लिएर दिन्छिन् । प्लेटमा थोरै टिम्मुरको अचार पनि देखिन्छ । केटो औँलाले अचार चाट्छ र रक्सी पिउँछ ।)

(टाउकामा फेटा, भांग्रा ओढेर करिब ५० वर्षको मानिस हातमा केही थान निगालो बोकेर पसलतिरै आउँदै छन् । केटो अचार चाट्दै रक्सी पिउँछ । त्यो मानिस पसलको अगाडि निगालो फाल्छ र सेतो धोती मिलाउँदै पसलतिर लम्कन्छ । पछाडिबाट खुर्पी ठ्याक निकाल्छ र हातमा लिन्छ । साहूनीलाई हँसिमजाक तवरले बोलाउँछ । साहूनी बस्नुस् बस्नुस् साइँल्दाइ भन्छिन् । साइँल्दाइ केटोलाई नियालेर हेर्छन् । केटो औंलाले अचार चाट्छ र रक्सी पिउँछ । साइँल्दाइ बख्खु निकालेर हातमा राख्छन् र केटोलाई हेर्दै हाँस्छन् ।

साइँल्दाइ :  यो केटोले खाएको चाइँ मलाई मन पर्यो है ठूली (साहूनी) ।
ठूली  :  भाइ त टाडाबाट आउनु भएको रहेछ ।
साइँल्दाइ :  एकाबिहानै रक्सी खानु छ, त्यै पनि मुख नबिगारी (हाँस्छ) । हो, मैले मानेँ भाइलाई । भाइको घर कहाँ पर्यो नि ? पहिले पहिले खुब आउँथे गाइने दाइहरू । नरिसाउनुस् है हामी त मायाले गाइने नै भन्छौँ ।
केटो :  मया मानी के रिस हुन्छ र दाजु ?
ठूली :  साइँल्दाइलाई कुन चिया दिम् त ? 
साइँल्दाइ :  अब भाइले खाको देखेर त मनले चिसै भन्छ ? 
केटो :  मनलाई त मार्नुहुन्न दाजु । यही बहानामा म नि अर्को एउटा थप्न पाउँछु ।
साइँल्दाइ :  ठूली अर्को दुई गिलास देऊ ।
ठूली :  कति बाँकी छ होला थाहा होला नि ? 
साइँल्दाइ :  ह्या कति हौ तिमी पनि, यो चोया काटेर एउटा डोको त बुन्न देउ न ।
केटो :  कति दिन्छन् नि दाजु एउटा डोको को ? 
साइँल्दाइ :  ३ देखि ५ सय भाइ । त्यसै नि बेँसीतिर त चलन गइसक्यो ।
केटो :  विकासले त हाम्रो टुपीदेखि पैतालासम्म सुन्दर देखायो तर भित्र खोक्रो ।

(ठूली एउटा ग्लास र अघिको पहेँलो जगमा रक्सी बोकेर आउँछिन् । साइँल्दाइलाई  घुरेर हेर्छिन् र अगाडि गिलास राख्दिन्छिन् । केटोलाई मुसुक्क हाँसेर रक्सी थप्दिन्छिन् । केटो अचार थपिदिन भन्छ । फर्केर ठूली चुल्होमा दूध चलाउँछिन् । साइँल्दाइ दुई वटा मायालु चुरोट दिन भन्छन् । ठूली बट्टा नै फाल्दिन्छिन् ।

ठूली :  दुइटा मात्रै रैछ, लौ राख ।
साइँल्दाइ :  रिसाउन पर्छ त तिमीलाई अनि ? तिरम्ला न तिरम्ला यो चोया काटेर डोको त बुन्न देऊ ।
ठूली :  खुब तिरौला । डोको बुन्न अझै हप्ता दिन लगाउँछौ । पुरानै ४०० छ । डोकोको ४०० आउँछ, हिसाब बराबर । बिहान-बेलुकी के घिच्छौ नि ? 
साइँल्दाइ :  अनि सल्काउन लाइटर नि चाइएला नि ? 
ठूली :  (एकछिन सलाई खोज्छिन्, भेट्दिनन्) ठाँडो नि कता पर्यो ।  खोजेको बेला केही भेटिँदैन । यही आगोले सल्काऊ, लाऊ ।
(केटो र साइँल्दाइ ठोकौँ भन्दै चुस्की लगाउँछन् । अचार औंलाले चाट्दै साइँल्दाइ चुरोट सल्काउन चुलोतिर जान्छन् । )
ठूली :  महँगो भएपछि किन खानु ? नपिए पनि हुँदैन यो- फु फु फु ? 
साइँल्दाइ :  गाउँका सबै सहर झरे । कसले लाउँछ र सुर्तीको बुटो ? आफू सक्दिनँ । तिमीले अब देखेकै छौ ।
ठूली :  कुरामा त कसले जित्ला तिम्लाई । भो जाऊ ।
(साइँल्दाइ चुरोटको धुँवा उडाउँदै केटो भएतिर जान्छन् । लामो सर्को तानेर फुक्छन् । उठेरै उनी केही सर्को तान्छन् । उनको अनुहारमा देखिएको मलीनताले केटोलाई तान्छ । केटो साइँल्दाइ हेर्छ । उनी केटोलाई खाने भनेर सोध्छन् । केटोले हात लम्काउँछ । साइँल्दाइ चुरोट दिँदै बस्छन् । केटो चुरोट तान्छ । केटो जति बेला पनि औँला चलिराख्छ । टेबलमा, घुँडामा कतै न केही गरिरहने उसको बानी हुन्छ ।)
साइँल्दाइ :  नाम के पर्यो नि बाबु ? 
केटो :  के पो भनौँ दाजु । म दु:खको पोको । कसले पो राखिदिए कुन्नि । ‘पहलमान’ रे  ! 
साइँल्दाइ :  अनि ? 
पहलमान :  नाम पहलमान भएर के गर्नु ? आफ्नै छयाँले त खाउँला झैँ गर्छ । आफ्नै शरीर आफ्नो हैन झैँ लाग्छ बेलाबेला ।
साइँल्दाइ :  बा, आमा र दाजुभाइ ? 
पहलमान :  देख्न पाइनँ । बा मुग्लानमै बिते । आमा मलाई छाडेर पोइला हिँडिन् ।  छिमिककोमा हुर्किएँ । अलिक ठूलो भएपछि उनीहरूलाई म बोझिलो भएँ । भारतमा रेलको पट्रीमा पानी बेच्थेँ । आफ्नै ठाउँ प्यारो लागिरह्यो । बा-आमा कस्ता थिए होलान् भनेर मेरो दिमाग घुमिरहन्थ्यो । एक दिन निस्केँ । आफ्नै गाउँ फर्किएँ । घरमा बाले बजाउने सारंगी भेटेँ । घर पनि के भन्नु, झुपडी । खेती गर्न जमिन थिएन । अनि यहीँ साथी बनाए । यसैले तपाईंलाई पनि भेटायो । भोलि देखाजाएगा दाजु । होइन र ? 
साइँल्दाइ :  एक्लो मान्छे ख्याल त गर्नुपर्यो नि ? 
पहलमान लामो हाँसो हाँस्छ । एक्कासि ऊ आफैँसँग आफ्नै खिल्ली उडाएर मजाले हाँस्छ र साइँल्दाइलाई हेरिरहन्छ ।
पहलमान :  एक्लो . . .एक्लो. . .एक्लो

गाउँमा अस्पताल भइदिएको भए ऊ मर्ने थिइन । गाउँमा औषधी भइदिएको भए ऊ मर्ने थिइन । मान्छे त मर्छ । बुझेको छु । तर ऊसँगै हाम्रो अंश पनि गुम्यो । 

(ठूली पनि काम छोडेर उनीहरूलाई नै हेर्छिन् । एकैछिनमा साइँल्दाइ पनि त्यही हाँसो सँगै बग्छन् । उनीहरू दुवैको हाँसो बिस्तारै कम हुन्छ । पहलमान लामो साससँगै एक घुट्की रक्सी खान्छ । उसको अनुहार मलिन र आँखा रसिला देखिन्छन् । पहलमान सारंगी समात्छ र तारले रगड्न थाल्छ । साइँल्दाइको गीत सुनाउने अनुरोधलाई स्वीकार्दै गाउँछ । )
कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरमा जाने हो ?
कुन सामाग्री पूजा गर्ने, साथ कसोरी लाने हो ?

(पहलमान खोक्छ । साइँल्दाइ ठूलीलाई पानी देऊ त भन्छन् । ठूली पानी दिन्छिन् । )
साइँल्दाइ :  देवकोटा ।
पहलमान :  दाजुको पढाइ कति नि ? 
ठूली :  उतिबेलाका गाउँका पढे गुनेका यिनी थिए । मति भ्रष्ट भएपछि कसको के लाग्छ ?

साइँल्दाइ :  देवकोटालाई पनि बौलाहा भने । राँची लागे । आखिर थिए त उनी ? 
ठूली :  को के हुन् के थाहा ? 
साइँल्दाइ :  त्यही त भनेको, नजाने नसुनेकोले नबोल्नु नि ।
ठूली :  अब रक्सी बोल्न थाल्यो हैन ? 

साइँल्दाइ :  उनी मनमौजी थिए । मनको मालिक भएका पनि गए । अब यसो तिम्रो आँगनमा आउन पाए, बोल्ने मान्छे भेटिन्छन् । गाउँमा सबै बूढाबूढी मात्रै । देश बनाउने भन्छन् नेताहरू । भुत्राको बन्थ्यो देश ? तिनका आफन्त बन्छन्, छिमेकी बन्छन्, उनका पार्टीका कार्यकर्ता बन्छन् । हामीलाई उही मुतको न्यानो ।
ठूली :  भो, बितेको कुरा बित्यो । सुकेको आँखामा सुन्तलाको बोक्रा नछर्क ।
पहलमान :  हामी न कतै हराएका छौँ, न कतै लुकेका छौँ । सायद हामीलाई कतै हराउन बाध्य पारिएको होला ? 
ठूली :  हराएका अझै भेटिएका छैनन् ?
पहलमान :  भन्नाले दिदी ?
साइँल्दाइ :  बिचरी ठूली । द्वन्द्वको बेला गाउँका प्रत्येक घरबाट एकएक जना जानुपर्ने बाध्यता थियो । परिवर्तनको ठूलो सपना पनि थिए त्यहाँ । सबै लागियो । सहयोग गरियो । भो भो के कुरा गर्नु । त्यही भेलमा ऊ कता पुग्यो खै ? यसको श्रीमान् । मेरो एकदमै मिल्ने साथी । मायालुलाई दिन नटिपी राखेको फूल, बिहान उठ्दा कसैले चुँडी लग्यो । उसको याद ताजै छ तर रङ, वासना, सौन्दर्य बिस्तारै धुमिल धुमिल हुँदै जाँदै छ ।

ठूली :  तर मलाई याद छ । खै को को हुन् ! मलाई बुटको आवाज, उनीहरूको झोलामा छचल्किएको बोतलको पानी, लाइटको त्यो कर्कस उज्यालो र एकजना मान्छेको आवाज ठूले, ए ठूले । यो भनेको याद छ । ठूले मलाई एकदमै माया गर्थे । बारीमा मोलको डोको बोकेर हामी सँगै हिँड्थ्यौँ । खरबारीमा घाँस काट्न जाँदा ऊ  गाउँथ्यो । उसको कस्तो सुरिलो स्वर थियो ! अहिले पनि म घाम डुब्न लाग्दा ऊ त्यो डिलमा गएर पहँेलो घाम हेर्दै उसको स्वर सुन्छु । बाँचेको छ भने यही झुप्रोमा फर्केला, मरेको भए म नै उसको आत्मामा समाहित भइसकेँ ।
साइँल्दाइ : राणा कालमा बोलेर जिब्रो काटिएको कुरा नेताहरूले खुबै सुनाउँथे त्यसबेला । बोल्नुपर्छ, लाग्थ्यो । अब अहिले आफ्नै घर आँगनमा आफ्नै बह पोख्न पनि यता उता आँखा डुलाउनुपर्छ भाइ । मन शान्त पारेर बस्यो, अलिक पछि मन आफैँ आफैँसँग भुत्भुताउन थाल्छ । यी आज भाइलाई भेटियो, मनको बह पोखियो । भोलि कोही त भेटिएला !

ठूली :  ओहो ! यो बाटो, कम्ती मान्छे हिँड्थे ? दिनभर, रातभर मावादी । बेँसीबाट सेना आउँथे, आर्मी नि । उनीहरू हप्ता दिन बस्थे । त्यसबेला गाउँका सबै पुरुष, युवक जंगल पस्थे । खाइ नखाई जंगलको बास हुन्थ्यो हप्ता दिन । आर्मी गएपछि सबै गाउँ फर्कन्थे । फेरि मावादी आउँथे र रडाको मच्चाउँथे । कसले गर्यो सुराकी ? के ? को ? हिँड् जाम् ।
साइँल्दाइ :  के भन्ने बाबु लाग्थ्यो कम्न्युस्टहरू प्रेमले बनेका हुन्छन् । सेवाभाव हुन्छ उनीहरूमा । तर हामी सबैलाई लाप्पा ख्वाए यिनीहरूले । कहिलेकाहीँ त लाग्छ, यिनीहरू प्रेतआत्मा हुन् । तर्साउन, एकान्तमा डर देखाउन टप्किन्छन् । यिनीहरू एकप्रकारको वनमारा झार हुन् भन्छु भाइ म त ।
पहलमान :  सबै त्यस्ता पनि छैनन् दाजु ।

साइँल्दाइ :  भो भाइ- छोड यो कुरा । मलाई थाहा छ । तिम्रो निधारमा परेको चाउरी, आँखामुनिको कालो ? अनुहारको भाव ? के बुझ्दैनौँ हामी ? तिमी डुल्छौ, देख्छौ तर पनि बुझ्दैनौ ? (ठट्यौली पारामा पहलमानलाई जिस्क्याउँदै) ल एउटा गीत सुनाऊ न त । तर मसँग पैसा चैँ छैन नि है ।
पहलमान :  पर्दैन दाजु । दुई-चार पैसा बाटोमा जोहो गरम्ला । गाउँमा प्रेम निख्रिएको छैन दाजु । वर पर डुल्यो कसैले के कसैले के, पेट भारिइहाल्छ । (पहलमान सारंगी निकाल्छ र रेट्न थाल्छ ।)
साइँल्दाइ :  ठूली अर्को दुई गिलास ।
साइँल्दाइ :  पख अर्को गिलास लिएर सुरु गरम्ला । बरु म यसो यसको चोयो पनि काट्दै गर्छु । (खुर्पीठ्याकबाट खुर्पा निकालेर निगालो भएतिर आउँछन् । निगालो समातेर उनी नजिकै जान्छन्) पहिले डोरी नहुँदा यी यो निधार यही चोयाको नाम्लो र डोरीले खान्थ्यो । (ठूली रक्सी थप्दिन्छिन् । दुवै पिउँछन्, पहलमान सारंगी रेट्न थाल्छ ।)

पहलमान :  आजकाल देश जनताको रोदन बुझेर होला यो पनि बोल्नै मान्दैन ।
ठूली :  साइँल्दाइ पनि कम्ता चोट भएका मान्छे हुन् र ? हँसीमजाक गर्छन् नै ।
साइँल्दाइ :  लु लु बजाऊ ।

(पहलमान सारंगी रेटेर दुवैलाई हेर्दै मुस्कुराउँछ, ध्वनि सँगै बहन्छन् ।) 
तिमी भन्छौ गाऊ न त गाऊ 
तर यो गीत नगाऊ 
हामी भने त्यही गीत गाइरहन्छौ
हाम्रा विचारहरूमा प्रतिबन्ध लगाउँदै 
हाम्रा हातहरूमा हत्कडी पहिराउँदै
तिमी भन्छौ लेख्न त लेख 
तर यो गीत नलेख 
हामी भने त्यही गीत लेखिरहन्छौ
त्यही गीत गाइरहन्छौ (इच्छुक)

साइँल्दाइ बसेको ठाउँबाट उठ्छन् र खुर्पा समातेर चोया काट्न जान्छन् । ठूली र पहलमान चुप बस्छन् । साइँल्दाइ एउटा नियालो समातेर छिर्छन् । चोयाको धार हेर्छन् । त्यसमा आफ्नो औंलाहरू रघेट्छन् ।
साइँल्दाइ :  यसले दिने चोट कस्तो हुन्छ थाहा छ ? 
पहलमान :  गहिरो ।
(साइँल्दाइ मज्जाले हाँस्छन् । अर्कै भङ्गीमा बोल्न थाल्छन् ।)
साइँल्दाइ :  (हाँसोसँगै) रातो । रगत कस्तो हुन्छ ? रातो । मलाई राता चिजहरू मन पर्दैनन् । माफ गर्नुहोला । मुग्लानबाट फर्कंदै थिएँ । गर्मी, भारतीय रङ, भाषा । म थाकेको थिएँ । गाउँ फर्किएँ । (उनी चोया काट्दै छन्) । मसँग कोही बोल्दैनन् । बाहिरबाटै मैले बोलाएँ । ‘ए मनमाया, मनमाया’ । ठूली बिचरी टुप्लुक्क आइपुगी ।

गाउँमा अस्पताल भइदिएको भए ऊ मर्ने थिइन । गाउँमा औषधी भइदिएको भए ऊ मर्ने थिइन । मान्छे त मर्छ । बुझेको छु । तर ऊसँगै हाम्रो अंश पनि गुम्यो । मलाई उसलाई हुर्काउन मन थ्यो । बन्दुक, बारुद, बेमेल बिल्कुलै यस्ता चिजभन्दा पर । दिन बिते । रात बिते । वर्ष बिते । (उठेर उनी टेबलमा जान्छन् र स्वादले रक्सी घुटुक्क पार्छन्, एकपोटी लसुन टोक्छन् र बस्छन् ।) त्योसँगै कैयौँ ऋतुहरू आए गए । मैले फर्कंदा आफ्नी श्रीमतीको अनुहार देख्न पाइनँ । मेरो सन्तानलाई माटोमा खेल्न दिन मन थियो ।

फूलहरूसँग खेल्न दिनु मन थ्यो । हरेक फूलको वासना र त्यसको रङसँगै बसेर विचरण गर्न मन थियो । गयो सबै गयो । त्यस सालको चैते हुरीले सबै उडाइँ लग्यो । बस्, मलाई लागेन ।

मलाई मेरो केटाकेटीले माटोको गन्ध महसुस गरोस् ता कि आफ्नो ठाउँ कहिल्यै नाबिर्सोस् जस्तो लाग्छ । हरेक वर्ष ऊपारि डाँडामा हिउँ पर्छ । ती सबै रुखहरू सेता हुन्छन् । डाँडाहरू खास्टो ओडेर बस्छन् । हरेक वर्ष गुराँस फुल्छन् । फरक फरक रङका तर मेरो मन तिनीहरूको रङझैँ खुल्दैन ।

सायद छोरो जन्मिएको भए कुनै असल छोरो बनाउन सक्थे । छोरी भएकी भए सायद बहादुर हुन्थी । नझुक्ने । मेरो उमेर ढल्किँदै छ तर मैले हाम्रो गाम ठाममा त्यस्तो मानिस भेटेको छैन । असल अनि बहादुर । (साइँल्दाइ अर्को रक्सीको घुट्को लिन्छन्) हाम्रो पुर्खालाई बेचेर खाँदै छ हाम्रो समय । उनीहरूको उपलब्धिको गुणगान गएर । हामीसँग के छ र उनीहरूसँग हाम्रो नाम जोड्नु ? अनि तिम्रा बा जस्तै मेरा बा पनि डम्फु बजाउनु हुन्थ्यो । उता भारतीय सेनामा हुनुहुन्थ्यो । संगीतले एक्लो हुन दिँदैन ।

भुत्राको बन्थ्यो देश ? तिनका आफन्त बन्छन्, छिमेकी बन्छन्, उनका पार्टीका कार्यकर्ता बन्छन् । हामीलाई उही मुतको न्यानो ।

ठूली :  त्यै त नि । म पनि छक्क पर्छु भन्या, कहिलेकाहीँ त्यो ढिँडो ओडाल्दा म ख्याल गर्छु क्या । दाबिलो र त्यो भाँडो कस्तरी बज्छ । यिनले चोया काट्दा, घरमा कोही छ जस्तो लाम्ने के । के बुझ्नु र खै म ।
पहलमान :  कस्तो मीठो कुरा दिदीको ? कति बुझ्ने !
ठूली :  मलाई लामाहरूले मान्छे मर्दा बजाउने बाजा खुब मन पथ्र्याे । हामीलाई जान नदिने भुरा बेला के- हामी ऊ यो जंगलको बाटो तल तल हँुदै डाँडामा गएर हेर्थ्यौ ।
साइँल्दाइ :  बेसीमा क्षत्री बाउँनको बालुन पनि गज्जब पो लाग्छ मलाई त ।
पहलमान : (रक्सी सट्ट पार्छन्) दिदी कति भयो होला ? 
साइँल्दाइ :  हैन हैन भाइ, म दिन्छु ।
पहलमान : बरु तपाईंको पनि मै दिन्छु  ।
साइँल्दाइ :  हामीसँग धन नभए नि मन त छ नि, के भन्या होला ?

ठूली :  भाइ कता पुग्ने त अनि ?
पहलमान :  ऊ पारि गाउँमा ।
ठूली :  केही विशेष काम छ कि ? 
पहलमान :  केही छैन दिदी । 
साइँल्दाइ :  उसो भए यतै बसे भै गो नि ।
पहलमान :  धन्यवाद ! बाटो पर्दा पसम्ला दाजु ।
ठूली :  उता पुग्न त १० घण्टा लाग्ला भाइलाई । बाटोमा घर छैनन् ।
साइँल्दाइ :  डर नलाग्ने भए, ६ घण्टा जति हिँडेपछि एउटा भेडीगोठ आउँछ । अहिले जाडोमा तल झारेका छन् । त्यही बसे नि हुन्छ भाइ ।
ठूली :  एक्लो मान्छे । आज यही बसेर भोलि जानुस् ।
पहलमान :  होइन दिदी मनले बोलिसक्यो ।
साइँल्दाइ :  लौ त राम्ररी गएस् । बसेको भए ठूलीले आफ्नै बारीको साग र फापरको ढिँडो खुवाउँथिन् ।
(पहलमान त्यहाँबाट निस्कन्छ ।) 

दृश्य २ 
पहलमान पछाडि झोला बोकेर हिँडिरहेको छ । जंगलमा चराहरूको चिरबिर, जनावरहरूको आवाज, कतै कतै कालिज र दुम्सीहरू बाटो काट्छन् । पहलमान निर्धक्क कतै पुग्ने सोचमा हिँडिरहेको छ । बाटोमा उसलाई धेरैपटक काँडाले घोच्छ । रगत बस्छ । झोलाबाट पुरानो सर्ट निकालेर दुवै खुट्टामा लगाउँछ अनि त्यसमाथि चप्पल । उसको आफ्नो रफ्तारमा हिँड्दा ऊ चराहरूलाई उनीहरूको नक्कल गर्दै बोलाउँछ । बाटोमा उसले एउटा सुन्दर पहेँलो चराको प्वाँख भेट्छ । अलिक पर दुम्सीका काँडाहरू, ऊ त्यससँग खेल्दै खेल्दै जंगलको बाटो हिँडिरहेको छ ।

दृश्य ३ 
पुरानो काठको भेडीगोठ । धुम्म कुहिरो लागेको छ । गोठभित्र कोही सुतिरहेको जस्तो देखिन्छ । बिस्तारै मञ्चमा दुवैतिरबाट दुई दुईवटा कुर्सीहरू गुड्दै आउँछन् । कुर्सीमा चार फेसियल एक्सप्रेसन भएको मुकुण्डोधारि मान्छे हुन्छन् । कसैले पहलमान भन्छ । पहलमान गोठबाट उठेर बाहिर निस्कन्छ । कुर्सीहरू बेजोडले पहलमान भएतिर आउँछन् । पहलमान भाग्छ । उनीहरू लखेटी रहन्छन् । पहलमानबीच रंगमञ्चमा ढल्छ ।

दृश्य ४ 
रंगमञ्चको पछाडिबाट एउटा ठूलो चन्द्रमाको केही भाग देखिन्छ । पहलमान उठेर उसको अगाडि भएको प्लास्टिकको झोला खोल्छ । खोल्दै जान्छ तर प्लास्टिक सिवाय त्यहाँ केही भेटिँदैन । चन्द्रमा बिस्तारै दायाँबाट बायाँ गइरहेको हुन्छ । पहलमान हेर्छ । चन्द्रमा चारैतिर मानिसहरूको रंगीन हात छन् । सबै हातहरूले सेतो गुलाब समातेका छन्, तर तलको एउटा हातमा पहलमान पहेँलो रङको गुलाब देख्छ । पहलमान बिस्तारै ती हात हेर्छ । बिस्तारै जान्छ र त्यो पहेँलो गुलाब लिन्छ । लामो साससँगै त्यसलाई सुँघ्छ । अचानक आएको एउटा ठूलो आवाजले ऊ गुलाब भुइँमै फालेर आफ्नो दुवै कान हातहरूले छोप्छ र चिच्याउँछ ।

दृश्य ५ 
बिहानको झिसमिसे । आँखा मिच्दै उठ्छ । सिरानी मिलाउँछ । उठेर अगाडि आउँछ । वर पर घाँसे मैदान छन् । मञ्चको पाश्र्व भित्तामा कुहिरोले ढाकेको हिमाल देखिरहेको छ । कुहिरो भिन्दाभिन्दै तहमा देखिन्छन् । पहलमान आफूले देखेको सपना कसरी भन्ने होला, कसलाई भन्ने होला भनेर अक्मकिन्छ । गोजीबाट हिजो बाटोमा भेटेको प्वाँख निकाल्छ र त्यसलाई प्रश्न गर्छ ।

डाँडाहरू खास्टो ओडेर बस्छन् । हरेक वर्ष गुराँस फुल्छन् । फरक फरक रङका तर मेरो मन तिनीहरूको रङझैँ खुल्दैन ।

मैले जस्तै सपना तैले पनि देख्छस् ? 
तँ पनि त जीवनबाट कतै टपक्क खसिस् ? हैन त अनि ? 
तर तँ रंगीन छस् । मानिसहरूले पनि तँलाई मैलेझैँ टपक्क टिप्छन् । रंगीन भएको आधारमै । कि हैन ? 
हरेक चिज आफैँमा पूर्ण हुन्छ, जब उसले आफ्नो अनुसार देख्न, सुन्न र बोल्न पाउँछ । (सारंगीतिर जान्छ र समात्छ) यी, मेरो सारंगी जस्तै ।
आफू सुतेको राडी मिलाएर गोठको माथि राख्छ । प्वाँखलाई तगारोमा सिउरिन्छ ।

पहलमान : मेरो कथा सुनेकोमा तँलाई धेरै धेरै धन्यवाद । अझै कत्ति कुरा भन्न मन थियो । मलाई कतै टाढा जानु छ । थुप्रै गाउँहरू । (गोठतिर हेर्दै भन्छ) सुन्नेलाई सुनको माला हामी सबैको कथा बैकुण्ठ जाला । भन्ने बेला खुरुखुरु आउला । प्वाँख त्यहीँ छाडेर पहलमान उकालो चढ्छ । पहिले जस्तै कुहिरो लागेको छ । पहलमान आफ्नो बाटो हिँडिरहन्छ । ध्वनि सुनिन्छ
मलाई थाहा छैन म कस्तो सपना देख्छु 
र, यसको अर्थ के हुन्छ 
तपाईं पनि सपना देख्नुहुन्छ होला ?
बिल्कुलै मैले भन्दा फरक 
रंगीन, श्यामश्वेत ?
मनको प्रेमिल संगीतमय भाषासँगै 
यो पवित्र हिमालयको यात्रा 
हावा, रङ र अफ्ठेरा सजिला गोरेटो काट्दा काट्दै
म नै सकिनेछु कुनै दिन 
त्यसपछि आत्मानुभूतिको यात्रामा निस्कनेछु 
रङहरूसँगै 
सारंगीको धुन सँगसँगै 
मेरो बा हिँडेको बाटो ।

(ध्वनि सकिएसँगै डम्फु, सारंगी, डिजेरोडुको मिश्रित संगीत बजिरहन्छ ।)

(चे शंकर नाट्य लेखक तथा निर्देशक हुन् । ‘सेम टाइम नेक्स्ट इयर’, ‘लुक ब्याक इन एंगर’, ‘कोही किन बरबाद होस्’ ‘मिस्टर फक्स एन्ड स्कुल बोय’, ‘एनिग्मा’, ‘म्याड म्यान्स डायरी’ जस्ता नाटक निर्देशन गरेका उनी अनुवादक पनि हुन् । डुलिहिँड्ने मन पराउने उनी यो नाटक छापिइरहँदा धुलिखेलमा छन्, अस्ति सुर्खेतमा थिए, भोलि कहाँ हुन्छन्, थाह छैन !)


Author

चे शंकर

(चे शंकर नाट्य लेखक तथा निर्देशक हुन् ।)


थप समाचार
x