सुनकेशरा मैयाँ कुन राज्यकी राजकुमारी थिइन् होला त ?
म केटाकेटी हुँदा मैले सुनकेशरी मैयाँ वा सुनकेशरा रानीको कथा सुनेकी थिएँ । मैले जस्ता थुप्रै नेपालीहरूले पनि त्यो कथा सुनेको हुनु पर्छ । कथामा वर्णन भएअनुसार एकादेशमा एक जना राजा थिए । उनका तीन छोरा र एउटी छोरी थिए । उनकी छोरीको कपाल सुनको थियो । उनको सुनको कपाल भएका कारण सबैले उनलाई सुनकेशरा मैयाँ भनी बोलाउँथे ।
सुनकेशरा मैयाँका कति कपाल छन् भनी गनेर ती कपालहरूको हिसाब राखिएको थियो । एक दिन सुनकेशरा मैयाँ नुहाउन गएका बेलामा उनको एउटा कपाल हराएछ । उनकी आमाले आफ्नी छोरीको नुहाउँदा हराएको सुनको तारजस्तै केश जसले भेट्छ, उसैसँग सुनकेशराको बिहे गरी दिने घोषणा गरिन् । दुर्भाग्यवश उनको हराएको केश आफ्नै दाजुले भेटेछन् । सुनकेशरीकी आमाको वाचाअनुसार त दाजु र बहिनीको बिहे हुने भयो ।
म सानै केटाकेटी भए पनि त्यो कथा सुन्दा नै मेरा मनमा अनेक किसिमका प्रश्न तथा भाव उब्जेका थिए । अरे, कपाल पनि सुनको ? कस्तो होला त सुनको कपाल ? अनि कपाल पनि गन्न सकिन्छ होला त ? एक दिन सुनकेशरा नुहाउन गएका बेलामा उनको एउटा कपाल हरायो अरे, अनि फेरि उनी नुहाएर फर्किएपछि कपाल गनेछन् त ? यस्ता थुप्रै प्रश्न हाम्रा दिमागमा आउँछन् । अनि दाजु र बहिनीको बिहे पनि कहीँ हुन्छ त ? त्यो कथा सुन्दा नै अचम्म लाग्थ्यो ।
बन्दाबन्दीका बेलामा साहित्यकार तथा पुरातत्त्वविद् जनकलाल शर्माद्वारा लिखित ‘कौतुकमय डोल्पो’ (२०३१, साझा प्रकाशन) पढ्दै थिएँ । त्यस पुस्तकमा शर्माले मैले बाल्यकालमा सुनेको सुनकेशरा रानीको कथाको भेद खोलेका छन् र त्यस पुस्तकमार्फत उनले म र म जस्ता धेरै नेपालीहरूका प्रश्नको उत्तर पनि दिएका छन् ।
शर्माका भनाइमा ‘एकादेशमा परापूर्वकालमा एउटा राजा थिए । उनकी सुनकेशरा नामकी रानी थिइन् । होइन ! ईसाको सत्रौँ शताब्दी (१६०२ –१६३१ ई.) मा विक्रम शाही नामका राजा जुम्लाको राजगद्दीमा थिए । उनी बलिराजका छैटौँ उत्तराधिकारी हुन् । उनी प्रतापी र प्रजावत्सल राजा थिए । उनको राज्य पूर्वमा मुक्तिनाथ सम्म फैलिएको थियो ।’
हाम्रा मनमा बलि राजा भनेका को हुन् भन्ने प्रश्न उठ्न सक्छ । हामीले तिहारको देउसी भैलोमा फलाक्ने (हामी त्यसै आएनौँ बलि राजाले पठाको ।) बलि राजा (वि.सं १४६१) पन्ध्रौँ शताब्दीका जुम्लाका राजा हुन् ।
शर्माकै भनाइमा ‘विक्रमशाहीका दूतले कुनै राज्यमा एउटा राजा छन् । उनकी सुनकेशरा नामकी मैयाँ छिन् । उनी अति नै रूपवती र शीलवती छिन् । मैयाँको विवाहयोग्य उमेर भइसकेको छ । राजा योग्यवरको खोजीमा छन् । मौसुफ जस्तो योग्य रूपवान् राजालाई पाएर उनी धन्य हुनेछिन्, भनी सुनाए । राजा सुनकेशराको रूप लावण्यबारे सुनेर उनीप्रति विह्वल हुन थाले ।’
‘यसै समयमा खोचरनाथ घौल्यात्रीमा जाड (भोटे) राजा झम्पन राज्य गर्दथे । झम्पन पनि सुनकेशरा मैयाँलाई पाउन विह्वल थिए ।’ विक्रमशाहीको दूतले झम्पनको सबै कुरा पत्ता लगाएको थियो । दुवै राजा सुनकेशराप्रति मरिमेट्न थाले । अन्त्यमा जीत विक्रमशाहीको भयो। सुनकेशरा मैयाँ जुम्लाकी रानी भइन् ।’
त्यसपछि कान्छी सुनकेशरा रानीकै प्रेममा राजा सबै राजपाट भुलेर बस्न थाले । उनले पहिलो प्राथमिकता नै सुनकेशरा रानीलाई दिन थाले । विक्रम शाहीले त्यसरी राजपाटलाई वास्ता नगरेपछि उनको सैनिक बल कमजोर हुन थाल्यो । उता झम्पनले पनि सुनकेशरालाई कसरी हात पार्न सकिन्छ भनी सुराकी लगाउन थाले । विक्रम शाही एक दिन सिकार खेल्न गएका मौकामा झम्पनले सुनकेशरा रानीलाई अपहरण गरे ।
सिकारबाट फर्किएपछि राजाले रानीलाई नदेख्दा राजा पिरिए । त्यसपछि विक्रम शाहीले झम्पनको राज्यमा आक्रमण गर्ने तयारी गरे । अनि दुई पल्टसम्म आक्रमण गर्दा पनि विक्रम शाहीको हार भयो । दुईदुई पल्ट हार खाएपछि विक्रम शाही निराश भए । राजा भएर उचित कुरामा युद्धबाट विमुख हुनु पनि उनलाई मन लागेन ।
त्यसपछि उनी रासकोटी प्रतापी राजा शाइमल शाहीसँग मद्दत माग्न गए । शाइमल शाही तीखाशूलीमा राज्य गर्थे । उनीहरूका बीच मामा चेला फुपू चेलाको सम्बन्ध थियो । शाइमल शाहीले आफ्नो ठूलो सैन्य शक्तिका साथ विक्रम शाहीको सहयोग गरी झम्पनमाथि आक्रमण गरे । त्यस आक्रमणपछि मात्र विक्रम शाही विजयी भए । शाइमल शाहीका मद्दतबाट झम्पनलाई हराएका कारण शाइमल शाहीको चाँचरी आज पनि लोकप्रिय छ । भन्ने प्रसङ्ग उक्त पुस्तकमा शर्माले उल्लेख गरेका छन् ।
झम्पनकी जीजाजिउथैं गाई दौनै गइछन् । १
माज मैडा पारो राखी वाउली चूटी रोइछन् ।।
चूटी यल्या फलाम य ठोकी यल्या कीला । २
साइमल् साइका पल्टनले हीन लाग्या घला ।।
झम्पनको चडन्या घोडो उदो हेरी खिल्क । १०
झम्पनको सुनको टोपी चौघान् डील मिल्क ।।
त्यसो भए विक्रम शाहीले बिहे गरेकी सुनकेशरा मैयाँ कुन राज्यकी राजकुमारी थिइन् होला त ? उनको कपाल सुनको जस्तै पहेँलो कसरी भयो होला त ? भन्ने हाम्रो मनमा अर्को प्रश्न उठ्छ । कुनै कथा बुन्न जान्ने मान्छेले कुनै विषय भेट्यो भने त्यसमा अनेक मसला भरेर, फूलबुट्टा बनाएर मान्छेका अगाडि प्रस्तुत गर्छ । हाम्रै गाउँघरमा एउटा घटना घट्यो भने त्यो घटनालाई मान्छे नै पिच्छे थप्तै, फुलबुट्टा भर्दै, वास्तविक घटना भन्दा धेरै फरक पारेर प्रस्तुत गर्ने चलन छ । त्यो पहिले घटेको घटनाले अर्कै रूप लिइसकेको हुन्छ ।
सुनकेशरा रानीको कथा त शताब्दीयौँ अगाडि घटेको ऐतिहासिक घटना हो । एउटा पुस्ताले अर्को पुस्तालाई सुनाउँदा नै बीचमा केही चुहिँदै, केही आफ्ना तर्फबाट थपिँदै कथा आजको अवस्थामा आएको र दन्त्यकथाको स्वरूप लिएको हो भनी विश्लेषण गर्न सकिन्छ ।
डोल्पाबाट फर्केर आएपछि कुराकानीको सिलसिलामा एक दिन शर्माले डा. माधवप्रसाद पोखरेललाई भनेका थिए अरे । कैलाश मानसरोवर पहिले जुम्ला राज्यमा पथ्र्याे । विक्रम शाही राज्य विस्तारको क्रममा कैलाश मानसरोवरबाट अझै उत्तर हुँदै तत्कालीन सोभियत रुसको भूमि कजाकस्तानसम्म पुगेका थिए अरे । उनले त्यहाँबाट फर्कंदा एउटी दिव्य राम्री सुनौलो केश भएकी रुसी कन्यालाई साथमा लिएर आएका थिए अरे । तिनै रुसी कन्यालाई स्थानीय जुम्लेलीहरूले सुनकेशरा रानी भन्ने गर्थे अरे ।
प्रायः नेपालीहरूको कपाल कालो रङको हुने गर्दछ । नेपालमा कुनै पनि मानिसको कपाल सुन जस्तै पहेँलो हुँदैन । राजा विक्रम शाहीले ल्याएकी ती रानीको कपाल सुन जस्तै पहेँलो देखेपछि मानिसहरूले उनलाई सुनकेशरा रानी भनी बोलाउन थालेका रहेछन् भन्ने बुझिन्छ ।
माथि उल्लिखित तथ्यबाट के पुष्टि हुन्छ भने, सुनकेशरा रानीको कथा जुम्लाकै ऐतिहासिक घटनामा आधारित तर मानिसैपिच्छे कथा पछाडि कथा थपिँदै गएको कथा रहेछ । सुनकेशरा रानी (सुनकेशरी मैयाँ) को कथा एकादेशको कथा नभई हाम्रै यही देशको ऐतिहासिक कथा पो रहेछ !
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया