इतिहास चिनाउने सत्प्रयास
साँध जोडिएका दुई छिमेकी ‘रिपब्लिक अफ् इण्डिया’ र ‘जनवादी गणतन्त्र चीन’का पाठकहरू नेपालबारेका आफ्ना जिज्ञासा कसरी मेटाउँदा हुन् ? अनि, विस्तारित छिमेकमा पर्ने बङ्गलादेश, भुटान र पाकिस्तानका बासिन्दा नेपाललाई समग्रमा कसरी चिन्दा हुन् ? दक्षिण एसियाको क्षेत्रीय संगठन ‘सार्क’का सदस्यको लहरमा रहेका श्रीलङ्का, माल्दिभ्स र अफगानिस्तानका जनताहरूमा सार्क सचिवालय रहेको मुलुकका सम्बन्धमा कुन स्तरको कौतूहल होला ? अभिरुचि पक्कै पनि व्यापक होला; गहिरो हुनुपर्छ ।
सगरमाथा (एभरेष्ट) भएको देश, बुद्धको जन्मस्थल र वीर गोर्खालीको उद्गमस्थल । प्राकृतिक एवं सांस्कृतिक विविधताले यस मुलुकको पर्यटकीय आयामलाई फराकिलो पारिदिएको छ । तर यो नै सम्पूर्ण चाहिँ होइन । नेपालको भौगोलिक अवस्थिति आफैँमा एउटा विशेषता हो । एसिया महादेशका दुई ठूला देशको बीचमा रहेको हुनाले नेपालको भू-राजनीतिले पनि अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षित गर्दै आएको छ । यसैसँग गाँसिएको कूटनीति सञ्चालनको पाटो छ जसलाई हेनरी किसिञ्जर जस्ता कूटनीतिज्ञले समेत ठम्याएका रहेछन् । र, सन् २०१४ मा प्रकाशित उनको पुस्तक ‘वर्ल्ड अर्डर’ (विश्व व्यवस्था)मा लेखेका छन् : ठूला देशको चेपुवामा रहेर पनि आफ्नो अस्तित्व जोगाउन सफल कूटनीतिको दृष्टान्त हो नेपाल ।
नेपाल भूगोल मात्र भएको देश होइन, यसको विशिष्ट इतिहास पनि छ । हेनरी किसिञ्जरको देशभन्दा जेठो हो दक्षिण एसियाको यो धरती । परन्तु अन्तर्राष्ट्रिय समुदायमा पुग्न सक्ने भाषामा नेपालबारेका सामग्री पर्याप्त परिमाणमा पु-याउन सकिएको छैन । सरकारी तहबाट बेला-बखत छापिने पुस्तक,पुस्तिका र सचित्र पर्चाले एक तहको आधिकारिकता त दिन सक्लान् तर त्यस्ता प्रकाशन स्वतन्त्र ढङ्गले र अन्वेषणका आधारमा लेखिएका ग्रन्थको विकल्प हुन सक्दैनन् ।
नेपालबारे नेपालीले नै स्तरीय अङ्ग्रेजीमा तयार गरेका पुस्तक पाउन सहज छैन । उत्पादन नै सीमित छ । यस्तो बखतमा केही महिनाको अन्तरालमै दुइटा गहकिला पुस्तक बजारमा आएको आउनु उत्साहको खबर हो । पहिलो, निरञ्जनमान सिंह बस्न्यातको मिहिनेतबाट तयार भएको पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी र दिव्योपदेश, र २) मेजर जनरल पूर्ण बी.सिलवाल लेखक भएको नेपालको राजनीतिक अस्थिरताका आयाम विषयक अनुसन्धानात्मक कृति । बस्न्यात र सिलवाल दुबै विद्यावारिधि ।
आधुनिक नेपालको जग हाल्ने दूरदर्शी राजा पृथ्वीनारायण शाहको जीवनीका लेखक बस्न्यातको ४१३+ पृष्ठको पुस्तक अङ्ग्रेजीमा मात्र छैन; यसैमा फ्रान्सेली पाठ र स्पेनी भाषाको पाठ पनि राखिएको छ । थपमा दिव्योपदेशको मूल नेपाली पाठ जस्ताको तस्तै समावेश गरिएको छ । फ्रान्सेली अनुवादमा लेखकले राम चापागाञीको सहयोग लिएको देखिन्छ ।
बस्न्यात फ्रेञ्च र स्पेनीमा भाषामा पनि दखल राख्ने र कूटनीतिक पृष्ठभूमिका लेखक भएको हुनाले चर्चित पुस्तकमा परेका सूचना, विवरण, तिथि-मिति समेतका कुरामा पाठकहरू ढुक्क हुन सक्छन् ।
दिव्योपदेशमा प्रयोग भएको भाषा उस बखतको नेपाली भाषा हो । कतिपय शब्द र अभिव्यक्ति आजभोलिको प्रचलनमा सहजै नबुझिने अवस्था छ । यस्तोमा पनि प्रकरण छुट्याइ-छुट्ट्याइकन बुझिने गरी लेख्नु र त्यसलाई अङ्ग्रेजी, फ्रेञ्च र स्पेनी भाषामा सम-अनुच्छेदी बनाएर ५२ अनुच्छेदमा प्रस्तुत गर्ने चाँजो मिलाउनु कठिन काम हो ।
पुस्तकको प्राक्कथनमा र अन्य खण्डमा लेखिएको छः-दिव्योपदेशको मूल पाठ नेपाली कागजमा लेखिएको थियो र अक्षर थिए काजी अभिमान सिंह बस्न्यातका । त्यो मूल लिखत कालान्तरमा असनस्थित् अभिमानसिंह बस्न्यातको निवास (तिलङ्गाघर) मा फेला पार्ने बस्न्यात परिवारकै सन्तति बखतमान सिंह हुन् । त्यस लिखतमा रहेको दिव्योपदेशका केही अंश सर्वप्रथम सूर्यविक्रम ज्ञवालीको पुस्तक (दार्जीलिङ,सन् १९३५) मा आए । सबै अंश एकचोटि छपाउने काम भने योगी नरहरिनाथबाट सन् १९५२ (विसं २००९) मा भएको हो ।
पृथ्वीनारायण शाह २० वर्षको उमेरमा गोरखाका राजा भएका थिए, ३२ वर्षसम्म एकीकरणको अभियानमा अगुवा भै ५२ वटा स-साना राज्य मिलाएर नेपाल देश निर्माण गरे । नुवाकोटको देवीघाटमा देहत्याग गर्दा उनको उमेर पनि ५२ वर्षकै हुन पुगेको रहेछ । एकीकरण लर्तरो साहस र रणनीतिले हासिल हुने उपलब्धि किमार्थ होइन । तर उनले गरेको एकीकरण कार्यलाई निजी प्रभुत्व जमाउन पृथ्वीनारायण शाहले गरेको राज्यविस्तार मात्र हो भन्ने अवधारणा पनि एकथरी मानिसले राख्दै आएका छन् यद्यपि उनका समस्त कार्यनीति र कार्यशैलीको अध्ययन गर्नेले यस्तो मान्यतासँग सहमति राख्दैनन् ।
कदाचित् जग्गा-जमीन थप्ने मात्र ध्येय हुँदो हो त पृथ्वीनारायण शाहले आफूले आर्जेको भूमि भाइ-छोराहरूका बीच अंशबण्डा गरिदिन्थे होलान् । त्यसो नगरी उनले नेपाललाई ‘सबै जातको फूलबारी’ बनाए । यसको उल्लेख नेपाली इतिहासका विदेशी अध्येता लुड्विग एफ स्टीलरले समेत गरेका छन् । यिनै विद्वान्ले थपेका छन्ः तुलामा हालेर एकातिर उपलब्धि र अर्कोतिर विफलता राखेर जोख्दा पृथ्वीनारायण शाहलाई विशिष्ट व्यक्तित्व नै मान्नुपर्ने हुन्छ ।
समकालीन विश्वमा एकीकरणका यस्ता कार्य युरोप, अमेरिका सबैतिर भएका छन् । स-साना प्रदेश देशमा परिणत भएका हुन् । जग-जाहेर छ, संयुक्त राज्य अमेरिका नै पहिले १३ वटा अलग-अलग राज्य मिलेर निर्माण भएको हो । आलोच्य पुस्तकको पहिलो खण्डमा राखिएको अङ्ग्रेजी पाठ जम्मा ११७ पृष्ठमा अटाएको छ, बाँकीमध्येका धेरै पृष्ठ फ्रेञ्च र स्पेनी अनुवादले ओगटेको छ । पछिल्ला केही पृष्ठको उपयोग दिव्योपदेशको मूल नेपाली पाठ र सन्दर्भ सूची औ सूचना राख्ने काममा लगाइएको छ ।
लेखकले पाठकहरूलाई छरितो कृति दिनको लागि पाद-टिप्पणी समेतका नालीबेली नराख्ने ढाँचा अपनाएका छन् । विस्तृत विवरणमा रुचि हुनेहरूले यी विद्वान् र इतिहासकारका पुस्तक पढ्नु बेश होला भनेर सुझाउ दिएको देखिन्छ-सूर्यविक्रम ज्ञवाली, बाबुराम आचार्य, योगी नरहरिनाथ, नयराज पन्त, महेशचन्द्र रेग्मी, ज्ञानमणि नेपाल, धनवज्र बज्राचार्य, लुडविग एफ स्टीलर, महेशराज पन्त र सुजित मैनाली । यस बाहेकका इतिहासकारहरूले पनि पृथ्वीनारायण शाह र दिव्योपदेशका सम्बन्धमा लेखेका छन् । लेखकले आफ्नो यस कथनको पुष्टि आफैँले ठाउँ-ठाउँमा अन्य विद्वान्का कृतिबाट झिकिएका उद्धरणबाट गरेका छन् ।
साबिकमा शाही नेपाली सेनाको नामबाट चिनिएको हालको ‘नेपाली सेना’ले पृथ्वीनारायण शाहलाई संस्थापक मान्दछ । त्यस्तै भावका साथ यस पुस्तकका लेखक बस्न्यात भन्छन्ः- आजको परराष्ट्र मन्त्रालयको प्रारुप (पूर्वरूप) लाई संस्थागत आधार तयार पारेको श्रेय कसैलाई जान्छ भने त्यो पृथ्वीनारायण शाहलाई जानुपर्छ । नेपाललाई दुई ढुङ्गा बीचको तरुलसँग तुलना गरेका उनैले हो । ‘चीन बादसाह.सित.ठुलो.घाहा.राष्नु. दषिन को समुन्द्र का बादसाह.सित घाहा त राष्नु. तर. त्यो महाचतुर छ.।’
पृथ्वीनारायणले यी दुबैतर्फका देशसँग दिगो शान्ति कायम गर्नू भनेर उत्तराधिकारी एवं भाइभारदारलाई मार्गदर्शन गरेको प्रष्टै छ । उतिखेर चीन मञ्चु वंशका छैटौं बादशाह मातहत थियो । तिब्बत त्यसैताका चीनको अधीनस्थ भएको हो । नेपालको धेरजसो कारोबार ल्हासासित हुन्थ्यो जहाँ ‘अम्बान’ भनिने चीनका दूतहरूको हालिमुहाली रहन्थ्यो । तिब्बतका शासक सातौं दलाई लामा थिए । दक्षिणमा अङ्ग्रेजको इष्ट इण्डिया कम्पनीले बङ्गाल, विहार र अन्य उत्तरी इलाकामा प्रभुत्व बढाउँदै थिए ।
विदेशमा नेपालका राजदूत र प्रतिनिधि खटाउने चलन पनि पृथ्वीनारायणले नै गरेका हुन् । कलकत्ता, पटना, बनारस, ल्हासा, सिक्किम आदि स्थानमा नेपालका दूत गएका थिए । वरिपरिका देशसँग सु-सम्बन्ध राख्ने कामको थालनी त्यसै बखत भयो । छर-छिमेक र दूरस्थ मुलुकबाट हुनसक्ने हस्तक्षेपलाई रोक्न पृथ्वीनारायण शाहले व्यावहारिक उपायहरू दिव्योपदेश मार्फत सुझाएका छन् । आजभोलिका शासक-प्रशासकले कति निस्स्वार्थ र प्रभावकारी ढङ्गले ती उपायको अवलम्बन गरेका छन्, त्यो बेग्लै समीक्षाको विषय हो ।
यस पुस्तकका सम्भाव्य पाठकहरू को हुन् त ? पुस्तकको भूमिकाको पुछारमा लेखकको यस्तो अपेक्षा भेटिन्छः नेपाल एकीकरणको इतिहास अङ्ग्रेजी, फ्रेञ्च र स्पेनी भाषाबाट अन्तर्राष्ट्रिय समुदाय पुग्ने नै छ । त्यसका अतिरिक्त नयाँ पुस्ताका नेपालीहरू पनि यस पुस्तकबाट लाभान्वित हुनेछन् । विदेशमा जन्मे-हुर्के-बढेका कतिपय नेपाली र नेपालीभाषीहरू त नेपालकै कुरा अङ्ग्रेजीमा पढ्न सहज मान्नु स्वाभाविक हुने नै भयो । कोही कतै फ्रेञ्च र कतै स्पेनीमा अभ्यस्त भैसकेका पनि होलान् ।
अन्त्यमा,
मलेसियामा नेपालका राजदूतसम्मको जिम्मेवारी सम्हालेर (सन् २०१३-१८) ३१ वर्षको कूटनीतिक सेवाबाट निवृत्त लेखक बस्न्यातले आगामी दिनमा समाजोपयोगी लेखन-कार्य चालू राख्ने आशा गरौं ।
@dhrubahari
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया