सप्ताहन्त

‘राम्रो म’ पुराण

शैलजा पोखरेल |
जेठ २९, २०७८ शनिबार ९:१५ बजे

यो विशुद्ध ‘म’, ‘राम्रो म' पुराण हो । कसैले यसलाई आफ्नो भन्‍ने नसोच्नु होला ! विशेष गरी मनोहरि काका, तपाईँले मलाई मेरो बाल्यकालको ‘काकु’ नामलाई ‘कँ, काँ, किँ, कीँ’ भनेर जिस्क्याउँदा मैले तपाईँलाई ‘राम्रो म’ भन्‍ने गरेकी थिएँ, त्यो पनि सम्झना आउँदैछ अहिले, त्यसैले त मेरो यस निबन्धको शीर्षक नै भयो : ‘राम्रो म’ । 

केटाकेटीमा मलाई लाग्थ्यो, म, अलि काली, होची, नराम्री, चुलबुले, अस्थिर र हेर्दै लोद्दरै छु कि क्या हो ? मलाई कसैले पत्याउने ठाउँ थिएन !  केटाकेटीमा कोही पनि मलाई केटाकेटी मान्‍नै तयार थिएनन् !  तरुनी भएँ । कोही मलाई हुर्केकी मान्‍न तयार भएनन्, सबै मलाई केटाकेटी नै छे भन्थे । पाकी भएँ, फेरि मान्छे पाकी मान्दैनन् ! अरुका त के कुरा ! छोराछोरी पनि पो आफ्नो साथी नै जस्तै सोच्छन् त ! (छोरी मान्छे हुँ, उमेर भन्‍नु भएन, त्यसैले पाकी मात्र भनेकी हुँ है !)  सायद कसैले विश्वास नगरेरै होला, मैले पनि सुटुक्कै पढेँछु । ठेलेर पढेँ, घँचेडेर पढेँ, घोक्र्याएर पढेँ, खुसीले पढेँ वा करले पढेँ, पढ्न चाहिँ पढेँ । जसै पढाइ सकिएको घोषणा गरेँ, अनि पो मान्छेलाई अचम्म लाग्यो !  अरे, शैलजा पनि पिएचडी ? काकु पनि डाक्टर ? 


त्यसपछि भने अलिकति यो पनि केही हो कि भन्‍ने विचार आयो क्यार मलाई चिन्‍ने, जान्‍ने मान्छेलाई ! अनि सोध्‍न थाले है, ‘कसरी पढिस् यत्तिको ?’, ‘बाफ रे, अति गारो हुन्छ त!’, हुन त तँ पहिल्यैदेखि बाठी त होस् नि, मैले जान्दादेखि नै ।‘, ‘ल, जे होस्, गरिस् ।‘ अब भने मैले तिनलाई पनि पत्याउन छोडेँछु कि क्या हो, जवाफ दिइराख्‍न मन लागेन, कसरी मैले पढेँ भनेर ! तर अब भने मैले भन्‍नै पर्छ, नत्र फेरि नपत्याउलान् जीवन भरि । 

पढ्नका लागि खुल्दुली, बठ्याइँ, ज्ञानको सदुपयोग गर्नसक्ने खुबी र कथा  बनाउन सक्ने क्षमता : यी चारवटा महत्वपूर्ण काम चाहिँ गर्नुपर्ने रहेछ । पहिलो हो जिज्ञासा अथवा खुल्दुली । पढ्ने मान्छेले मनमा अनेक प्रश्न उब्जाउन जान्‍नु पर्छ रे ! त्यही प्रश्नको समाधान खोज्न सके ठूलो ज्ञाता हुइन्छ रे ! म परेँ सानैदेखि प्रश्नको पोको !  त्यसका लागि त मैले केही मेहनत नै गर्नुपरेन । मेरा दुईवटा खुङ्खार प्रश्नहरू मलाई आज पनि झलझली सम्झना छ, सम्झना भनुँ है ?

एउटा प्रश्न, म सानी छँदा आफ्नै घर बारीको डिलमा ‘आमा’ (हजुरआमा) सँग पुगेकी थिएँ । आमालाई त्यहाँ के खोज्नु थियो कोनि, मलाई लिएर जानुभएको थियो । मैले डिलबाट तल हेरेँ । त्यहाँ एउटा ठूलो, सेतो रङ लगाएको, पक्का घर देखेँ । अहिले सम्झँदा त्यो धरान विजयपुरको पिण्डेश्वर क्याम्पस रहेछ ! तर त्यो नचिनेका बेला मलाई प्रश्न आई हाल्यो, 'आमा त्यो के हो ?' आमाले हेर्नुभयो र उत्तर दिनुभयो, 'विद्यालय' । मेरो मनमा फेरि खुल्दुली मच्चियो । फेरि सोधेँ, 'आमा ‘रम्भालय’ चाहिँ कहाँ छ ?' आमाले उत्तर दिन सक्नु भएन तर बुझ्नु चाहिँ भयो, किनभने मेरा दुईजना फुपुहरूमा एउटीको नाम ‘विद्या’ र अर्कीको नाम ‘रम्भा’ हो । अनि आमाले ‘विद्यालय’ देखाएपछि मैले ‘रम्भालय’ खोज्‍नुपरेन त ? अब तपाईहरू नै उत्तर दिनुहोस् है । हाँ मेरो खुबी त अर्को पो देखा परेछ ! पर्‍यो म त न्याय, बराबरी हुनुपर्छ भन्‍ने कुरामा पो विश्वास गर्दिरहिछु । ‘वाह म !' सानो शब्द हो त न्याय भनेको ! न्याय भनेको कस्तो हुनुपर्छ भन्‍ने मेरो सोच हेर्नुहोस्  त कति ‘राम्रो म’ ।

मेरो अर्को प्रश्न, हाम्रो ‘सान्दाजु’ (बुवा) ले हामी राम्ररी पढ्न थालेपछि एउटा लोक कथाको किताब किनेर ल्याइदिनु भएको थियो । कथा पढेँ, तर के पढेँ, त्यो त्यति सम्झना छैन, तर त्यसको प्रकाशनको दिन पढेको चाहिँ कण्ठस्थसम्झना छ । 

त्यहाँ प्रकाशन मिति लेख्नुपर्ने ठाउँमा ‘तुलसी दिवस’ लेखेको थियो । राम्ररी हेरेँ ‘तुलसी दिवस’ नै लेखेको हो । सोचेँ । मनन गरेँ । केही लागेन नतिजा प्रश्न । सोधेँ, 'सान्दाजु यो तुलसी दिवस चाहिँ कहिले पर्छ?' सान्दाजुको पनि घत बुझ्यो, खुब मज्जाले हाँस्नु भयो, तर उत्तर भने केही दिन सक्नु भएन । मलाई प्रजातन्त्र दिवस फागुन ७ गते पर्ने थाह थियो । संविधान दिवस पुस १ गते पर्ने पनि सम्झना थियो, तर त्यो बेला त्यो ‘तुलसी दिवस’ कहिले पर्छ भनेर थाह पाउन सकेको भए त मरिजाउँ ! 

यो दोस्रो प्रश्नको उत्तर त तपाईँहरूलाई पनि दिउँ दिउँ लागिसक्यो होला ! सान्दाजुलाई पनि त्यस्तै लागेको रहेछ । पछि हामी काठमान्डु आयौँ । एकदिन सान्दाजु मलाई पनि लिएर विद्वानहरू भेट हुने ठाउँमा जानुभएको थियो । त्यहाँ एकजना विद्वान् व्यक्ति भेटिनु भयो । सान्दाजुले मलाई नजिकै बोलाउनु भयो । हेर् शैलजा, तैँले सोधेकी थिइस् नि, तुलसी दिवस कहिले पर्छ भनेर ? उहाँ नै हो ‘तुलसी दिवस’, यि हेर् आजै पर्दो रहेछ ! म छक्क परेँ । त्यो दिन डायरीमा टिपेर राखौँ कि नराखौँ ! किनभने त्यत्तिका वर्षपछि परेको त्यो दिवस फेरि अर्को दिन छिट्टै पर्‍यो भने मेरो दिमागले त काम गर्दैन । हेर्नुहोस्  मेरो खुल्दुली मेटाउन मेरा बुवा कहिलेदेखि प्रयासरत हुनुहुँदो रहेछ ! कम हो र ‘राम्रो म’ ?

पढ्नलाई चाहिने दोस्रो रहेछ बठ्याइँ । बाठी पनि म त्यस्तै थिएँ ! दादालाई स्कुल पठाउन सजिलो होस् भनेर मलाई उमेर नपुगिकनै स्कुल पठाइदिनु भएको थियो । पढाएका कुरा कति बुझेर टिपेँ, कति नबुझी टिपेँ, कति त्यहीँ छोडेँ, थाह छैन, तर त्यो हातमा छडीले पिटेर पढाउने दिदी (गुरुआमा) सँग चाहिँ धेरै नै रिस उठेको थियो । एकदिन उनैको विषय, हिसाबको जाँच थियो । मौखिक परीक्षा भनेर बाहिर चौरीमा जाँच भयो । एउटा सरले जाँच लिँदै हुनुहुन्थ्यो । सर को हुनुहुन्थ्यो,  त्यो चाहिँ सम्झना छैन, तर ती छुच्ची दिदीलाई भने, अहिलेसम्म बिर्सेकी छैनँ । मेरो जाँच दिने समय आयो म नजिकै गएँ ।

सर- दुई एकान आउँछ ?
म- आउँछ ।
सर- कतिसम्म आउँछ ?
म- पाँच एकानसम्म आउँछ ।
सर- ल भन त !

मैले दुई एकान भन्‍न सुरु गरेँ । तिन एकान भन्‍न मात्र के थालेकी थिएँ, ती छुच्ची दिदी त्यहीँ आइपुगिन् । मलाई दिदीसित रिस उठ्यो । त्यसपछि मैले सरलाई तिन एकान भनिनँ । एकछिन उभी मात्र राखेँ ।  सरले जाउ भनेर पठाए । म घर गएँ । घरमा गएर ‘वाह म’ पुराण सुनाएँ तम्सी तम्सी । मलाई त पाँच एकानसम्म आउँथ्यो । सरले मलाई सोध्नु भयो । मैले त दुई एकान मात्र भनेँ । ‘सरलाई खुच्चिङ’ ! ‘बाठो लड्छ तिन बल्ड्याङ’ भन्थे, म पनि गुल्टिएँ त्यो साल । अब भन्‍नुहोस् त तपाईँहरू नै कत्ति ‘बाठी म’!

केटाकेटीमा अक्षर ‘कपुरी चिन्दा क’, ‘खरायो ख’ ‘मासगेडी ङ’ भनेर सिकेकै बेलामा जहिले पनि त्यो ‘राम्रो म’ भनेको चाहिँ सारै मन पर्थ्यो ।

पढ्न चाहिने तेस्रो कुरो रहेछ ज्ञानको सदुपयोग गर्न सक्ने खुबी । पाएको ज्ञान सदुपयोग गर्न नजाने के गर्नु, तर म चाहिँ पहिल्यैदेखि सदुपयोग गर्न जान्‍ने थिएँ । नपत्याए सुन्‍नुस् । हामी धरान, विजयपुरका केटाकेटी ! त्यहाँको बुढा सुब्बाको मन्दिर ! त्यहाँ भएको टुप्पो नभएको बाँस !, त्यसका बारेमा त तपाईँहरूले पनि सुन्‍नु भएको वा पढ्नु भएकै होला । 

त्यो बुढा सुब्बाको टुप्पो नभएको बाँस वर्षमा एक पटक वैसाखे पूर्णिमाका दिन मात्रै काट्ने चलन छ । धरान विजयपुरका बासिन्दा त्यो बाँसको सिर्कनो दलिनमा सिउरेर राख्ता ‘रक्खे’ हुन्छ भन्थे, त्यसैले हामी केटाकेटी हारालुछ गरेर घरमा एउटा न एउटा सिर्कनो ल्याउँथ्यौँ । आमाले सिर्कनो अग्लो ठाउँमा राख्न लगाउनु हुन्थ्यो । प्रश्न त फेरि आयो, 'आमा, यसले के गर्ने?' आमाले उत्तर दिनुभयो, 'ढाड दुखेका बेलामा यसले हान्यो भने निको हुन्छ ।' 

कस्तो जडी औषधी रहेछ त्यो ! एकदिन ममी भान्सामा लिप-पोत गर्दै हुनुहुन्थ्यो, लड्नु भएछ ! ‘ऐया’ भनेर कराउनु भयो । म नजिकै थिएँ, कुदेर पुगिहालेँ र सोधेँ, 'ममी के भयो ?' ममीले पछाडि कम्मरमा समाउनु भएको थियो, ढाड दुख्यो भन्‍नुभयो । म हत्तपत्त हतार गरेर दलानमा आएँ । कुर्सी सारेर त्यसमाथि चढेर बाँसको सिर्कनो निकालेँ । कुदेरै गएँ र ममीको ढाडमा एक पटक स्वाम्म हानेँ । ममीले ढाड समाउन छोडेर मलाई समाउन खेद्नुभयो । म भागेँ । हेर्नुहोस्  त मेरो बुद्धि कति धेरै ! कस्तो चाहिने ठाउँमा ज्ञानको सदुपयोग गर्न ट्वाक्कै आएको ‘अरे वाह म’ । 

पढ्न चाहिने चौथो कुरो रहेछ कथा  बनाउने क्षमता । कथा बनाउनु पाएको ज्ञान सदुपयोग गर्नु भनेको आफूलाई खार्ने काम हो । यो मलाई कहिलेदेखि आयो, थाह छैन, किनभने यसको पुष्टि गर्ने घटना मसँग मेरो बिहे गरेपछिको मात्र छ । 
ममीका घरमा एउटा विद्यार्थी केटो थियो लक्ष्मण । आई.ए. पढ्थ्यो । उसको विशेष खुबी भनेको नै अल्छी भरपुर लाग्ने थियो । एकदिन होलीमा ममीले हामीलाई पनि बोलाउनु भएको थियो । हामी गयौँ । सानोतिनो होली खेल्यौँ । खाजा खायौँ । चार बजिसकेको थियो, लक्ष्मणलाई ममीले नुहाउ भन्दै हुनुहुन्थ्यो । उ भने मैले हात मुख धोएँ, धेरै खेलेको हैन, नुहाउनु पर्दैन भन्दैथियो । म त्यही ठाउँमा पुगेँ । सान्दाजुले पनि नुहाउ भन्‍नु भयो । अरुले पनि भने, तर उ मानिराखेको थिएन । 

मैले उसलाई नुहाउने बनाउन कथाको रच्‍ने  सोच गरेँ र बोलाएँ । 

म - लक्ष्मण तिमी राति कहाँ सुत्छौ ?
लक्ष्मण - (सोझै भर्‍याङमाथिको कोठा देखाउँदै) यहाँ सुत्छु ।
म - ल ठिक छ, तिमी ननुहाउ । यत्तिकै सुत । राति सपनामा साक्षात् भगवान राम आउनु हुन्छ । लक्ष्मणलाई उठाउनु हुन्छ । लक्ष्मण भगवानलाई देखेर दङ्ग पर्छ । अनि भगवानको पाउमा गएर पाउ मिच्‍न थाल्छ । लक्ष्मणको सेवा देखेर भगवान राम खुसी हुँदै भन्‍नु हुन्छ, 'बालक, तिम्रो सेवा देखेर म प्रसन्‍न भएँ । तिमी को हौ ?' लक्ष्मण हर्षले आँखाभरि आँसु पार्दै भन्छ, 'प्रभु, म लक्ष्मण  ।' भगवानलाई झोँक चल्छ र एक लात बजार्नु हुन्छ । लक्ष्मण त उ तल बज्जारिन पुग्छ । भगवान भने रिसले आगो हुँदै भन्दै हुनुहुन्छ, 'अनुहार हेर्दा हनुमानको जस्तो छ, बडो, लक्ष्मण हुँ पो भन्छ ।'

यो कथाले उसलाई सोच्न बाध्य बनाएछ त्यसपछि गएर मुख अलि राम्ररी धोयो । हेर्नुहोस्  त मेरो खुबी । केटाकेटीमा अक्षर ‘कपुरी चिन्दा क’, ‘खरायो ख’ ‘मासगेडी ङ’ भनेर सिकेकै बेलामा जहिले पनि त्यो ‘राम्रो म’ भनेको चाहिँ सारै मन पर्थ्यो । यस्तो बुद्धि देखाउँदा पनि ‘वाह, वाह तँ’ भनिदिने कोही भैदिए पो, म पनि आफैँले त ‘राम्रो म’ भन्थेँ कि भन्दिनँ थिएँ ।


Author

थप समाचार
x