सप्ताहन्त

सत्य सोझो हुन्छ

लक्ष्मीप्रसाद देवकोटा |
साउन १६, २०७८ शनिबार ७:२८ बजे

सत्य प्राकृतिक छ, असत्य अप्राकृतिक । मेरो आत्मा झूटो चाहँदैन । ‘मनुष्यको आत्माभित्र सेतो हुन्छ, सबै कालो हुन्‍न’ ठूला-ठूलाको भनाइ छ । ईश्वर साथ हुन्, मानवात्मा शान्ति-पोषण पाउँछ । असत्य आत्मघाती छ । म झूटो बोल्दा दोहरो चलाकी गर्छ, सत्य बुझ्ने र सत्यलाई छिपाउने । झूटो बोल्नासाथ मभित्र वक्रताको प्रादुर्भाव हुन्छ । अनि झूटोलाई स्वीकार नगरुन्जेल मलाई झूटोउपर झूटो थप्ने प्रवृत्तिहरू बढेर बाङ्गो बाटोमा विभिन्‍न पत्रे भूलभुलैया बनाइदिन्छन् । सच्चा आत्मा झूटोबाट डराउँछ, मिथ्याका निमित्त उसको सामर्थ्य नै हुँदैन । यिनै वक्रताहरू विकृति हुन्, नरकको कुण्ड भनेको यिनैका क्रिया हुन् । यिनमा ज्वलन छ, अँधेरी आतस कम्प ! अनन्त कालको थिचाइले मानवात्मालाई बङ्ग्याएर राख्तछन् ।

त्यो जाति जिउन सक्तैन, जो असत्यको पोषण गर्दछ । उसका अङ्गहरू बाङ्गिदै जान्छन् । विचारधाराहरूले अनन्त वक्रता लिँदा अनन्तको उत्तर भागको शक्तिले सत्यतर्फ नसोझिउन्जेल त्यसलाई दुःख दिँदै लैजान्छन् । असत्यको आधार गरेर जीवनको आशा हुन सक्तैन । संसारको सत्यले त्यस जातिलाई थिचाइमा संहार गर्छ, जो असत्यको वक्रतामा संसारसँग लडाइँ गर्दछ । ज्यादा दीर्घ लडाइँले त्यसका सब अङ्ग नाश हुन सक्छन्, तर थोरै समयको वक्रताले खण्डनाशसँग थोरै अङ्गभङ्गबाट सत्यको होस मिलेर बच्‍न सक्तछ ।


त्यसकारण, हे समयका शिशु हो ! सत्यमा लाग । बाङ्गो नबन, आत्मघात वीरता होइन । फोस्रो इज्जत, रवाफ र महत्त्वले आत्मवञ्चनामा नपस । सत्यको विरुद्ध बहादुरी काम लाग्दैन । तिमीहरू त्यहाँ नास्तिक हुन्छौ, जहाँ सत्य छाडेर बोक्रे बन्छौ । ईश्वर र अनन्तकाल छकिन्‍नन् ।

तिमीहरू सोझो बन, अन्तःकरणको आवाजपछि लाग । धर्म भनेको स्वार्थी झगडा होइन । आत्मविरोधले आफैँसँग लडाइँ गरेर पाताल पुर्याउँछ । डराऊ धर्मसँग, सत्यदेखि, ईश्वरसँग । तलबितलमा नाशहरूका रेखा लेखिएका छन् । तिमीहरू असत्यको आडमा इज्जत राख्न सक्तैनौ, असत्यपछि लागेर स्वर्ग चढिन्‍न, क्षण-क्षणमा ईश्वरसँग सत्यको होस माग ।

म असत्यको अडान लिने जातिलाई एउटा अनौठो मुर्दाको रूपमा चित्रण गर्दछु- जसका नसाहरू उल्टिएका छन्, हड्डीहरू बाङ्गिएका छन्, आँखा उल्टापट्टि लागेका छन्, दाँत किटिएका छन्, होस उडेका छन् । सत्य ओठमा सजिलोसँग आउँदछ, सजिलोसँग हृदयमा बस्तछ । हामीले होस पाउनुभन्दा अघि विश्वमा झल्किन सक्तछ । अरूलाई असत्यद्वारा अहिले गरूँ भन्‍ने चाहिँ आफ्नो आत्मालाई गुम्स्याएर दुःख दिँदै नरकको बाटो चलिरहेछ । तिमीहरू अनन्तलाई के छकाऔला ? आत्मालाई के मारौला ? के अँधेरोमा सधैं राखौला ? ह्वैन, नहिँड असत्यको गाँजामा । चाँडै नै सत्यतिर फर्किहाल !

हे समयका शिशु हो ! सत्यमा लाग । बाङ्गो नबन, आत्मघात वीरता होइन । फोस्रो इज्जत, रवाफ र महत्त्वले आत्मवञ्चनामा नपस । सत्यको विरुद्ध बहादुरी काम लाग्दैन ।

तिमीहरूलाई दुःखको विलास छ । ज्वलन चाहन्छौ । केका निमित्त यति दुःख पाउनु मानिसले ? यदि सत्य जस्तो धन गुम्दछ भने ! तर तिमीहरू सत्य मार्न असत्यमा ढिपीदार बन्दछौ । हे आत्मा, नरिसाओ, तिमीहरूलाई सत्यले यति दिनसम्म छोडिसकेको छ कि सत्यको आवाज सुन्दैमा तिमीहरू च्याँठ्ठिन्छौ र रिसाउँछौ । नरक मीठो छ, स्वर्ग तीतो छ, तर सत्यको जिभ्राले स्वाद लेऊ, मोल उल्टिन्छ । भित्र केही भावना नछिपाऊ, जो तिमी छद्मवेशमा प्रहार गर्न चाहन्छौ, यसले मलाई होइन, तिमीलाई दुःख हुन्छ । तिमी नजल, सत्यमा ठण्डा होऊ, दोमुखे जीवन आफैँ हार खाएर सेलाउँछ । उल्टी-पुल्टीको वेताली यातना खानु मानवविवेक पनि होइन फेरि मानवात्माको आत्मसम्मान पनि होइन ।
सोझो बन । सत्य प्राकृतिक छ, शान्त, धीर छ । कता बढ्ने ? अनन्त अँधेरीतिर कि अनन्त उज्यालोतिर ? असत्यमा आशा नराख ।

नदेखिने तरवारहरू हरहमेशा तिम्रा आशा काटिरहेछन् । धर्म नरोक, आत्माको सत्य नथिच, त्यो एक दिन उल्टेर तिमीलाई उल्टाउन आउनु परमेश्वरको स्वाभाविकै नियम हो । सत्य थिचिंदैन, मर्दैन, नास्तिक आशा काम लाग्दैनन् । यस नीतिको विश्वमा असत्यलाई अनन्त कालसम्म दण्ड छ र मृत्युको पार पनि ! त्यसकारण नबाङ्गिओ ।

धर्म केका निमित्त ? सत्यको स्थापना निमित्त ? असत्यदोषीहरू धार्मिक हुन सक्तैनन् । असत्यमा नास्तिकता छ । परमेश्वर असत्यको मार्गलाई पूरा गर्दैनन् । असत्यद्वारा सुन्दैनन् । असत्यको अभिप्राय राख्नु स्वार्थको दोष हो । के तिमी ईश्वर चाहन्छौ ? के तिमीलाई स्वर्गको राज्य चाहिन्छ ? स्वार्थको लेश छाडेर मकहाँ आऊ र एक उपदेश सुन- ‘सत्य सोझो छ ।’

(महाकवि देवकोटाको पुस्तक ‘लक्ष्मी निबन्धसंग्रह’बाट । निबन्धको शीर्षक ‘सत्य सोझो हुन्छ’ हो ।)


Author

थप समाचार
x