सप्ताहन्त

‘दि स्टेट अफ नट नोइङ’

लिलाराज खतिवडा |
साउन १६, २०७८ शनिबार १७:५१ बजे

विद्यालय निरीक्षक लवधेशकुमार जैशीको दिमाग खराब भएको थियो । उसको दिमाग खराब भएको छ भनेर शिक्षा मन्त्रालयमा समेत खबर दिइयो । तर मन्त्रालयको सुस्त चालले गर्दा ऊ बर्खास्त हुनबाट बचेको थियो । सरकारका सरोकारवाला पदाधिकारीहरूबीच उसको मानसिक स्वास्थ्यबार छलफल चल्थ्यो । उसको नामका फाइलहरू यताबाट उता पुग्थे । सायद उक्त विद्यालय निरीक्षक रिटायर्ड हुँदासम्मचाहिँ बर्खास्तगीको आदेश उसको कार्यालयमा पुग्छ होला र उसको पागलपनको उपचार हुन्छ होला भनेर केही कर्मचारीहरूले ठट्टा पनि गरे ।

लवधेशकुमार भने खुरुखुरु काम गरिरहेको थियो । आजकल ऊ अत्यधिक दौडधुप पनि गरिरहेको थियो । ऊ तारन्तार आफ्नो मातहतमा रहेका विद्यालयहरूको निरीक्षणमा जान थालेको थियो । दिमाग खराब हुनुपूर्व चाहिँ ऊ विद्यालय निरीक्षणमा खासै जाँदैन थियो । सरकारी जागिर यता कसले ठीकसँग खाइरहेको होला त ? तसर्थ आजकल उसको चालढाल र बोली-व्यवहार देखेर उसका समकक्षीलगायत मातहतका कर्मचारी र जोरीपारीहरू चकित परेका थिए ।


यसैकारणले त उसका समकक्षीहरूलाई उसको दिमाग खराब भएको कुरा थाहा भएको थियो । दिमाग खराब नभई कोही निरीक्षणमा जान्छ ? समकक्षीहरू कार्यालयमा नै बसेर विद्यालय निरीक्षण गर्ने गर्दथे ।
तर लवधेशकुमारका पछिल्ला क्रियाकलापहरूकै कारण उनीहरूलाई उसको मानसिक स्वास्थ्य उपर शंका उत्पन्न भएको थियो । किनभने, ऊ महिनामा तीसै दिन विद्यालय निरीक्षण गर्दै हिँडिरहेको थियो । यसै पनि पागलहरूलाई खुब काम गर्न मन पर्छ । यस्तै पागलहरूले खुब काम गरेरै आज दुनियाँको यो हालत गरेका हुन् । पागलहरू कहिल्यै चुप बस्न तयार हुँदैनन् । उनीहरूलाई त केही न केही काम वा कामको बहाना चाहिन्छ नै । अनि लवधेशकुमार कसरी शान्त बस्न सक्थ्यो होला त ?

उता ऊ प्रत्येक विद्यालय चाहाथ्र्यो र अनेक प्रश्न सोध्थ्यो । अन्टसन्ट प्रश्न सोधेर विद्यालयमा उसले निकै झमेला उत्पन्न गरिदिएको थियो । ऊ जवाफहीन प्रश्न सोधेर सबैलाई हैरान पार्ने गर्दथ्यो । अनि जवाफ नमिलेपछि ऊ सम्बन्धित विद्यालयको रिपोर्ट खराब गरिदिन्थ्यो । पादटिप्पणीमा रातामसीले ‘फलानो विद्यालयका विद्यार्थीलाई केही पनि आउँदैन रहेछ’ भनेर लेखिदिन्थ्यो । वास्तवमा निकै नै कठिन परिस्थिती उत्पन्न भएको थियो ।
एउटा गाउँको विद्यालयमा निरीक्षक लवधेशकुमार जैसीको आगमन हुने खबरले प्रधानाध्यापक रामकुमार बिष्टको सातो गयो । बिष्ट सरको मात्रै होइन विद्यालयका अन्य शिक्षक र सारा विद्यार्थी उसको आगमनको समय नजिक आउँदासम्म डरले काम्न थालिसकेका थिए ।
 
अन्त्यतः ऊ आइपुग्यो । जुन समस्यासँग मान्छेहरू डराउँछन् आखिर त्यो त्यति नै छिटो आइलाग्ने गर्दछ । विद्यालयमा सन्नाटा छाएको थियो । प्रधानाध्यापक, सह प्रधानाध्यापक, अन्य शिक्षक र सारा विद्यार्थीहरूलाई एक ठाउँ भेला पारिएको थियो । अब के सोध्ने हुन् दिमाग खराब भएका निरीक्षक महोदयले ? 

कुनै पागल अलिक राम्रा कुरा गर्नासाथ दार्शनिक कहलिन्छ र दार्शनिकले यदि खराब कुरा गरेको खण्डमा पागल कहलिन्छ ।

खासमा ऊ तुक न बेतुकका प्रश्नहरू सोध्ने गर्दथ्यो । उँचाउँचा दार्शनिक प्रश्न पनि सोध्थ्यो । उँचा प्रश्न ती हुन् जसका जवाफ हुँदैनन् । उँचाउँचा प्रश्न कि पागलहरूले सोध्छन् कि त सोध्छन् दार्शनिकहरूले । यसैकारण जनमानसलाई हेक्का पनि छ कि पागल र दार्शनिक गोत्रया दाजुभाइ हुन् । उनीहरूबीच निश्चय नै घनिष्ठ सम्बन्ध छ । यसै पनि कुनै पागल अलिक राम्रा कुरा गर्नासाथ दार्शनिक कहलिन्छ र दार्शनिकले यदि खराब कुरा गरेको खण्डमा पागल कहलिन्छ । पागल र दार्शनिकमा यसभन्दा ज्यादा फरक सायद नहोला ।

लवधेशकुमारले सन्नाटा चिर्दै भन्यो, ‘भाइबैनीहरू हो, म आज तिमीहरूलाई एकदमै सरल प्रश्न सोध्ने छु । तर अर्को हिसाबमा यो प्रश्न निकै अप्ठ्यारो पनि हुनसक्छ । अप्ठ्यारो यसकारण कि कसैले अहिलेसम्म यसको सही जवाफ दिन सकेको छैन । तर आज म यहाँ, यो विद्यालयमा यस प्रश्नको जवाफ मिल्ने कुरामा आशावादी छु । र, यदि मलाई यस प्रश्नको जवाफ मिलेको खण्डमा म अर्को प्रश्न सोध्ने छैन । किनभने, भात पाक्यो कि पाकेन भनेर एउटा सिता जाँचे पुग्छ । अनि यसको ठीक विपरित, यदि मेरो प्रश्नको जवाफ नमिलेको खण्डमा आज दिनभर म यहाँ अनेक प्रश्नहरूको वर्षा गरिरहने छु ।’

उसको कुराले कक्षको सन्नाटा अरु बढ्न पुग्यो । उपस्थित सबै डरलाई काबुमा लिएर आँखा नझिम्क्याई  उसलाई सुनिरहेका थिए । घोर सन्नाटा चिर्दै उसले प्रश्न सोध्यो, ‘काठमाडाँैबाट एउटा हवाइजहाज साढे पाँच सय किलोमिटर प्रति घण्टाका रफ्तारले नेपालगञ्जतर्फ उड्यो । यसैको आधारमा अब तपाईंहरूले बताउनु पर्ने हुन्छ कि मेरो उमेर कति हो ?’प्रश्न सुनेर सबै चकित भए । उसको प्रश्नमा कुनै तुक नजर आइरहेको थिएन । हवाइजहाज जुनसुकै रफ्तारमा जतासुकै उडे पनि यसमा निरीक्षकको उमेरसँग कुनै सम्बन्ध हुन्थेन । सबै हडबडाए । के जवाफ दिनु यस्तो बेतुके प्रश्नको ?

तर यसैबीच एउटा अर्को समस्या आइपर्यो । जवाफ दिनका लागि एउटा छात्रले हात उठाइदियो । अब त प्रधानाध्यापक अरु बढी हड्बढायो । बेतुके सवालको बरु जवाफ नदिनु जायज हुन्थ्यो । नजाने यो छात्रले अब के जवाफ दिने हो ? जवाफ नदिँदा कम से कम अज्ञानी सिद्ध भइन्थ्यो । यस्तो नाजायज प्रश्नको जवाफ दिन ताम्सिँदा त अब महाअज्ञानी पो सिद्ध भइने भो गाँठे ! यो बालकले के जवाफ देला त ? प्रश्न नै गलत भएपछि जे जवाफ दिए पनि गलत नै त हुन्छ ।

तर अब छात्रले जवाफ दिनका लागि हात उठाइसकेपछि ...
निरीक्षक लवधेशकुमार निकै खुशी भयो र भन्यो, ‘लौ, आज केही होला जस्तो छ । बाबु, उठेर जवाफ देऊ । कति वर्षको भएँ त म ?’
बालक उठ्यो र बडा उत्साहित भएर भन्यो, ‘प्रश्नको जवाफ दिनुअघि तपाईंलाई म के पनि भन्छु भने, मबाहेक दुनियाँमा कसैले पनि यो प्रश्नको जवाफ दिन सक्दैन । यस प्रश्नको जवाफ मलाई मात्रै थाहा छ । तपाईं अहिले बयालिस वर्षको हुनुभयो ।’

बालकको जवाफले निरीक्षक लवधेशकुमार चकित भयो । जवाफ बिल्कुलै सही थियो । अबेर नगरी उसले बालकलाई सोध्यो, ‘कुन मेथडले यो जवाफ दियौ, बाबु ? अब त्यो पनि बताइदेऊ ।’ बालकले सहस्र भन्यो, ‘विधि एकदम सरल छ । तर केवल मलाई थाहा भएको हुँदा अहिलेसम्म तपाईंलाई उक्त प्रश्नको जवाफ मिलेको थिएन । मेरो दाजु अहिले एक्काइस वर्षको भयो । उसको आधा दिमाग खराब छ । तपाईंको पूरै दिमाग खराब रहेछ । त्यसैले तपाईंको उमेर बयालिस वर्ष हो । यो जवाफ केवल मसँग थियो । बुझ्नु भो ?’
   
हामी हाँस्न सक्छौँ विद्यालय निरीक्षक र बालक उपर । तर दुनियाँमा अहिलेसम्म दार्शनिकहरूले जेजति प्रश्न र जवाफ गरे, त्यो सब उक्त विद्यालय निरीक्षकको प्रश्न र त्यो बालकको जवाफ जस्तै हो । जो तथाकथित धार्मिक र आध्यात्मिक मान्छे छन्, उनीहरूका प्रश्न कस्ता हुन्छन् ? मलाई पनि मान्छेहरू अनेक बेतुके प्रश्न सोध्‍ने गर्छन् । जस्तो, ईश्वर कहाँ छ ? के काम गर्छ ? ईश्वरको रुप कस्तो छ ? उसले दुनियाँ किन बनायो ? मरेपछि आत्मा कहाँ जान्छ ? स्वर्ग या नर्क छ कि छैन ? मोक्ष जस्तो कुनै स्थान छ ?

क्रिस्चियनहरूलाई कस्तो लाग्छ भने, उनीहरूको जनसंख्या बढ्दा उनीहरूले जितिरहेका छन् । किनभने अरुको संख्या घटिरहेको छ । अनि अरु हारिरहेका छन् । यसैले सारा धर्महरू आफ्नो जनसंख्या बढाउन लागिपरेका छन् ।

तर सदियौँदेखि यस्ता प्रश्न दोहोर्याउँदा खेरि हामीले त यो पनि बिर्सियौँ कि यस्ता प्रश्न पागलपनका प्रमाण हुन् । यस्ता अड्कलबाजीहरूमा होमिएर जिन्दगीको अमूल्य समय किन खेर फालिरहेछन् मान्छेहरू ? यस्ता वाहियात प्रश्नबारे यहाँ कसले के निर्णय दिने ? मानिलिउँ, कसैले भन्यो, ईश्वर पूर्वमा छ । वा कसैले भन्यो, पश्चिममा छ । निर्णय कसरी लिने ? कता छ ईश्वर ? प्रथमतः ऊ छ के ? यहाँ छ वा छैन दुवै जवाफ खतरनाक र तथ्यविहीन छन् । 
यस्तो मामिलामा एउटै कुरा बाँकी रहन्छ । त्यो हो, पूर्ववाला र पश्चिमवालाबीच कुस्ति वा युद्ध । त्यसपछि जसको शक्ति, उसकै भक्ति ! जित्ने ठीक । हार्ने बेठिक । आज पाँच हजार वर्षदेखि यहाँ यस्तै त हुँदै आइरहेको छ ।

जजसको संख्या बढ्छ उनीहरूलाई जित हासिल भएको आभास हुन्छ । क्रिस्चियनहरूलाई कस्तो लाग्छ भने, उनीहरूको जनसंख्या बढ्दा उनीहरूले जितिरहेका छन् । किनभने अरुको संख्या घटिरहेको छ । अनि अरु हारिरहेका छन् । यसैले सारा धर्महरू आफ्नो जनसंख्या बढाउन लागिपरेका छन् । किनभने शक्तिप्रर्दशनले नै अन्ततः जित तय गर्छ र सत्य र झूटको वकालत गर्छ भन्ने उनीहरूको मान्यता छ । तर के शक्तिले नै सत्यको निर्णय भएको छ त ? के शक्तिले सत्य हासिल भएको छ त ? त्यैले यी अँध्यारोमा चलाइएका तीरहरू हुन् । लागे नि ठीक, नलागे नि ठिक । र, उनीहरू अनेक बेतुके प्रश्न र जवाफको मथिंगल गरेर खरबौँ मान्छेहरूको जिन्दगीको फुटेज नष्ट गरिदिन्छन् । त्यसरी नै जसरी त्यो बालकको दिमाग चलेको थियो । 

त्यो बालकले एउटा अड्कल गरेर निरीक्षकको उमेर बतायो यस्तै हालत अहिलेसम्मका तमाम ‘मेटाफिजिकल थिङकिङ’, आध्यात्मिक चिन्तन र आत्मिक जागरणका जानकारीहरूमा प्रतिस्थापित भएको छ । यी सब यस्तै मुर्ख कुराहरू हुन् । अनेक ‘हाइपोथेसिस’ वा अड्कलबाजी वा बेतुके जवाफहरूले मानिसको दिमाग भुट्ने काम धर्म र अध्यात्म भीरुहरूले गरिरहेका छन् । त्यसैले म तपाईंलाई यो निवेदन गर्न चाहन्छु कि मनुष्यको बुद्धि अनुमानबाट ज्ञानमा पुग्न सक्दैन । र जे जतिलाई हामी ज्ञान भन्छौँ, त्यो सब अनुमानकै महलमा टिकेको छ ।

उपाय के छ त ? 

अज्ञान एक तथ्य हो भन्ने कुराको स्वीकृति । अर्थात्, आफ्नो अज्ञानलाई स्वीकार गर्ने । जान्दिँन भन्ने कुराको स्पष्ट प्रतीति राख्ने । सत्यको खोजमा, शून्यताको दिशामा अनि म जान्दिन भन्ने भावमा आफूलाई स्थित गर्नु अनिवार्य हुन्छ । कठिन छ र यो कुरा ? आखिरमा सत्य पनि यही हो कि म केही जान्दिँन । यसै खाली भावमा अवस्थित हुँदा मात्रै हामी परम सत्यसम्म पुग्न सक्छौँ । तपाईंलाई थाहा पनि छैन होला, यदि म जान्दिँन भन्ने बोध अर्थात ‘स्टेट अफ नट नोइङ’ स्पष्ट भयो भने तपाईंको चित्त एकदमै शान्त हुन्छ । एकदमै सरल हुन्छ । एकदमै स्वतन्त्र हुन्छ । र, शून्यतर्फ जाने उसको क्षमता प्रगाढ हुन्छ ।
ओशो प्रवचन : ‘एक पागल की मजेदार कहानी’बाट भावानुवाद । 
 


Author

थप समाचार
x