बदलिएका दिनहरू
‘बाबु, स्कुल जनीबेला तेरा सरलाई अबदेखि दुद पुर्याइदिन्या जिम्मा तेरो है ।’ आमाले यस्तो भनेको दिन ऊ खुशी पनि भएको थियो अनि साथीहरूले जिस्काउने पो हुन् कि भन्ने पिरले डराएको पनि ।
पहिलो दिन दूध बोकेर आफूलाई नेपाली पढाउने शिक्षकको डेरामा नपुर्याउँदासम्म हजार आँखाले प्रश्न गरेका थिए उसलाई । ऊ लाजले रातोपिरो भयो जब उसकै मिल्ने साथीले कटाक्ष गर्यो, ‘बाउनले पानी हाल्याउ दुद बेच्ना लग्लाउ छ आफ्ना मास्टरलाई ।’
साथीहरूले जिस्काइरहे तापनि वा ऊ आफैँलाई अलिक अप्ठेरो लागे पनि उसले यो कर्मलाई पढाइकै एक अंगको रूपमा स्वीकार गर्यो । बिहान विद्यालयका निम्ति घर छोड्नुअघि ऊ सधैँ भान्सामा पस्थ्यो र उसकी आमाले सानो भाँडोमा ठिक्क पारिदिएको दूध मास्टरजीका निम्ति लगिदिन्थ्यो ।
साथीहरूले ‘पानी हाल्याउ दुद बेच्छ ।’ भनी गरेको घोचपेचलाई उसले कहिल्यै भाउ दिएन किनभने उसलाई आफ्नी आमामा पूरा विश्वास थियो । तर एकदिन उसले नचाहेको कुरा भैदियो । ऊ मास्टरजीकोमा दूध पुर्याएर लिस्नोबाट तल ओर्लिनै लागेको थियो । ‘ह्या बुबा, अबदेखि नखाने यस्तो पातलो दूध ।’ मास्टरकी जेठी छोरीले भनेको उसले प्रष्टै सुन्यो । उसलाई लाग्यो मास्टरजीले आफैँले भन्न नसकेर छोरीमार्फत भन्न लगाएका हुन् ।
‘आमाले पनि यस्तो गर्छिन् र ?’ उसले लाखौँचोटी प्रश्न गर्यो आफैसँग । गर्छिन् भने हामीलाई किन सिकाउँछिन् ‘चोर्नु हुन्न, ढाँट्नु हुन्न, छल्नु हुन्न’ अनेकानेक नीतिचरित्रका कुरा ?
त्यसदिन उसले पढेका कुनै पनि पाठ बुझेन । गणितको एउटा प्रश्न उसले हल गर्न सकेन । तराई मूलको यादव सरले, ‘यो बाबन सब्बै विषयमा तगडा छ तर मैथ अलिक आउँदैन यसलाई’ भनेर छोडिदियो । तर अंग्रेजी पढाउने भट्ट सरले ‘गभर्नमेन्ट’को स्पेलिङ नजानेकोमा डस्टरले हात घोप्टो पार्न लगाएर पिट्यो । यसरी कहिल्यै पिटाइ खाएको थिएन क्लासमा । लाजले ऊ रातोपिरो भयो अनि झार्यो दुई थोपा आँशु किनभने आज पनि उसकै सबैभन्दा मिल्ने साथी उसले पिटाइ खाएकोमा सबैभन्दा धेरै खुशी भएको थियो ।
‘घर गएर आमालाई सोध्छुसोध्छु ।’ बाटोभरि कसैसँग नबोली चुपचाप ऊ सबैभन्दा छिटो हिँडेर घर पुग्यो । तर के कुराले हो ऊ आमासँग यसको जवाफ माग्न हच्कियो ।
भोलिपल्ट सदाझैँ उसको बुबाले भैँसी दोए र बाल्टी लिएर भान्सामा पसे । माथि झ्यालबाट ऊ सबै हेरिरहेको थियो । उसको कुतुहलले रोक्नै सकेन माथि उसलाई । भान्सामा बाहुने चुल्हो र अगेनो छुट्याउनलाई बाँसले बारेको एउटा तह थियो । जनै नहालेका केटाहरू र विहे नभएका छोरीहरू त्यहाँभन्दा माथि जाने अनुमति थिएन ।बिरालाका चालले ऊ त्यही भित्तोमा टाँसिएर सकेसम्म भित्रको दृष्य चियाउने नभए कान थापेर सुनेर भए पनि यस कुराको छिनोफानो गर्ने दाउमा थियो ।
‘भैगो अब नाथब, आफ्ना छोराछोरीलाई पढाउन्या मास्टर हुन् । स्याना छोरीहरूलाई ख्वाउन्या भनिना दुद ठेक्का लगा हुन्, हाम्रो विश्वास गरीना । यस्तरी पानी हाल्या काँती नाम्रो मान्नन् ।“ बाले यसो भनेको ट्याक्कै उसका कानले पक्रिए । ‘तबाईंले पुर्यानुपर्छ र खर्च ? मैनामा चार दिन घर बस्नीलाई क्या था मेरो दर्द !’ आमाले ठूलो डाको लगाएर बोलेको उसले सुन्यो र बाँसको भित्तोबाट घाँटी तानेर हेर्यो ।
‘उच्यौ छोराले देख्यल्यो । नागर क्या ।’ बा लाचारी हाँसो हाँसे फिस्स ।
‘क्या हेर्छ यो गराचारी ? यस्तो नागर्या कस्तरी पुर्याउनी यतिगालाई खर्च ?’ आमाले जितिन् ।
‘मा लग्दिन्नाँ पानी हाल्याउ दुद ।’ उसले भुइँमा खुट्टा बजार्यो ।
‘क्या गरे ? कन्नो दोब्र्याउँला बर्ता बोलिस् भन्या ।’ आमाको उर्दी कडा थियो ।
उसले हार्यो; स्कूल जानेबेला चुपचाप भाँडो बोक्यो र हिँड्यो ।
‘पानी हाल्याउ दुद नाल्याऊ पो भन्नी हुन् कि सरले ?’ बाटोभरि उसका मनमा कुरा खेलिरह्यो ।
तर सरले कहिल्यै केही भनेनन् ।
भैँसी थाकेको दिन ऊ सबैभन्दा खुशी थियो ।
समयले कोल्टे फेर्यो
‘यति धेरै पानी त नथपे हुने ।’ उसले स्वास्नीसित सुस्तरी प्रतिवाद गर्यो ।
‘थोप्पो पनि नथपेर बाल्टीबाट सिधै पुर्याइदिनु नि त आफ्ना साख्खै साथीलाई ।’ उसकी स्वास्नीले झम्टिई । “घर खर्च कसरी चलेको छ सोच्नुभा’छ कहिल्यै ? खाँचाहरू कति छन् ? कमाइ कति छ, हरहिसाब राख्ने गरेको छ ? मै उस्ती, मै नराम्री ।’ स्वास्नी रुन थाली ।
‘हे बाबा, मैले केही भनेको छैन त ।’ ऊ अझै विनम्र भएर प्रस्तुत भयो ।
स्वास्नी रुवाइ नआई नआई हो कि साँच्चिकै आएको हो कुँइकुँइ गर्दै भान्सा छोडेर फन्किँदै हिँडी । लाचार ऊ टपक्क भाँडो टिपेर दूध पुर्याउन हिँड्यो ।
अँऽ दूध पुर्याइदिने छोराछोरी नभएर होइन तर छोराछोरीलाई काम अह्राउने जमाना नभएर आफै हिँडेको ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया