प्रज्ञा-प्रतिष्ठानले आफ्नै शब्दकोशमा संग्रहालयको अर्थ किन हेरेन ? कविकुञ्जमा ‘कुञ्ज’को यो हाल
लक्ष्मीप्रसाद देवकोटा (१९६६-२०१६) ५० वर्ष बाँचे । उनी बितेको ६२ वर्ष चल्दै छ । उनको जीवनकाल र मृत्युपछि पनि धेरै मन र मस्तिष्कले उनको चिन्तन गरेका छन् । कागजका अनगन्ती पाना कोरिएका छन् र तिनमा कमीले अक्षरको वीज रोपिएका छन् । धेरै कागज र मसी निजी खर्चिइएका छन् ।
देवकोटालाई अमर बनाउने भनेका अक्षरले नै हुन् तिनमा उनले पढेका र उनले कोरेका दुबैको प्राण रहेको छ । देवकोटालाई भावी पुस्तासँग साक्षत्कार गराउने पनि तिनै अक्षरले हो । त्यसको संरक्षण देवकोटाकै घरमा गर्ने सरकारी प्रयास रहेको छ । तर त्यो काम संरक्षण गरेर होइन विनाशबाट थालिएको छ । सङ्ग्रहालय बनाउन संरक्षण होइन विनाश रोजिएको छ । देवकोटा मेरपछि पनि उनको जीवन खोज्ने घर यी अक्षर कोर्दा धुलीसात भइरहेको छ ।
यस घटनाबाट धेरै मानिस भावुक बनेका छन् । देवकोटाका छोरा पद्मप्रसाद देवकोटा भावुक भएर रोएको समाचार आएको छ । उनीसँग लक्ष्मीप्रसाद देवकोटाको लेखकीय योगदानभन्दा पनि बाबुछोराको नाता बढी छ । उनको भावुकतामा बाबुछोराको पैतृक विरासत पनि जोडिएको छ ।
अर्थात् पुस्तागत सम्पत्ति हस्तान्तरणका पाटा त्यसमा जोडिएका छन् । खासमा देवकोटाको सम्पत्तिका हकदारले देवकोटाको जन्मघर सरकारलाई बेचेका हुन् । बेच्नुपर्ने बाध्यता देवकोटा परिवारलाई थिएन होला सरकारले बेच्न बाध्य बनाएको हो । घरको संरक्षण गर्ने र सङ्ग्रहालय बनाउने भनेर । भइदियो विडम्बना ! सरकारको पहिलो काम देखेर उनका छोरा रुने अवस्था आयो । घर बेच्दा भत्काउन नपाइने सर्त थियो कि थिएन भन्ने प्रश्न पनि उठेको छ । तर अब प्रश्नले पूर्ववत् रुपमा घर ठड्याउँदैन ।
हो, देवकोटाको मैतीदेवीस्थित घर सङ्ग्रहालय प्रयोजनका लागि सरकारले किनेर नेपाल प्रज्ञा प्रतिष्ठानमार्फत सङ्ग्रहालय बनाउने काम थालिएको छ । तर सङ्ग्रहालय कसरी बनाइन्छ भन्ने कुराको अध्ययनका लागि नेपाल प्रज्ञा प्रतिष्ठानले अरु त अरु आफ्नै शब्दकोश पनि पल्टाएन । देवकोटाले सिकाएको अक्षरको आराधना गर्न अलिकति पनि श्रम खर्च गरेन ।
नेपाल प्रज्ञा प्रतिष्ठानको शब्दकोश अनुसार सङ्ग्रहालयको अर्थ “प्राचीन महत्त्वका, दुर्लभ र अनौठा वस्तुहरु बटुलेर राखिने ठाउँ वा घर” हो । अथवा समग्रमा घर नै सङ्ग्रहालय हो । त्यसै अनुसार देवकोटा कुञ्जलाई सङ्ग्रहालय बनाउन लागिएको हो भन्ने बुझिन्छ । अनि स्वाभाविक रुपमा यो पनि बुझिन्छ कि त्यसमा देवकोटाको जन्म, बाल्यकाल, शिक्षादीक्षा, अध्ययन, लेखन, भ्रमण, संवाद, राजनीति, कलाकौशल लगायत जीवनका यावत् पक्षलाई झल्काउने अनौठा र दुर्लभ वस्तु सङ्ग्रह गरिने अनुमान जोकोहीले गर्न मात्र होइन अपेक्षा पनि गर्नसक्छ ।
देवकोटाको घर प्रज्ञाको शब्दकोशले अर्थ्याएको जस्तो आफैमा एउटा “प्राचीन महत्त्वको दुर्लभ र अनौठो वस्तु” हो । सङ्ग्रहालय बनाउन पहिले त्यसकै संरक्षण गरिनु पर्ने हो तर प्रज्ञा प्रतिष्ठानले देवकोटाको घरलाई संरक्षण गरेन । भत्कायो, त्यसो गर्दा देवकोटाको भौतिक घर मात्र भत्किएन देवकोटाप्रति आस्था जोडिएका असङ्ख्य आत्मा भत्किए ।
त्यसरी भत्किएका आत्मालाई भत्काइँदै गरेका तस्बिरले अरु भावुक बनाएका छन् । तीमध्ये सबैभन्दा हृदयविदारक तस्बिर एउटा रहेको छ । तस्बिरमा भत्काइएको घरका इँटामाथि उत्ताने परेको ‘...कुञ्ज’ अर्थात् घर लेखिएको आवरणसहितको पाना देखिने एउटा पुस्तक छ । यो देवकोटाको कृति हो कि होइन यो लेखकलाई थाहा छैन । सामान्य खोजी गर्दा नाममा ‘कुञ्ज’ भएको देवकोटाको कृति पनि फेला परेन । ‘कुञ्जिनी’ चाहिँ देवकोटाको खण्डकाव्य हो तर उत्ताने परेको जर्जर कृति त्यो होइन ।
अनि अलि मन शान्त हुन्छ । मन बुझाउने बाटा र बहाना अनेक हुन्छन् । प्रज्ञाले पनि देवकोटाको घर संरक्षण गरेर राख्नै नसिकने भएकाले भत्काएर सङ्ग्रहालय बनाउनु परेको वहाना देखाएको छ । यस अर्थमा प्रज्ञा सही पनि छ अर्थात् यसो भन्न सकिएला ‘देवकोटाको त घर त थियो नि सङ्ग्रहालय त प्रज्ञाले बनाएपछि न बन्ने हो ।’ क्या गजबको तर्क ! तर संरक्षण र सबलीकरणका अनेक प्रविधि आएका छन् । त्यो किन गरिएन ? त्यसै कसले मान्छ र ?
बिर्सिन खोज्यो फेरि त्यही उत्ताने परेको कृति ‘कुञ्ज’ले नै मन तान्छ । अर्को एउटा प्रश्न थपिन्छ, ‘त्यो उत्ताने परेको कृति देवकोटाको नभए कसको र के थियो त ?’ त्यसमा पनि यो लेखक अज्ञात छ । कुञ्जको अगाडि भाषाका केही अक्षर रहेको देखिन्छ तर पढ्न सकिँदैन । पढ्न नसके पनि यो स्पष्ट छ कि त्यो देवकोटाको घरको दुर्लभ साहित्य हो । त्यसका सर्जक जो कोही भए पनि त्यो देवकोटा र उनको घर अर्थात् ‘कुञ्ज’लाई जीवन्त बनाउने प्राण सञ्चार गर्ने थियो । त्यसका एकएक अक्षर समूहले पुकारा गरिरहेका छन् ‘हामी शब्द ब्रह्म हौँ । हामी नाश नहुने अक्षर हौं । तर हामी दुर्घटित छौँ, हाम्रो उद्धार गर !’ तर पुकारा सुन्ने कसले ? के भन्दै होलान् देवकोटा ?
जन्मेको घर र देवकोटाका सन्ततीका रुपमा रहेका अक्षरको यो अनुनय विनय थाहा पाएको भए देवकोटाको के प्रतिक्रिया हुन्थ्यो ? यो काल्पनिक प्रश्न हो र यसको उत्तर हुँदैन र हुन्छ पनि । भाषा र अक्षरबारे उनको चिन्तन, व्यवहार, आदिका आधारमा उनको उत्तर खोज्ने हो । यस घटनामा राज्य पनि संलग्न भएका आधारमा राज्यसँग उनले गरेका व्यवहार र राज्यले उनलाई गरेको व्यवहारका आधारमा पनि उत्तर खोज्न सकिन्छ । धेरै प्रसङ्ग हुनसक्लान् त्यसका लागि । तर यहाँ उनले नेपाली भाषाको ममताका लागि दिएको अङ्ग्रेजी भाषणको प्रसङ्गलाई आधार बनाइएको छ । घटना विसं २०११ सालको हो ।
विसं २०११ सालमा राजा त्रिभुवनले संसदीय अधिकारयुक्त सल्लाहकार सभा गठन गरेका थिए । त्यसमा लक्ष्मीप्रसाद देवकोटा र कुलचन्द्र कोइराला पनि सदस्य मनोनित भएका थिए । स्वतन्त्र सदस्य चयन भएका देवकोटा विरोधी बेन्चका नेता छानिएका थिए । उक्त सभाको कारबाहीमा नेपाली भाषा सरकारी कामकाजको मानिएको थियो तथापि त्यसको संवैधानिक वा कानुनी व्यवस्था हैसियत थिएन ।
कुलचन्द्र कोइरालाले स्मरण गरेर लेखेको तथा घटाज भट्टराईको सम्पादनको ‘महाकवि देवकोटाका आनीबानी’ नामक पुस्तकमा प्रकाशित सामग्री (पृष्ठ ३४ - ३७) अनुसार त्यसमा तराईवासी सदस्यहरुको आपत्ति रहेको थियो । मैथिली, भोजपुरी, अवधी आदि तराईका भाषा हुँदाहुँदै उनीहरुले हिन्दीलाई मान्यता दिनुपर्ने भन्दै हिन्दीमा भाषण गर्दथे । दुई दिन त्यसैमा विवाद भयो । प्रधानमन्त्री मातृकाप्रसाद कोइराला थिए । विवादपछि तत्कालीन सरकारले नेपालीमा नै बोल्न अभ्यास गर्नुपर्ने र त्यो नभएसम्म आफ्नो विचार नेपाली नआउनेले हिन्दीमा व्यक्त गर्नसम्म पाउने, सदनको कार्यवाही, प्रस्ताव, प्रश्न, विधेयक आदि नेपालीमा नै हुनुपर्ने गरी समस्या सुल्झाएको थियो । तर देवकोटालाई सरकारको उक्त नीति मन परेन । उनी बेन्चबाट उठेर अध्यक्षको अनुमति माग्दै अङ्ग्रेजीमा धडधडाउन थाले । सदस्यहरुले व्यवधान गरे, अध्यक्षले रुलिङ गरे तर देवकोटाको अङ्ग्रेजी भाषण रोकिएन ।
अध्यक्षको रुलिङमा देवकोटाले जवाफ दिएका थिए ‘हिन्दी एउटा देशको अर्धराष्ट्रभाषा नेपालमा बोल्न छूट पाइन्छ भने अन्तर्राष्ट्रिय भाषाको रुपमा मान्यताप्राप्त अङ्ग्रेजी बोल्न किन नपाइने ? हिन्दीलाई राष्ट्रभाषा भन्ने मुलुकमा समस्त कारोबार अङ्ग्रेजीमा हुन्छन्, संयुक्त राष्ट्रसंघमा अङ्ग्रेजी बोलिन्छ, भारतको संसदीय भाषा अङ्ग्रेजी छ, हिन्दी कुन जाति र कन क्षेत्रको मातृभाषा हो, मलाई बताइदिनुपर्यो । हामी अधिकांश सदस्य हिन्दी बुझ्दैनौं, तर यहाँ एक-दुईजना व्यक्ति छाडेर अङ्ग्रेजी नजान्ने सदस्य म देख्तिन ।’
देवकोटाले यसरी भाषण गर्दा उनी उग्र रिसाएको कुलचन्द्र कोइरालाले उल्लेख गरेका छन् । उनका तर्कले सबैलाई तरङ्गित र स्तब्ध पनि पारेपछि स्थिति साम्य पार्न प्रधानमन्त्रीले अर्को सदनसम्म नेपाली बोल्न सिकेर सबै सदस्यले अभिमत व्यक्त गर्ने गरी कुरा टुङ्गिएको थियो ।
सदनबाट बाहिरिएपछि कुलचन्द्र र देवकोटाको संवाद स्मरण गर्दै लेखिएको छ, “बाटामा मैले प्रश्न उठाएँ - ‘गुरु ! आज तपाईँको मूड त साँच्चिै नै सिरियस थियो, तर्कप्रबल । तपाईँको मुख मैले साँच्चै नै देखेको रहेनछु ।’”
जवाफ दिँदा देवकोटा पुनः गम्भीर बनेका थिए रे । उनले भनेका थिए, - ‘प्रजातन्त्र आओस् भन्ने व्यक्ति म पनि हुँ । किन्तु स्वतन्त्रताले पहिले मेरो भाषामा नै छुरी हान्छ भन्ने के थाहा ! जिन्दगीमा सबैभन्दा नरमाइलो दिन सम्झेँ भने आज हो ।’”
अन्येष्टि गर्न लागिएको देवकोटाको कुञ्जमा उत्तानो परेका ‘कुञ्ज’सहितका अक्षर नेपाली भाषाका हुन् । ती अक्षरसहितको अर्थात् देवनागरी लिपिमा लेखिने नेपाली भाषालाई अहिले सरकारी कामकाजको भाषाका रुपमा संविधानले चिनाएको र संरक्षण गरेको छ । त्यही भाषामा अक्षरहरु कोर्दै देवकोटाको घरलाई सङ्ग्रहालय बनाउने निर्णय र भत्काउने टिप्पणी सदर गरिएका छन् । त्यसै अनुरुप भत्काइएको कुञ्जमा इँटामाथि बजारिएको नेपाली भाषाको ‘कुञ्ज’लाई टुलुटुलु नियाल्दै कुलचन्द्रलाई र देवकोटा फेरि भन्दै होलान्, ‘म मरेपछिको पनि नरमाइलो दिन सम्झेँ भने अक्षरहरु उत्ताने परेको आजकै दिनलाई सम्झन्छु !’
छोटो जीवनकालमा देवकोटालाई धेरैले चिने तर धेरैले चिनेनन् । मरेपछि उनलाई जीवन्त बनाउन गरिएको यो प्रयास सराहनीय भए पनि बेढङ्गी र लहडी भयो । त्यसका लागि कसको नियत कस्तो भन्न सकिन्न । जे भए पनि देवकोटाका नाममा भएको यो कृत्य नेपाली साहत्यिको पुरातत्वमा अत्यन्तै अप्रिय घटनाका रुपमा लेखिने छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया