अबिच्युरी
श्रद्धासुमन प्रिय रवीन्द्र
मृत्यु सत्य छ । एक दिन सबैले मर्नै पर्छ । तर कसैको मृत्यु यति पीडादायी र अपत्यारिलो हुन्छ कि हामी लामो समयसम्म त्यसलाई स्वीकार्नै सक्दैनाैँ । नेपाल पत्रकार महासंघ दोलखा शाखाको संस्थापक सभापति हुनुहुन्थ्यो देवदास श्रेष्ठ, उहाँको हृदयाघातको कारण २०६३ सालमा मृत्यु भयो । उहाँको मृत्युपछि पनि लामो समयसम्म मैले त्यसलाई स्वीकार गर्नै सकिन ।
कोरोना संक्रमणको दोस्रो भेरियन्ट नेपाल भित्रिएपछि सात हजारभन्दा बढी मानिसको ज्यान गइसकेको छ । मेरो अति निकट र आत्मीय दुई जनाको मृत्युले मलाई असाध्य मर्माहत बनाएको छ । सम्मानित नेता पशुपति चौलागाईंको मृत्यु मैले स्वीकार्नै सकेको छैन । र अहिले सहकर्मी पत्रकार रवीन्द्र गौतमको मृत्यु मेरोलागि त्यस्तै अस्वीकार्य र अपत्यारिलो बनेको छ ।
जेठ ९ गते चरिकोट अस्पतालबाट थप उपचारको लागि काठमाडौँ लाने क्रममा उनीसँग टाढैबाट देखादेख भयो । थोरै थकित र निराश लाग्ने उनको मुहारमा मैले मृत्यु देखेको थिइँन । आमा, धर्मपत्नी र दुई छोरीको जिम्मेवारी उनको आँखाको भावले दर्साइरहेको थियो । अनि सामाजिक अभियान र पेशागत निरन्तरताको लालसा पनि उनको मुहारमा पढ्न सकिन्थ्यो । यस्तो वास्तविकता देखेको मैले कसरी कल्पना गराैँ, उनी संसारमा नभएको ।
काठमाडौँ लाने क्रममा हेलिकप्टरमा रहेको आईसीयू बक्समा राख्दा मेरो मन कताकता नमीठो भएको थियो तर मृत्युको सोचाइ पटक्कै आएको थिएन । ‘उनी सकुशल आउने छन् र फेरि पहिलेकै रफ्तारमा आफ्नो पेशामा फर्कने छन्’ मनले यसै भनिरहेको थियो ।
काठमाडौँको एभरेस्ट अस्पतालमा उपचाररत रहेको बेला पनि दुई पटक फोनमा मेसेज आदानप्रदान भयो । उनले आफूलाई चरिकोटमा भन्दा धेरै सहज महसुस भइ रहेकोले छिट्टै ठीक हुने विश्वास लिएका थिए । उनको काका पत्रकार शम्भु गौतमसँग पनि यो बीचमा धेरै पटक उनको स्वास्थ्य अवस्थाको बारेमा कुराकानी भयो । हरेक पटकको कुराकानीमा उनको स्वास्थ्यमा क्रमशः सुधार हँदै आएको प्रतिक्रियाले ढाडस दिन्थ्यो ।
जेठ १६ गतेको दिन भने शुभ रहेन । मलगायत पत्रकार जीवन लामा, गोकर्ण भण्डारी, प्रभु जिरेल, युवा व्यवसायी कमल चौहान र निर्माण व्यवसायी दावा लामा कुनै समसामयिक विषयमा गफिँदै थियौँ, चिया पसलमा । कसैले रवीन्द्रको मृत्यु भएको खबर सुनायो । हामी स्तब्ध भयौँ । विस्तारै आफूलाई सम्हाल्दै अप्रिय समाचार झुठा सावित होस् भनेर धेरैतिर सोधनी गर्याैँ तर दैवको लीला खबर सत्य नै सावित भइदियो ।
रवीन्द्र लगनशील, जुझारु, निडर तथा इमान्दार पत्रकार थिए । स्थलगत रिपोर्टिङको लागि जुनसुकै बेला, जस्तो सुकै जोखिम मोल्न तयार हुने स्वभावका उनको लेखाइ र समाचारको विषयवस्तु मलाई सधंै सकारात्मक र चमत्कारी लाग्थ्यो । अझ उनले जिल्लामा हुने गरेका आर्थिक गतिविधिलाई मसिनो ढङ्गले खोजिरहेका हुन्थे ।
२०७८ वैशाख १२ गते अन्नपुर्ण पोस्टमा प्रकाशित उनको एउटा समाचार मलाई साह्रै घत परेको थियो । २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पको सम्झनामा हामी दोलखाका पत्रकारहरूले हरेक वर्षको वैशाख १२ गते भूकम्प सम्बन्धी केही न केही समाचार लेख्दै आएका थियौँ । यो वर्ष (२०७८ साल वैशाख १२) समाचारको लागि मैले मेलुङ गाउँपालिकाको वडा नम्बर ७ घ्याङ सुकाठोकरलाई राेजेँ । जहाँ भूकम्प गएको ६ वर्षसम्म पनि धेरै पीडित जोखिम मोलेर चर्किएकै घरमा बसिरहेका थिए । वैशाख ११ गते मसहित जीवन लामा, प्रभु जिरेल, गोकर्ण भण्डारी र सुवास वस्नेत घ्याङ सुकाठोकर गएका थियाैँ ।
वैशाख १२ गते मैले नेपाल समाचारपत्रमा ‘पीडा र त्रासमै बिते दिन’ भन्ने शीर्षकमा समाचार लेखेँ । मलाई मेरो समाचारको विषय बस्तु उपयुक्त लागेको थियो । तर जब मैले अन्नपूर्ण पोस्टमा रवीन्द्र गौतमले लेखेको ‘घर बने तर मान्छे बस्दैनन’ शीर्षकको समाचार पढेँ मलाई मैले गरेको रिपोर्टिङ फिक्का लाग्यो । मैले निक्कै पटक रवीन्द्रसँग उनले लेखेको यो समाचारको प्रसंग निकालेर उनलाई बधाई पनि दिएँ ।
रिर्पोटिङको क्रममा म र रवीन्द्र धेरै ठाउँमा सँगसँगै गएका छौँ । जोखिम मोलेर समाचारका नयाँ नयाँ विषयवस्तुहरू खोजेका छौँ । धेरै यादहरू छन्, उनीसँग बिताएका । ती यादहरूले मलाई सधैँ रोमाञ्चित र कृयाशील बनाइरहने छ ।
२०७२ साल वैशाख ३० गते, रवीन्द्र र म सँगै रिपोर्टिङमा गएको क्षण । वैशाख १२ गतेको भूकम्पले थिलथिलो बनाएको दोलखालाई वैशाख २९ गतेको भूकम्पले तहसनहस गरिदिएको थियो । रवीन्द्र र म वैशाख ३० गते बिहानै रिपोर्टिङको लागि कालिञ्चोक मन्दिर गयौँ । कालिञ्चोक मन्दिर भएको टापुमा पुग्ने बाटो क्षतिग्रस्त थियो । कतिठाउँमा त दुई हात खुट्टै टेकेर हिड्नु पर्ने ।
त्यसमाथि सुनसान । कता कता मनमा डर थियो, फेरि ठूलो कम्पन आएर टापुसँगै हामी माटोमा विलिन हुने पो हो कि भन्ने । तर रवीन्द्रको आँट र उत्साहले हामीलाई कालिञ्चोक मन्दिर भएको टापुमा पुर्याइ छोड्यो । त्यतिबेला मन्दिरमा जम्मा एकजना पुजारीमात्र रहेछन् । उनलाई भेट्दा डर गायब भयोे ।
लगतै म र रवीन्द्र रिपोर्टिङको लागि सिंगटी गयौ । वैशाख २९ को भूकम्पले सबैभन्दा बढी प्रभावित दोलखाको सिंगटी झण्डै झण्डै भग्नावशेष बनेको थियो । सिंगटीबाट लामाबगरको बाटो अगाडि बढ्दै जाँदा पहाडमाथिबाट ढुङ्गा खस्दै थियो । तर रवीन्द्रले निडरतापूर्वक मोटरसाइकललाई भोर्लेको झरना भएको ठाउँसम्म पुर्याइ छाडे ।
झर्ना भएको ठाउँमा पनि माथिबाट ढुङ्गाहरू खस्दै थिए । तर रवीन्द्र र मेरो फोटो खिच्ने चाहनालाई त्यसले रोक्न सकेको थिएन । हामीले चस्मा लगाएरसमेत फोटो खिच्यौँ, भोर्लेको झर्नालाई पछाडि पारेर । अलिक हतारोमै फोटो खिचेर फर्कँदै गर्दा झण्डै आधा किलो मिटर वर आएपछि मैले चस्मा त्यही झर्ना भएकै ठाउँमा छोडेको कुरा रवीन्द्रलाई भनेँ ।
उनले फर्केर चस्मा लिएर आउने कुरा गरे तर मैले मानिन किनभने मलाई डर लागिरहेको थियो । कतै भूकम्पको शक्तिशाली धक्काले हामी गुडिरहेको बाटोमाथिको पहाडै खसेर हामीलाई नपुरोस् ! तर रवीन्द्र मान्दै मानेनन् । उनले मोटरसाइकललाई घुमाएर पुनः भोर्लेको झर्ना भएको ठाउँमा पु¥याए । यसरी मैले माया मारिसकेको चस्मा लिएर आएँ ।
गत वर्ष कोरोना संक्रमणको पहिलो लहरको बेला पनि रवीन्द्र र म समाचार खोज्न धेरै ठाउँ पुग्यौँ । तर यो पटक हामी भयभित थियौँ । संक्रमणको दोस्रो लहर आफैँमा घातक, समाजको डर, परिवारको माया जस्ता कुराले हामीलाई घरमै सिमित गरिदिएको थियो । रवीन्द्र त अझ बढी सर्तक थिए । किनभने उनको छ महिनाकी छोरी थिइन । हामीले पनि उनलाई बाहिर निस्कन कहिल्यै जोडबल गरेनाँै । पत्रकारहरू बीच कतै जाने योजना बन्दा पनि ‘रवीन्द्रको घरमा सानो नानी छ उसलाई नलगाैँ’ भन्यौँ । तर बिडम्बना उनैलाई कोरोनाले लग्यो ।
धेरै जसो घरमै कैद बनेका रवीन्द्रले घरबाटै रिपोर्टिङलाई भने निरन्तरता दिएकै थिए । दोलखामा संक्रमितको संख्या, संक्रमितको अवस्था, स्थानीय प्रशासनको भूमिका, संक्रमितको सहयोग जस्ता समाचार उनले घरबाटै निरन्तर लेखिरहे । कोरोना संक्रमणका कारण पशुपति चौलागाईंको निधन भएको समाचार लेखेर उनले ‘यो के सुन्नु प¥यो’ भन्दै फेसबुकमा सेयर गरेका थिए ।
मिजासिला, साहसी र सहयोगी पत्रकार रवीन्द्रले कोरोनाले थला पार्नु अघिसम्म पनि कोरोना संक्रमितकै लागि सहयोग सङ्कलनको काम गरिरहेका थिए । उनले आफ्नो फेसबुक आईडीबाट गरेको अन्तिम पोष्ट पनि कोरोना संक्रमितको उपचारमा सहयोग पुर्याउन उनले गरेको समन्वयको लागि चरिकोट अस्पतालले दिएको धन्यवाद पत्र नै थियो ।
रवीन्द्रको अवसानले उनको परिवारमा जति ठूलो बज्रपात परेको छ त्यही पीडा र कमी दोलखाली पत्रकारहरूले महसुस गरिरहेका छन् । अझै पनि मेरो मनले रिपोर्टिङप्रति रवीन्द्रको उत्साह र तत्परता खोजिरहेको छ । विषय वस्तुको छनौट, लेखनी र चट्टानी अडान खोजी रहेको छ । तर सत्य त यही रहेछ, रवीन्द्र सँधैका लागि हामीबाट अलप भै सकेछन् । श्रद्धासुमन प्रिय रवीन्द्र !
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया