सप्ताहन्त

कविता

दाँतको ढुंगामा सरकार लाग्दैन

मिलन बगाले |
जेठ २२, २०७८ शनिवार ८:५७ बजे

आदरणीय देशवासीहरू
यो देशको अर्थमन्त्री
आगामी आर्थिक वर्षको बजेट पढिरहेछु
ध्यान दिएर सुन्‍नुहोला 
नसुने पछि परिन्छ 
नाफाघाटाको सवाल छ 
मनमनै राम्ररी गुन्‍नुहोला । 

आगामी वर्ष
बेचबिखन वर्ष हुनेछ ।
गाउँगाउँबाट बेच
बस्तीबस्तीबाट बेच
घरघरबाट बेच 
टोलटोलबाट बेच 
यो देशको घाटा घटाउनलाई बेच  
नारा यस्तो हुनेछ । 


ढुंगा, माटो, गिटी बालुवा 
सर्प, रुख, पात पालुवा 
नबेचेको कहाँ हो र ? 
देउतादेखि मान्छेसम्म
पानीदेखि खानीसम्म 
केही बाँकी राखिएन 
तैपनि व्यापार जानिएन 
अब जेजे भेटिन्छ सबैथोक बेच्‍ने हो ।  

गाउँगाउँका थोत्रा घरले 
कहिल्यै नाफा दिएनन् ।  
देश बनेन भन्दै 
गन्थनमात्र गरिराख्‍ने 
थोत्रा घर राखेर के काम ? 
सुरुमा छानो बेचिनेछ 
त्यसपछि मानो बेचिनेछ 
डाँडाभाँटा धुरीखाँबो 
सुरढुंगो ढिकी-जाँतो 
चरेसका थाल, स्टिलका बटुका
टोपी, नाम्लो र पटुका
केही बाँकी राखिनेछैन ।
सबै सर्लक्कै बेचिनेछ ।

टौवा, कुन्यु र धन्सार 
दाउराका हार 
अगेनुमाथिको भार
हलगोरु, लैनाभैँसी 
पाडापाडी, बाच्छाबाच्छी
बाख्रा कुखुरा, परेवा 
दोपाया, चौपाया
सबै सबै निखारिनेछ । 

घरमात्र बेचेर घाटा भरिन्‍न 
घरपछि खेत बेचिनेछ, 
पाखो बेचिनेछ 
आँगन बेचिनेछ, 
कोठेबारी बेचिनेछ 
घडेरीसडेरी अब केही काम छैन 
सबै सर्लक्कै बेचिनेछ । 

कसलाई बेच्‍ने ? टेन्सन नलिनुस् 
कसले किन्ला ? टेन्सन नलिनुस् 
पैसा कति ? टेन्सन नलिनुस् 
सबै सरकारले हेर्नेछ 

थाप्‍ने हातबाहेक 
सबैथोक बेचेर 
पैसो हात परेपछि
ट्रकका ट्रक खरानी किनिनेछ 
ट्रकका ट्रक कमण्डलु किनिनेछ 
थानका थान गेरु किनिनेछ  
कतै लाइन नलाग्‍नू
सबैथोकको होम डेलिभरी हुनेछ । 

ओढार र बगरका ढुंगा उहिल्यै सकिए  
रुख, पात, पत्कार उहिल्यै सकिए  
तैपनि बासको टेन्सन नलिनुस्  
सबैलाई पाल बाँडिनेछ 
पाल कहाँ गाड्ने ? 
नेपालमा त्यसको टेन्सन नलिनुस् 
यसो गर्नुस् 
पाल गाड्दै नगाड्नुस् 
काँधमा बोकेरै डुलिहिड्नुस् 
पाल गाडेको ठाउँमुनि 
ढुंगो भेटिन सक्छ 
ढुंगो कतै भेटिनु हुँदैन 
ढुंगो भेटिए सरकार लाग्छ  
मगेर खाँदाखाँदै 
दाँतमा ढुंगो लागे ?
त्यसको टेन्सन नलिनुस् । 
दाँतको ढुंगामा सरकार लाग्दैन ।


Author

थप समाचार
x