ऊ र कामरेडहरू
देशमा अग्रगामी परिवर्तन
र न्यायोचित अनि
समतामूलक मुलुक
निर्माणका लागि
ऊ युद्धमा होमियो
आफ्ना कामरेडहरूसँग !
तर
उसलाई के थाहा कि
उसको बलिदान र क्रान्तिले मुलुक होइन,
सर्वोच्च कामरेडहरूको
घर र संगठन बन्छ भन्ने कुरो !
उसको रगत र पसिनाले
देशको माटो सिञ्चित
नभईकन केवल उच्च तहका
कामरेडहरूलाई सत्तामा
प्रवेश गर्न द्वार खुल्छ भन्ने कुरो !
उसले त सुशासन र समृद्धिमूलक
नयाँ नेपालको सपना बाँडेको थियो;
तर कामरेडहरूले झुटको आवरणमा
उही पुरानो नेपालको सपना बाँडे !
उसको लडाइँ सर्वहारा वर्गका
नागरिक हुन नसकेका
‘अ’नागरिकहरूका पक्षमा थियो
तर:
कामरेडहरूले सत्ता र शक्तिका
खातिर ती नागरिकहरूलाई
चटक्कै बिर्सिदिए !
तर उसलाई के थाहा कि
शोषित, दमित सर्वहारा, पीडित गरिब वर्ग
उसका तिनै कामरेडहरूलाई
केवल सत्ताको सिँढी चढ्ने, शक्ति पाउने
र चुनावमा भोट खसाल्ने भोट बैंक,
तालीको गडगडाहटले मन्दमस्त अनि
मख्ख पार्ने भीड मात्रै हुन भन्ने कुरो !
उसले शासक सामन्तहरूको पन्जाबाट
फुत्किने, मुस्कुराउँदै जीवन सँगाल्ने
र ऋणबाट पूर्ण मुक्त हुने
आशाका किरण देखेको थियो !
तर उसलाई के थाहा कि
सत्ता र शक्तिको मात र माथ
अनि चरम चस्का लागेपछि
तिनै कामरेडहरूले
जनयुद्ध र जनआन्दोलनका
मूल मर्म र भावनाहरू
बिर्सिजानेछन् भन्ने कुरो !
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया