सप्ताहन्त

फिक्सन

नेताका स्न्याक्स : छेपारो फ्राई

शिवकुमार काशी |
जेठ २२, २०७८ शनिबार ७:४४ बजे

सुनसान पृथ्वीलाई ब्रह्माले हनुमानको गदा मागेर एक ‘डिस’ हानिदिएपछि पृथ्वी ‘कोल्याप्स’ भयो । मान्यताअनुसार यतिखेर कलियुग चलिरहेको छ । आमा-छोराबीच झुक्किएर सम्भोग भएपछि सुरु भएको भनिएको कलियुगका अनेकन् विशेषता हामी भोग्दैछौँ । उसो त भोग्दै मात्रै होइन, कलियुगका खास पात्र नै हामी हौँ । कलिका हामी नामे र बेनामे पात्रका कारण यतिखेर धर्ती नै दिग्मिगाएको छ । गन्हाएको छ । मानिसहरूसँग रहेको भनिएको नैतिकता, आचरण, व्यवहार सबै पत्रुपलाँस भएको छ । ‘बुद्धम शरणम् गच्छामि’ भन्दै हिँडेकाहरू पनि हतियारसहित भीडबाट समातिन थालेका छन् । 

यी र यस्तै वाक्क लाग्ने खबरचित्रहरू देखेर पृथ्वीका सर्जक ब्रह्मा पनि अवाक् छन् । बलात्कारै बलात्कारको सिन भएको नेपाली चलचित्र हेरेर थाकेका महिला अधिकारकर्मीझैँ धपक्कै बलेको कलियुग देखेर विरक्तिएका ब्रह्माले अन्तत: पृथ्वी ध्वस्त पार्छन् र धर्तीको अस्तित्व अलप हुन्छ । उतिखेर पृथ्वीको जन्म हुने बेलामा जुन राप र ताप थियो, पृथ्वीको अन्त्य चाहिँ त्यसरी गरिएन । ब्रह्माको तर्फबाट अक्सिजन उत्पादन गर्ने आम वनस्पतिहरू र कम्पनीहरूका लागि फरमान जारी भयो, त्यही फरमान बमोजिम अक्सिजन उत्पादन हुन छोड्यो । मानिसहरू र अरु सबै प्राणीहरूले सास फेर्न सकेनन् र प्याकप्याक भएर मरे । त्यसपछि सुनसान पृथ्वीलाई ब्रह्माले हनुमानको गदा मागेर एक ‘डिस’ हानिदिएपछि पृथ्वी ‘कोल्याप्स’ भयो । 


पृथ्वीको अन्त्यसँगै धर्तीका मानिसहरू यमलोकको स्वर्ग र नर्क प्रान्तमा पुगे । तीमध्ये कलियुगका दुई तिहाइ मानिस भने आफ्नो पापअनुसार यमलोक पुगे । प्राणी जगत्को सेवामा लागेका केही असल मान्छेहरू मात्रै स्वर्ग पुगे । नेपालका तर्फबाट भने महावीर पुन, कुलमान घिसिङ, अनुराधा कोइराला, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्यसहित केही मान्छेहरू स्वर्ग पुगेको पाइयो । स्वर्गमा पनि उनीहरू सेवा र आविष्कारमै लागिरहे । स्वर्गको सुन्दरता र रम्भा, उर्वशी आदि अप्सराको आकर्षणले उनीहरूलाई कुनै प्रभाव पारेन ।

उता नर्कमा भने ठूलो संख्याका नेपालीहरू लुछाचुँडी गरिरहेका थिए । त्यो नर्क पनि नेपालमा झैँ अन्यायपूर्ण शासन व्यवस्था थियो । त्यहाँ पनि भुइँफुट्टाहरूकै राज रहेछ । बाध्यतावश श्रीमतीको इच्छा पूरा गर्न २/५ सय रुपियाँ घुस खाएका खरदार सुब्बाहरूमाथि कारबाही हुँदै थियो भने लोकमान कार्कीहरू त्यहाँ पनि सुरक्षित नै थिए । खरदार सुब्बाहरूलाई कारबाही गर्न चित्रगुप्तहरू यमराजलाई बढी उक्साइरहेका थिए । अहिलेका नेपालका प्रधानमन्त्री र राष्ट्रपतिलाई उनीहरूका सल्लाहकारहरूले उक्साएझैँ नर्कमा पनि चित्रगुप्तहरू यमराजलाई उचाल्दा रहेछन् । 

यमलोक अन्तर्गतको एउटा प्रान्त अर्थात् नर्कमा नेपालका मात्र होइन, विश्वका नेताहरूको भेट भयो । खासगरी नर्कमा भेटिनेमा डोनाल्ड ट्रम्प, नरेन्द्र मोदी, किम जोङ उन लगायत थिए । सी चिनफिङ, आङसाङ सुची लगायतका नेताहरू कसरी स्वर्गमा पुगे भनेर उल्लिखित नेताहरू गुनगुन गरिरहेको पनि सुनिन्छ । आफूहरू स्वर्गमा नपुगेको र सी चिनफिङहरू मात्रै पुगेको भनेर सबैभन्दा बढी गुनासो गर्दा रहेछन् डोनाल्ड ट्रम्प । स्वर्ग र नर्क गरी दुवै प्रान्तमा थामिनसक्नुको भीड छ ।

स्वर्गमा भन्दा नर्कमा भीड त बढी नै हुने भयो । किनकि नर्कतर्फ दुई तिहाइ मानिसहरू पुगेका छन् । नर्कमा कतै भारतीय नागा बाबा जोगीहरू आफूहरू स्वर्गमा नपरेको भन्दै छाती पिटीपिटी रोइरहेका छन् त कतै एक हाते माइक बोकेर पुण्य गौतम उफ्रिरहेका छन् । मुकुन्दे फेरि रुखमा चढेर नेताहरूलाई गिज्याउँदै रहेछन् । 

नर्कमा पनि छुट्टै एउटा नेपाल भन्ने चोक रहेछ । त्यहाँको एउटा सार्वजनिक प्रतीक्षालय नेपालका नेताहरूका लागि व्यवस्था गरिएको छ । जहाँ पुष्पकमल दाहाल, केपी शर्मा ओली, शेरबहादुर देउवा, माधव कुमार नेपाल, राजेन्द्र महतो, पशुपति शमशेर, बाबुराम भट्टराई, महन्थ ठाकुर, कमल थापा, रवीन्द्र मिश्र लगायत शीर्ष नेताहरू प्रतीक्षालयमा बसेर गफ गरिरहेका छन् । उनीहरू कोही पान खाइरहेका छन् भने कोही सुर्ती माडिरहेका देखिन्छन् । राजेन्द्र नजिकै आएपछि केपी ओलीले आफूले लगाइरहेको मास्क अलिक माथि सारेर तन्काउँछन् । 

अर्कोतर्फ गोकुल बास्कोटा, सूर्य थापा, दुर्गा प्रसाई, प्रेम आले, सुरज वैद्यलगायत बस्ने छुट्टै टहरो छ । यो टोली चाहिँ आर्थिक/राजनीतिक टोली रहेछ । खासगरी राजनीतिमार्फत आर्थिक समृद्धिमा जाने उद्देश्य बोकेको यो टोली नेपालमा समाजवादी चरण सकिएर लगभग लगभग साम्यवाद ल्याउनै लाग्दा ब्रह्माले पृथ्वीलाई नै ‘डिस’ हानेकोप्रति चिन्तित छ । यसबारे गोकुल बास्कोटा बढी नै मर्माहत भएका रहेछन् । उनी आफ्ना दामलीहरूसँग यस्तै यस्तै गुनासो पोखेर बसेका रहेछन् । बास्कोटाले बोलिरहँदा सूर्य थापा चाहिँ पुलुकपुलुक उनको मुहार हेर्दै नेपाली फिलिमको चंखेझैँ होमा हो लाउँदा रहेछन् । प्रेम आले अक्सिजन रोकेर ब्रह्माले गरेको प्राणी हत्याप्रति दुखेसो गर्दैरहेछन् । अक्सिजनसँग उनको छुट्टै साइनो पनि त छ ।  

ब्रह्माको रिस यमराजलाई पोखेर पनि नहुने । बरु यमराजले नेपालका यी सबै नेताहरूलाई एकाएक सुली चढाउन बाँकी थियो । यिनीहरू भर्खर यमलोकको किताबखानामा नाम दर्ता भएर कारबाही पर्खेर बसेका नेताहरू थिए । ठूलो संख्या भएकाले के कसरी कारबाही गर्ने भन्नेबारे यमराज प्रशासन नै यतिखेर अन्यौलमा थियो । किनकि यत्रो संख्यामा नर्कमा मान्छेहरू पहिलो पटक आएका थिए । 

दिनभरि सुर्ती माडेर खाए पनि, जति ठूलो ठूलो गफ लडाए पनि नेपाली साँझपख त नेताहरूलाई झोल नभई नहुने । साँझ ७ बज्‍नै लाग्दा शेरबहादुर देउवाले मुख खोलेरै भने, ‘रात परिसक्यो यार, आइ निड अल्कोहल । रक्सी त खान पाउनुपर्‍यो नि बाबा ।’ जीवनभरि जनताको नाउँमा मस्ती मारिएको पृथ्वी ध्वस्त भएर आफूहरू नर्क पुगेको तनावका कारण पनि रक्सी नखाई कहाँ निद्रा लाग्छ त ? सबै नेताहरूको यो कुरामा सहमति थियो । अरु त अरु किड्नी फेरेका केपी ओली पनि दुई दशकपछि ‘टुच्च’को मुडमा थिए भने पुरेत बाजेको छोरो माधव नेपाल पनि पहिलोचोटि सोमरसको स्वाद चाख्‍ने मुडमा पुगे । राजेन्द्र महतो र उपेन्द्र यादवहरू भने ठीकै मात्र खुसी भए । 

सधैँ पिइरहेको चीज, पिए पनि ठीकै नपिए पनि ठीकै । बाबुराम भट्टराईले चाहिँ पल्याकपुलुक आँखा घुमाए । त्यसपछि ‘लौ त लौ’ भने । हिसिला यमीले थाहा पाउलिन् कि भन्ने डर यिनलाई नर्कमा आइपुग्दा समेत छ ।
सोमरसमा सहमति भएपछि नर्कमा रहेको एउटा रक्तनदी छेउकै भट्टीमा शीर्ष नेताहरू हिँडेरै पुगे । रक्तनदीको आवाज र गन्ध उनीहरूलाई निकै वासनादार र निश्छल लागिरहेको थियो । अधिकांश नेताहरू रगतकै होली खेलेर स्थापित भएकाले रक्तनदीसँग रत्तिन उनीहरूलाई केहीबेर नै लागेन । जब भट्टीमा उनीहरू छिरे, कृष्णबहादुर महरा र रोशनी शाही पनि त्यहीँ भेटिए । दुई तिहाइ सरकार हाँकेको अनुभव भएका केपी ओलीले महरा र रोशनीलाई फेरि औडाहा गरे, ‘पिरेम भनेको यस्तो पो त ! जुन लोकमा गए नी नछुट्ने । सायद जुनीजुनी सँगै बाँचौँला भन्ने कसम खाएको कार्यान्वयन भएको छ उहाँहरूको’ ओलीले यसो भन्दा सबैभन्दा बढी पुष्पकमल दाहाल ‘प्रचण्ड’ हाँसे । महराले यो पृथ्वी नभई नर्क प्रान्त भएकाले ओलीलाई ‘फर्गेट एस्टर्डे एन्ड फर्गेट नेपाल’ भनेर जवाफ फर्काए । 

महरा र शाहीको जोडीलाई छुट्टै टेबुलमा छाडेर शीर्ष नेताको टोली अलिक पर मान्द्रोले बेरेको छाप्रोतर्फ लाग्यो । भट्टीका मालिकहरू विनोद चौधरी र अजेयराज सुमार्गी पनि त्यहीँ बसेर लोकल रक्सी खाँदै भट्टीको हिसाबकिताब गर्दै रहेछन् । भट्टीमा भएका व्यापारबाट अलि बढी फाइदा सुमार्गीले लिएको भनेर चौधरीले गुनासो गरिरहेका रहेछन् । ‘हामी चौधरी थारुहरूलाई बाहुनहरूले नेपालमा त ठगे ठगे नर्कमा आएरसमेत ठग्‍न छाडेन’ भन्दै चौधरीले सुमार्गीलाई रक्सीको तालमा कराइरहेका रहेछन् । खासमा भट्टीमा भएको ५ सिल माछा सुमार्गीले प्रचण्डको सचिवालयमा उपहार पठाइदिएको कुरा खातामा नलेखिएकाले हिसाब गडबड भएको रहेछ । माछा बेच्‍न ल्याउने शान्ता चौधरीलाई भने भट्टीका तर्फबाट भुक्तानी भइसकेको देखिन्छ । 

नेताहरू आएपछि सुमार्गी र चौधरी चुपचाप नेताहरूकै सेवामा लागे । समयमै पिउन नपाएका शेरबहादुर देउवाले भट्टीका साहू सुमार्गीलाई जतिसक्दो छिटो रक्सी ल्याउन आदेश दिन्छन् । ‘अँ त्यो महराकै ब्रान्ड ल्याए नि हुन्छ’, देउवाको भनाइ थियो । महरा ब्रान्ड भन्‍नासाथ फेरि रोशनीको डेरामा भेटिएको रक्सीको बोतल सम्झेर प्रचण्ड कुम हल्लाउँदै हाँस्छन् । माधव नेपाल आफू पहिलोपटक सोमरस पान समारोहमा आएको भन्दै अनविज्ञता प्रकट गर्छन् ।

कुटिल पाराले सबै दृश्य हेरिरहेका ओली भन्छन्, ‘रक्सी जे ल्याए नि ल्याऊ, तर स्न्याक्स मैले भनेको मात्रै ल्याउनू । सबै व्यवस्था दुर्गा प्रसाईंले गरिदिएको छ ।’ ओलीले स्न्याक्समा एकलौटी लाद्‍न खोजेको आशंकामा देउवाले चुरोट चाहिँ नछुटाउनू भन्छन् । एमालेको चुनाव चिन्ह भएकाले सूर्य चुरोटमा देउवाको मोह छैन । भन्छन्, ‘शिखर सेतो चुरोट ल्याउनुस् ।’ त्यसै बेला पल्लोपटि टेबुलमा बसेर गाँजा तानिरहेका केशव स्थापित र भीम उपाध्यायतिर देउवाको ध्यान जान्छ । देउवाले देख्‍नेबित्तिकै उपाध्याय भन्छन्, ‘जय नेपाल दादा ! कि सिगरेट छाडेर आज एक सुल्फा यही बुटी हान्दिऊँ ।’

ओलीले धमाधम विनोद चौधरीलाई स्न्याक्स विवरण टिपाए । त्यसअघि ‘किन आफैँ आएको ? कोमल ओली, रामकुमारी झाँक्री, सुजाता कोइरालाहरू पनि बेरोजगार नै थिए, उनीहरूलाई वेटर राखेको भए अलिक राम्रो व्यापार हुन्थ्यो नि ।’ भनेर चौधरीलाई ओलीले सुझाव दिए । अनि ओलीले दिएको अर्डर चौधरीले डायरीमा टिपे । 

- पाँच प्लेट लोकल माछाको आँखा फ्राइ ।
- लोकल माछाको जिब्रो साँधेको तीन प्लेट ।
- जुकाको हड्डीसहितको तारेको मासु पाँच प्लेट ।
- गोमन सर्पको पुच्छर फ्राइ तीन ठाउँ ।
- सिंगै छेपारो फ्राइ तीन ठाउँ । 
- शुद्ध तोरीको तेलमा तारेको माउसुली ७ ठाउँ । 
- हरियो झिंगा उसिनेको ५ प्लेट । 

अहिलेलाई यत्ति गरौँ । ओलीले बोली सकाए । 
जीवनमा कहिल्यै नसुनेको स्न्याक्स अर्डर भएपछि माधव नेपालले आपत्ति जनाए र भने, ‘म बाहुनको छोरो यस्तो खान्न, मलाई फलफूल मगाइदिनू ।’ हत्तपत्त ओलीले जवाफ फर्काए, ‘यस्तै नखाएर त तिमीहरूले मसँग नेपालमा हुँदा नसकेको नि । नखाए नखाऊ । यस्तो आइटम त मैले र विद्याले धेरै खायौँ । ऊ बेला मार्सी भातको सट्टा यस्तै खाऊँ भन्दा नमान्नाले प्रचण्ड पनि पछि परेको ओलीले सुनाए । ओलीले विनोद चौधरीलाई इसारा गर्दै बोलाए र भने, ‘ए चौधरी ! यता आऊ, माधवजी शाकाहारी मान्छे रे । उहाँलाई साँधेको काउसो तीन प्लेट र बिरे नुन छुट्टै राखेर ल्याइदेऊ ।’ 

यसरी नेपाली नेताहरूको नर्कस्थित रक्तनदी किनारमा सोमरससहितको भोज सकियो । भोजको अन्त अन्ततिर भट्टीमा एउटा चिल्लो गाडीबाट पूर्वराजा ज्ञानेन्द्रसहित परिवारकै आगमन भयो । नेता र राजा एकै ठाउँमा भेट हुने भो भनेर भट्टी साहु चौधरीले कटेजमा नेताहरू भएकाले छुट्टै बस्‍न आग्रह गरे । ‘मैले बुझेँ’ भन्दै ज्ञानेन्द्र बोले, ‘उहाँहरू र ममा खास फरक छैन, मेरो खलकले बिगार्न २४० वर्ष लगाएको देश थोरै समयमै बिगार्न सफल भएका नेताहरूसँगै म बस्‍न चाहन्छु ।’

चौधरीले रोक्दारोक्दै ज्ञानेन्द्र नेताहरू भएकै कटेजमा हिँडे । पारसचाहिँ भीम उपाध्याय र केशव स्थापितपट्टि लागे । नेपालमा ओलीको पेलान झेलेका माधव नेपाललाई ज्ञानेन्द्रले कालोनिलो हुने गरी जिस्क्याउँदै भने, ‘माधवजी, तपाईंको सुरुवालको प्वाल टाल्नुभयो ?’ सबैजना नेताहरू अकमक्क परे । जिब्रो बाक्लो भएको पारामा बोल्दै ज्ञानेन्द्रले थपे, ‘ऊ बेला दाम चढाएर प्रधानमन्त्री माग गर्न आएका बेला ढोग्ने क्रममा सुरुवालमा प्वाल परेको थियो नि !’ यो सुनेर देउवा सबैभन्दा बढी हाँसे । रिसले चुरिएका माधवले त्यसको सबै दोषी तपाईं हो भनेर जवाफ फर्काए । रातभर त्यो भोज चल्यो । पूर्व राजा र नेताहरूले खुब रमाइलो गरे । किनकि उनीहरूका लागि त्यो अन्तिम रात थियो नर्कमा । 

त्यसको भोलिपल्ट नेपालका शीर्ष नेताहरूलाई जनताबाट भोट र कर मात्रै लिएको र त्यसको बदलामा कोरोनाविरुद्धको एउटा सुई समेत दिन नसकेको र आफ्ना कार्यकर्ताहरूलाई ‘टाँगा’ बनाएर हनुमानको उपमा दिई रामभक्त हनुमानकै बदनाम गरेको लगायतका आरोप लगाएर यमराजले तातो तेलमा हाल्ने निर्णय सुनाएछन् । पूर्व राजा ज्ञानेन्द्रसहितलाई परिवारभित्रै घटनाहरू गुमनाम राखिएको, जनताको हित विपरित शासन लिन खोजेको तर नसकेको भन्दै फाँसीको सजाय सुनाइयो । यमराजले घोषणा गरेका ती सबै सजायहरू तत्कालै कार्यान्वयन भएको पाइयो । किनकि कारबाहीका बीभत्स फोटोहरू फेसबुकमार्फत चित्रगुप्तहरूले सार्वजनिक गरेका छन् । 
उक्त फोटोमा स्वर्गमा रहेका कुलमान, महावीर पुन, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्यलगायतले लाइक गरेका थिए । 


Author

थप समाचार
x