इतिहासको ऐनामा प्रतिविम्बित कुुरूप यथार्थ
‘करिया’ उपन्यासकार कृष्ण अविरलको पछिल्लो औपन्यासिक कृति हो । विभिन्न विषयका आधा दर्जनभन्दा बढी औपन्यासिक कृति प्रकाशित गराइसकेका कृष्ण अविरलको पछिल्लो प्रस्तुत कृति इतिहासको एउटा कालखण्डको कुरूप यथार्थ प्रस्तुत गरिएको ऐतिहासिक उपन्यास हो । नेपालको एउटा कालखण्डमा समाजमा व्याप्त करियाप्रथा र यसको अमलेख हुँदासम्मका घटना तथा कार्यव्यापारलाई यस कृतिमा प्रस्तुत गरिएको छ ।
आख्यानकै रूपमा उतारिए पनि ऐतिहासिक विषयवस्तुमाथि उपन्यास लेख्नु आफैँमा जटिल काम हो । इतिहासको सूक्ष्म र प्रमाणिक अध्ययन नगरी विषयवस्तुमाथि स्पष्ट धारणा वा दृष्टिकोण बनाउन सकिँदैन । ऐतिहासिक उपन्यास लेख्नका लागि सामग्री सङ्कलन अन्तर्वार्ता, स्थलगत अध्ययनजस्ता अनुसन्धानका प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । यसरी आफूले देखेभोगेको समयभन्दा अगाडिको समय, मान्छे र परिवेशलाई विश्वसनीय रूपमा उतारेर उपन्यास लेख्नु निकै चुनौतीपूर्ण हुन्छ र यही चुनौतीलाई स्वीकार गरेर लेखिएको ‘करिया’ उपन्यास नेपाली साहित्यको अर्को महत्वपूर्ण कृति हो ।
ऐतिहासिक विषयवस्तु प्रस्तुत गरिएका अधिकांश कृतिहरू शासक वर्गका जय तथा पराजयलाई केन्द्र बनाएर लेखिएका हुन्छन् । यसरी लेखिएका कतिपय कृतिहरूमा शासकका स्तुति पाइन्छन् । तर यस उपन्यासमा भने करिया अर्थात् सीमान्तीकृतका दुःख र उनीहरूमाथि भएका चरम अत्याचार र शोषणलाई मुख्य विषय बनाइएको छ र यसैसँग गाँसिएर आएका शासक र सामन्तवर्गको अमानवीयता र त्रूmरताको पराकाष्टालाई देखाइएको छ । आजभन्दा ठीक सयवर्ष अगाडिको समय अर्थात् १९७० देखि १९८० एक दशकको अवधिलाई आधार बनाई त्यसबेलाको समाजको एउटा पक्ष (कमाराकमारी राख्ने प्रचलन) लाई यस उपन्यासमा केन्द्रीय विषय बनाइएको छ ।
यस उपन्यासमा मूलतः शासक/सामन्त र करिया गरी दुई वर्गका पात्रहरूको उपस्थिति रहेको छ र यी दुई वर्गका बीचमा रहेको असमानताको ठूलो खाडललाई देखाउँदै यीमध्ये शक्तिमा रहेको वर्गले सीमान्तीकृत वर्गमाथि गरेको ज्यादति र चरम शोषणलाई देखाइएको छ ।
उपन्यासमा नायक चरित्रको उपस्थिति खासै देखिँदैन । जखनीटारका मुखिया साधुराम, बिजुलीटारका सुबेदार गुणेकाजी, कठजोरका जिम्वाल दयानिधि, खिम्तीबेसीका मुखिया बद्रीमान, सिन्धुलीगढीका बानिया थरका बडाहाकिमजस्ता शक्ति र सत्तामा रहेका पात्रहरू नै यस उपन्यासका नायकका रूपमा देखिए पनि ती पात्रहरू नेपाली इतिहासको सबैभन्दा क्रुर खलनायक पात्रहरू हुन् । यीमध्ये मुखिया साधुराममा थोरै भए पनि मानवीयता र नैतिकता देखिएको छ भने अन्य पात्रहरू शक्ति, सत्ता र धनले उन्मत्त भएका, विवेक र नैतिकता गुमाएका पात्रहरू हुन् ।
हुन त ती सबै आफूलाई धर्मात्मा, विद्वान् र न्यायमूर्ति सम्झन्छन् । यिनै पात्रहरूका चरित्र र कार्यव्यापारको वर्णनमा उपन्यासको कथावस्तुको निर्माण भएको छ । उपन्यास पढेर सिध्याउँदा भने तत्समयको एउटा आदर्श नायकका रूपमा पण्डित मणिरत्नलाई पाठकले आँखामा सजाइसकेका हुन्छन् । ‘विनाकसुरमा तिम्रो आँखो फुटायेर यो गति गराइदिनेहरूसँग बदला नलिने दिलबहादुर दाइ ?’ (पृ.२३६) भन्दै करियाहरूमा बदलाको भाव सिर्जना गर्ने र करिया अमलेख गराउन दिलोज्यानले खट्ने पण्डित मणिरत्नजस्ता पात्रहरूलाई पनि समयले जन्माएको हुन्छ भन्ने यथार्थलाई उपन्यासमा देखाइएको छ ।
उपन्यासमा शोषण र दलनमा परेका वर्ग करिया हुन् त्यसमा पनि सबैभन्दा बढी महिलाहरू परेका छन् । करियाहरूमा पनि पुरुषहरूको श्रमशोषण गरिएको छ भने महिलाहरूको श्रमशोषणका साथै यौनशोषण पनि गरिएको छ । भोकभोकै रातदिन काममा घोटाउनु, परिवार छुटाएर बेचबिखन गर्नु, पशुलाईभन्दा पनि हेयको दृष्टिले हेर्नु, मानसिक र शारीरिक यातना दिनु, ठिँगुरामा हालेर राख्नुजस्ता अमानवीय व्यवहार सहेर बाँच्न बाध्य करियाहरूको कष्टपूर्ण जीवन पढ्दा पाठकहरूमा करियाप्रति असीम करुणाभाव जागृत त हुन्छ नै सामन्तवादप्रति चरम विद्रोह उत्पन्न हुन्छ । उपन्यासमा बद्रीमानको करिया भीमेलाई ‘तेरी आमा मरी भन्दैमा हाम्रो रोपाइँ रोक्न सकिँदैन ।
लास छोपछाप पारेर सबैजना खुरुक्कन काममा आओ । लास पुर्ने काम रोपाइँ सकेर आ’र भरे बेलुका गरे नि हुन्छ’ (पृ.११२) भन्दै हप्काउने माहिला मालिकको व्यवहार र भीमेको निरीहतालाई मानवीय सभ्यताकै लज्जास्पद घटना र नेपाली समाजको कलङ्कित इतिहासका रूपमा देखाइएको छ ।
नेपालको चरम सामन्ती युगको अमानवीयताको उत्कर्षलाई देखाइएको प्रस्तुत कृति नेपाली साहित्यको पठनीय ऐतिहासिक औपन्यासिक कृति हो ।
प्रस्तुत उपन्यासमा महिला करिया अर्थात् कमारीहरूको अवस्था झन् बढी दयनीय र दुर्दान्त छ । पूरै जिन्दगी बिताइसक्दा अन्त्यमा उनीहरूसँग पीडा र दुःखको कथाबाहेक अरु केही पनि बाँकी रहँदैन । नारकीय जीवन बिताउने कमारीहरूको बाल्यकाल, यौवनकाल र बूढेसकालका भोगाइहरूलाई देखाइएको यस उपन्यासमा एउटी कमारीको आमा हृदय र उसको वात्सल्यतालाई सबैभन्दा प्रभावकारीरूपमा देखाइएको छ । आफ्ना काखका कलिला छोरीहरूलाई मालिकले कहिले बेचेर पठाइदिने, कहिले भोग गर्न ओछ्यानमा बोलाउने, बोले वा प्रतिकार गरे चाबुकले हिर्काउनेजस्ता व्यवहार आफ्नैअघि गर्दा रोएको छटपटाएको आमाको मनलाई उपन्यासको धेरै ठाउँमा देखाइएको छ ।
यस्तै आफ्नैअगाडि मालिकले बालख छोरीको बलात्कार गर्न लागेपछि छोरीको चिच्याहट सुन्न नसकेर पँधेरातिर गएकी एउटी कमारी आमाको निरीहतालाई उपन्यासमा यसरी प्रस्तुत गरिएको छ- ‘चिलका पञ्जाबाट आफ्ना चल्ला जोगाउन कुखुराको पोथी हिंस्रक भएको उसले देखेकी थिई । आफ्ना पाठा बचाउन माउ बाख्रीले सिङ उज्याउँदै स्याललाई लखेटेको पनि उसले देखेकी थिई । छाउरा साना भएका बेला कुकुरले कसैलाई छेउ पर्न नदिएको घटना पनि उसलाई याद भयो । तर ती कुखुरी, बाख्री र कुकुर्नीभन्दा पनि निरीह पाई उसले आपूmलाई । ती सब सम्झेर ऊ एकदमै निसास्सिई ।....उसले आफ्नो नियतिलाई धिक्कार्नुसम्म धिक्कारी । जाने र सुनेसम्मका देवीदेउताको नाम लिएर सबैलाई पुकारी । यीबाहेक उसले अरु के नै गर्न सक्थी र !’(पृ.९०) उपन्यास पढिरहँदा यस्तो लाग्छ कि, आजको दिनमा आइपुग्दा पनि नारीमाथि हुने यस्तै बलात्कार र अत्याचारका घटनाहरू तिनैका अवशेष त होइनन् ?
उपन्यासमा महिलामाथि हुने शोषण र अत्याचारलाई जातीयता र वर्गीयताका आधारमा मात्र देखाइएको छैन । अभिजात वर्गकै महिलामाथि पनि शोषण भएको देखाइएको छ । उपन्यासमा करियाहरूले कुरा गर्ने क्रममा एक ठाउँमा भनिएको छ ‘हामी कमाराकमारीको मात्तै होइन, मालिक्नीहरूको पनि बिजोकै देख्छु मु त ....बिचरी जेठी मालिक्नीले आफ्नो दुःख अरुलाई कहँदै नि काँ हिँन्नु ? कसैसँग केही नराम्रा कुरा बोलेको मात्रै था पाये चाबुकले हिर्काएर घरैबाट निकाल्दिनुहोला भन्ने त्राही बिचरी मुनभरि पीडा गुम्स्यार बाँच्नुभ’को च ।’ (पृ.५६) पितृसत्ताको चरम उन्मादले विवेक र मानवीयता समेत मारिदिएको पुरुषहरूको निकृष्ट सोच र संस्कारलाई उपन्यासमा चित्रण गरिएको छ ।
राणाकालीन शासक र सामन्तका कुकृत्यलाई अनेक घटना र सन्दर्भहरू ल्याएर प्रस्तुत गरिएको यस उपन्यासमा कमाराकमारीहरूमाथि गरिने श्रमशोषण र अन्याय त छँदैछ, त्यसमाथि नारीमाथि हुने बालविवाह, बहुविवाह, बलात्कार, वैधव्य पालना, मानसिक प्रताडनाजस्ता विविध शोषणका अनेक रूपहरू पनि प्रस्तुत भएका छन् । चाकडी, चाप्लुसी, शोषण, अत्याचार, अन्याय, हत्या, बलात्कार, व्यभिचार, विभेद, असमानता, मनोमानी, विवेकहीनता, नैतिकहीनता जस्ता नकारात्मक गुण भएका पात्रहरूको बाहुल्यता रहेकाले प्रस्तुत उपन्यास पढ्दा पाठकलाई मान्छे जातिमाथि नै एक प्रकारको वितृष्णा उत्पन्न हुन्छ । तर उपन्यासमा सबै पात्र त्यस्ता मात्र छैनन् । अत्याचार र अन्यायको अँध्यारो सुरुङजस्तो त्यो समयमा पनि हातमा दियो बोकेर उज्यालो छर्ने प्रयास गरिरहेका केही पात्रहरू पनि उपन्यासमा आएका छन् ।
धेरै पात्रहरूको प्रयोग गरिनु उपन्यासको प्राप्ति र सीमा दुवै हुन् । धेरै पात्रहरूको प्रयोगले तत्कालीन समाजका विविध यथार्थ र सन्दर्भहरूका बारेमा जानकारी दिनुका साथै पात्रहरूले बोकेका कथाव्यथालाई प्रस्तुत गरेको छ । यो यस उपन्यासको विशेषता हो । तत्कालीन समाजको अन्य पक्षहरू नआउनु र घटनाको वर्णनमा मात्र सीमित हुनु उपन्यासका सीमा हुन् । उपन्यासमा परिच्छेदको शीर्षकीकरणमा गरिएको प्रयोग र प्रयोग गरिनुका कारण सरहानीय छ ।
समय, परिवेश र पात्रअनुसारको भाषा प्रयोगका साथै पात्रको चरित्र चित्रण उपन्यासमा प्रभावकारी रूपमा अभिव्यक्त भएको छ । सम्बन्धित विषयको ऐतिहासिक तथ्यहरू जम्मा पारेर आख्यानीकरण गरिएको यस उपन्यासमा लेखकको मिहिनेत प्रशंसनीय छ । नेपालको चरम सामन्ती युगको अमानवीयताको उत्कर्षलाई देखाइएको प्रस्तुत कृति नेपाली साहित्यको पठनीय ऐतिहासिक औपन्यासिक कृति हो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया