जूनकीरी
सिमली छायाँमा बसी
भरिया लामो सास फेरेको
उमेर भैसक्यो असी
झन् ठूला दुःखले घेरेको ।
जनगायक जीवन शर्माले गाएको कालजयी गीत जस्तै चलेको छ जीवन, जूनकीरीको । नाम जूनकीरी भएर के गर्नु जूनकीरीमा हुनुपर्ने उज्यालो नै नभएपछि ।
जीवनलाई अन्धकार ठानेर बसेकी छिन् उनले । जूनकीरी जस्तै धिपधिप उज्यालो बोकेर उड्न सक्ने भए उनी कहाँ कहाँ पुग्थिन् होला ?
जीवनको घाम अस्ताउने बेला हुँदा पनि उनको पिठ्युँबाट भारीले थाप्लोबाट नाम्लोले ठाउँ छोडेको छैन् । निधारबाट बगेका पसिनाले भिजेको शरीर जीवनको उत्तरार्धमा आइपुग्दा पनि ओभाइसकेको छैन ।
विगतकी सुन्दर युवती हुन्, उनी । हुन् त बैँस भन्ने एक दिन ढलेर जाने नै हो । जसरी दिन ढलेर जान्छ त्यसरी नै यो जोवन पनि ढलेर जान्छ । तर दिन फर्किन्छ नयाँ ज्योतिका किरण बोकेर । बैंस फर्कन सक्दैन । नदीलाई जति बाँध बाँधेर रोक्न खोजे पनि एक दिन आफ्नै लयमा बगेर छोड्छ । यो उमेर पनि यस्तै त रहेछ । न बाँध बाँधेर रोक्न मिल्ने न छेकेर छेक्न मिल्ने । जीवन पनि नदी जस्तै, आफ्नै लयमा निरन्तर बग्दो रहेछ ।
कयौँ युवाहरू मोहित हुने गर्थे, कुनै बेला । कतिले स्पर्श गरे । कतिले भोगे । कतिले सपना देखाए । कतिले अँगालोमा बेरे । कतिले सँगै रात बिताए ।
समयको त्यो कालखण्ड पार गरेर उनी अहिले भरिया भएकी छिन् । बुढी भएकी छिन् । गालाहरू चाउरी पर्न थालेका छन् । जवानीको सुन्दर शरीर कुरूप देखिन् थालेको छ । हिमालजस्ता दन्तलहर झर्न थालेका छन् । कोइलीको जस्तो सुरिलो स्वर कर्कश सुनिन् थालेको छ । आधा रातो, आधा कालो बनाएको कपाल झर्न थालेको छ । भएको सेताम्य हुँदैछ । समय सधैँ एकनास कहाँ हुन्छ र ? यो उनले महसुस गरेकी छिन् ।
जूनकीरी नामले कसैले पहिलो पटक सम्बोधन गरेको थियो, उनलाई । त्यो उनको नियमित ग्राहक थियो । उनी पनि मख्ख थिइन् । आजसम्म यति राम्रो नामले कसैले बोलाएको थिएन्, उनलाई ।
जवानीमा उनलाई व्यक्तिपिच्छे फरक फरक नामले बोलाउने गर्थे, हरेक ग्राहकले । उनलाई त्यो नौलो लागेन, बानी भैसकेको थियो । उनले सहमति जनाइरहन्थिन् । कोही माया भन्थे । कोही सानी भन्थे । कोही रसबरी भन्थे । कोही गुलाबी भन्थे । कोही जून भन्थे त कोही फूल भन्थे । यही भिड्मा कसैले उनलाई जूनकीरी नामले सम्बोधन गर्यौ । सानी, जून ,रसबरी, गुलाबीभन्दा उनलाई पनि यो नाम मन पर्यौ । फरक लाग्यो । राम्रो लाग्यो । पछि उनले पनि नाम सोध्नेलाई यही नाम अर्थात् जूनकीरी भन्न थालिन् ।
आमाले बोलाउने नाम त उनको सम्झना थियो । सम्झनाबाट जूनकीरी हुँदै जीवनमा के के भइन्, के-के । बुढेसकाल लागेपछि स्मरण शक्ति पनि कमजोर हुँदै जाने रहेछ । तैपनि केही याद भने फोटोको रिल जस्तै धूमिल भएर बसेका छन् मनमा । केही यादहरूले अझै हिर्काइ रहन्छ्न् मस्तिष्कमा । यादहरूलाई बचाउन मलजल गर्नु नपर्ने रहेछ । यादहरू आफैँ झाँगिने रहेछन् । आफै सल्बलाउने रहेछन् । आफैँ बढ्ने रहेछन् । जूनकीरीलाई लाग्छ, फूलबारीमा पानीको सिँचाइले फूलहरू हुर्किँदा यता आँखाबाट बगेको आँसुको सिँचाइले यादहरू हुर्किने रहेछन् । सम्झनाहरू मानसपटलमा बाँच्ने रहेछन् । सल्बलाउने रहेछन् । अहिले आँसु सुकेर उनका आँखा मरुभूमि जस्तै भएका छन् तैपनि यादहरू भने मरुभूमिमा पानीविना कताकता हुर्किने बोटबिरुवा जस्तै भएका छन् ।
सबैले मेरी भन्थे । सबैले प्यारी भन्थे । ओछ्यानमा रहुन्जेलसम्म मात्र । रात नबितुन्जेलसम्म मात्र । उत्तेजना मत्थर नहँुदासम्म् मात्र । उनको बन्द कोठाको चार पर्खालभित्रसम्म मात्र । त्यो आँगनदेखि बाहिर । त्यो कोठाको ढोकाबाहिर निस्किएपछि उनलाई कसैले आफ्नो भनेनन् । कसैले मेरी भनेन । कसैले प्यारी भनेनन् ।
बरू भन्ने गर्थे, वेश्या । भित्र जे नामले बोलाए पनि बाहिर उनलाई सबैले चिन्ने एउटै नाम थियो, वेश्या । तैपनि जूनकीरीलाई कुनै नौलो कुरा लागेन । अपमानित भएको महसुस भएन । उनलाई थाहा थियो, ‘म मात्र एक्लै वेश्या हुन सक्दिनँ ।’ मलाई भोग्ने पुरूष पनि हो । तैपनि मनको आँखाले देखे पनि ती पुरुषलाई, समाजको आँखाले कहिल्यै देखेन । देख्यो त केवल उनलाई मात्र ।
‘सायद यहाँ महिला मात्र हुन्छन् वेश्या’ उनी आँसु सुकिसकेका आँखाहरू मिच्दै बोल्छिन् ।
अस्पतालको शय्यामा छट्पटिएको बिरामीलाई समय कति ढिलो बितेको जस्तो पनि भएन । सरकारी कर्मचारीलाई लागे जस्तो घडीको सुई कति ढिलो घुमेको जस्तो उनलाई भएन । प्रेमिका भेट्न हिँडेको प्रेमीलाई जस्तो छट्पटी जीवनको जवानीमा उनले कहिल्यै महसुस गरिनन् । उनको लागि के घाम के वर्षा ? के हिउँद के बर्खा ? के दसैँ के तिहार ? सबै सबै एउटै थियो । सधैँ सधैँ एउटै थियो । उनको धन्दा चलिरहन्थ्यो । शिक्षकदेखि विद्यार्थीसम्म । परिचितदेखि अपरिचितसम्म । साहु महाजनदेखि गरिबसम्म । ठूलादेखि सानासम्म । मोटादेखि दुब्लासम्म । अग्लादेखि होचासम्म । सबै सबै उनका नियमित ग्राहक थिए । उनी सधैँ चुपचाप तैयार हुन्थिन् । जीवन यसरी नै चलिरह्यो । जवानी यसरी नै ढल्किरह्यो ।
जवानी ढल्किँदै गयो । ग्राहकहरू आउन छोडे । आफ्नो ढल्किँदो जोवन भए पनि उनको पेटमा सन्तान हुर्किँदै थियो । उनी कहिले खुसीले आँसु बगाउँथिन् आमा बन्ने सौभाग्य पाउने भएँ भनेर । उनी कहिले रूने गर्थिन्, यो समाजले के भन्ला भनेर ? मान्छेलाई सबैभन्दा डर अरूले के भन्ला भन्ने नै हुँदोरहेछ । वेश्या भन्ने समाजको अगाडि सन्तान जन्माउनु झन् चुनौतीको कुरा थियो, उनका लागि । समाजले कस्को सन्तान हो ? भनेर प्रश्न गर्छ भन्ने डर मनमा उब्जिरहन्थ्यो ।
मनमा बारम्बार उठ्ने अर्को प्रश्न र पिर थियो सन्तानले बाको नाम सोधे के भनौँला भन्ने ? यसरी दिनहरू बित्दै गए । काट्नेहरूले कुरा काटी नै रहे । ग्राहकहरू पनि आउन् छोडे । उनको उमेर पनि ढल्किँदो थियो । गर्भमा बच्चा पनि हुर्किंदो थियो । बच्चा पाउने थाहा पाएदेखि उनीतिर मोडिने खुट्टाहरू अन्तैतिर सोझिए ।
उनलाई कसैसँग गुनासो छैन । गुनासो गरेर पनि अब के फाइदा ? गुनासो त छ आफ्नै शरीरसँग । ढल्किने जोवनसँग । आफ्नै जीवनसँग छ । गुनासो गरेर पनि नफर्किने यौवनसँग के गुनासो गर्नु, उनी आफैँलाई सान्त्वना दिन्छिन् र मन बुझाउँछिन् ।
दिन बित्दै गए । हप्ता बित्दै गए । महिना बित्दै गए । एक दिन जूनकीरीले जून जस्तै छोरीलाई संसार देखाइन् । उनले अब छोरीले आमा भनेको कल्पना गरिन् र आँसु खसालिन् । यति बेला उनलाई समाजको डर लागेन । समाजले ज्यानै लिन त नसक्ला ? जसरी पनि हुर्काउँछु भन्ने उनलाई मनमा लाग्यो र उनले प्रण गरिन् । छोरीको नाम आफैँले राखिन्, पूर्णिमा ।
यहाँदेखि उनका चुनौतीका र संघर्षका दिन फेरि सुरु भए । पूर्णिमा हुर्किंदै गइन् । जूनकीरी बूढी हुँदै गइन् । समाजले कुरा काटी नै रह्यो । समय आफ्नै गतिमा चली नै रह्यो । कुरा काट्नेहरूको मुख थुन्न र बगेको खोलालाई सधैँका लागि थुन्न सकिँदैन भन्ने उनलाई राम्रोसँग थाहा छ । छोरीलाई हुर्काई बढाई पढाई बुढेसकालको सहारा र बिरामी हुँदा तातोपानी दिने मान्छे भएकामा उनी आफ्नै कोखदेखि खुसी छिन् । उनी आमा बनेकामा गर्व गर्छिन् । संसारका हरेक नारीलाई आमा बन्ने रहर हुन्छ । जूनकीरीको पनि त्यो रहर पूरा भएको छ । जूनकीरी दंग छिन् ।
बा-आमाको यो स्वार्थ भनौँ कि प्रेम, उनीहरूले नै देखाएको संसारमा उनीहरूका लागि सहारा बन्नु कुनै ठूलो कुरा हैन सन्तानका लागि । अफसोस, यहाँ सबै सन्तानले यसरी बुझ्ने भए वृद्धाश्रम खुल्ने थिएनन् होला । सबै बा-आमा ढुक्क भए जसरी जूनकीरी पनि ढुक्क छिन्, मेरी छोरीले मलाई हेर्ने छ, माया गर्ने छ भन्नेमा ।
दिनहरू बित्दै गए पूर्णिमा हुर्किदै गइन् । एकदिन छोरी बोलिन् । जूनकीरीले ममी भन्न सिकाइन । छोरीले पहिलोपटक यसरी ममी भनेको सुन्दा र उनले जीवनमा पहिलोपटक यसरी छोरीको आफूलाई ममी सम्बोधन सुनेर उनको मातृत्वको हृदय भक्कानियो आँखाहरू रसाए । मन कताकता पुग्यो । उनले छोरीलाई धेरै कुरा बोल्न सिकाइन । धेरै पाईला हिँड्न सिकाइन तर कहिल्यै बाबा, मामा, भन्न सिकाइनन् । उनी चाहान्छिन्, भोलि छोरीले यी मान्छेहरू नखोजोस् । समयले आफैँ बताउने छ यी प्रश्नहरूको जवाफ ।
छोरी दौडिन् थालिन् । छोरी ठूली भएपछि स्कुल पठाएपछि दिनभर उनलाई पनि काम गर्न सजिलो हुन्थ्यो । एकदुई पैसा भएपनि वचत हुन्थ्यो । त्यसैले उनले नजिकैको श्री समावेशी प्राथमिक विद्यालयमा छोरीलाई भर्ना गर्ने निर्णय गरिन् ।
स्कुलको पहिलो प्रश्न थियो
छोरीको नाम भन्नु त ?
पूर्णिमा सुनार
वर्ष ५
बुवाको नाम के हो ?
पहिलो प्रश्नपछि आएको दोस्रो प्रश्नले उनको अनुहारमा बादल लाग्यो । अनुहारको रंग बदलियो । के भन्ने उनी निक्कैबेर सोचमग्न भइन् । उनी केही बोल्न खोजिन बोल्न सकिनन् । अन्त्यमा ‘डिभोर्स भैसक्यो लेख्न् जरूरी छ र ?’ यति कुरा साहस बटुलेर भनिन् ।
नाम लेख्दै गरेकी युवतीले केहि सोचिन् र भनिन् ‘नाम त लेख्नुपर्छ ?’
यतिबेला साँघुरो बाटोमा फसेको जस्तो भयो उनलाई । न अगाडि बढ्न मिल्ने न फर्किन मिल्ने ।
उनले झट्ट सम्झिन जसले उनको नाम जूनकीरी राखेको थियो त्यही व्यक्तिलाई । उनको मनले सोच्यो उस्लाई केही फरक पर्छ कि पर्दैन् ? मैले उस्को नाम लिएर गल्ती त गर्दिन कतै ? मनमा यावत् कुरा सोच्दै गर्दा मुखबाट नाम फुत्कियो विजय सुनार ।
विजय सुनार भन्नु भएको हो ?
उनलाई फेरि सोधियो
उनले हो को संकेत गर्दै टाउको हल्लाइन ।
छोरी पूर्णिमा उमेरले पनि बढ्दै गइन् । कक्षा पनि बढ्दै गयो । शान्त स्वाभाव । कालो लामो कपाल । बाटुला आँखा । मुसुक्क हाँस्ने बानी । सधैँ कक्षामा प्रथम । अतिरिक्त क्रियाकलापमा पनि प्रथम् । जूनकीरीको खुशीको त्यान्द्रो छोरीमा अल्झिएको छ । भन्नेहरूले त भन्ने गर्छन् । तर मुखै फोरेर आफ्नै अगाडि भन्ने हिम्मत कसैले गरेका छैनन् अहिलेसम्म् । त्यो जूनकीरीकि छोरीको अनुहार त त्यो मास्टरसँग मिल्छ ठ्याक्कै ? हैन् हैन् पल्लो गाउँको शंकरे जस्तै लाग्छ मलाई त ? पानी पँधेरो हिँड्दा होस् या कतै मेलापातमा जाँदा होस् कुरा काट्नेले कुरा काही नै रहे । बतासले सुटुक्क् उनी सामु उडाएर कसरी-कसरी ल्याइपुर्याउँछ यी कुराहरू । तर पनि उनलाई केही फरक पर्दैन् । अहिले उनीलाई सुन्ने र सहने बानी भैसक्यो । खुकुरीले प्रहार गर्दा गर्दा उनी खिइएको अचानो सरह भैसकिन् ।
जूनकीरीले भारीमा जीवन बोक्न थालिन् । दिनहरू यसरी नै बित्दै गए ।
छोरी स्कूल जान थालिन । जूनकीरी फेरि भारी बोक्ने काम गर्न थालिन् । अहिले अझै जिम्मेवारीले थिचेको छ,उनलाई । छोरीलाई पढाउनु बढाउनु र छोरीका आवश्यकताहरू पूरा गर्ने सबै जिम्मा जूनकीरीको रहेको छ ।
जूनकीरीले फेरि पिठ्युँमा भारी बोक्न थालिन् । छोरीले पिठ्युँमा स्कुलको झोलामा किताब बोक्न थालिन् । भविष्य बोक्न थालिन् । जूनकीरीले भारीमा जीवन बोक्न थालिन् । दिनहरू यसरी नै बित्दै गए ।
जूनकीरीले भारी बोकेर साहूको घरसम्म् पुर्याउँछिन् । उनलाई ढोकाभन्दा भित्र जान निषेध गरिएको छ । उनले बोकेको चामल खानेहरूले उनले छोएको पानी खान मान्दैनन् । उनलाई साहूले कहिल्यै हातमा पैसा दिएको थाहा छैन् । भारी बिसाएपछि साहूले भुईँमा पैसा राख्दिन्छन् र उनी त्यही पैसा बोकेर घर फिर्छिन् । तर उनको जीवनमा बैंशमा यो जात भन्ने कुराको महसुस् उनले कहिल्यै गरिनन् । के धनी के गरीब ? के उच्च के निच सबै सबैलाई उनको ढोकाले सधैँ स्वागत गर्यौ । ढोका सधैँ खुल्ला रह्यो । आउनेहरूले कहिल्यै सोधेनन् जात । जानेहरूले कहिल्यै भनेनन् तल्लो जात । भोग्नेहरूले कहिल्यै भनेनन् अपवित्र । उनी विगत सम्झेर वर्तमानमा भावुक हुन्छिन् ।
सँगै सुत्ने बेला जात किन् सोधेनन् कसैले ? किन भनेनन् तिमीलाई छुनु हुँदैन ? मान्छेहरूले स्वार्थ पूरा भैसकेपछि मात्र याद गर्ने रहेछन् जातको कुरा । उनलाई यस्तै लाग्छ । उनको जीवन भोगाइले यस्तै भन्छ । जूनकीरी चुपचाप चुपचाप यस्ता कुराहरूलाई सहर्ष स्वीकार गरेर बाँचिरहेकी छिन् । अरू विकल्प पनि त छैन् उनीसँग । उनलाई लाग्छ आफू अपमानित भए पनि सन्तान यो व्यवस्थाबाट अपमानित हुनु नपरोस् । मैले भोगेको मैले देखेको छोरीले देख्न नपरोस् । तर समाज एउटै छ । उनीलाई लाग्ने गर्छ कुनै दिन हुनेछ विद्रोह । बदलिनेछ यो समाज । उनी त्यो दिनको प्रतीक्षामा छिन् ।
छोरी पूर्णिमा सुरिलो स्वरमा गाउँछिन । संगीतमा हात गोडा चलाउन पोख्त छिन् । शब्दहरू भावहरूसँग खेलेर कविता लेख्छिन् । क्यानभासमा रङ पोतेर सुन्दर चित्रहरूको सिर्जना गर्छिन् । हँसिली स्वाभावकी छिन् । उमेर बढेसँगै चञ्चलता पनि बढेको छ । जूनकीरीलाई लाग्छ मेरो जीवन दुःखै दुःखमा बिते पनि छोरीको जीवन सुन्दर होस् । आफ्ना सन्तानप्रति हरेक आमाहरूको चाहना पनि त आखिर यही हुन्छ ।
छोरीले एकदिन आमाको चित्र कोरिन् क्यानभासमा । रङहरू भरिन् । कालो कपाल, मुसुक्क हाँसेका ओठ । मिलेका दन्तलहर । गहिरा आँखा । मिलेको जीउडाल । आमालाई देखाउँदै भनिन् ‘ममी हजुर बैंशमा यस्तै हुनुहुन्थ्यो होला है ?’
जुनकिरी एकछिन् मौन् रहिन् । विगत सम्झिन । बुढा भएका आँखामा सुकिसेका आँसु रसाउन खोजे । गला अवरूद्ध भयो । एकछिन् टोलाइरहिन् । केही समयपछि बोलिन् ‘योभन्दा पनि राम्री थिएँ नी म त ।’ एकछिन पहिले अवरूद्ध भएको गला आँखाबाट फुट्न नसकेको आँसुको मूल बिर्सिएर आमा छोरी मुस्कराए ।
छोरीले अर्को दिन् बाबालाई सम्झिन । आजसम्म् नसम्झेकि उनले खै कसरी र किन सम्झिन् ? जूनकीरीले बाबाको माया छोरीलाई कहिल्यै कमी महसुस हुन दिइनन् । त्यसैले पनि होला उनले कहिल्यै आमासँग बाबाको बारेमा सोध्न चाहिनन् । जूनकीरी सधैँ साहूको मेलामा छोरी स्कुलमा । साँझ अबेरमा घर फर्किने भएकाले पनि समय थिएन्, उनीसँग यो विषयमा कुरा गर्ने । हाम्रो बाबा कस्तो हुनुहुन्थ्यो ?
छोरीको प्रश्नले उनको मनमा घनले हिर्काए जस्तै भयो ? उनले झर्किएर प्रतिप्रश्न गरिन् ‘किन चाहियो बाबा ?’
‘बाबाको चित्र बनाउन् मन लाग्यो ? पूर्णिमाले निर्दोष भावमा भनिन् । छोरीलाई के जवाफ दिउँ भयो जूनकीरीलाई । उनी सोचिरहिन्, चुपचाप ।
‘फोटो छ हजुरसँग बाबाको ?’
उनले छैन् भन्ने संकेत गर्दै थोरै ओठ र टाउको हल्लाइन् ।
छोरीले जिद्धी गर्न थालेपछि उनले वर्णन गर्न थालिन् त्यो अनुहारको जसले उनको नाम जूनकीरी राखेको थियो । छोरी क्यानभासमा कुची चलाउन थालिन् । जूनकीरी भारी मनले भारी उसको अनुहार बताउन थालिन् । क्यानभासमा रङहरू पोतिँदै गए । जूनकीरी चुपचाप हेरिरहेकी छिन् । छोरीले चुपचाप कुची चलाइरहेकी छिन् । प्रतीक्षा छ अब उनीहरूलाई, निर्माण गरेको बाबाको तस्बिरको । कस्तो बन्ला त्यो आकृति ? जूनकीरी सोचेरहेकी छिन् ।
मनमा गुञ्जिरहेको छ उदित नारायण झाको स्वर
ए ! कहिल्यै हुँदैन र बिछोडपछि भेट
किन दिन्छ दैवले घाउमाथि चोटै चोट ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया