हास्य टेलिशृंखला : महिला हिंसा र यौन कुण्ठाका पोका
‘टेलिभिजनका विभिन्न च्यानलबाट सञ्चालन भएका हँसाउने भनिएका (हास्यशृङ्खला ?) मा बूढाबूढा पुरुष पात्रहरू किशोरी स्त्रीपात्रप्रति व्यभिचारी भएको देखाइन्छ र तिनमा हामी हाँस्नुपर्छ । यिनले सन्देश पनि दिँदा हुन् नि हैन ?’
कवि सीमा आभासको फेसबुक स्टाटस हो, यो । उहाँले फेब्रेवरी २५ अर्थात् फागुन १३ गते बिहिबार नै लेख्नुभएको थियो । मलाई पनि यो विषयले पहिलेदेखि नै छोएको थियो । मलाई पनि यस दिनको घटना राम्रोसँग याद छ । अर्जुन घिमिरे र कुमार कट्टेलद्वारा निर्देशित हास्य टेलिशृङ्खला सक्किगो नि मा देखाइएको दृश्य । मेरो मनमा पनि यही भाव आएको थियो । सीमा दिदीको यो स्टाटस देखेपछि लाग्यो, दिदीले हामी सचेत वर्गको मनमा उब्जने प्रश्नको प्रतिनिधित्व गर्दै यो स्टाटस लेख्नुभयो । त्यसपछि सम्झेँ, नेपालका विभिन्न हास्य टेलिफिल्महरू । जसले नारी पात्रको चरित्रलाई नै भद्दा मजाक बनाएका छन् र उनीहरू समाजका निरीह पात्र हुन् भन्ने सन्देश दिएका छन् ।
त्यही दिन अर्थात् फागुन १३ गतेको सक्किगो नि टेलिफिल्मको अलिकति टेलिदृश्यको विषय कोट्याएर हेरौँ । कुमार कट्टेल (जिग्री) र अर्जुन घिमिरे (पाँडे) यस परिघटनामा मुख्य भूमिकामा थिए भने सँगै देशभक्त खनाल, मधुसूदन पाठक (सीते बा) पुरुष पात्रका रूपमा र रश्मि पाण्डे (माकुरी) नारी पात्रका रूपमा थिए ।
देशभक्त खनाल पाँडेको ससुरा बनेर छोरीको घर हेर्न र केही समय बस्न आउँदा पाँडे पात्रले आफ्नो गरिबीको लाज ढाक्न जिक्रीको घरलाई आफ्नो घर भन्छ र ससुरा अर्थात् देशभक्त खनाललाई चिनाउँछ । उनीहरूको धारणा ससुरा भोलि नै फर्किहाल्ने छन् भन्ने थियो त्यसैले माकुरी र जिग्री (जो पर्दामा आमाछोराका भुमिकामा छन्) पाँडेको घरमा भाडामा बस्ने पात्रका रूपमा प्रस्तुत गरिएको थियो । कथालेखनमा बिडम्बना अब थपिएको छ । माकुरीलाई देखेर देशभक्त खनाल दुई चार महिना त्यहीँ नै बस्ने निचोडमा पुग्छन् ।
अब ससुरालाई लखेट्ने उपायको खोजीमा मधुसूदन पाठक (सीते बा) लाई जिक्रीको नक्कली बा बनेर भूमिका निर्वाह गर्न लगाउँछन् । त्यही मौकामा सीते बाले माकुरीलाई यतिसम्मको हर्कत गरेको देखाइन्छ कि त्यो दृश्य हामी परिवारका बिचमा बसेर हेर्न सक्ने अवस्थामा रहँदैनौँ । मधुसुदन पाठकको वास्तविक उमेर जतिसुकै भए पनि पात्र सीते बा हुँदा त बूढेसकालकै भूमिकामा देखाइएको छ ।
उनले एउटा अर्धवैँश नारीमाथि गरेको त्यो हर्कत कतिसम्म जायज भन्ने कुरा चाहिँ मुख्य हो । यसमा पात्र माकुरीले नारी संवेदनामाथि नै प्रश्न उठ्ने खालको भूमिका निर्वाह गर्नुपरेको देखिन्छ । यो त एउटा नमुना र सानो घटनामात्र हो । भलै सक्किगो नि टेलिसिरियलले अरु अंकमा सन्देशमूलक सामग्रीहरू भने प्रस्तुत गरेको छ । राम्रो पक्षलाई राम्रो पक्ष पनि भन्न सक्छौँ हामी ।
अब कुरा गरौँ अरु केही हास्य टेलिसिरियलहरूको । कान्तिपुर टेलिभिजनमा लामो समयबाट प्रसारण हुँदै आएको टेलिसिरियल हर्के हल्दारका निर्देशक हुन् विष्णु सापकोटा । जो आफैँ दोहोरो भूमिकामा पनि छन् । उनले नै निर्वाह गरेको लाहुरे बा पात्र जहिले युवतीहरूको वरिपरिमात्र घुम्ने वा श्रीमान् घरमा नभएको महिलामाथि आफ्नो कुदृष्टि राख्ने चरित्रमा छ । उनको आफ्नो श्रीमती नभएको तर उनी केटीबिना बाँच्न नसक्ने भूमिकामा देखाइएको छ । त्यस्तै घरबेटी बा, डिठ्ठा साब्, भद्रगोल लगायतका हास्यटेलिसिरियल भनिएका कार्यक्रमहरूमा यस प्रकारको भूमिका औधी मात्रामा देखिन्छ ।
नारीहरू हाम्रो समाजका इज्जत हुन् । नारीको चरित्र भनेको सेतो कपडा हो भन्ने पुरुष नै हुन् । यसमा सानो दाग लाग्यो भने उनीहरूको चरित्रमाथि औँला उठाउने पुरुष नै हुन्छन् । त्यतिमात्र होइन, यस प्रकारको सामग्री प्रसार गर्दा समाजमा पर्ने असर र त्यसले निम्त्याउने दुर्घटनाहरू कस्ता हुन्छन् भन्ने विषय अबको जटिल अवस्था हो । सानो घटना जोड्न मन लाग्यो । केही समय अगाडि धादिङको कुनै (कारणवश जिल्लामात्र तोकिएको छ ।)
स्थानमा एक जना ७० वर्ष वरपरका पुरुषले उनकै नजिकै घर भएको एउटा ४५/५० वर्षकी महिलालाई अहोरात्र फोन गर्ने, घरमा भएका सामानहरू कुनै न कुनै माध्यमबाट महिलालाई दिने गरेको धेरै नै भएको रहेछ । घरपरिवारले थाहा पाएर कुरा गर्दा उनी ती पुरुष घरै छाडेर हिँडेछन् र परिवारलाई नै उल्टो घरमा बस्न नदिएको आरोप लगाउन थालेछन् । यही घटनाबाट पनि थाहा हुन्छ, कता जाँदै छ हाम्रो समाज ?
हो साहित्यले समाजलाई परावर्तन गर्नुपर्छ । समाजमा हुने घटनाहरूलाई जस्ताको तस्तै प्रस्तुत गर्न सक्नुपर्छ अनिमात्र जीवन्त हुन्छ साहित्य । टेलिसिरियल पनि समाजको साहित्य नै हो । यसले हामीलाई जहिल्यै सचेत बनाउन सक्नुपर्छ । सानादेखि ठुला तथा शिक्षितदेखि अशिक्षित सबैले पुस्तक पढेरभन्दा कुनै पनि कुराको भिडियो हेरेर छिटो सिक्छन्, बुझ्छन् र मनमा राख्न सक्छन् ।
मनोज गजुरेलका अनुसार, मनोरञ्जन प्रस्तुत गर्दै गर्दा सबै पक्षलाई समेट्न नसकिएला वा त्यसबाट धेरै सन्देश दिन पनि नसकिएला तर प्रस्तुत गरिएका विषयहरूले सकेसम्म समाजमा सकारात्मक सन्देश दिनुपर्छ ।
पाठ्यसामग्रीले भन्दा श्रव्यदृश्य सामग्रीले मानिसको मस्तिष्कमा छिटो स्थान बनाउन सक्छ । त्यसैले त आम मानिसले पुस्तक पढ्नभन्दा रेडियो सुन्न तथा रेडियो सुन्नभन्दा टेलिभिजन र युट्युब हेर्न रुचाउँछन् अझ । त्यसमा पनि नेपालको ग्रामीण क्षेत्रमा त बूढा आमाबुबाहरूसँग भएको मनोरञ्जनको सबैभन्दा उपयुक्त साधन भनेको त टेलिभिजन नै हो । टेलिभिजनमा प्रसारण भएका कुराहरूलाई उनीहरूको बुझाइ सोझो हुन्छ र जस्तो प्रस्तुत गरिएको हुन्छ उनीहरूले त्यस्तै हो भन्ने बुझ्दछन् ।
हास्यव्यंग्यको पहिलो धर्म भनेको मनोरञ्जन दिनु हो, समाजमा भएका कुरालाई जस्ताको तस्तै उतार्नु हो भन्ने विचारमा हुनुहुन्छ सिस्नुपानी नेपालका कार्यसमितिका एक सदस्य सरोज घिमिरे । उहाँका अनुसार, ‘यस प्रकारको सामग्री प्रस्तुत गर्दा हेर्ने दर्शकले चाहिँ ए यस्तो हुँदो रहेछ । हामीले यस्तो गर्न हुन्न है भन्ने बुझ्नुपर्छ । यसलाई नकारात्मक तरिकाले हेर्न भन्दा पनि देखाएको जस्तो हुनुहुँदैन भन्ने पक्षमा रहनुपर्छ । हास्यव्यंग्यमा कुनै पनि कुराको समाधानभन्दा समाजका परिघटनालाई प्रस्तुत गर्नमा नै जोड दिइने हो ।’
उहाँको विचारसँग सहमत हुन सकिएला हामीले व्यंग्यलाई व्यञ्जना अर्थ लगाउँदा । तर ग्रामीण भेगका सामान्य मानिसहरूको बुझाइ अभिधा (सामान्य) नै हुन्छ । यही विषयमा लामो समयसम्म व्यंग्य साहित्यमा कलम चलाइरहनुभएका साहित्यकार नरनाथ लुँइटेलको भने अलि फरक विचार छ । उहाँका अनुसार हास्यव्यंग्यले समाजका कुराहरू उठाउने त हो तर त्यहाँ उठाइएका विषयवस्तुको समाधान पनि देखिनुपर्छ ।
बूढा पुरुषहरू किशोरी तथा भर्खरका जवान केटीहरूप्रति आकर्षित भएको देखाइएको अवस्थामा भलै पुरुषमात्र गलत नहोलान्, युवतीहरूले पनि आफू बूढा मानिसहरूको पछि लाग्न पाए बेपर्वाह पैसो खर्च गर्न पाइन्छ भन्ने सोच बनाएका होलान् । तर त्यसो भन्दैमा यस प्रकारको सामग्रीहरू प्रस्तुत गर्दा कथा लेखन र निर्देशनमा बहुत् ख्याल गर्नुपर्छ । यस्ता विषयहरूको उठान गर्ने मात्र नभई त्यसले समाजमा पार्ने असर, निम्त्याउने दुर्घटना प्रस्तुत गरी त्यस प्रकारको घटनाहरूलाई न्यूनीकरण गर्न केकस्ता उपायहरू अपनाउनुपर्छ भन्ने पक्षमा पनि काम हुनुपर्छ । समाजमा सबै सकारात्मक सोच भएका मानिसहरूमात्र रहन्नन् । यस प्रकारको सामग्रीको प्रसारणले घरपरिवारमा फाटो ल्याउने, परिवारमा आन्तरिक कलह सिर्जना गर्ने जस्ता कार्यहरू पनि भएका छन् ।
समाजमा विभिन्न पुस्ताहरू हुन्छन् । सबैभन्दा संवेदनशील पुस्ता भनेको बालबालिका र किशोरावस्था हो । उनीहरू समाजमा भएका सकारात्मक र नकारात्मक पक्षलाई सबैभन्दा छिटो टिप्न सक्छन् र अनुकरण गर्न सक्छन् । त्यसरी अनुकरण गर्दा उनीहरूले हेर्ने सामग्रीमा समस्याको उठानमात्र नभई समाधान पनि हुन जरुरी छ । लामो समयसम्म बालसाहित्यमा कलम चलाउनुभएकी साहित्यकार प्रभा भट्टराई पनि बालबालिकाले राम्रो सन्देश पाउने सामग्रीहरू प्रसारण हुनुपर्ने पक्षमा देखिनुहुन्छ ।
उहाँको विचारमा आज बनेका चाहे फिल्म होस् चाहे टेलिफिल्म, त्यसको निर्माण र प्रसारणले बालबालिकामा कस्तो प्रभाव पार्छ भन्ने पक्षमा निर्माता र निर्देशक बढो सचेत रहनुपर्छ । आजका बालबालिकाहरू भोलि गएर नकारात्मक मानसिकता बोकेर नहुर्कियून् भन्ने कुरामा जहिले सचेत रहनुपर्नेमा जोड दिनुहुन्छ । त्यस्तै साना बालिकाहरूले टिभी हेर्दै गर्दा हामी पछि गएर सुरक्षित नहुँदा रहेछौँ वा हामी किशोरावस्थामा पुगेपछि त हामीलाई बूढा मानिसहरूले जिस्क्याउँदा रहेछन् भन्ने त्रास उनीहरूको मनमा उब्जिन सक्छ भने अर्को पाटो ए हामीले बूढा मानिसहरूलाई जिस्क्याएर उनीहरूको भावनासँग खेल्न सक्दा रहेछौँ भन्ने प्रकारले भावनाको विकास हुन सक्छ । त्यसैले यस प्रकारको सामग्री प्रस्तुत गर्दा बहुतै ख्याल गर्नुपर्दछ र यस प्रकारको नकारात्मक विचारको विजारोपण हुन दिनुहुँदैन ।
समाजमा हरेक पुस्ताको सुरक्षा र इज्जत हुन्छ । हरेक मानिसको अस्तित्व छ । हाम्रो समाजमा धेरै कुराहरूको बेथिति छ । टेलिसिरियलहरूमा उठाउन सकिने सामग्रीहरू धेरै छन् । एक पुरुष र नारीको अनैतिक सम्बन्धमात्र हास्य शृङ्खलाहरूको विषयवस्तु नबन्न सक्छन् । समाज परिवर्तन गर्ने हो भने समाजका निरीह पात्रलाई नै हाँसोको पात्रका रूपमा प्रस्तुत गर्न नहुने कुरा हास्यव्यंग्यका प्रखर व्यक्तित्व मनोज गजुरेलको छ । गजुरेलका अनुसार, मनोरञ्जन प्रस्तुत गर्दै गर्दा सबै पक्षलाई समेट्न नसकिएला वा त्यसबाट धेरै सन्देश दिन पनि नसकिएला तर प्रस्तुत गरिएका विषयहरूले सकेसम्म समाजमा सकारात्मक सन्देश दिनुपर्छ ।
यदि त्यो हाँसोकै लागि मात्र हो भने पनि त्यसले नकारात्मक सन्देश चाहिँ दिनुहुँदैन । पत्रिकाको सम्पादकीय, कुनै पनि देशको विधान भएजस्तै यस हास्यव्यंग्य क्षेत्रको पनि आफ्नै विधान हुनुपर्छ र कति कुरा प्रस्तुत गर्ने भन्ने पक्षमा चाहिँ सचेत हुन जरुरी छ । कतिपय अवस्थामा सचेत हुँदाहुँदै पनि औँला उठाउने स्थान हुनसक्छ । यति हो, नियत नै खराब हुनु र राम्रो गर्न खोज्दादोज्दै पनि कमी कमजोरी हुनुमा भने धेरै फरक छ । कुनै पनि यस्ता सामग्रीहरूको निर्माण र प्रसारण गर्दा समाजमा पीडित समुदायलाई नै हामीले हाँसोको पात्र पो बनाएका हुन्छौँ । जसले गर्दा उनीहरूप्रति झन् नकारात्मक सन्देश पर्न सक्छ । त्यसैले व्यंग्य गर्दा समाजको कस्तो वर्गलाई छान्दा कसरी व्यंग्य गर्ने भन्ने कुरामा चाहिँ सचेत रहनुपर्छ ।
मानिस जहिले पनि संवेदनामा बाँच्ने प्राणी हो । उसको साथी दुःखमात्र हुँदैन । उनीहरूलाई मनोरञ्जन पनि चाहिन्छ । त्यस्ता मनोरञ्जनका सामग्रीहरू प्रस्तुत गर्दा आम दर्शकहरूले आफूमा साधारणीकरण गर्न सकून् र त्यस्ता सामग्रीहरूले समाजमा सकारात्मक सन्देश दिन सकोस् । कुनै पनि चरित्र निर्वाह गर्दा कलाकार आफू पनि सचेत रहन जरुरी छ । मैले खेल्दै गरेको भूमिकाले समाजमा कस्तो प्रभाव पार्छ ।
मैले निभाएको भूमिका म आफ्नो परिवारसँग बसेर हेर्न सक्छु कि सक्दिन वा त्यही घटना आफ्नो परिवारमा भयो भने त्यसले कस्तो प्रभाव पार्ला भन्ने पक्षमा सचेत हुन नितान्त आवश्यक छ भने ठुला मिडियाहरूले पनि आफ्नो मिडियाबाट प्रसारित हुने सामग्रीहरू कस्ता छन् र त्यसले समाजमा नकारात्मक प्रभाव पार्छ कि पार्दैन भन्ने कुरामा चाहिँ सचेत हुन जरुरी देखिन्छ । मनोरञ्जनात्मक कार्यक्रमहरू बरु मनोरञ्जनमा मात्र सीमित रहोस् तर यति हो त्यसले समाजमा नकारात्मक सन्देश नदेओस् भन्ने खालको चाहिँ हुनुपर्दछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया