सप्ताहन्त

समाचार लेख्‍न सकिरहेका छैनौँ

चिरञ्‍जीवी मास्के |
जेठ ८, २०७८ शनिबार २०:४० बजे

म विवश छु, समाचार लेख्न सकिरहेको छैन । यो कस्तो विवशता ? हातहरू समाचार लेख्न सलबलाइरहेका छन् । ठाउँमा पुग्न, खुट्टाहरू तम्तयार छन् । समाचारका विषय पनि बग्रेल्ती छन् । तर म विवश छु, समाचार लेख्न सकिरहेको छैन ।

सामाजिक सञ्जालमा पत्रकारलाई गाली गरेका धेरै पोस्टहरू भेटिन्छन् । कोरोना संक्रमणका भयावह अवस्थाका ताजा विवरण पनि देखिन्छन् । तर पनि म विवश छु । न म संक्रमणको भयावह अवस्थाको अध्ययन गर्न घटना भएको ठाउँ पुग्न सक्छु, न सामाजिक सञ्जालमा दिइएका गालीको प्रतिवाद नै गर्न ।  


२०७२ वैशाख १२ गतेको त्यो मध्याह्न । चिच्याहट, कोलाहल, बीभत्स दृश्य उफ् ! एउटा कहालीलाग्दो समय । तर त्यो समयमा मेरा हात रोकिएनन्, समाचार लेख्न । खुट्टाहरू निरन्तर अगाडि बढे स्थलगत रिपोर्टिङका लागि । मलाई याद छ त्यो समय, विनाशकारी भूकम्पको केही मिनेटमै हामी पत्रकार सुरक्षाकर्मीसँगै भूकम्पले भग्नावशेष बनाएका ठाउँमा पुगेका थियौँ । ज्यानको पर्वाह नगरी भूकम्पको क्षति र अवस्थाबारे निरन्तर रिपोर्टिङ गरिरह्‍यौँ । भूकम्पले लगभग सबै पत्रकारका घरमा क्षति पुगेको थियो । सबै पत्रकार घरबाहिर टहरामा बस्न बाध्य थिए फेरि पनि हरेक पत्रकारले आफ्नो दायित्व निर्वाह गरे । 

सिन्धुपाल्चोकको जुरेमा २०७० साल साउनमा गएको कहाली लाग्दो पहिरोको रिपोर्टिङ गर्न पनि हामी घटनास्थलमा पुग्यौँ र जोखिम मोलेर तस्बिर खिच्ने तथा पीडितलाई भेटेर कुराकानी गर्ने काम गर्‍यौँ । दोलखाको जुँगु, लाकुरीडाँडा, लामाबगर लगायतका ठाउँमा २०७४/२०७५ सालताका गएको पहिरोको रिपोर्टिङमा पनि हामी पुग्यौँ । अरु धेरै कहाली लाग्दा घट्नाहरूमा हामी ठाउँमै पुगेर रिपोर्टिङ गर्‍यौँ । 

तर यो पटक म विवश भएको छु । लगभग हामी सबै पत्रकार विवश भएका छौँ । विवश आँट नभएर हैन । आफ्नो ज्यानको माया धेर लागेर पनि हैन । विवश, रोगको प्रकृति र सामाजिक परिस्थितिले बनाइदियो । कोरोना संक्रमणको पहिलो भेरियन्टको बेला (एक वर्ष पहिले) म लगायत धेरै पत्रकार साथीहरू रिपोर्टिङका लागि लगभग दोलखाको सबै पालिका पुग्यौँ । रामेछापका केही पालिका पनि पुग्यौँ ।

कोरोनाले पारेको प्रभाव र पीडित समुदायको अवस्था धेरै हदसम्म सार्वजनिक गर्न सक्यौँ । त्यतिबेला देशभरका धेरै पत्रकार साथी संक्रमित बन्नुभयो । समाजले पत्रकारलाई गाली पनि गर्‍यो, प्रशंसा पनि । कोरोना संक्रमणको पहिलो भेरियन्ट तुलनात्मक रूपमा कमजोर देखिएको थियो । मानिसको ज्यान जाने क्रम थोरै थियो । त्यसैले पत्रकारको आँटमा समाजको आपत्ति पनि कम रह्यो । 

यो पटक कोरोना संक्रमणको दोस्रो भेरियन्टले मुलुकलाई यति नराम्रोसँग गिजोलिदियो कि साहस भएका पत्रकारसमेत रिपोर्टिङका लागि ठाउँमा पुग्ने अवस्था बनेन् । रिपोर्टिङमा ननिस्केर सरकारले जारी गरेको निषेधाज्ञा आम नागरिकले जसरी नै पालना गर्दा पनि १२ जनाभन्दा बढी पत्रकारले कोरोना संक्रमणकै कारण ज्यान गुमाइसकेका छन् भने थुप्रै पत्रकार साथी संक्रमित बन्नुभएको छ । 

कोरोना संक्रमण भयावह बनेको यो अवस्थामा आम रूपमा सरकारलाई गाली गरिएको छ । सँगसँगै पत्रकारलाई पनि गाली गरिएको छ– खै पत्रकारले के लेख्या ? सरकारका हुन्डी खाने पत्रकारहरू, यस्तै यस्तै । अनि कुनै ठाउँमा पत्रकार रिपोर्टिङका लागि जान चाह्यो भने समुदायका मानिसले भन्ने गरेका छन्– यी पत्रकारहरू लखरलखर हिँडिरहन्छन्, यिनले हाम्रो समुदायमा कोरोना सार्ने भए । 

कस्तो विडम्बना, रिपोर्टिङमा साहस गरेरै भए पनि जाउँ भने त्यही समुदायका मानिसले गाली गर्छन् कोरोना सार्ने भयो भनेर अनि नजाऊँ भने त्यही समुदायका मानिसले भन्ने गर्छन् सरकारी हुन्डी खाएका पत्रकार भनेर । कोरोनाको दोस्रो भेरियन्टको जोखिम अत्यधिक छ । मृत्युको संख्या अत्यधिक छ । यस्तो बेलामा पत्रकारले परिवारलाई त जोखिममा पार्न सक्ला सिंगो समाजलाई कसरी जोखिममा पार्न सक्छ ?

ज्यानको माया गरेर घरमा थन्किएर बस्ने र कलमलाई कुँजो बनाउने कुरा हामी कसैको पनि रहर हैन र छैन ।  

अहिले कोरोनासम्बन्धी केही भ्रम छन्, केही आतंक छ, केही कुरा लुकेका छन् । यसको एउटा कारण भनेको पत्रकारहरू स्थलगत रिपोर्टिङमा पुग्न नसक्नु हो । समाचारका लागि पत्रकारहरू कसरी जाने ? पत्रकारको परिवार छ, समाज छ । तर पत्रकारको सुरक्षा छैन । सुरक्षा कोसँग माग्ने ? सरकारले २४ घण्टा खटिनुपर्ने सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरू कै सुरक्षा गर्न सकिरहेको छैन । पत्रकारको सुरक्षा हुन्छ भन्ने के आधार ?

त्यसैले म विवश छु, हामी सबै पत्रकारहरू विवश छौँ । यो कोरोना संक्रमणको भयावह अवस्थामा घरमा थन्किएर बस्ने र सम्भव भएसम्म प्रविधिको प्रयोगमार्फत रिपोर्टिङ गरेर अधकल्चो समाचार सम्प्रेषण गर्ने । अरु के नै गर्न सकिन्छ र ? आफ्नो पेसाका लागि म मर्न तयार भएँ, मेरो परिवार जोखिम मोल्न तयार भए पनि म बसेको समाजको सुरक्षा कसरी हुनसक्छ ? त्यसैले म विवश छु । हामी सबै पत्रकार विवश छौँ । कलम चल्न सकेका छैनन्, चलेका कलमले पनि अधकल्चो सूचना दिने अवस्था छ । किनभने हामी स्थलगत रिपोर्टिङमा जानै सकेका छैनौँ । 

कोरोना संक्रमणको भयावह अवस्था र जोखिम कम गर्न स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मी सँगसँगै हेलिन आवश्यक छ । सुरक्षाकर्मी र स्वास्थ्यकर्मी आफ्नो पेसामा किञ्चित विचलित बन्नुभएको छैन । उहाँहरूलाई समाजले रोक्न सक्ने अवस्था पनि छैन । तर सञ्चारकर्मी नचाहँदा नचाहँदै आफ्नो पेसाबाट विचलित बन्नुपरेको छ । समाजको डरले, समुदायको डरले । 

सञ्चारका छापा माध्यमहरू बन्द हुने अवस्थामा पुगेका छन् । रेडियो र अनलाइनलाई तथ्यगत समाचार अभाव हुन थालेको छ । किनभने कोरोना संक्रमणले उद्योग धन्दा, कलकारखाना, पर्यटन व्यवसाय लगायत सबै क्षेत्र तहसनहस बनेका छन् र पत्रकारहरू स्थलगत रिपोर्टिङमा जान सकिरहेका छैनन् । संकटको यो अवस्थामा सबैभन्दा जिम्मेवार सरकार बन्नुपर्छ । सरकारको एउटा कमजोरी अघिल्लो संक्रमणबाट पर्याप्त शिक्षा लिन नसक्नु हो । त्यसैगरी आफैँले बनाएको नीति, नियम कार्यान्वयन गर्न नसक्नु पनि हो । अघिल्लो संक्रमणको अवस्थाबाट शिक्षा लिँदै देशभरका अस्पतालहरूको अनुगमन गर्ने र अस्पताललाई मापदण्ड अनुसारको बनाउने कुरामा तदारुकता देखाएको भए संक्रमितको उपचारमा देखिएको यो जटिलता धेरै हदसम्म रहँदैन थियो होला ।

अहिले पनि देशभरका अस्पतालमा मापदण्ड अनुसारको स्वास्थ्यकर्मी, अक्सिजनजस्ता अत्यावश्यक सेवा पाउन सकिँदैन । यो कुरामा सरकार सजग नहुने हो भने फेरि पनि अवस्था उस्तै हुन्छ । संकटमा नागरिकका पनि जिम्मेवारी हुन्छन् । सरकार या पत्रकारलाई गाली गरेर मात्र नागरिकको दायित्व पूरा हँुदैन । सरकारले बनाएको नियमको पालना, स्वअनुशासन जस्ता कुरामा नागरिक स्वयं सचेत बन्नुपर्छ । तीव्र संक्रमणको अवस्थामा पनि विवाह, व्रतबन्ध, दिवाली, कुलपूजा जस्ता मानिस जम्मा हुने कार्य गर्नु नागरिकको गैरजिम्मेवारीपन हो । अझ यस्तो कार्य गर्ने अगुवाहरूमा जनप्रतिनिधिको नाम समेत जोडिएको छ । यो अत्यन्त घातक काम हो भन्ने आम नागरिकले बुझ्नै पर्छ । 

म विवश छु, लगभग हामी सबै पत्रकार विवश छौँ । तर सरकारले पत्रकार, पत्रकारको परिवार, समाज र समुदायको सुरक्षामा चासो दिन्छ र पत्रकारलाई स्थलगत रिपोर्टिङका लागि सहज वातावरण बनाइदिन्छ भने म र हामी सबै पत्रकारहरू कोरोना संक्रमणको तथ्यगत समाचार संकलन र सम्प्रेषणका लागि तयार छौँ । आफ्नो ज्यानको माया गरेर घरमा थन्किएर बस्ने र कलमलाई कुँजो बनाउने कुरा हामी कसैको पनि रहर हैन र छैन ।  


Author

थप समाचार
x