सप्ताहन्त

भूमिका

‘हार्दिक समवेदना प्राध्यापक राजेन्द्र सुवेदी’

हरिकुमार श्रेष्ठ |
जेठ १५, २०७८ शनिबार १५:४ बजे

निःशब्द छु ।  लेख्नलाई  शब्द छैनन् ।  बोल्नलाई  वाक्य छैन । यस्तो बेला कसरी समवेदना भनौँ ? निकै बेर टोलाएर बसेँ । तर मन भने अधीर थियो । स्मृतिका पाना आफैँ फर्रर पल्टिरहेका थिए । म आफ्नै अतीततिर फर्किएँ । 

ढाकामा चार वर्षे कार्यकाल सकेर म भर्खर फर्केको थिएँ । त्यहाँ छँदा मैले कोरकार गरेको नियात्रा तथा संस्मरणलाई सँगालोको रूप दिन परराष्ट्रका साहित्यकार सहकर्मी साथी दुबसुले अग्रसरता लिएका थिए । खेस्रा संकलनले पुस्तकको स्वरूप  लिने  छाँट आएपछि त्यसको भूमिका लेख्ने जिम्मा उनले प्राध्यापक राजेन्द्र सुवेदीलाई सुम्पेछन् । उनको नाउँ यदाकदा सुनेको सम्म थिएँ तर कहिल्यै भेटेको थिइनँ, जान पहिचानको त कुरै छाडौँ ।


प्रा. राजेन्द्र सुवेदीको नाउँ मैले पहिलो पटक विदेशमा छँदा पढेको थिएँ ।  ढाकामा छँदा संयोगवश हामी बूढाबूढी बर्माको राजधानी रंगुन घुम्न गएका थियौँ । (बर्मा अहिले म्यानम्यार र रंगुन सहर यांगोनको सरकारी नाउँले चिनिन्छ ।) त्यतिखेर यांगोनमा हाम्रै सहकर्मी साथी पारस घिमिरे राजदूत थिए । राजदूत दम्पतीको आतिथ्यमा त्यहाँ एक हप्ता रमाइलोसँग घुमियो । 

त्यसरी यांगोन सहर घुम्ने क्रममा एकजना नेपाली मूलका बर्मेली नागरिकले सहरको चल्ती भागमा खोलेको धर्मशालामा पनि छिर्न भ्यायौँ, जसको नाउँ थियो ‘नन्दराम न्यौपानेको धर्मशाला’ । 

बर्मामा बहुमूल्य रुबीको व्यापारवाट स्थापित भएका नन्दरामले टाढा टाढाबाट यांगोन आउने नेपाली मूलका बर्मेलीलाई सुविधा होस् भन्ने पवित्र उद्देश्यले त्यो धर्मशाला स्थापना गरेका रहेछन् । नेपालबाट केही दिनका लागि बर्मा घुम्न आउने पाहुनालाई पनि त्यहाँ स्वागत गरिँदो रहेछ । त्यहाँस्थित आगन्तुक पुस्तिकामा नेपालबाट हालै आएका विशिष्ट अतिथि दमननाथ ढुङ्गाना र  प्राध्यापक राजेन्द्र सुवेदीले प्रशंसायुक्त मन्तव्य लेखेका रहेछन् । प्रा. सुवेदीको हस्ताक्षरित लेखनी पहिलो पटक त्यहीँ पढ्न पाएको थिएँ ।

उनीसँग प्रत्यक्ष भेट चाहिँ त्यसको दुई वर्षपछि काठमाडौँमा भयो । म ढाकाबाट २०१६ फेब्रुअरी महिनामा नेपाल फर्कंदा मेरो यात्रा–संस्मरण ‘मैत्री एक्सप्रेस’ले पनि अन्तिम रूप लिन लागेको थियो । प्रा. सुवेदीले त्यसको पाण्डुलिपि अद्योपान्त छिचोली भूमिका समेत लेखिसकेका रहेछन् । त्यस्तैमा एक दिन दुबसुजीले उनलाई भेट्न घण्टाघर जामे मस्जिद सँगैको पाठ्यसामग्री पसलमा लगे । त्यो पुस्तक पसलसँग म थोर बहुत परिचित थिएँ, बेलाबेलामा साहित्यिक पत्रपत्रिका पनि किन्ने गर्थें । तर त्यो पुस्तकघर प्रा. सुवेदीका आफ्नै छोरा कमल सुवेदीले चलाएका रहेछन् भन्ने मलाई के थाहा ?

जाडो यामको घाममा पसलबाहिर प्लास्टिकको मेचमा बसेर चिया खाँदै हामीले परिचय साट्यौँ । कपाल सेतै फुलेका तर खाइलाग्दो अग्लो जिउडाल भएका प्राध्यापक सुवेदी हेर्दा खरो स्वभावका लाग्थे । उनको भनाइ र गराइ उस्तै रहेछ भनेर ठम्याउन मलाई धेरै बेर लागेन । ‘मैत्री एक्सप्रेस’को भूमिकाको सन्दर्भ आएपछि उनले यस्तो भने, ‘हेर्नुस्, तपार्इंलाई म चिन्दा पनि चिन्दिनथेँ । तपाईंको नाउँ कहिल्यै सुनेको पनि थिइनँ । तपार्इंको लेख, रचना कहीँकतै पढेको पनि थिइनँ । तर ‘मैत्री एक्सप्रेस’को पाण्डुलिपि हातमा परेपछि भने भूमिका लेख्न कलम सकसकायो । लेख्दालेख्दै लामै भएछ, तपाईंलाई कस्तो लाग्छ कुन्नि ?’

विद्वान् समालोचक प्राध्यापकको खरो कुराले मेरो भित्री मन छोयो । मैले कृतज्ञताजनित भावमा भनेँ, ‘म त्यस्तो भूमिका लायक कहाँ हुन सक्छु र ? सरले जे देख्नुभयो, दूधको दूध पानीको पानी छुट्याएर लेखिदिए त्यो नै मेरा लागि काफी हुन्छ ।’ नभन्दै प्रा. सुवेदीले पन्ध्र पेज लामो भूमिका लेखेका रहेछन् जसमा नियात्रा, संस्मरण, आत्मकथा जस्ता विषयको सैद्धान्तिक विवेचनादेखि लिएर नेपाली साहित्यको त्यस उर्वर फाँटमा देखिएको विचलनमा समेत चोटिलो प्रहार गरिएको थियो । पुस्तकको भूमिकामा उनको खरो बोली यसरी मुखरित भएको थियो, ‘पछिल्लो चरणमा संस्मरणका हकमा चाहिँ नियुक्त र प्रायोजित लेखकहरूका लेखनका कारण अलेखकहरू पनि लेखक बन्ने लहर चलेको छ । अर्कै प्रतिभाको कलमले विभिन्न स्वार्थ, प्रलोभन र प्रायोजनका कारण अलेखकहरू आकस्मिक रूपमा लेखक बनेर प्रकटमा आएका स्थितिले संस्मरण लेखन क्षेत्र निकै मौलाएको देखिन्छ । तर यहीँनिर रमाइलो कुरा के पनि छ भने यसरी अनेक प्रभाबबाट प्रेरित भई अलेखकलाई लेखक बनाउनमा कतिपय प्रतिभाहरूका कलम पनि गोप्य तवरमा जुटेका छन् र मौसमी लेखकहरू जन्माएका छन् । त्यसरी आफ्नो सिर्जना कोखमा अर्काको कृति सन्तानको भू्रण बोकेर अलेखकलाई लेखक बनाइदिने स्रष्टाहरूले यसै समयमा आफ्नो सृजनागर्भ भाडामा अनुबन्धित बनाएका छन् । जसका नाममा चटयाङ पार्ने खालका रचना सृजना भए र त्यस्तै कृतिहरूले यस देशमा बिग हाउसले प्रदान गर्ने बकस चरित्रका पुरस्कारहरू पनि पड्काए । त्यस्ता लेखकको कृति संस्कृतमा पाइने ‘देवदत्तस्यैक पुत्रः स एवं ज्येष्ठ कनिष्ठ’ अर्थात् देवदत्तको यही एक मात्र छोरा हो, जेठो छोरो पनि यही हो र कान्छो पनि यही हो’ भन्ने उक्तिलाई चरितार्थ गर्न सफल बनेका छन् । पुरस्कार पाउन अथवा चर्चामा आउन गुप्त र नियुक्त लेखकबाट आएको कृतिका अतिरिक्त अन्य कृतिहरूको अनुहार देख्न पाइएको छैन ।’

नेपाली साहित्यमा झ्याङ्गिएको विकृतिप्रति उनको रिस अझै मरेको थिएन । भूमिकामा उनले यस्तो थपे, ‘आज लेखक लेखकभन्दा बढ्ता पाठक बनेर अलेखकलाई लेखनको अवसर दिनुमै कल्याण देख्न थालेका छन् । लेखनका निम्ति लेखक नियुक्त पनि हुन्छन्, तर पाठक त्यसरी नियुक्त हुने स्थिति नभएकाले र कुनै सञ्चारको मञ्चमा पत्रकारहरूलाई आमन्त्रण गरेर कृतिको विज्ञापनमुखी समीक्षण गर्ने जस्ता कामहरू सम्भावनाभित्र पर्दै जाने स्थितिको खतरा पनि आज संस्मरण र आत्मकथाले नै बेहोर्नुपर्ने स्थिति आएको छ । यस्ता कामको प्रायोजन गर्न सही र सक्षम लेखकको बुताको विषय नभएका कारण प्रायोजनमा नपरेका पाठक नै निर्णायक पक्ष रहने कुरा प्रमुख मानिएको छ । एकपल्ट चटयाङ पार्ने र पुरस्कार पनि पड्काइहाल्ने मौसमी लेखकका दुर्घटित लेखन स्थिति पनि आजको डरलाग्दो विषय बनेको छ । फेरि अनुहार देखाउन नसक्ने गरी किनारा लाग्ने त्यस्ता मौसमी लेखकका कृतिहरू प्रायोजनको दुर्घटनाबाट पनि जन्मेका छन् । त्यस्ता कतिपय लेखक अलेखककै स्तरमा ‘पुनर्मुसीको भव’को स्थितिमा पुग्ने घडीमा नियात्राकार तथा संस्मरणकार हरिकुमार श्रेष्ठ आफ्नो नियात्रा तथा संस्मरणसमेत समावेश भएको कृति ‘मैत्री एक्सप्रेस’ लिएर पाठकसमक्ष आउन लागेका सन्दर्भमा उक्त कृतिको भूमिका लेख्ने सिलसिलामा यो चर्चा गर्ने काम भएको छ । यस्तो स्थितिमा म पनि कुनै अलेखककै रचनामा भूमिका लेखनको नाममा आफ्नो उर्जा त क्षय गरिरहेको छैन भन्ने त्रासबाट पनि त्रस्त बनिरहेको छु । तर मैत्री एक्सप्रेसका लेखकको सृजनामा त्यो स्थिति नपरेकाले अबको सन्दर्भ ‘मैत्री एक्सप्रेस’मै केन्द्रित गर्ने अठोट गरेको छु ।’

उनको त्यो लामो भूमिका पढेपछि म खर्ल्याङखुर्लुङ भएँ । मैले आफ्नो हैसियत त्यति बेलै थाहा पाइहालेँ ।

तर ‘मैत्री एक्सप्रेस’ मैले सोचेभन्दा राम्रै गुड्यो । पुस्तक विमोचन परराष्ट्र मन्त्रालयको सभाकक्षमा एक साधारण कार्यक्रममा भएको थियो जसको सबै तारतम्य दुबसुले मिलाएका थिए । त्यस कार्यकमको आकर्षण अग्रज नियात्राकार प्रा. तारानाथ शर्मा र समालोचक प्रा. राजेन्द्र सुवेदी स्वयं थिए । प्रा. तारानाथ शर्माले उनको प्रसिद्ध नियात्राकृति ‘बेलाइततिर बरालिँदा’को रोचक प्रसंग हामीसामु पस्केका थिए भने सुवेदीले त्यो कृतिलाई समालोचकीय तराजुमा जोखेका थिए । ‘मैत्री एक्सप्रेस’ त्यस प्रसंगमा जोडिनु मेरा लागि कम गर्वको विषय थिएन ।

प्राध्यापक सुवेदीसँग मेरो संगत मोटामोटी त्यति नै हो । तर उनका सुपुत्र कमलसँग भने मेरो सम्पर्क यथावत नै रह्यो । सहर जाँदा उनको पुस्तक पसल छिर्न प्रायः बिर्संदैनथँे ।  बेलाबेलामा केही नयाँ पुस्तक पत्रपत्रिका पनि किन्न पाइन्थ्यो । ‘मैत्री एक्सप्रेस’को पाण्डुलिपि सुरुदेखि पुछारसम्म हेरी शुद्धाशुद्धको जिम्मा कमलले नै लिएका थिए । उनको भर नपाएको भए त्यो संकलन कुन कुनामा थन्किने थियो, थाहा छैन । त्यसको निम्ति म उनीप्रति अनुगृहीत छु । 

कमलकै संगतले प्रा. सुवेदीको केही पुस्तक विमोचन कार्यक्रममा मैले पनि चियाउने मौका पाएको थिएँ । समालोचनाको अतिरिक्त उनले अनुसन्धान, यात्रा, निबन्ध, संस्मरण, अनुवाद, आख्यान, काव्य र पूर्वीय दर्शनजस्ता गहन विषयसमेत गरी तीन दर्जनभन्दा बढी किताब हाम्रा सामु पस्केका छन् । त्यस्तै एक कार्यक्रममा उनको अनुसन्धात्मक कृति र यात्रा–स्मरण विमोचन भएको थियो । उनले मलाई एउटा कुनामा लगी भनेको कुरा म कहिल्यै बिर्सन्न । उनले भनेका थिए, ‘हरिकुमारजी, नियात्रा, संस्मरण लेख्ने पनि एउटा कला हो, जो सबैमा हँुदैन । म पनि लेख्छु तर त्यो ठिमीले यात्रा वर्णन जस्तो मात्र हो । मलाई तपाईंको लेख्ने स्टाइल मन पर्यो । लेख्न नछोड्नु होला ।’

मलाई ती शब्द प्रसिद्ध समालोचकको मुखबाट निस्केको कूटनीतिक लेप जस्तो लाग्यो । मैले हाँसेर टाँरे ।

प्राध्यापक सुवेदीसँग मेरो त्यही नै अन्तिम भेट थियो । म अलि एकलकाँटे स्वभावको मान्छे, साहित्यिक जमघटमा मलाई त्यति रुचि पनि हुन्थेन । तर नेपाली साहित्यको किताब चाहिँ पाएसम्म पढिबस्थेँ । त्यसरी नै दिनचर्या चलिरहेको थियो । कोरोना महामारीका कारण झण्डै एक वर्ष त घरभित्रै  गुम्सिएर बिताउनु पर्यो । 

अब त आङ फुकाएर हिँड्न पाइएला भनेको, कोरोनाको दोस्रो लहरले गाँजी हाल्यो । त्यो लहरले किनारसम्म छोएर जाला भन्ने धेरैको आँकलन थियो तर अहिलेको प्रकोपले त सुनामीको रूप लिएर आएको थियो । सुनामी– जसले सानो–ठूलो भन्दैन, धनी–गरिब जान्दैन, अनि विद्वान् र अल्पज्ञानी पनि मान्दैन । जोसुकैलाई पनि सोतर पार्दछ ।

विगत केही समयदेखि त्यो सुनामीको भय र संन्त्रासको बीच निषेधाज्ञाको चकमन्नतामा हामी दिन गुर्जान विवश छौँ । राजधानीबासी र देशको धेरै ठाउँका जनता घरभित्रै थुनिइरहेका छन् । सडक सुनसान छन् । कहालीलाग्दो सन्नाटालाई चर्को साइरनले चिर्दै छिनछिनमा एम्बुलेन्स कुदिरहन्छन् । यस्तो लाग्छ, पूरा सहर रोगमा डुबेको छ, भोकमा डुबेको छ, अनि शोकमा डुबेको छ । 

आशाको एउटै किरण भनेको नयाँ धरहरामा राति झलमल्ल बल्ने बत्ती हो, जसले राजधानीमा जीवन भएको संकेत गर्छ । 

यस्तो विषम परिस्थितिमा सामाजिक सञ्जालले जीवन धान्न एनकेन भरथेग गरिरहेका छन् । तर हिजो आज फेसबुक, ट्वीटर खोल्दा मेरो मुटु काँप्छ । प्रत्येक दिन समवेदना-अबिच्युरीका फोटोले फेसबुक वाल भरिन थालेका छन् । प्रियजनको बिछोडको पीडाले कतिको मन रोइरहेका होलान्, कतिको घरबार उजाडिएको होला- हामी केवल अनुमान मात्र गर्न सक्छौँ । त्यसमाथि अक्सिजन नपाएर आफन्तजनको सास रोकिँदाको दर्दनाक पीडा त भोग्नेलाई मात्र थाहा हुने कुरा हो । फेसबुकमा रीप (RIP) पोस्ट गरेर औपचारिकता त पूरा गरिएला तर त्यसले पीडितको घाउमा झनै नुनचुक मात्रै छर्छ । मलाई त्यस्तो लाग्छ ।

पीडाको त कुरा गरेर के साध्य ? त्यही पीडा सहन नसकेर कमलले केही दिनअघि ‘नयाँ पत्रिका’मा एउटा मर्मस्पर्शी लेखमार्फत आफ्नो वेदना र आक्रोश पोखेका थिए । त्यो लेख पढिसकेपछि मात्र उनका पिताश्री प्रा. राजेन्द्र सुवेदी कोरोना संक्रमणका कारण अस्पताल भर्ना भएको खबर थाहा पाएको थिएँ । उनको त्यो लेखमा संक्रमणका कारण बिरामी र आफन्तजनले भोग्नुपरेको पीडा, व्यथा र त्यसमाथि निजी अस्पतालको खराब व्यवहारका कारण बिरामीका परिवार र आफन्तजनले भोग्नुपरेको बाध्यता र विवशता आक्रोश मिश्रित शब्दमा उजागर भएको थियो । 

सौम्य र शालीन स्वभावका कमलको किञ्चित आक्रोश मिश्रित लेख पढेपछि उनलाई फोन गरेँ । उनले अलि हतास स्वरमा भने, ‘पाँच दिन भयो अस्पताल भर्ना भएको, बुवाको अक्सिजन लेभल बढेको छैन । अस्पतालमा आईसीयू बेड पनि पूरै प्याक । यस्तो स्थिति छ ।’

म आफूले के गर्न सक्‍थेँ र ? ढाडस दिँदै भँने ‘नआत्तिनुस्, धन्न बुवाले बेलैमा अस्पताल र अक्सिजन पाउनु भएछ । आईसीयू नपाउन्जेल अस्पतालबाट डिस्चार्ज नगर्नु होला । बुवा उच्च आत्मबल भएको मान्छे हो । उहाँलाई आइसीयू पनि सायद आवश्यक पर्दैन होला । केही दिनमा त घर फर्किहाल्नु होला ।’

त्यो त मेरो भ्रम मात्र रहेछ । केही दिनपछि उनलाई फोन गर्दा थाहा पाएँ प्रा. सुवेदीलाई गंगालालको आईसीयूमा सारिएछ । आईसीयू सपोर्ट पाएपछि  कसो संक्रमणलाई नजित्लान् भन्ने विश्वास थियो । कमलसँग प्रायः दिन बिराइ कुरा हुन्थ्यो । उनी पनि आशावादी नै सुनिन्थे । खालि एउटै कुरा दोहोर्याउँथे, ‘बुवाको अक्सिजन लेभल बढ्दै बढेन ।’

अन्ततः नचिताएको समाचार सुन्न विवश हुनुपरÞ्यो । आज बिहान फेसबुक पेज खोलेको मात्र थिएँ, मुटु ढक्क भयो । ‘हार्दिक समवेदना प्राध्यापक राजेन्द्र सुवेदीप्रति ।’ जतासुकै छ्यापछ्याप्ती भइसकेछ । 

त्यो मेरा लागि नितान्त नचिताएको समाचार थियो । उनी त्यति सजिलै हार खाने मानिस थिएनन् । आफ्नो मूल्य–मान्यतामा अडिग रहने स्वाभिमानी मान्छे थिए । थुप्रै किताबको भूमिका लेखिसकेका प्रा.सुवेदीमा खरो समालोचकको चेत थियो । उनी त्यसै डग्नेवाला थिएनन् ।

तर मृत्युको अगाडि कसैको केही डेग चल्दो रहेनछ । त्यस्तै भयो, उनको नियति पनि । प्राध्यापक राजेन्द्र सुवेदी एक्सप्रेसयान समातेर स्वर्गलोक प्रस्थान गरे सायद त्यहाँ पनि समालोचकीय भूमिका लेख्ने कार्यमा उनको अभाव खड्किएर होला । उनी त गए तर उनको स्तरको भूमिका लेख्ने विद्वान् समालोचकको अभाव भने नेपाली साहित्य जगत्मा लामो समयसम्म खड्की रहनेछ । नेपाली साहित्यका स्रष्टा र द्रष्टा सबैले उनको देनलाई सम्झिरहने छन् । अनि उनका बहुआयामिक रचनाको माध्यमबाट प्राध्यापक सुवेदी हामीमाझ सधैँ रही रहनेछन् ।

स्वर्गीय प्राध्यापक राजेन्द्र सुवेदीप्रति समर्पित यो लामो भूमिका लेखेपछि मन अलि हलुंगो भयो । त्यसपछि कमलको मोबाइलमा मेसेज गँरे, ‘निःशब्द छु । बोल्नलाई शब्द छैनन् । पत्याउन सकिरहेको छैन । कसरी समवेदना भनौँ ?’



 


Author

थप समाचार
x