पुस्तकबाट पर्दामा रुपान्तरण हुन नसकेको 'जूनकीरीको संगीत'को असफल यात्राको कथा
कलाको एउटा माध्यमबाट अर्को माध्यममा रूपान्तरण एउटा चुनौतीपूर्ण प्रक्रिया हो । कुनै चित्रकारले कुनै कवितालाई चित्रमा रूपान्तरण गर्नु वा कुनै कथा केन्द्रीय विचारलाई चित्रमा प्रस्तुत गर्नुलाई कलाको माध्यमको रूपान्तरण भन्न सकिन्छ । एउटा पेन्टिङ हेरेर कविले कविता लेख्नु पनि त्यस्तै रूपान्तरण हो । यस्तो रूपान्तरणमा एउटा माध्यमबाट अर्को माध्यममा लैजाँदा पहिलो स्वरूपको अन्तर्वस्तुप्रति दोस्रो स्वरूपले पर्याप्त न्याय गर्न सकेन भने रूपान्तरणको प्रक्रिया निष्फल हुन्छ ।
रूपान्तरणको सफलता त्यसको समग्र प्रक्रियाको गम्भीर तथा संवेदनशील प्रस्तुतिमा निर्भर गर्छ । कलाको एउटा माध्यम साहित्यबाट कलाको अर्को माध्यम चलचित्र बनाउने प्रक्रियामा विश्वका थुप्रै चलचित्रकर्मीहरूले आफ्नो विधागत ज्ञान र सिर्जनशीलताको राम्रो प्रयोग गरेका छन् । यसरी बनाइएका चलचित्रहरू साहित्यक कृतिको उचाइलाई न्याय प्रदान गर्न सफल भएका छन् । नेपालमा पनि केही वर्षअघि मात्र नाटककार बालकृष्ण समको नाटक 'प्रेमपिण्ड' लाई चलचित्र निर्देशक यादव खरेलले चलचित्र बनाए । केही कमजोरी हुँदाहुँदै पनि त्यो चलचित्र प्रशंसित मात्रै भएन, त्यसले व्यावसायिक सफलता पनि हासिल गर्यो ।
त्यसै गरी कलाकार तथा निर्देशक नीर शाहले उपन्यासकार डायमण्ड शमशेरको प्रसिद्ध उपन्यास 'वसन्ती' लाई चलचित्रमा रूपान्तरण गरे । त्यसअघि उनै नीर शाहले ध्रुवचन्द्र गौतमको उपन्यास 'कट्टेल सरको चोटपटक' लाई कलाको अर्को माध्यममा रूपान्तरण गरेर 'वासुदेव' चलचित्र बनाएका थिए ।
'प्रेमपिण्ड', 'वसन्ती' र 'वासुदेव' तीनओटै चलचित्रलाई नेपाली चलचित्र जगतमा राम्रा चलचित्रका रूपमा गणना गरिन्छ । त्यसभन्दा अघि गुरुप्रसाद मैनालीको कथा 'परालको आगो' मा बनेको चलचित्र पनि निकै राम्रो मानिएको हो नेपाली चलचित्र उद्योग अझै अविकसित अवस्थामा छ विकसित हुने प्रयत्न गरिरहेको यस उद्योगले साहित्यिक कृतिहरूमाथि न्याय पुग्ने गरी चलचित्र बनाउने आँट र तदारुकता आवश्यक मात्रामा देखाउन सकेको छैन ।
'शिरीषको फूल' जस्तो गम्भीर उपन्यासमाथि चलचित्र बनाउने प्रयास सुरु भएको छ तर त्यस कृतिको महत्तालाई माथि उठाउने गरी चलचित्र बन्ने कुरामा चलचित्र क्षेत्रकै मानिसहरू आशावादी छैनन् त्यसका केही निश्चित कारणहरू छन् । ती कारणहरूमध्ये साहित्य र चलचित्र क्षेत्रका विषयमा गम्भीर ज्ञान र समझ नभएका पैसावाल रउसे मानिसहरू चलचित्र क्षेत्रको चमकधमक र लोकप्रियताबाट असन्तुलित ढङ्गले आकर्षित हुनु हो ।
रउसेहरूको रउसको अगाडि ज्ञानीका ज्ञानहरू पराजित हुने स्थिति बन्छ । यही स्थिति अहिले बनिरहेको छ र रउसे पैसावालहरू सक्रिय भएका छन् । तथापि सत्प्रयासहरूको अन्त्य भएको छैन ठूलो पर्दाको चलचित्रबाहेक सानो पर्दाको चलचित्रमा पनि साहित्यिक रचनाहरूले प्रभावशाली स्थान लिने गरेका छन् । भारतमा भीष्म साहनीको उपन्यास 'तमस' माथि बनेको टेली शृङ्खलाले आम भारतीयहरूको बीचमा पुस्तकले भन्दा बढी तहल्का मच्चाएको थियो । विश्वमा यस्ता अन्य उदाहरणहरू पनि प्रशस्त छन् । टेली शृङ्खलाका निम्ति नेपालमा पनि केही सचेत प्रयासहरू भएका छन् ती प्रयासहरूले आंशिक सफलता पनि पाएका हुन् ।
नेपाली उपन्यासलाई टेली शृङ्खलामा रूपान्तरण गर्ने काम पनि भइसकेको छ । उपन्यासकार ध्रुवचन्द्र गौतमका उपन्यासहरू 'अलिखित', 'निमित्त नायक', 'एक सहरमा एक कोठा' जस्ता उपन्यासहरूमाथि बनेका टेली शृङ्खलाहरूले पनि चर्चा र दर्शक दुवै राम्रो पाएका हुन् । प्रसिद्ध आख्यानकार रमेश विकलको उपन्यास 'अविरल बग्दछ इन्द्रावती' माथि बद्री अधिकारीको निर्देशनमा बनेको त्यही शीर्षकको टेली शृङ्खला पनि लोकप्रिय भएको थियो । ढिलै भए पनि सामाजिक भेदभावविरुद्ध जनचेतना निर्माण र विस्तार गर्ने उद्देश्यमूलक टेली शृङ्खला बनाउने कामको सुरुआत पनि हुन थालेको छ अविनाश श्रेष्ठको लेखन र कृष्णमुरारी ढुङ्गेलको निर्देशनमा बनेको टेली शृङ्खला 'काली गण्डकीको सेरोफेरो' ले दलितहरूको दुरावस्था उद्घाटित गर्ने राम्रो प्रयास गरेको छ ।
यस्ता विषयमा टेली शृङ्खलाहरू बन्ने प्रक्रिया अहिले पनि अवरुद्ध भएको छैन । साहित्यकार आहुतिको लेखन र चलचित्रकर्मी नवीन सुब्बाको निर्देशनमा 'दलन' नामक टेली शृङ्खला बनिरहेको छ । एउटा कुशल चलचित्रकर्मीको रूपमा योग्यता प्रमाणित गरिसकेका नवीन सुब्बाको निर्देशनमा बन्ने टेली शृङ्खलाले यस विधाको विशिष्ट स्वरूप उजागर गर्ला भन्ने धेरैले आशा गरेका छन् । तर यहाँ म तिनको विषयमा चर्चा गर्न लागिरहेको होइन ।
मैले धेरैपछि मात्र थाहा पाएँ त्यस बेला ती महेन्द्रभक्तले मेरो लेखन परीक्षा लिएजस्तो गरी हृदयचन्द्रसिंह प्रधानको उपन्यास 'एक चिहान' माथि पनि टेली शृङ्खला बनाउने भनेर एक भागको पटकथा लेखाएका थिए ।
साहित्यलाई चलचित्रको रूपमा रूपान्तरण गर्ने विषयमा आउने गरेका कठिनाइ र चुनौतीहरूलाई म आफ्नो निजी अनुभवमा आधारित भएर लेख्ने प्रयत्न गरिरहेको छु । कुनै साहित्यिक रचनालाई त्यसको सामाजिक, सांस्कृतिक र कलात्मक मूल्यको दृष्टिबाट हेर्ने र तद्अनुरूप बुझ्ने काममा चलचित्रकर्मीको योग्यता पुगेन भने चलचित्र निर्माण-प्रक्रिया नै दुर्घटनाग्रस्त हुन्छ । त्यस्तो दुर्घटना दुई किसिमको हुनसक्छ । एक, अयोग्यहरूको समूहले निर्माण सम्पन्न गर्यो भने त्यो चलचित्र कलात्मक र कतिपय अवस्थामा वैचारिक रूपले समेत गलत बन्न पुग्छ । दुई, त्यस्तो समूहले बनाउने प्रयत्न गरेको थाहा भयो भने बनिनसक्दै विवाद सुरु हुन्छ, चर्किन्छ र अप्ठ्यारो ठाउँमा पुगेर निर्माण कार्य दुर्घटनाग्रस्त हुन्छ ।
दोस्रो किसिमको दुर्घटनाको द्रष्टा भएको मेरो अनुभव छ । यस्तो किसिमको अनुभव मेरालागि एउटा गतिलो शिक्षा पनि हो । यस रचनामा म त्यही शिक्षाको सानो पाटोलाई सामान्य पाठकमा वितरण गर्ने प्रयत्न गर्दैछु । यस प्रयत्नले कला प्रक्षेपणको माध्यमका समस्याहरूलाई एउटा सानो प्वालबाट चियाएर निरीक्षण गर्न सहयोग पुर्याउनेछ भन्ने मलाई लाग्छ । साहित्यिक कृतिलाई पटकथामा रूपान्तरण गर्ने प्रयास मैले २०५२ सालतिर गोविन्दबहादुर गोठालेको उपन्यास 'पल्लो घरको झ्याल' बाट थालेको थिएँ । महेन्द्रभक्त श्रेष्ठ नाउँका चलचित्रकर्मीले मलाई त्यस कामका निम्ति रोजेका थिए । तर काम टुङ्गिने बेलातिर उनले मसँग सम्पर्क विच्छेद गरे । छ भागको टेली शृङ्खलामा मैले चार भाग लेखिसकेको थिएँ ।
पाँचौँ र छैठौं भाग लिन उनी मकहाँ आएनन् । त्यसको करिब दुई वर्षपछि पटकथा लेखकमा आफ्नो नामसमेत हालेर उनले त्यसको प्रदर्शन गरिसकेछन् । मैले धेरैपछि मात्र थाहा पाएँ त्यस बेला ती महेन्द्रभक्तले मेरो लेखन परीक्षा लिएजस्तो गरी हृदयचन्द्रसिंह प्रधानको उपन्यास 'एक चिहान' माथि पनि टेली शृङ्खला बनाउने भनेर एक भागको पटकथा लेखाएका थिए । बडो उत्साहित भएर मैले लेखेको थिएँ र उनले पनि निकै मन पराएको कुरा मलाई सुनाए । त्यसपछि हामी 'पल्लो घरको झ्याल' तिर पुगेका थियौं । पटकथा लेखन सकिने बेलातिर अप्रत्याशित रूपले उनी गायब भएका थिए ।
पटकथा लेखनको पूर्वकथा अखबार तथा मासिक पत्रिकाहरूमा मैले सिनेमाका विषयमा टिप्पणी र समीक्षाहरू पनि लेख्ने गरेको थिएँ, अझै पनि म कहिलेकाहीँ त्यस्तो काम गर्छु । त्यसमा साहित्यिक परिचय पनि मिसिएपछि मलाई पटकथा लेख्ने हैसियत दिन शुभचिन्तकहरू आइपुगेका थिए । भन्न सकिन्छ : सिनेमाका विषयमा मेरो रुचिलाई शुभचिन्तकहरूले ज्ञानको रूपमा बुझ्न थालिसकेका रहेछन् । 'हल्लै हल्लाको देश' मा म पनि हल्लाको विषय बनिसकेछु । मेरो लागि यो एक प्रकारको रमाइलो नै थियो ।
यही रमाइलोलाई अझ घनीभूत पार्न कृष्णमुरारी ढुङ्गेल नाउँका एकजना चलचित्रकर्मी २०५६ सालको कुनै एकदिन अकस्मात् मेरो आँगनमा आइपुगे । उनी खगेन्द्र सङ्ग्रौलाको उपन्यास 'जूनकीरीको संगीत' लाई तीस भागको टेली शृङ्खला बनाउने योजनासहित म कहाँ आइपुगेका थिए । उनको यति ठूलो योजनालाई सफल पार्न उनी मलाई पटकथा लेखिदिने प्रस्ताव गर्न आइपुगेका रहेछन् । तर उनी यति उत्साहित र आतुर भएर आएका थिए कि मलाई उनको त्यस किसिमको आतुरीले अनिष्टको सम्भावनातिर संकेत गरिरहेको थियो ।
दलितहरूको कथा भएकाले अन्तर्राष्ट्रिय गैरसरकारी संस्था एक्सन एडले ‘जूनकीरीको संगीत’ लाई टेली शृङ्खला बनाउने विचार गरेको रहेछ । कृष्णमुरारी निर्देशक चुनिएका रहेछन् । पटकथा लेख्नको निम्ति पहिला त्यस क्षेत्रमा अभ्यस्त लेखक अविनाश श्रेष्ठलाई छानिएको रहेछ । दलितहरूकै विषयमा बनेको त्यति बेलाको चर्चित टेली शृङ्खला 'कालीगण्डकीको सेरोफेरो' का लेखक अविनाशलाई त्यसका निर्देशक कृष्णमुरारीले 'जूनकीरीको संगीत' का निम्ति पनि पटकथा लेखक छान्नु स्वाभाविक र उपयुक्त दुवै थियो । अविनाश श्रेष्ठले लेख्ने सहमति जनाएर केही पैसा पनि लिइसकेका थिए । तर, सम्भवतः हतार हतार लेख्न लगाउने परिस्थिति बनेपछि अविनाशजी यस परियोजनाबाट पन्छिन खोजे ।
अन्ततः लिइसकेको पेश्की पारिश्रमिक फिर्ता गरेर उनले पटकथा नलेख्ने निर्णय लिएछन् । त्यस्तो भएपछि नयाँ पटकथाकार खोज्दै कुष्णमुरारी मेरो आँगनमा आइपुगेका थिए । त्यसरी आउँदा कृष्णमुरारी र कृष्ण पाठक दुवै जना अविनाश श्रेष्ठसँग विच्छेद भएको समझदारीबाट खर्च भएको समयको क्षतिपूर्ति समेत गर्ने मूड लिएर आएका थिए । त्यसैले उनीहरू मलाई सकेसम्म छिटो लेख्न लगाउने मनस्थितिमा प्रस्तुत भएका थिए । त्यस्तो मनस्थितिलाई मसँग व्यक्त गर्ने चाहिँ कृष्णमुरारी ढुङ्गेल नै थिए ।
तीस भागको सिरियल बनाउने र बढीमा तीन महिनाभित्र तीसै भाग लेखिसक्नु पर्ने उनको निष्कर्ष थियो । कमजोर आयस्रोतमा जीविकोपार्जन गरिरहेको अवस्थामा आर्थिक लाभसमेत हुने भएकोले कृष्णमुरारीको प्रस्तावलाई स्वीकार गर्नु मेरो बुद्धिमानी हुन्थ्यो । त्यसैले मैले प्रस्ताव स्वीकार गरेँ । तर कृष्णमुरारीजी निकै आतुरीमा थिए । उनले सोधे : 'दाइ, हप्तामा तीन भाग लेख्न सकिन्न र ?' 'कहाँ सक्नु, राम्ररी लेख्ने हो भने हप्तामा एक भाग मात्र लेख्न सकिन्छ ।' 'हप्तामा दुई भाग त लेख्नै पर्छ दाइ ।' निकै गाह्रो हुन्छ । त्यहाँमाथि किताब फेरि पढ्नु पर्यो । पटकथाको ढाँचा परिकल्पना गर्नु पर्यो । कथा- भूमिको स्थलगत अध्ययन गर्नु पर्यो । केही अनुसन्धान पनि गर्नु पन्यो । गतिलो लेख्ने हो भने हतार हतार सक्ने हिसाब नगर मुरारी, राम्रो हुँदैन' अलि आजित भएपछि मैले भनें । तर उनलाई यस भनाइले छोइरहेको थिएन । उनी छिटो लेखियोस् र छिटो सुटिङमा जान पाइयोस् भन्नेमा नै केन्द्रित थिए ।
त्यहाँमाथि टेली शृङ्खला बनाउन तम्सिएको संस्थाका प्रतिनिधि बनेर म समक्ष आएका कृष्ण पाठकजी कृष्णमुरारीलाई नै उकेरा लाउने किसिमले छिटो लेख्न मलाई झन् अत्याइरहेका थिए । उनीहरू विषयको गम्भीरता र लेखन प्रक्रियाको जटिलतालाई बुझ्न असमर्थ थिए ।
छिटो गर्नुपर्ने थुप्रै कारणहरूमध्ये चालू आर्थिक वर्षको बजेटलाई ध्यानमा राखेर काम छिटो सक्नुपर्ने खालको कुरा पनि उनीहरू गरिरहेका थिए । यो चाहिँ कुरा मैले बुझ्न सक्ने खालको थिएन । तैपनि सरसल्लाह, गलफत्ति र चिन्तन-मननपछि 'जूनकीरीको संगीत' को पटकथा हप्तामा दुई भाग लेख्ने गरी मैले सहमति जनाएँ । त्यो सहमति मैले एउटा बोझिलो मनस्थितिमा गरेको थिएँ । त्यसपछि खगेन्द्र सङ्ग्रौलासहित बसेर थप कुरा छिटै गर्ने सहमति पनि गरियो ।
यी सहमतिहरूलाई साथ लिएर म घरमै बसें भने कृष्णमुरारी र कृष्ण पाठकहरू विदा भए । एउटा ठूलो जिम्मेवारीका निम्ति मलाई राजी गराएर दुई कृष्णहरू गएका थिए । तर म त्यस जिम्मेवारीको गौरवबोध गर्न सकिरहेको थिइनँ । त्यसैले उनीहरू गएपछि ममा उत्साहको कुनै सुन्दर अनुभूति उम्रिएन । त्यसको विपरीत मेरो दिमागमा 'जूनकीरीको संगीत' को चापले मभित्र उब्जिएका पूर्व दृश्यहरूको बेगवान आँधी मडारिन थाल्यो ।
नारायण ढकालजस्तो खुकुलो वैचारिकता भएको लेखकले समेत वैचारिक दृष्टिले त्रुटिपूर्ण भनेपछि उपन्यास वास्तवमै कमजोर रहेछ भन्ने मलाई विश्वास भयो ।
ती पूर्वदृश्यहरू नेपालको सांस्कृतिक पर्यावरणलाई बुझ्न र बुझाउन थोरै भए पनि उपयोगी हुनेछन् भन्ने मलाई लाग्छ । तसर्थ म ती दृश्यहरू पनि प्रस्तुत चाहन्छु गर्न चिच्याएर कविता पढ्ने एकजना दाह्रीवाल युवाकवि हुनुहुन्छ- अर्जुन पराजुली अब त उहाँलाई वरिष्ठ कवि पनि भन्न थालिएको छ । उहाँले कुनै एक दिन मलाई खगेन्द्र सङ्ग्रौलाको हवाला दिएर 'जूनकीरीको संगीत'को टाइप गरिएको एक चाङ नारायण ढकालसम्म पुर्याइदिन भन्नुभयो । मैले त्यस भनाइलाई अवज्ञा गरिनँ ।
पुतली सडकको पेटी हुँदै म अर्जुन पराजुलीसँग बागबजारस्थित भुँडी पुराणको कार्यालयमा पुगेँ । त्यो कार्यालय एकतला माथि रहेछ । त्यस दिन के भएर हो बत्ती निभेको थियो । कार्यालयका कोठाहरू जङ्गली गुफाहरूजस्तै अँध्यारा थिए अर्जुनजीले जसोतसो मैनबत्तीको जोहो गर्नु भयो । मैनबत्तीको मधुरो प्रकाशमा उहाँले उपन्यासको कतै राखिएको टाइप गरिएको एक चाङ फेला पार्नु भयो । त्यसपछि उहाँले त्यो चाङलाई एउटा ठूलो खाममा हालेर मलाई थमाउनु भयो । एकातिर मात्र टाइप गरिएको करिब छ सय पृष्ठको प्रकाशोन्मुख उपन्यास जूनकीरीको संगीत मैले आफ्नो हातमा उचालेँ । त्यसपछि म अर्जुनजीसँग विदा भएर हिँडे ।
त्यस ताका पनि नारायण ढकालसँग मेरो राम्रै उठबस र भेटघाट भइरहन्थ्यो । त्यसैले त्यो उपन्यासको चाङ उहाँलाई दिलाउन म सबभन्दा सजिलो माध्यम थिएँ । त्यसैले उपन्यासकार खगेन्द्र सङ्ग्रौलाले गोविन्द वर्तमानमार्फत नारायण ढकाललाई पुऱ्याइदिनु भनेर भुँडी पुराणका सदस्यमध्ये एक अर्जुन पराजुलीलाई अह्राउनु भएको रहेछ । त्यति बेला खगेन्द्र सङ्ग्रौला चाहिँ कुनै कामले पोखरातिर जानु भएको थियो । त्यसैले नारायण ढकाललाई मैले पाण्डुलिपिको चाङ पुऱ्याइदिनु पर्ने स्थिति आएको थियो । तर कारणवश त्यस बेला दुई चार दिनसम्म नारायण ढकाल भेटिएका थिएनन् ।
मैले उपन्यासको खामबन्दी चाङ आफ्नो घरमा लगें । त्यसको दुई तीन दिनपछि मबाट त्यो चाङ नारायण ढकालको हातमा पुग्यो पाण्डुलिपि हात परेको चार दिनपछि त्यसलाई पढिसकेर नारायण ढकालले मलाई फोनमा प्रतिक्रिया जनाउनु भयो । उहाँको प्रतिक्रियाको निचोड थियो पठनीयताको दृष्टिले मात्र होइन वैचारिक दृष्टिले समेत उपन्यास त्रुटिपूर्ण छ । नारायण ढकालजस्तो खुकुलो वैचारिकता भएको लेखकले समेत वैचारिक दृष्टिले त्रुटिपूर्ण भनेपछि उपन्यास वास्तवमै कमजोर रहेछ भन्ने मलाई विश्वास भयो । जूनकीरीको संगीतको बारेमा नारायणजीले दिएका तर्क र विवरणहरू समेत सम्पूर्ण रूपमा मैले हरिगोविन्द लुइँटेललाई सुनाएँ । त्यसपछाडि रहेको मेरो आशय साहित्यिक सुन्दरता र वैचारिक निष्ठाबाट निर्देशित निर्दोष आशय थियो ।
साथै मेरो र हरिगोविन्दजी दुवैको सदिच्छा के पनि थियो भने खगेन्द्र सङ्ग्रौलाको वैचारिक छविलाई उकास्न सहयोग पुर्याउनु हाम्रो पनि कर्तव्य हो । त्यही भावनाले गर्दा उपन्यासलाई परिमार्जन गरेर मात्र छाप्न खगेन्द्र सङ्ग्रौलासँग कुरा गर्नुपर्ने विचार हामीले बनायौँ । मैले र हरिगोविन्दले उपन्यास पढेका थिएनौं त्यस्तो सुयोग पर्ने सम्भावना नै थिएन । त्यसैले उपन्यासका त्रुटिहरूबारे एकपटक फेरि यकिन गर्न हामीले नारायणजीलाई बोलायौँ । बागबजारको श्रेष्ठ टेलरिङ पछाडिको एउटा फास्ट फूड किचेन पछाडि राखिएका प्लास्टिकका सेता मेचहरूमा बसेर नारायण ढकाल, हरिगोविन्द लुइँटेल र म 'जूनकीरीको संगीत'को कथा र त्यसका घटना विवरणहरू नारायण ढकालको मुखबाट सुन्न थाल्यौं ।
सबै कुरा सुनिसकेपछि हाम्रो निष्कर्ष रहेको थियो उपन्यास यथावत् छापिनबाट रोक्नुपर्छ । तर समस्या थियो । खगेन्द्र सङ्ग्रौला पोखराबाट आइसक्नु भएको थिएन । अनि हामीले नारायणजीलाई आ-आफ्ना विचारहरू सुनायौँ र खगेन्द्रदाइ आइपुग्नेबित्तिकै यसबारे नारायणजीले उहाँलाई सविस्तार सुनाउने र सकिन्छ भने परिमार्जन गरेर मात्र छाप्न दिने, यतिसम्म कि छाप्न थालिइसकेको रहेछ भने रोक्नसमेत लगाउने भन्ने हाम्रो सल्लाह भयो । तर हाम्रो चिन्ताग्रस्त सल्लाह अन्ततः अर्थहीन ठहरियो । खगेन्द्र सङ्ग्रौला पोखराबाट आइपुग्नेबित्तिकै एक दिन चावहिलको शम्भुको चियापसलअगाडि उहाँसँग हाम्रो भेट भयो । नारायणजीले खगेन्द्रसँग आफ्नो कुरा भन्न थाल्नुभयो ।
उहाँले भनिरहेको कुरा मेरो र हरिगोविन्दजीको कुरा पनि थियो । कुराकानी चलिरहेको बेला म एकछेउमा थिएँ र परिणाम अप्रिय आउने सङ्केत देखिइरहेको थियो । मलाई त्यस क्षण ग्लानि र सकस दुवै भयो । त्यसैले दुई आख्यानकारलाई अल्झिरहन दिएर म त्यहाँबाट लुसुक्क हिँडें । त्यसको भोलिपल्ट मैले वार्ताको निचोड सुन्न पाएँ । निचोड के थियो भने खगेन्द्र सङ्ग्रौलाले कुनै पनि कुरालाई स्वीकार गर्ने जाँगर देखाउनु भएन । नारायणजीका सुझावहरूलाई उहाँले सजिलै अस्वीकार गरिदिनु भयो । नारायण ढकालले प्रसिद्ध भारतीय साहित्यकार महाश्वेता देवीको रचना-प्रवृत्तिको उदाहरण दिएरसमेत दलित र जनजाति आन्दोलनमा गैरसरकारी संस्थाको भूमिका निर्णायक होइन, सहायक मात्र हुन्छ भन्ने कुरा बताउनु भएको थियो ।
त्यसो भनेर उहाँले 'जूनकीरीको संगीत'मा कम्युनिस्ट आन्दोलनसहित समग्र राजनीतिक दलहरूविरुद्ध आक्षेप पुग्ने गरी गैरसरकारी संस्था नै निर्णायक भएको गलत सन्देश निर्माण हुन पुगेको छ भन्ने विचार व्यक्त गर्नु भएको थियो। तर खगेन्द्र सङ्ग्रौलाले त्यो कुरा स्वीकार गर्नु भएन । नारायणजीबाट यो कुरा थाहा पाएपछि अब हामीमा यससम्बन्धी कुनै उत्साह बाँकी रहेन ।
हामी यसरी हतोत्साहित भएको करीब तीन हप्तापछि 'जूनकीरीको संगीत' बजारमा आयो । लेखकबाट एकप्रति पुस्तक पाउने नै छु भन्ने निरीह आसमा मैले पुस्तक किनिनँ । तर त्यस्तो भएन र बजारमा आएको एक महिनासम्म मैले पुस्तक पढिनँ । पछि मूल्याङ्कन कार्यालयमा भएको एक प्रति पुस्तक हरिगोविन्दजीले पढिसकेपछि मैले पनि पढ्ने मौका पाएँ । प्रथम पाठकको हैसियतले पढेर नारायण ढकालजीले हामीलाई बताउनु भएजस्तै उपन्यास गलत विचार र कमजोर सौन्दर्यको खिचडी रहेछ ।
हामीले सुरुमै अनुमान गरेजस्तै नेकपा माओवादीका सांस्कृतिक क्षेत्रका वरिष्ठ व्यक्तिहरू ऋषिराज बराल र साहित्यिक लेखनमा चैतन्य नामले चिनिने मोहन वैद्य र माओवादीका अध्यक्ष स्वयं प्रचण्डले खगेन्द्र सङ्ग्रौलाको पर्याप्त आलोचना गरे । उपन्यासको प्रचारलाई त्यसले राम्रो सहयोग पुर्यायो ।
त्यसैले त्यो किताब पढिसकेपछि एउटा टिठ र खिन्नता मेरो मनभरि व्याप्त भयो त्यस्तो किन पनि भएको हो भने खगेन्द्र सङ्ग्रौलाले । त्यसलाई लेख्नुअघि त्यसका सामग्रीहरू सङ्कलन गर्न थुप्रै परिश्रम गर्नुभएको तथ्य मलाई राम्ररी थाहा थियो । सामग्री सङ्ग्रहित भएपछि उहाँ वेगनास तालको छेउमा रहेको आत्मनिर्भर विकास मञ्चको तालिम भूमिमा गएर लेख्न थाल्नु भएको थियो । त्यो परिश्रम र त्यस्तो एकान्तवासबाट सिर्जित पुस्तक एउटा सुन्दर कलाकृति हुनुपर्छ भन्ने मेरो पर्याप्त आग्रह थियो । यही आशयको कुरा एक दुई पटक खगेन्द्र सङ्ग्रौलालाई मैले पनि भनेको थिएँ । तर खगेन्द्र सङ्ग्रौलाले उपन्यासमा हाम्रा आग्रहहरूमाथि न्याय गर्नु भएको पाइएन । अन्तिम चरणमा नारायण ढकालले भन्नु भएका कुराहरूप्रति पनि उहाँ गम्भीर हुनु भएन । त्यसैले उपन्यास गतिलो भएन र मजस्तो पाठकलाई एउटा खिन्नता मनभरि व्याप्त भयो ।
त्यसपछिका दिनहरूमा 'जूनकीरीको संगीत'का बारेमा मौनता साँधेर मैले खगेन्द्र सङ्ग्रौलासँगका भेटहरूमा एक किसिमको सकसपूर्ण उपस्थिति जनाइरहें त्यस्तो सकसको तुष अझै पनि मनमा अडेकै छ । हामीले सुरुमै अनुमान गरेजस्तै नेकपा माओवादीका सांस्कृतिक क्षेत्रका वरिष्ठ व्यक्तिहरू ऋषिराज बराल र साहित्यिक लेखनमा चैतन्य नामले चिनिने मोहन वैद्य र माओवादीका अध्यक्ष स्वयं प्रचण्डले खगेन्द्र सङ्ग्रौलाको पर्याप्त आलोचना गरे । उपन्यासको प्रचारलाई त्यसले राम्रो सहयोग पुर्यायो । मार्टिन चौतारीले दुई-दुई पटक त्यस उपन्यासमाथि छलफल आयोजना गर्यो । त्यसले पनि उपन्यासको बिक्री प्रवर्द्धनमा सघाउ नै पुर्यायो । तत्कालीन अवस्थामा उपन्यास राम्रैसँग बिक्री भयो र लेखक तथा प्रकाशकहरू प्रसन्न भए । तर नेपाली साहित्य प्रसन्न भएको अनुभव भएन । वैचारिक त्रुटिको कारणले प्रगतिशील क्षेत्रले त्यसको आलोचना र उपेक्षा गर्यो भने अर्को क्षेत्रले कम्युनिस्ट साहित्य भन्ठानेर उत्तिकै उपेक्षा गर्यो ।
त्यसका कारणहरू यस्ता थिए: उपन्यास 'जूनकीरीको संगीत'मा दलित आन्दोलन उठाउने, अघि बढाउने र दलितहरूलाई मुक्ति दिलाउने केन्द्रीय शक्तिको रूपमा 'आखुआउ' नाउँको एउटा गैरसरकारी संस्थालाई प्रस्तुत गरिएको छ । यो प्रस्तुति किन बढी विवादास्पद भएको छ भने लगभग उपन्यासको फलकभरि यस संस्थालाई प्रमुखता दिइएको छ तर नेपाली काङ्ग्रेस, नेकपा एमाले र नेकपा माओवादीजस्ता राजनीतिक दलहरूलाई आलोचना र उपहास गरिएको छ । लगभग सर्वस्वीकृत मान्यता हो- असल काम गरिरहेका कम विवादास्पद गैरसरकारी संस्थाहरू सामाजिक जागरण र सुधारका लागि भरपर्दा सहयोगी मात्र हुन सक्छन् तर निर्णायक शक्तिहरू भने राजनीतिक दलहरू नै हुन् ।
दलितहरूलाई विष्टहरूबाट वास्तविकतामा भन्दा उपन्यासमा बढी हेपाइएको र दलाइएको छ भन्ने उनीहरूको गुनासो थियो । हेपाइ र अपमानको प्रतिविम्बन अतिशयोक्तिपूर्ण भएकोले उपन्यास पढ्दा दलितहरू झन् अपमानित भएको कुरा पनि उनीहरू भनिरहेका थिए ।
उपन्यासमा यसको विपरीत सन्देश प्रवाहित भएको छ र वैचारिक रूपले यो गलत भएको छ । कलात्मक रूपले पनि यो उत्कृष्ट छैन । किनभने यसको भाषा शैली दुवै आकर्षक छैनन् । आख्यानमा प्रयोग हुने शास्त्रीय किसिमको प्राञ्जल भाषा पनि यसमा छैन । आधुनिक किसिमको चमत्कारिक भाषा पनि यसमा छैन । शैलीगत चमत्कार र प्रस्तुतिमा गरिने नवीनताको अपेक्षालाई पनि यस उपन्यासले पूरा गर्न सकेको छैन । सम्भवतः सरलताको अत्यधिक आग्रह वा आधिकारिकताको निरपेक्ष मोहले गर्दा उपन्यासमा स्थानीय भाषिकालाई मात्र प्रयोग गरियो र राम्रो भएन ।
पात्रहरूको भाषालाई यथावत् राखेर आख्यानकारको भाषा चाहिँ स्तरीय नेपाली भाषा प्रयोग गरिएको भए यो उपन्यास यो दोषबाट सजिलै मुक्त हुने थियो । त्यस्तो भएन । त्यसैले उपन्यास कमजोर भयो । यस्तो परिप्रेक्ष्यमा म पटकथा लेख्ने कामको निम्ति तम्सिएको थिएँ । उपेक्षा, चर्चा र विवादको चेपमा परेको कृतिमाथि पटकथा लेख्नु अन्य कथामाथि पटकथा लेख्नुभन्दा जोखिमयुक्त काम थियो । म त्यही जोखिम उठाउन अग्रसर भएँ । यसको मूर्त कारणलाई म यसरी उल्लेख गर्न चाहन्छु : उपन्यास 'जूनकीरीको संगीत' औपन्यासिक कृतिको रूपमा शक्तिशाली नसके पनि यसले ग्रहण गरेको विषय शक्तिशाली छ । किनभने दलितहरूको सामाजिक, सांस्कृतिक र पारिवारिक दुरावस्थालाई यसले उजागर गरेको छ । त्यस दृष्टिले यो उपन्यास एक हदसम्म प्रशंसनीय पनि छ ।
दलितहरूको विषयलाई स्थलगत अध्ययन गरेर यसअघि यति ठूलो आयतनमा कसैले कुनै किताब तयार पारेको थिएन । दलितहरूमा मूलत: पर्वत जिल्लाका दमाईहरू तथा अंशतः कामी र सार्कीहरूलाई उपन्यासमा ठाउँ दिइएको छ । तथाकथित माथिल्लो जातले दलितहरूमाथि थोपरेको उत्पीडनलाई मात्र होइन, दलितहरूबीच आपसमा रहेको छुवाछूतलाई पनि उपन्यासमा दर्शाइएको छ । तसर्थ यो उपन्यास पढ्ने सामान्य पाठकले नेपाली समाजको एउटा तीतो यथार्थबारे सूचना र शिक्षा प्राप्त गर्दछ । त्यही कारणले दलित मुक्तिको विषयसँग सरोकार राख्ने व्यक्ति र संस्थाहरू यस पुस्तकसँग पनि सरोकार राख्दछन् ।
त्यस्तै सरोकार राखेर अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले यसमाथि टेली शृङ्खला बनाउने उपक्रम गरेको थियो दलितहरूको उत्थानमा सरोकार राख्ने एउटा लेखकको नाताले मैले पनि प्रकाशित हुनुअगावै यसमा सरोकार राखेको थिएँ । किताब प्रकाशित भएपछि एउटा औपन्यासिक कलाकृतिको रूपमा यो जतिसुकै विवादास्पद भए पनि विवादास्पद पक्षलाई हटाएर वा घटाएर पटकथा लेख्न सकिएला भन्ने सोचद्वारा निर्देशित भएर पटकथा लेख्न तम्सिएको थिएँ । तथापि त्यस सोचलाई पारिश्रमिकको रूपमा आउने आर्थिक लाभ र पटकथाकारका रूपमा नाम बन्ने सामाजिक लाभको लोभले ऊर्जा थप्ने काम पनि गरेको वास्तविकता म स्वीकार गर्दछु । यो टेली शृङ्खला एक्सन एडको लगानीमा बन्न लागेको थियो ।
कथाकार खगेन्द्र सङ्ग्रौलासँग टेली शृङ्खला बनाउनको लागि स्वीकृति लिने काम पनि भइसकेको थियो । मैले बुझेअनुसार कृष्णमुरारी र कृष्ण पाठकको सरसल्लाह र पहलमा लागत अनुमान र बजेट वितरणको काम पनि भइसकेको थियो । तर त्यत्रो नाम चलेको संस्थाले बनाउन लागेको टेली शृङ्खलाको पटकथा लेखकले पटकथाकारको वैधानिक हैसियत पाएको थिएन । काम गर्नलाई औपचारिक सम्झौता गर्नुपर्छ र त्यो भरपर्दो क्रियाकलाप हो भनेर मैले पटकपटक भनेको पनि हुँ । तर उनीहरूले त्यो आवश्यक छैन भनेर मलाई पन्छाइरहे ।
निर्माताको प्रतिनिधि कृष्ण पाठक र निर्देशक कृष्णमुरारी ढुङ्गेलले मलाई किन त्यो हैसियत दिन रुचाएनन् भन्ने अप्रिय प्रश्नसँग म बारम्बार जम्काभेट गरिरहन्थेँ । लेखक र निर्माताबीच औपचारिक सम्झौता आवश्यक हुन्छ तर दुई कृष्णहरू त्यस्तो आवश्यकतालाई पूर्ति गर्न तत्पर भइरहेका थिएनन् । एउटा पटकथाकारको हैसियतले त्यत्रो परियोजनाको संस्थागत प्रक्रियामा प्रवेश नपाउनु वास्तवमा अनुचित थियो।
'ए मुरारी यसो गर्यो भने त झन् ढिलो हुन्छ । भर्खर त किताब पढिसकियो । एकपल्ट धाइरिङ पनि जानुपर्छ । त्यसपछि बल्ल लेख्न थाल्ने हो ।'
त्यसैले मभित्र आशंकाको धुवाँ पनि रङ्मगिइरहेको थियो । अत्यास, आशङ्का र छटपटीजस्ता अप्रियताहरूले मलाई पटकथा लेखनको विषयमा एकाग्र हुन दिइरहेका थिएनन् । ती तीन अप्रियतामध्ये एउटा आशंका निवारण गर्नका निम्ति मैले मलाई लेखनमा प्रस्ताव गर्न आउने मित्रहरूसँग कामको थालनीका लागि केही रकम पेश्की स्वरूप मागें । निकै गनगनपछि त्यो रकम आइपुग्यो । त्यो पनि मेरो मागअनुरूप नभएर कृष्णहरूको चाहनाअनुरूप आएको थियो । तैपनि हातमा अलिकति पैसा भएपछि त्यसलाई कामको निधो भएको एउटा प्रमाणको रूपमा लिएँ । काम थालिहाल्न अझै समस्या थियो । किनभने मसँग किताब थिएन । कृष्णमुरारीले किताब जुराइदिएपछि मैले त्यसलाई पटकथाकारको दृष्टिले पढ्न थालें । त्यसपछि आफ्नो सीमित क्षमताको उपयोग गरेर मैले उपन्यासलाई दृश्यहरूमा र दृश्यहरूको शृङ्खलालाई तीस भागमा प्रारम्भिक विभाजन गरेँ । अनि सुरु भयो पटकथा लेखन प्रक्रिया । यस अवधिमा झण्डै दुई हप्ता बितिसकेको थियो । त्यसैले आफ्नो स्वभावअनुसार कृष्णमुरारी ढुङ्गेल मछेउ आइपुगे र सोधिहाले- गोविन्द दाइ कति भाग सकियो ?
'ए मुरारी यसो गर्यो भने त झन् ढिलो हुन्छ । भर्खर त किताब पढिसकियो । एकपल्ट धाइरिङ पनि जानुपर्छ । त्यसपछि बल्ल लेख्न थाल्ने हो ।' मैले यस्तो उत्तर दिएपछि कृष्णमुरारी खिन्न देखिए । उनको अनुहारमा अर्थहीन छटपटीको सानो भूमरी परेको थियो । त्यसपछि मैले उनलाई केही प्रक्रियागत कुराहरू अर्ध्याएँ । अनि धाइरिङबाट फर्कनेबित्तिकै पटकथा लेख्न सुरु गर्ने कुरा भनें । तैपनि उनको अनुहारबाट अर्थहीन भूमरी हटिसकेको थिएन ।
यस्तै तनावहरूको बीचमा धाइरिङ जानका निम्ति आवश्यक खर्चको समेत व्यवस्था गरिदिन मैले उनीहरूलाई भनेँ । उपन्यास भूमिको यात्रापछि- त्यसको तीन दिनपछि म खगेन्द्र सङ्ग्रौलाको उपन्यास भूमि पर्वत जिल्लाको धाइरिङमा पुगेँ । उपन्यासभित्र आइतेका रूपमा चित्रित पात्र दुर्गाबहादुर दर्जीले मलाई एउटा गतिलो गाइडले जस्तै गाउँ डुलाए । त्यस क्रममा मैले त्यहाँका पात्रहरूसँग चिनजान र संवाद गर्ने अवसर पाएँख । एउटा दलित बस्तीको वास्तविकता प्रत्यक्ष देख्न पाउनु मेरा निम्ति एउटा सुखद अनुभव थियो । यस अनुभवमा पढिएको किताब र देखिएको समाजका बीचमा रहेका समानता र असमानताहरूको ज्ञानले विशेष स्थान लिएको थियो दुर्गाबहादुर दर्जी र उपन्यास भूमिका अरू थुप्रै पात्रहरू आफ्नैबारेमा लेखिएको उपन्यासलाई लिएर प्रसन्न थिएनन् । उपन्यासमा आफूहरूलाई अपमानजनक ढङ्गले चित्रण गरिएको कुरा उनीहरू बारम्बार भनिरहेका थिए ।
दलितहरूलाई विष्टहरूबाट वास्तविकतामा भन्दा उपन्यासमा बढी हेपाइएको र दलाइएको छ भन्ने उनीहरूको गुनासो थियो । हेपाइ र अपमानको प्रतिविम्बन अतिशयोक्तिपूर्ण भएकोले उपन्यास पढ्दा दलितहरू झन् अपमानित भएको कुरा पनि उनीहरू भनिरहेका थिए । त्यति मात्र नभएर त्यस उपन्यासमाथि टेली शृङ्खला पनि सकभर नबनोस् भन्ने उनीहरूको विचार थियो । उनीहरूका यस्ता विचारहरू सुनेपछि मेरो उत्साह एकदमै शिथिल भएको थियो । तर मैले उनीहरूलाई टेली शृङ्खलाको औचित्यबारे आफूलाई थाहा भएसम्मका कुराहरू सुनाएँ । टेली शृङ्खला बनेछ भने त्यसले दलित मुक्तिको विषयलाई आम समुदायबाट व्यापक समर्थन आर्जन गर्न ठूलो सहयोग जुटाउन सक्छ भन्ने बताएँ ।
यसरी मैले उपन्यासमा टिपिएका पात्रहरूलाई आफ्नो क्षमताअनुसारको प्रवचन पिलाएँ । उपन्यासमा भएका त्रुटिहरूलाई टेली शृङ्खलामा सच्याउन सकिन्छ भन्ने बुझाएँ । त्यसका निम्ति उनीहरूका सुझावहरू पनि थिए । दलितहरूका विषयमा उपन्यासमा अतिरञ्जनात्मक किसिमले गरिएका चित्रणलाई पटकथामा यथार्थसम्मत तुल्याउने एउटा प्रमुख सुझाव थियो । उपन्यासभित्र सबैजसो राजनीतिक दलहरूलाई गरिएका आलोचनालाई घटाउने अर्को प्रमुख सुझाव थियो ।
नेपालको सन्दर्भमा गैरसरकारी संस्था गतिला र अगतिला दुई थरीका छन् भन्ने कुरा कुनै तरिकाले प्रस्ट पार्नु पर्छ भन्ने सुझाव पनि आ थियो । यी तीनैओटा सुझावभन्दा प्रभावकारी सुझाव थियो- कुनै पनि किसिमको मुक्ति आन्दोलनमा राजनीतिक दल र तिनका विचारहरू नै निर्णायक हुन्छन्, गतिलो गैरसरकारी संस्था त्यस्तो आन्दोलनमा सहयोगी मात्र हुनसक्छ । त्यसैले टेली शृङ्खलाको पटकथामा यही यथार्थअनुरूप दृश्य लेखिनुपर्छ ।
काठमाडौँको बौद्धिक जगतमा होइन, पश्चिम पहाडको दलित गाउँमा मैले दलितहरूबाटै पाएका ती सुझावहरू निकै महत्त्वपूर्ण थिए । ती सुझावहरूलाई कागजमा टिप्ने काममा म निकै सक्रिय रहें । यस्तो सक्रियताको एक चरण पार गरेर काठमाडौं आइपुग्दा पटकथा लेखनका निम्ति मसँग एउटा अर्को चुनौती थपिएको मैले अनुभव गरेँ । त्यो भनेको उपन्यासका पात्रहरू बनाइएका दलितहरू र उपन्यासकार दुवै थरीको संवेदनालाई सम्मान गर्ने चुनौती थियो ।
पहिलो भाग लेख्न सुरु गरेको मात्र के थिएँ कृष्णमुरारी र कृष्ण पाठकजी आइपुगे । 'दाइ कति भाग सकियो ?' भन्ने प्रश्नबाट हाम्रो संवादको सिलसिला सुरु भएको थियो । भनिरहनु पर्दैन कृष्णमुरारीले संवाद सुरु गरेका थिए । संवादको सुरुआतदेखि नै मेरो मानसिक धरातल धमिलियो । हामीबीच पटक-पटक हुने गरेका संवादहरूले लेखन कार्यलाई सघाउनुको साटो बिथोल्ने काम गरेका थिए । यस्तो कटु यथार्थलाई बुझ्ने प्रयास कसैले गरेन । फलस्वरूप लेखन कार्य छिटो हुनुको सट्टा झन् ढिलो हुन थाल्यो । छिटो छिटो र छिटो भन्ने शब्दको प्रहारले मस्तिष्कमा सिर्जनाको आनन्दको सट्टा तनावले डेरा जमायो र लेखन मेरो आफ्नै क्षमताभन्दा पनि कमजोर हुनथाल्यो ।
यी सबै मानसिक तथा भौतिक अवस्थामा खगेन्द्र सङ्ग्रौला पनि साक्षी बसिरहनु भएको थियो । आवश्यक तथा अनावश्यक दुवै थरी भेटघाटमा कृष्णमुरारी र कृष्ण पाठकले उहाँलाई पनि संलग्न गराइरहेका थिए । तर चलचित्र र चलचित्र लेखनको विशिष्ट प्रक्रियामा उहाँको सहयोगी भूमिका हुनसक्ने लक्षण र सम्भावना दुवै थिएन । एउटा उपन्यासकारको हैसियतले चलचित्र लेखनको प्रक्रियामा समेत उहाँले केन्द्रीय स्थान पाइरहनु भयो । चलचित्र लेखनको चरणमा सामान्यतया उपन्यासकारको उपस्थिति आवश्यक हुने गर्दैन, तर यस योजनामा भने निर्माताको प्रतिनिधि र निर्देशक दुवैले खगेन्द्र सङ्ग्रौलालाई घिसारिरहे । त्यसले गर्दा खगेन्द्र सङ्ग्रौला पनि अनावश्यक रूपमा आजित हुने परिस्थिति समेत निर्माण भयो ।
तीन सातासम्म गायब भएको कुरा त्यति राम्रो नभए पनि यो प्रस्ताव चाहिँ राम्रै थियो । त्यसपछि मैले सकिएको पटकथाको चाङ दिएँ । त्यसपछि एक साता बित्यो । दुई साता बित्यो । तीन साता बित्यो तर उनीहरू फेरि सम्पर्कमा आएनन् ।
जुन संस्थाको निम्ति पटकथा लेख्ने काम थालिएको थियो, त्यस संस्थासँग मेरो संस्थागत सम्बन्ध र औपचारिक भेटघाट भइरहेको थिएन । केही कुराले यस्तो सम्बन्ध स्थापनालाई छेकिरहेको थियो । औपचारिक कामको निम्ति पर्ने न्यूनतम् औपचारिकताको आवश्यकतालाई खगेन्द्र सङ्ग्रौलाले पनि बोध गर्नु भएको थिएन । संस्थाको प्रतिनिधि बनेर आउने मानिस निकै वाचाल थिए तर मलाई उनको बोलीमा विश्वसनीयताको अभाव अनुभव हुन थाल्यो ।
यो कुरा अनौपचारिकस्तरमा म खगेन्द्र सङ्ग्रौलासँग पनि गर्थे । उहाँलाई पनि मलाईजस्तै अप्रिय अनुभूति हुन थालिसकेको रहेछ । तर अनावश्यक रूपमै भए पनि केन्द्रीय भूमिकामा रहनुभएको उहाँले वातावरणलाई सहज तुल्याउन सक्नुभएन । तैपनि मैले जसोतसो लेख्ने कामलाई अगाडि बढाइरहेको थिएँ । दस भाग लेखिसकिएको थियो । म एघारौँ भागमा घिस्रिरहेको थिएँ । तर हाम्रो समग्र कार्यदलमा एक अर्काप्रति व्यवहारमा पारदर्शिताको अभाव बढ्दै गएको थियो । त्यसको नतिजास्वरूप हामीहरू कोही पनि एक अर्काप्रति खुसी र सन्तुष्ट भएनौं । यस्तै अप्रिय र अनावश्यक तनावको बीचमा मेरा लागि एउटा नकारात्मक निकास निस्कियो । त्यो निकास थियो- सम्पर्क विच्छेद ।
सातामा दुई पटक फोन सम्पर्क र एक पटक भेट गर्ने निर्माता/निर्देशकहरू अकस्मात् दुई सातासम्म सम्पर्कबाट बाहिरिएका थिए । यस अवधिमा मैले छिटो भए पुग्ने मित्रहरूलाई छिटो गर्ने हिसाबले थप दस भाग लेखिसिध्याएर बीस भाग पटकथा तयार गरिदिएँ । तर त्यस्तो हतारको लेखनसँग मै सन्तुष्ट थिइनँ । तैपनि एकसरो लेखिसकेपछि फेरि अर्को चरणमा केही परिमार्जन वा परिष्कार गर्नका लागि निर्देशक महोदयलाई अनुरोध गर्न सकिन्छ भन्ने सोचले मलाई अघिल्तिर तानिरहेको थियो ।
त्यसैले मैले लेख्ने कामलाई तदारुकताका साथ जारी राखें । अन्यौल, आशंका, अविश्वास र तनावका बीचमा यसरी 'जूनकीरीको संगीत’ को पटकथा पूरै लेखियो । एकसरो लेखिसकेपछि भने उनीहरू आऊन् भन्ने हुटहुटी बढ्यो, तर उनीहरू आएनन् । त्यसको अझै केही दिनपछि एक दिन अप्रत्याशित किसिमले उनीहरूले लेखिसकिएको पटकथाको पाण्डुलिपि सामूहिक रूपमा हेर्ने र मिलाउनुपर्ने केही भए सल्लाहअनुसार मिलाउने प्रस्ताव गरेँ ।
तीन सातासम्म गायब भएको कुरा त्यति राम्रो नभए पनि यो प्रस्ताव चाहिँ राम्रै थियो । त्यसपछि मैले सकिएको पटकथाको चाङ दिएँ । त्यसपछि एक साता बित्यो । दुई साता बित्यो । तीन साता बित्यो तर उनीहरू फेरि सम्पर्कमा आएनन् । चावहिलको तरकारी बजारमा अकस्मात् भेटिएका खगेन्द्र सङ्ग्रौलालाई मैले उनीहरूका बारे सोधपुछ गरेँ यस पटकको मेरो प्रश्नलाई खगेन्द्र सङ्ग्रौलाले खुलस्त उत्तर दिनु भएन । दिन बित्दै गयो । अर्को एक दिन म अलि असहज मनस्थितिमा खगेन्द्र सङ्ग्रौलाको घरमै गएँ । यताउतिका अन्य कुरा गरेपछि मैले विषय प्रवेश गरेँ । बल्ल थाहा भयो- खगेन्द्र सङ्ग्रौलालाई हालचाल सबै थाहा रहेछ । यो जानकारी पाएपछि म भित्रभित्रै निकै रन्थनिएँ मलाई लाग्यो, निर्माता पक्षले मलाई धोका दिन थालेको छ र खगेन्द्र सङ्ग्रौलाले त्यसलाई सघाइरहनु भएको छ ।
नमिठो खिचडीको गन्ध यसबीच खिचडी निकै पाकिसकेको रहेछ । निर्देशकमा कृष्णमुरारी ढुङ्गेललाई हटाएर कुनै अर्कै व्यक्तिलाई राखिसकिएको रहेछ त्यो कुरा कृष्णमुरारीलाई समेत थाहा थिएन । नयाँ निर्देशक कृष्णमुरारीभन्दा गतिलो भन्ने आशयको विचार खगेन्द्र सङ्ग्रौला मलाई सुनाइरहनु भएको थियो । उहाँको यो विचार ज्ञानमा आधारित थिएन, अनुमानमा आधारित थियो । गतिलै निर्देशक भए पनि नयाँ निर्देशक राख्दा पटकथामा काम गरिरहेको मलाईसमेत छलेर बढी चलाखी देखाउनु सफा खेल थिएन ।
यस्तो चलाखीभित्रको दुराशय बोध गरेपछि मलाई भएको मानसिक पीडालाई सम्झँदा अहिले पनि म पीडाका कारकहरूप्रति प्रतिशोधको भावना अनुभूत गर्छु । खगेन्द्र सङ्ग्रौलाबाट पाएको निर्देशक परिवर्तनको समाचारले मलाई निकै दिनसम्म रन्थन्याइरहेको थियो । अब के गर्ने होला ? यो प्रश्नलाई प्रभावकारी उत्तर दिन म असमर्थ भइरहेको थिएँ । निर्माता संस्थासँग औपचारिक सम्बन्ध स्थापित भएको भए यस्तो फोहोर परिस्थिति आउने थिएन ।
त्यसैले म आफ्नो मूर्खतालाई पनि आलोचना गरिरहेको थिएँ । अर्कोतिर म आफ्नो लोभलाई पनि आलोचना गरिहेको थिएँ । किनभने मलाई लागिरहेको थियो, आर्थिक र सामाजिक लोभले मलाई यस काममा घिसारिदिएको हो, यस्तो लोभको परिणाम दुःखद हुनु स्वाभाविक हो । तनाव र छटपटी बढ्ने र घट्ने प्रक्रिया चलिरहेको यस अवधिमा एक दिन अकस्मात् कान्तिपुर दैनिकमा 'जूनकीरीको संगीत' को छायाङ्कन सुरु भएको समाचारमा मेरो आँखा पर्यो । हतारिएर मैले त्यसलाई पढ़ें छायाङ्कनस्थलमा पुग्दा मेरो पटकथा अर्कैको भैसकेको रहेछ । अब प्रस्ट भयो यस प्रकरणमा निर्देशकमात्र फेरिएको थिएन, एउटा पटकथाकारलाई मारेर अर्को जन्माउने काम पनि भएको रहेछ त्यतिखेर एक्सन एडका तर्फबाट यस कामको निम्ति प्रतिनिधि बनेर आएका कृष्ण पाठकका आफन्त रहेछन्, केपी पाठक । यी केपी पाठक चलचित्र क्षेत्रमा भर्खरै 'गाजल' नाउँको एउटा सिनेमाको निर्देशन गरेर आइपुगेका पात्र रहेछन् ।
मानिसहरू भन्थे - कृष्ण पाठकका भाइ हुन् केपी पाठक । आफन्त वा भाइ नै भए त कामको सिलसिलामा 'डिल' गर्न सजिलो हुने मात्र नभएर अपनत्वलाई बढाउन पनि सजिलो हुने भएकोले निर्देशकमा ढुङ्गेलजीलाई हटाएर नयाँ पाठकजीलाई राखिएको रहेछ । नेपाली समाजको मनोविज्ञान बुझ्नेहरूलाई यस्तो किन हुन्छ भन्ने प्रश्नको उत्तर खुलस्त लेखिरहनु पर्दैन । यो प्रकरणलाई बिस्तारै केलाउँदा अहिले मलाई के लाग्छ भने यस प्रकरणभित्र बौद्धिक दुर्बलता, मानसिक दुर्बलता र आर्थिक दुर्बलताले काम गरेको थियो ।
संस्था र पटकथा लेखकबीच औपचारिक सम्बन्धलाई छेक्नुमा आर्थिक दुर्बलताले काम गरेको थियो । अर्थ आर्जन गर्ने फोहोर तरिकालाई समाजको हरेक क्षेत्रमा फैलिन दिने मानसिक दुर्बलता यहाँ भने आफन्तलाई काम दिलाउने रोगको रूपमा समेत आएको थियो ।
जतिसुकै पुगेको भए पनि मलाई अप्ठ्यारो पर्दा नवीन सुब्बाको नाम मेरो मनको छेउमा उभिन आइपुग्थ्यो । अप्ठ्यारो पर्दा ती मानिसहरूले मलाई नैतिक सहयोग दिन्थे ।
चलचित्र कलाको विशिष्ट ज्ञानमा कमजोर पात्रहरू यस प्रक्रियामा निर्णायक स्थानमा पुगेका थिए । एउटा निर्देशक फेरेर अर्को भन् कमजोर निर्देशक राखिनु तथा यस खाले त्रुटि भएको वास्तविकताको सामान्य बोध समेत नहुनु बौद्धिक दुर्बलताको उपज थियो । यसरी दुर्बलताहरूको दौडादौडमा एउटा कृति नजन्मिदै मरिरहेको थियो । यो एकदमै टिठलाग्दो, भत्सर्नायोग्य र अपमानजनक परिस्थिति थियो । म त्यस परिस्थितिलाई निरीह दर्शकले झैँ हेरिरहेको थिएँ । तर अब मैले आफ्नो निरीहता भत्काउनु जरुरी भैसकेको थियो । किनभने मेरो अस्तित्वको एउटा महत्त्वपूर्ण भागलाई निर्ममतापूर्वक हत्या गरिएको थियो । त्यस हत्या विपक्षमा उभिएर आफूलाई जोगाउनुको मसँग कुनै विकल्प थिएन । त्यसैले त्यस युद्धमा आफ्ना शस्त्रहरू सहित मैदानमा उत्रिने मनस्थितिमा पुगेँ ।
अन्ततः म मैदानमा उत्रिएँ । द्वन्द्व र विनाश युद्ध गर्नलाई मसँग गतिला अस्त्रहरूको न्यूनता थियो । तर लेखनको क्षेत्रमा लामो समय बिताइसकेको हुनाले म धेरै कमजोर योद्धा पनि थिइनँ । त्यसका साथै चलचित्र क्षेत्रका केही उर्वर मानिस र रचनाकारहरूसँग मेरो सुसम्बन्ध पनि थियो । जतिसुकै पुगेको भए पनि मलाई अप्ठ्यारो पर्दा नवीन सुब्बाको नाम मेरो मनको छेउमा उभिन आइपुग्थ्यो । अप्ठ्यारो पर्दा ती मानिसहरूले मलाई नैतिक सहयोग दिन्थे ।
मेरो सार्वजनिक परिचयमा मिस्सिएको मेरो इमानदारिताप्रति उनीहरू कमसेकम सद्भाव राख्थे । यस प्रकारको सद्भावनाले मलाई नैतिक ऊर्जा पनि दिइरहेको थियो । त्यसैले आफ्नो कलमलाई नै मैले आफ्नो प्रारम्भिक हतियारको रूपमा प्रयोग गर्न रुचाएँ । मेरो यस रुचिले मलाई मानसिक स्वास्थ्यको लागि फाइदा पुर्याउने काम गर्यो ।
यस प्रकरणमा ममाथि भएको धोका र अन्यायलाई चलचित्र कलाबारे मेरा बुझाइहरूसँग जोडेर मैले देशान्तर लगायतका अखबारहरूमा आफ्नो विचार सार्वजनिक गरेँ । ठीक यति नै बेला मैले के थाहा पाएँ भने अब चाहिँ निर्माता/निर्देशक मण्डलीसँग खगेन्द्र सङ्ग्रौला पनि असन्तुष्ट हुनुभएको छ । निर्देशक फेर्ने चरणमा मसँग कुनै सल्लाह नगरे पनि अन्ततः उहाँ मेरै सोचको छेउमा आइपुग्नु भएको मैले महसुस गरेँ । आफ्नो असन्तुष्टिलाई आफ्नै किसिमले अखबारमार्फत उहाँले पनि सार्वजनिक गर्नु भयो ।
त्यसको केही समयपछि आफ्नो उपन्यासको समाजशास्त्रलाई पटक्कै नबुझ्नेहरूले आफ्नो कलाकृतिलाई तोडमरोड गरेर बिगारेको टिप्पणी उहाँले रुसी सांस्कृतिक केन्द्रमा आयोजित एउटा कार्यक्रममा पनि सार्वजनिक गर्नुभएको थियो । पटकथाकार र कथाकार दुवैको प्रतिरोधी विचार सार्वजनिक भएपछि त्यसको तत्काल नतिजा के देखियो भने अनधिकृत र अनैतिक व्यवहारको लिकमा हिँडेर धृष्टतापूर्वक थालिएको छायाङ्गन रोकियो त्यसपछि स्वाभाविक रूपमा यस विषयलाई टेली शृङ्खला बनाउने अभियानमा हेलिएको संस्था एक्सन एडले गम्भीरतापूर्वक ध्यान दियो खास गरी एक्सन एडका तत्कालीन निर्देशक शिवेशचन्द्र रेग्मीले यस विषयमाथि राम्ररी निरीक्षण गर्न थाल्नु भएपछि यस विषयले अनुसन्धानयोग्य दर्जा प्राप्त गयो ।
त्यसपछि एक्सन एडकी विशिष्ट पात्र द्युति बरालसहितको टोलीले छानबिन कार्यलाई अघि बढायो खगेन्द्र सङ्ग्रौला र मसँग संस्थाका प्रमुख व्यक्तिहरूले सोधपुछ प्रक्रियालाई अघि बढाए । मैले आफ्नो विचारलाई खुलस्त ढङ्गले प्रस्तुत गरेँ । यसरी सोधपुछ र विचार आदान-प्रदानको प्रक्रिया दुई तीनपटकसम्म चल्यो । निर्माण गर्न अग्रसर संस्था र कथाकार तथा पटकथाकार पक्षबीच भएका प्राथमिक चरणका छलफलहरूमा निर्माण योजनामा खटिएका संस्थागत प्रतिनिधिहरूको व्यवहार नै मूलतः आलोचनाको विषय बनेको थियो ।
त्यसैले निर्माताको तर्फबाट एक्सन एडका निर्देशक शिवेशचन्द्र रेग्मीले नयाँ कार्यदल बनाएर सबै किसिमले नयाँ थालनी गर्ने प्रस्ताव राख्नु भएको थियो । त्यो भनेको एक्सन एडका नयाँ प्रतिनिधिहरू चयन गरेर र आपसी सल्लाहमा नयाँ समझदारी कायम गरी विधिवत् नयाँ शिराबाट फेरि कामको थालनी गर्ने कुरा थियो । यो प्रस्ताव विचारणीय थियो । तर आजित भएका खगेन्द्र सङ्ग्रौलाले यस प्रस्तावलाई मान्नु भएन ।
त्यसैले एउटा नराम्रो घनचक्करमा फसेर 'जूनकीरीको संगीत' माथि बन्न लागेको टेली शृङ्खला बनेन त्यतिमात्र नभएर अज्ञानता र असमझदारीको शिकार भएको यो परियोजना लगभग सधैंका लागि नबन्ने सम्भावनाको खाडलमा जाकियो ।
यस घटनाको दुःखान्त भए पनि मसँग यसको सम्बन्धको सम्पूर्ण समाप्ति अझै भइसकेको थिएन । मप्रति सद्भाव राखेर पटकथा लेखनको निम्ति मलाई खोज्दै आएका कृष्णमुरारी ढुङ्गेल काम विशेषले युरोप यात्रामा गएका थिए । पछिल्ला विवाद र दुर्घटनाहरूबारे उनलाई थाहा थिएन । आफूलाई निर्देशकबाट हटाएर अर्कोलाई छानेको अप्रिय समाचारको तुष लिएर उनी युरोप पुगेका थिए । करिब तीन महिनापछि फर्केर आएपछि उनले मसँग केही कुरा बुझे बाँकी कुरा एक्सन एडको सम्पर्कमा पुगेपछि उनीलाई थाहा भयो । मसँग सम्पर्कको प्रस्थानविन्दुमा उनी नै प्रमुख मानिस भएकोले सरोकारवाला संस्थाले पनि उनीबाट समेत कुरा बुझेर निर्णय लिनु आवश्यक थियो ।
त्यसैले अनौपचारिक रूपले यस परिघटनाको समाप्ति भए पनि औपचारिक रूपमा समाप्तिको घोषणा भैसकेको थिएन। यही कारणले मैले पाउनुपर्ने पारिश्रमिकको विषय ठूलो विवादको चक्रबाट बाहिर निस्किए पनि अङ्कको हिसाब अझै अलमलमा थियो । सारा शोषणहरूका विरोधमा यतिञ्जेल औँलो उज्याइरहेको एउटा लेखकले आफैँमाथिका प्रत्यक्ष शोषणहरूलाई स्वीकार गर्ने प्रश्नै थिएन । निर्माणमा होमिएको संस्थाको जाँचबुझ टोलीले अन्ततः कृष्णमुरारी ढुङ्गेलसँग पनि सोधपुछ गर्यो । त्यसपछि एउटा लामो प्रक्रियाको पुछारमा गएर द्युति बरालले डुब्न लागेको मेरो पारिश्रमिक उपलब्ध गराइदिइन् । त्यही लिएर म यस असफल यात्राबाट आफ्नो ठेगानमा फर्किएँ ।
(मार्टिन चौतारीको वार्षिक जर्नल 'मिडिया अध्ययन २' बाट । हालको समाज अध्ययन जर्नल यही मिडिया अध्ययनकै परिवर्द्धित नाम हो । जर्नलमा गोविन्द वर्तमानको लेखको शीर्षक 'असफल यात्राको कथा' छ ।)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया