सप्ताहन्त

एक सिलिन्डर अक्सिजन

वसन्त आचार्य |
जेठ १६, २०७८ आइतवार १२:५१ बजे

                                       
बाल्नुपर्ने थियो लाखबत्ती 
आधा लाख कातेकी थिइन् आमाले,
भित्र्याउनुपर्ने थियो यसै वर्ष बुहारी
वर्षाैंपछि मन पराएकी थिइन् आमाले
सर्नुपर्ने थियो पानी नचुहिने घरमा 
भर्खरै बनाएकी थिइन् आमाले 
देखिने भगवान्को घर जानुभन्दा पहिले 
धेरै गर्नुपर्ने थियो आमाले । 
तर, 
नआउने गरी आमा 
नदेखिने भगवान्को घर गइन् । 

संसार नै असुरक्षित लाग्दा लुक्ने काखमा
बाँधेकी थिइन्,
हातमा चोट लाग्दाको मलमपट्टी
रुखबाट झरेको बेला अस्पतालसम्म लैजाने दमकल
आँखाबाट बगेको आँसु थाम्ने भाँडो,
आधा दर्जन सन्तान जन्माएर थाकेको पाठेघरलाई सान्त्वना दिने  
मेरी आमाको पटुकी यहीँ छुटेको छ
आमासँगै पठाउनु छ त्यो पनि 
एकछिन नलगाउँदा छटपटाउँथिन्
वर्षांै नलगाउँदा कस्तो होला,
आर्मी दाइ,
छोराले पटुकी ल्याइदिएको भनिदेऊ न । 
मेरी आमाको कम्मर छुने गरी राखिदेऊ न । 


एकछिन भेट नहुँदा 
एकभारी कुरा सुनाउन बाँकी हुन्थे आमासँग
अब त कहिले भेट होला र ?
जीवनभर सुम्सुम्याइरहन्थिन्
आमालाई मन र तन दुख्दा छुन सकिनँ,
लेख्न जान्दिनन् बूढी बुढीऔँठा छाप हुन् 
एउटा प्याटप्याटे मोबाइल पठाउनु छ
मैले हिँड्ने बाटो बिराएँ भने उनले 
माथिबाट मलाई गाली गर्नु परेन ?
 
आमा,
तिमी अस्पताल जाँदा दुई 
जिउको भएको खैरेले 
तिमीले भनेजस्तै दुइटा पाठी पाएको छ
ती पाठीले तिम्रो हत्केला खोजिरहेछन् 
के भनौँ तिनीलाई ?
सात दिन भएको थियो आमा अस्पताल गएको,
सात जुनी काटेजस्तो भएको छ ।
सधैँलाई छुटेकी छौ म के गरुला ?
एक्कै पटक माफी माग्न मन छ आमा 
पहाडले थिच्दा मलाई बचाएकी थियौ
माफ गर,
तिमीलाई एक सिलिन्डर अक्सिजन नहुँदा बचाउन सकिनँ ।

लाउँदा लाउँदैको सारीको आधा सप्को
खाँदा खाँदैको भातको आधा गाँस
बोल्दाबोल्दैको अधुरो वाक्य 
हिँड्दा हिँड्दैको आँधी पैताला 
धेरै पूरा गर्नुपर्ने थियो तिमीले  
देखिने भगवान्को घर गएकी आमा
नदेखिने भगवान्को घर गइन् । 


 


Author

थप समाचार
x