सप्ताहन्त

बदलिएको गाउँ र नबदलिएको मेरो मानसिकता

दिपेश घिमिरे |
साउन ९, २०७८ शनिबार ७:४१ बजे

करिब तीन वर्षपछिको अन्तरालमा म गाउँ पुगेँ । जन्मी, पढी, हुर्के, बढेको गाउँ । वर्षौं खाईखेली बिताएको गाउँ । आफ्नै विशिष्ट बाध्यता र अवस्थाका कारण तीन वर्ष पुग्‍न पाएको थिइनँ । कुल पूजाको मेसो मिलाएर यसै साता म गाउँ पुगेँ । छोटो बसाइँमा थाहा पाएँ, गाउँ पहिलाको जस्तो थिएन । 

गाउँमा भौतिक पूर्वाधार मात्र परिवर्तन भएको थिएन । बरु मान्छेको सोचाइ, बुझाइ, धारणा, दृष्टिकोण सबैमा व्यापक परिवर्तन आएको थियो । बदलिएको थियो । रुपान्तरण भइसकेको वा संक्रमणको क्रममा थियो । टोल-छिमेकको सम्बन्धदेखि देश-दुनियाँलाई हेर्ने दृष्टिकोणसम्म । सबै परिवर्तन भइसकेको देखेँ । तीन दिने बसाइमा अनुभव गरेको गाउँको केही परिवर्तनलाई यस छोटो लेखमा समेट्ने प्रयत्न गरेको छु । 


पानी लिन टाढा मुहानसम्म पुग्नु पर्दैन । घर-घरमा पानीको धारा झरेको छ । तर पिउन पानी पाइँदैन । कसैको घरमा पसेर पिउने पानी माग्यो भने वा खाजा खाइयो भने ‘माउन्टेन डिउ’ वा ‘कोक’ हाजिर हुन्छ । चिसो भनेकै कोकाकोलाको विज्ञापनको प्रभाव गाउँमा देखिन्छ । गाउँ-घरका हरेक भान्सामा चिसो पेय पदार्थले राज गरेको छ ।

गाउँघरमा पानी वा मोई वा सर्बतको स्थान सरक्कै चियो पेय पदार्थले लिएको छ । साना बालबालिकाले सर्बत भनेको के हो भन्‍ने थाहै पाएका छैनन् । युवा र किशोर मात्र होइन, हजुरबा हजुरआमा पनि चिसो पेय पदार्थमा रमाइरहनु भएको छ । चियो पेय पदार्थ गाउँघरको संस्कृतिको एउटा अंग बन्‍न लागिसकेको देखियो । 

गाउँ नगएको तीन वर्षको अवधिमा मुस्किलले एकपटक पनि चियो पेय पदार्थ नखाएको मलाई गाउँमा भएको बिगबिगी अचम्म लाग्नु स्वाभाविकै भयो । म गाउँघरमा घुम्दा पुगेका घरमा पानी माग्दा चियो पेय पदार्थ हाजिर भयो । बाहिरबाट गएकालाई पिउने पानी दिनुभन्दा पेय पदार्थले स्वागत गर्ने संस्कृतिले गाउँलाई छ्याप्पै छोपिसकेछ ।

गाउँमा देखिएको अर्को रमाइलो कुरा मोटरसाइकल हो । गाउँका घर-घरमा मोटरसाइकल छ । परिवारको संख्याको आधारमा मोटरसाइकलको संख्या धेरै थोरै छ । मोटरसाइकल अत्यावश्यक हुँदै गएको छ । तर यसका उपयोग चाहिँ बडा रमाइलो देखियो । बाख्रालाई सेउला, घाँस लिन खोरिया जाँदादेखि भैँसीलाई ढोड लिन जाँदासम्म मोटर साइकल प्रयोग भएको देखियो । मोटरसाइकलको प्रयोग गरेको देख्दा मैले अचम्म मानेको देखेर एकजना छिमेकी दाइ भन्दै थिए, ‘यदि मिल्ने हो भने किचेनबाट ट्वाइलेट जाँदा पनि केटाहरू मोटर साइकल प्रयोग गर्ने थिए नमिलेर पो ।’ 

हुन पनि गाउँका युवा यतिबेला चार पाइला पनि पैदलै हिँड्न छाडेछन् । मोटरसाइकल चढेर तास खेल्न जानुलाई सामान्य रुपमा लिन थालिएछ । घरको करेसाबारीमा बन्सो तथा अन्य घाँस उम्रिएर ठूलो ठूलो बोट बनिसकेको छ । केही वर्ष अघिसम्म कल्कलाउँदो रायोको साग तथा अन्य सिजनल तरकारी उत्पादन हुने करेसाबारी यति बेला बन्सोको घाँसले हराभरा छ । बन्सोको घाँस उखेलेर रायो र तोरी छरिदिने हो भने केही हप्तामै मज्जाले खान हुने साग उत्पादन हुन्छ । 

तर गाउँका युवालाई त्यत्रो समय करेसाबारीमा बिताउन समय रहेनछ । बरु भान्सामा तरकारी पकाउन कराई बसालिसकेपछि दौडिएर बजार पुगेर रायोको साग किन्‍न थालेछन् । हरिया खुर्सानी, धनियाँ, कागती, करेसाबारीमा फल्दैन रहेछ । तराईबाट सिधै मन्थली वा रामेछापका पसलमा उपलब्ध हुन थालेछ । रोप्दा त फल्थ्यो, तर अब करेसाबारीमा काम गर्न समय हुँदैन । एकजना छिमेकी भाइ भन्दै थिए, फेरि फुर्सद पनि कहाँ छ र ?  

केही वर्ष अघिसम्म गाउँको फेदीमा रहेको बितिटारदेखि गाउँको सिरानसम्मको मूलबाटो गाउँले मिलेर सरसफाइ र पुनर्निर्माण गरिन्थ्यो । यो तीन वर्षमा यस्तो सामूहिक काम भन्‍ने बन्द भएछ । बदलिएछ । आफ्नै घर अगाडिको आँगन सफा गर्न पालिकालाई गुहार्न थालिएछ । भत्किएको आँगनको सानो पर्खाल निर्माण गर्न पनि नगरपालिकामा प्रस्तावना पेस गर्न लागिएछ । 

प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको बजेटका लागि हप्ता दिन पालिका दौडिन लागेछन् । एक दिन काम गर्दा सकिने पर्खाल निर्माण, खानेपानी ट्यांकी सरसफाइ, बर्खाले खोलेको बाटो मर्मत, जस्ता सानाभन्दा साना कामका लागि बजेटको खोजी गर्न हप्ता दिन पालिका वा वडा कार्यालय धाउन युवा व्यस्त हुन थालेछन् । पालिका तथा वडा कार्यालयको बजेटविना सिन्को पनि भाँच्न छाडिएछ, पर्खाल लगाउने वा अन्य काम त निकै परको कुरा भयो । यस्ता काम गर्न प्रस्तावना पेस गर्ने, बजेट ल्याउने, उपभोक्ता समिति गठन गर्ने आफू अध्यक्ष हुने घटना त सामान्य बनिसकेछ, गाउँमा । 

२०७२ सालको भूकम्पले क्षतिग्रस्त भएको गाउँमा पुनर्निर्माण लगभग सकिएछ । भूकम्पले गाउँका अधिकांशको एउटा र कतिपयको दुइटा घर भत्काएको थियो । भूकम्पअघि एउटै घरमा खाद्य सामग्री भण्डारण, भान्सा, सुत्ने, बस्ने पर्याप्त ठाउँ थियो । तीन तलाका घरमा भुइँ तलामा भान्साबीचको तलामा सुत्ने, बस्ने र बुइँगलमा राखन-धरन गरिन्थ्यो । 

सोचेँ, गाउँ आफ्नै रफ्तारमा परिवर्तन भइरहेको छ, समस्या त मेरो पुरातन मानसिकतामा छ ।

यस्ता घर भूकम्पले भत्काएपछि परिवारका सम्पूर्ण सदस्यले एकएकवटा घर बनाउन सरकारी अनुदान लिए । ती सबैले घर बनाएछन् । एउटै घरमा अटाएका पाँच जनाले यतिबेला अनुदानका कारण पाँचै वटा घर बनाएका छन् । अर्थात् पहिला एउटा घर भएका परिवारले यतिबेला चारवटासम्म घर बनाएका छन् । तर एकजना पाहुना घरमा आयो भने एक रात सुत्न दिन कोठा भने ती चारैवटा घरमा पनि पुग्दैनन् । गाउँभरिका सबैले पुनर्निर्माण प्राधिकरणले दिने तीन लाखबाट केही रकम जोगाउने नाममा एक वा दुई-कोठे घर बनाएछन् । अनुदान रकम लिएर बनाएका घर आफैँमा घर जस्ता छैनन् । साइजमा अलि ठूलो ट्वाइलेट जस्ता छन् । किन यस्तो घर बनाएको भन्‍ने जिज्ञासा भुइँमा नझर्दै एकजना छिमेकी आमाले भन्‍नुभयो, “यो भूकम्पलाई बनाइदिएको बाबु । आफूलाई त घर बनाउने कहिले हो कहिले ?”  

भूकम्पपछि विद्यालय भवन पुनर्निर्माण भएछन् । त्यो पनि सिंहदरबार जस्तै र जत्रै । खेल मैदान पनि टुँडिखेल जस्तै बनेका छन् । पुस्तकालय पनि राम्रै बनेछन् । भौतिक पूर्वाधारको विकास अत्यन्तै राम्रो भए पनि विद्यार्थीको संख्या दिनदिनै घट्दै गइरहेका छन् । एकजना शिक्षकले भन्दै थिए, ‘कुनै कुनै कोठामा एउटा शिक्षक र दुईजना मात्र विद्यार्थी छौँ ।’

सामान्य आँखाले हेर्दा निजी विद्यालयमा विद्यार्थी गएको कारणले यस्तो भएको देखिन्छ । त्यो एउटा कारण पनि होला । तर गाउँमा पाँच कक्षा पास गरेपछि विद्यालय छाड्ने बालबालिकाको संख्या द्रुतगतिमा बढेको रहेछ । कतिपय छोरीहरू आफूखुसी बालविवाह गरेर त छोराहरू कामको खोजीमा ।

छोटो बसाइँ र सानो गाउँमा मात्रै घुम्दा मैले विद्यालय छाडेका आधा दर्जन बालबालिका भेटेँ । एकजना कक्षा ९ को अन्तिम परीक्षा दिनुअघि विद्यालय छाडेका किशोरसँग भेट भयो । उनले भने, ‘एक वर्ष बेकारमा खेर फालेछु दाइ । कक्षा आठ सकाउनेबित्तिकै छाड्नुपर्ने रहेछ ।’ 

म नाजवाफ भएँ ।  गाउँका हरेक किशोर-किशोरी र युवकयुवतीका हातमा स्मार्ट फोन पुगिसकेको छ । स्मार्टफोनमा फेसबुक, टिकटक चलाउन मात्र प्रयोग हुँदो रहेछ । बरु भन्‍न र देखाउन नमिल्ने धेरै भिडियो र कुराकानी सेभ हुँदो रहेछ । किशोर-किशोरीले बोक्ने स्मार्ट फोन फेस लक्ड हुँदो रहेछ । यस्तो मोबाइलमा परिवारका अरु कुनै सदस्यको पनि पहुँच नहुँदो रहेछ ।

नेपाल टेलिकम र एनसेलको डाटा प्याकमार्फत इन्टरनेट जोडिएका स्मार्टफोनमा डाउनलोड गरेर के के राखिएको छ भन्‍नेबारेमा घरका अन्य सदस्य नै अनभिज्ञ रहेछन् । फेसबुक, मेसेन्जर, भाइबर लगायतका सामाजिक सञ्जालमा कोसँग के कुरा हुन्छ भन्‍ने कुरा पनि रहस्यपूर्ण हुने नै भयो । आफ्नो लामो अनुभवलाई एकजना काकाले सुनाउँदै थिए, ‘किशोर किशोरीको मोबाइलमा जति कडा पासवर्ड रहन्छ, किशोर-किशोरीको अन्तिम परीक्षामा उत्तिनै कम अंक आउँछ वा विद्यालय छाडिन्छ ।” 

विगतमा मादक पदार्थ खाने त के छुने कुरालाई पनि गाउँमा निषेध जस्तै थियो । खानेले पनि बजारमा गएर लुकेर खान्थे । वा गोरखापत्रमा बलियोसँग बेरेर झोलामा बोकेर लुकाउँदै घुट्क्याउँथे । अरुले देख्लान् भन्‍ने डर डरमा घुट्क्याउने अवस्था अब परिवर्तन भएछ । देवालीमा काटिएका बोकाको मासु, भात वा चिउरासँग भन्दा टुबोर्ग वा ओल्ड दरबारसँग खानेको संख्या निकै बढेछ । त्यो पनि घरमै । अभिभावकले पनि अहिलेका केटाकेटी भन्दै सामान्य रुपमा लिन थालेछन् । अल्कोहलविनाका घर पाउन मुश्किल बन्दै गएछ ।  

गाउँमा मन्दिर, प्रवेशद्वार र भ्युटावर निर्माण तीव्र गतिमा बढिरहेका रहेछन् । पालिकाबाट बजेट ल्याएर टोल-टोलमा मन्दिर बनाउन गाउँका युवा व्यस्त देखिए । सानो डाँडामा रहेको अग्लो रुखभन्दा अलि साना भ्युटावर गाउँ वरपरका सबै डाँडामा सहजै देखिन थालेछन् । भ्युटावर पुग्ने कसरी ? जाने को ? त्यसको प्रयोजन के ? फाइदा के हुन्छ ? यसबारे कसैलाई मतलब हुने कुरै भएन । कसैलाई यसमा चासो छैन । गाउँ प्रवेशद्वारको औचित्य के हो ? त्यो लगानीले अरु केही पो गर्न सकिन्थ्यो कि ? 

कसैले यस्तो प्रश्न कहीँ सोध्दैन । विकास भनेकै मन्दिर, प्रवेशद्वार र भ्युटावर नै हो भन्‍ने अधिकको बुझाइ देखियो । विकास भनेको गुणस्तरीय शिक्षा र स्वास्थ्य हो, बालबालिकालाई खेल्ने राम्रा पार्क हो, वातावरण संरक्षण पनि हो जस्ता कुरा विद्यालयको किताबका पानामा 
सीमित छन् । पुस्तक पल्टाएर हेर्ने फुर्सदमा कोही छैनन् । पालिकाका प्रमुख मन्दिर, भ्युटावर वा प्रवेशद्वारमा राखिएको शिलापत्रमा आफ्नो नाम लेखाउने लालसामा यस्तै काममा बजेट विनियोजन गर्न लालायित नै हुने भए । छोटो समयमा देखिएका यी त केही प्रतिनिधिमूलक परिवर्तन मात्रै हुन् । सडक, खानेपानी, जस्ता सवालबाट अगाडि बढेको गाउँमा यतिबेला पूर्वाधार मात्र होइन, सांस्कृतिक परिवर्तन अझ रफ्तारमा रहेको देखियो । 

यो परिवर्तनले गाईबस्तु पाल्न छाडेर बजारको डेरीको दूध र घिउ भान्सामा भित्रिइरहेको छ । तीन वर्षमा गाउँको भौतिक र सांस्कृतिक रुपान्तरण साँच्चै नै फरक छ । यस अवधिमा काठमाडौँ र अमेरिकामा बसेँ । यी भौतिक पूर्वाधार विकास देखेर/भोगेर पनि मेरै मानसिकता नबदलिएको पाएँ । गाउँभरि घुम्दा कसैले पनि गाउँको परिवर्तनले फरक धार समातेको बताएनन् । सोचेँ, गाउँ आफ्नै रफ्तारमा परिवर्तन भइरहेको छ, समस्या त मेरो पुरातन मानसिकतामा छ ।

[email protected]


Author

थप समाचार
x