जनताका लागि नेताले के-केसम्म गरोस् !
समय बलवान् छ, त्यसै भनिएको हैन रैछ । आफ्नो घर देखेर तर्सनुपर्ने अवस्था भूकम्पले ल्यायो । जुटेर हैन, फुटेर अगाडि बढौँ भन्ने अवस्था यो कोरोना भाइरसले ।
महामारीकै रूप लिएको छ, कोरोना भाइरसले अहिले । उसै पनि स्वास्थ्य सेवा आम नागरिकलाई सहज पहुँचमा हुनुपर्छ भन्ने गोविन्द केसीहरू ‘पागल’ हुने देश हो, नेपाल । यस अवस्थामा स्वास्थ्य सेवा आफ्नो पूर्ण क्षमतामा चलिरहेको छ । यो पूर्ण क्षमताले महामारी धान्न सकेको छैन । यसैले समाचारहरू आइरहेका छन्— अस्पतालमा बेड नपाएर बिरामीको मृत्यु । अक्सिजनको अभावमा बिरामीको मृत्यु । काठमाण्डूका अस्पतालमा बेड नभएपछि बिरामीलाई उपत्यका बाहिर लगियो । यसैले हाम्रो स्वास्थ्य सेवाको हैसियत देखाउँछ ।
महामारीले धेरैको ज्यान लिइसकेको छ । यसैमा बागमती प्रदेश सभाका सांसद पशुपति चैलागाईं पनि थपिए । उनीसँगका केही सम्झना:
१.
जिरी लामोसाँघु सडकमा एकाधिकार थियो, अरनिको यातायातको । एकाधिकार अन्त्य गर्न अभियान चलायो, एउटा संस्थाले । खर्च पनि राम्रै गर्यो । एकाधिकार सकियो कि सकिएन, अहिले अवस्था छर्लङ्ग छ । कार्यक्रमकै सिलसिलामा एउटा बहसमा पशुपतिलाई बोलाइएको थियो । कार्यक्रम सकिएपछि उनले भनेका थिए-मैले विद्यार्थी राजनीति गर्दा भक्तपुर काठमाण्डुका पुराना बसको एकाधिकार हटाउन खोजेको । उनीहरूका कामदार नै धेरै हुने रैछन् । नयाँ जानेले त तिनीहरूको सामना नै गर्न सक्ने रैनछ । अरनिकोका पनि ३ सय बसका करिब ९ सय त कामदार नै छन् । यो २०६२ तिरको प्रसंग थियो ।
२.
२०६४ सालमा भएको संविधानसभा निर्वाचनमा उनी एमालेको तर्फबाट उम्मेदवार थिए । उनको घर मेरो घरबाट २ घण्टा पैदल दूरीमा पर्छ । निर्वाचनका लागि मौन अवधि सुरु भइसकेको थियो । चैत २७ गते । गाउँमा एकजनालाई करेन्ट लागेर हामीले उनको घरछेउकै बजार मैनापोखरी लैजानुपर्ने भयो, उपचारका लागि । उनी त्यस दिन त्यही बजारमा रहेछन् । माओवादी त्यसबेलाको उदाउँदो शक्ति थियो । त्यसै भएर बजारमा माओवादीले उनीमाथि आक्रमणको प्रयास गरे । माओवादी नेताहरू सँगै रहेछन् । अप्रिय अवस्था सिर्जना भएन । उनले पनि केही भन्न खोज्दै थिए । माओवादीहरूले उनलाई बोल्न दिएनन् । आफ्नै घरआँगनमा बोल्न नपाएका उनले चुनाव जित्ने कुरै भएन । संविधान जारी गर्न नसकी अन्त भएको संविधानसभामा उनले भाग लिन पाएनन् ।
३.
पूर्णकालीन पत्रकारका रूपमा मैले उनीसँग कतिपटक कुराकानी गरेँ, ठ्याक्कै याद छैन । दुईओटा चाहिँ सहकारीका बारेमा थिए । दोलखा मात्र नभई नेपालकै राम्रा सहकारीमध्येमा पर्ने जनसचेतन सहकारीको रेडियो कार्यक्रमका लागि र उसकै रजत स्मारिकाका लागि अन्तर्वार्ता लिनु थियो । अन्तर्वार्ता दिने विषयहरूमा उनी सहज थिए । रजत स्मारिकाका लागि अन्तर्वार्ता काठमाडौँमा लिएको थिएँ । अन्तर्वार्ता सकेपछि उनले आइप्याडमा मलाई केही तस्बिर देखाएका थिए । ती तस्बिरमा व्यावसायिक कृषि गर्दै गरेका किसानहरूका तस्बिर थिए । एकजना उनीसँगै कृषिबारे कुरा गर्न आएका जनता (कार्यकर्ता ?)लाई उनले भनेका थिए, अब यसमा कसलाई के भन्नुपर्ने हो, म भनुँला । सायद त्यो कुनै कृषिसम्बन्धी योजना नै थियो । त्यसबेला मलाई लागेथ्यो, साँच्चै हाम्रा कति राजनीतिज्ञहरूमा अरुलाई देखाउन यस्ता उदाहरणहरू होलान् ? भाषण दिनु र व्यवहारमा उतार्नु कति फरक छ !
४.
एकपटक काठमाडौँ जाँदा हामीबीच अन्तरङ्ग कुराकानी भएको थियो । विष्णु पौडेलसँग जोडिएको बालुवाटार प्रसङ्गले बजार तताएको थियो । मैले यसै विषयमा कुरा गरेँ । त्यसमा उनले जवाफ दिए, ‘खराब काम गरेपछि आज या भोलि त्यसबारे जवाफ त दिनैपर्छ नि !’ उनको आत्मविश्वासयुक्त जवाफ सुनेपछि मलाई लागेथ्यो, यदाकदा बजारमा सुनिने सुकुम्बासी आयोगमा बस्दा तराईमा कठ्ठाका कठ्ठा जग्गा आफ्ना नाममा जोडेको भन्ने कुरा पनि विशुद्ध राजनीतिक दाउपेच मात्रै हो ।
यो यात्रामा उनले ३६ सालको जनमत संग्रहमा दोलखामा कसरी निर्दलले जित्यो ? भीमबहादुर तामाङसँग सल्लाह लिन हिँडेका देवी न्यौपाने भेटेपछि योजना कसरी परिवर्तन भयो ? दोलखामा कम्युनिस्ट आन्दोलन सुरुवात कसरी भएको थियो ? हनुमन्तेश्वरमा कसरी निम्न माध्यमिक तहको पढाइ सुरु भयो ? लामोसाँघु जिरी सडकमा बाँडिएको मुआब्जाले कसरी मानिसको ज्यान गएको थियो ? यस्तै यस्तै विषयमा कुराकानी भएको थियो । कुराकानीका क्रममा समाज विकासको गतिमा नै छ भन्नेमा हामी सहमत भएका थियौँ ।
५.
ठ्याक्कै एक महिना अगाडि । एकजनाले पशुपतिलाई भेट्नुपर्यो भने । मैले के काम छ भनेँ । उनले एउटा धार्मिक संस्थामा विवाद रहेको र त्यसको समाधानका लागि उनले पहलकदमी लिइदेऊन् भनेर कुरा गर्न भेट्न खोजेको भने । पशुपति दोलखामा नै भएको मलाई थाहा थियो । मैले कहाँ हो भनेर फोन गरेँ । उठेन । त्यसपछि मेसेज गरेँ । उनले मेसेजमा नै जवाफ दिँदै राइजिङ स्टार स्कुलमा भएको बताए । हामी उनले भनेकै स्थानमा पुग्यौँ । राष्ट्रपति रनिङ शिल्ड उद्घाटन समारोहमा व्यस्त रहेछन् । मसँगै गएका व्यक्तिले यस्तो भिडभाडमा त के कुरा गर्न सम्भव होला र ? म पछि फोनमा नै कुरा गरुँला भनेपछि हामी त्यहाँबाट फर्कियौँ ।
फर्कंदै गर्दा लाग्यो । ‘हामी जनता नेताहरूले के के मात्रै गरिदिए हुन्थ्यो भन्ने ठान्छौँ । साँच्चै नेताले गर्नैपर्ने काममा जनताका यस्ता कामले कति अलमल्याउँछ होला ?’ त्यही सन्देश नै हामीबीचको अन्तिम सन्देश हुन पुग्यो ।
कोभिड भएको थाहा पाएपछि फोन तथा एसएमएस गर्न मन लागेन । पहिलो लहरमा कोरोना संक्रमित मेरो एकजना साथीले त फोन र सन्देशका कारण बिरामी अवस्थामा झन् तनाव थपियो भनेर गत वर्ष फेसबुकमा लेखेका नै थिए । समस्यामा परेका बेला झन् तनाव किन दिनु र !
जन्मनु जति शाश्वत सत्य हो, मृत्यु पनि त्यत्ति नै । तर यो सत्य हामी स्वीकार्न सक्दैनाँै । यसैले मृत्युका समाचारमा नरमाइलो लाग्छ । मन भारी हुन्छ । तैपनि सत्य त यही नै हो । नस्वीकारेर हुँदैन । पशुपति दाइ । अन्तिम बिदाइ !
@apawaad
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया