सप्ताहन्त

बाध्यात्मक आप्रवासनले विक्षिप्‍त समाजको चित्रण

समर्पण प्रयास |
पुस ११, २०७७ शनिबार ९:४४ बजे

प्रवास, मानसिक अन्तरद्वन्द्वले ग्रस्त ‘अलि’ नामक प्रतिनिधिपात्रको जीवनका घटनाक्रममाथि केन्द्रित भएर लेखिएको एक औसत उपन्यास हो । अलि पाकिस्तानको लाहोर सहरका बासिन्दा हुन्छन् । कथावस्तु छनोटका हिसाबले उपन्यासकारले श्रम आप्रवासनको महत्वपूर्ण सामाजिक आयामलाई छानेका छन् । 

आप्रवासनभित्रको सामाजिक, पारिवारिक र वैयक्तिक मनोविज्ञानको चित्रण उपन्यासमा पाइन्छ ।  कथामा अटाएका पात्रहरूलाई उनले सकेसम्म न्याय गर्ने प्रयास गरेका छन् । आधुनिकताका नामकरण गरिएको बदलिँदो समाजको क्यानाभासभित्र  विभिन्न खाले पात्रहरू कथाभित्र पनि सजीव लाग्छन् । उपन्यासको कथावस्तु वर्तमान समयको हो, धेरैजसो सन् २००० पछिको । 


लाहोरमा इन्जिनियरिङ उत्तीर्ण गरी त्यहीं काम गरिरहेको अलिलाई परिवारको बढ्दो खर्च आवश्यकता, भविष्यको सुरक्षा, श्रीमती जाराको सल्लाह आदि विविध कारणले  बढी आर्जन गर्नका लागि क्यानडाको प्रवासी जीवनमा पु-याउँछ । त्यहाँ सबै प्रवासीहरूको पीडा लगभग समान छ । अलिसँग प्रवासमा प्रेम सम्बन्धमा आएकी भारतीय महिला रिया श्रीमान् दुर्घटनामा परेर काम गर्न नसक्ने भएपछि आफ्नो परिवार चलाउन रोजगारीका लागि क्यानडा पुग्छिन् । राष्ट्र–राष्ट्रबीच शत्रुतापूर्ण सम्बन्ध भए पनि क्यानडाको टोरोन्टोस्थित एक स्टोरमा काम गर्ने अलि र रियाबीच प्रगाढ प्रेम सम्बन्ध कायम हुन्छ । अन्य प्रवासी समाजको डरले विवाहोत्तर सम्बन्धलाई लुकाउनुपर्ने बाध्यता दुवैलाई हुन्छ । अलि र रिया आ–आफ्ना परिवारभन्दा बाहिर आफ्नो व्यक्तिगत जीवनको पनि कल्पना गर्छन् । तर दुवै आ–आफ्नो परिवारसँग प्रतिबध्द हुन्छन् । 

तर अलि विदेश गएपछि लाहोरमा छोरी आयशा र बिरामी देवर आकिबसँग रहेकी उनकी श्रीमती जाराको कलेज दिनका प्रेमी सविर भाइजानसँग हिमचिम बढ्न थाल्छ ।विवाहोत्तर सम्बन्धमा जाराले सविरसँगको प्रेमबाट आफूलाई मुक्त गर्न सक्दिनन् र उनीसँगै भाग्छिन्– प्रवासी हुन्छिन् । परिवारको अवधारणा व्यक्तिहरूलाई बाँध्ने एउटा बन्धन मात्र हो र वास्तवमा हरेक व्यक्ति आफ्नो जीवनमा सबै हदसम्म वैयक्तिक स्वतन्त्रता उपभोग गर्न तल्लीन हुन्छ ।

एसियाली देशका श्रम आप्रवासीहरूको पारिवारिक समस्यामाथि घुमेको हुँदा यसलाई ठूलो भूगोलको साझा समस्याका रूपमा नेपाली पाठकले बुझ्न पाउँछन् । 
 

परिवार, समाज, नातासम्बन्धको बन्धनले मानिस बाँधिएको हुन्छ र यसले निर्धारण गरेको मूल्य मान्यताभित्र हिँडिरहेको हुन्छ भन्ने दलिल उपन्यासकारले पेस गरेका छन् । अलि स्किजोफ्रेनिया नामक रोगका बिरामी पनि हुन् । उनले तनाव या दबाबमा कहिँलेकाहीँ आफ्नो मनभित्र गुज्रिरहेका कुरालाई लुकाउन नसकेर अञ्जानमै त्यसलाई ओकल्दिन्छन् । 

संसारको पिछडिएको क्षेत्रमध्येको एक दक्षिण एसियाली देशहरूको अवस्था करिब समान छ । त्यसकारण उक्त कथावस्तु नेपाली समाजसँग पनि मिल्दोजुल्दो छ । अलिलाई प्रतिनिधि पात्र बनाएका लेखकले उनको साथ र संगतमा उस्तै समस्यामा रहेका नेपाली र भारतीयहरूलाई पनि सहायक पात्र बनाएका छन् । रोजगारीका लागि प्रवासमा रहेकाहरूप्रति सम्बन्धित देशका नागरिकको दृष्टिकोणलाई पस्कन एकजना क्यानेडियन विलियमलाई लेखकले अघि सार्छन् ।

विलियमको बुझाइमा तेस्रो विश्व या अन्य मुलुकहरूबाट मानिसहरू यही रफ्तारमा विकसित मुलुकमा रोजगारीका लागि जाँदा उक्त मुलुकका नागरिकलाई अवसरको कमी त भएको छ नै, दोस्रो त्यी देशहरूले आफ्ना युवा जनशक्तिको प्रयोग गर्न पाइरहेको छैन र युवाहरूको सार्थक हस्तक्षेप बिना त्यी मुलुकका समस्याहरू ज्यूँका त्यूँ रहनेछन् । 

श्रम आप्रवासनमा पुगेका उनका साथी आहिलको परिवारमा देखिएका घटनाक्रम, ट्याक्सी चालकको काम गर्ने अलिका आफन्तहरूको पाखण्डपूर्ण जीवन, भारतीय महिला रिया र नेपाली मूलका रञ्जनको प्रवासी जीवनलाई लेखकले सहज ढंगले उतारेका छन् । पाकिस्तानी पुरुष अलि र भारतीय महिला रियाको विवाहोत्तर प्रेम सम्बन्धले कथालाई थप मसलेदार बनाएको छ । 

एकान्तपन अनि मानव सुलभ वासनाका कारणले नजिकिएका अलि र रियाको सम्बन्धमा उनीहरूको मूलका प्रवासी समाज बाधक भइदिन्छ । डरै डरमा अलिले रियासँगको सम्बन्धलाई क्रमशः कटौती गर्छन् । परिवारप्रतिको प्रतिवध्दता पुरा गर्न स्वदेश फर्कने मुड बनाउँछन् र परिवारलाई नै पत्तो नदिई स्वदेश फर्किन्छन् । अलि फर्केको दुई महिनापछि उनकी श्रीमती जारा किशोरी छोरीसमेत लिएर सुविरसँग भाग्छिन् ।

यसलाई सम्हाल्न अलिलाई निकै गाह्रो हुन्छ । समाजमा कुरा काटिने भयले उनी केही दिन घरमै अलप हुन्छन् । जाराले आफूलाई किन छाडिन् भन्ने सोच्दासोच्दै त्यसको उत्तर नभेटेर कायल हुन्छन् । न आफूमा, न जाराको माइती कतैबाट यसको समाधान पाउँदैनन् । आफूलाई व्यस्त राख्न व्यवसाय गर्न थाल्छन् । विस्तारै समाज अरु मुद्दामा केन्द्रित हुन्छ ।

उनको परिवारको आलोचना कम हुन थाल्छ । अलिलाई छाडेर सुविरसँग भागेकी जारा अमेरिका पुग्छिन् । सात वर्षपछि श्रीमतीबाट अलिलाई छोरीको विवाहको निम्ता आउँछ । उनी आफ्नी छोरीको विवाहका लागि न्युयोर्क पुग्छन् । त्यहाँ पुगेपछि मात्र जाराले छाडेपछि सात वर्षदेखि हुँडलिएको उनको मन शान्त हुन्छ । सुविरले त्यहाँ पु-याएको केही समयअघि जारालाई छाडिसकेको हुन्छ । आमाछोरी काम गरेर जीवन गुजारा गर्छन् । 

जारा र अलिले एकअर्कासँग प्रायश्चित गर्छन् । अमेरिका हुँदै क्यानडा पुगेर आफ्नी प्रेमिका रियालाई भेट्ने सोचमा लाहोरबाट न्युयोर्क उडेका अलि रिया भारत फर्किसकेको सूचना पाएर अमेरिकाकाट सीधै लाहोर फर्कन्छन् । जीवनका यी सबै घटनाक्रमले अलिलाई जीवनका, सम्बन्धका, परिवारका, समाजका सबै भ्रमबाट मुक्त हुन्छन् । यद्यपि, उनी लाहोर फर्केपछि जारालाई लाहोर नै बोलाए या बोलाएनन् । जीवनको उत्तराध्र्दतिर कसरी रहे भन्ने पाठकको कौतुहलकै बीच उपन्यास टुंगिन्छ । 

उपन्यासका पात्रहरूको जीवनका कथालाई अघि बढाउने क्रममा खास कालखण्डको चित्रण गर्ने क्रममा उपन्यासकारले २७ डिसेम्बर, २००७ मा पाकिस्तानी नेतृ बेनजिर भुट्टोको हत्याकाण्डको प्रसँग राखेका छन् । उपन्यासका प्रमुख पात्र अलिले पाकिस्तानमा तनाव बढ्न सक्ने भन्दै आफ्नो परिवारलाई सचेत र सजग रहन गर्छन् । 

यसका अलावा लाहोरको समाज, घटनाक्रम, परिवेशलगायतका विषयमा धेरै विषयवस्तु छैन । लाहोर सहरका पात्र अलिलाई छाने पनि पाकिस्तानी परिवेशसँग लेखक खासै भिजेको पाइँदैन । यद्यपि क्यानडाको क्विन्स विश्वविद्यालयमा अध्ययन गरेका लेखकले अलि बस्ने, उनले काम गर्ने, रिया नामक पात्र बस्ने स्ट्रिटको नाम, उनीहरूको भेटघाट हुने स्थानहरूको नाम उल्लेख गरेर त्यसको स्थानीयकरण र सजीवता ल्याउने प्रयास गरेका छन् ।

उपन्यास फिल्मी शैलीमा लेखिएको छ । अलि नामक पात्रभित्रको अन्तद्र्वन्द्वमा लेखकले कुनै पनि विषयमाथि हुने विमर्शमा दुवै तर्फी पाटाहरू उल्लेख गरेका छन्, हुँदाहुँदा यो उपन्यासलाई संयोगान्त मान्ने कि वियोगान्त ठान्ने आ–आफ्ना व्याख्या हुन सक्ने मझदारमा ल्याएर उनले उपन्यासको अन्त्य गरेका छन् । उपन्यासकारले छानेको कथावस्तु नौलो होइन ।

खाडी र मलेसियामा रोजगारीमा गएका नेपाली परिवार र समाजले भोगेका यथार्थमा आधारित यस्ता कथावस्तुमाथि धेरै कृतिहरू लेखिएका छन् । उनको कथावस्तु भने सिंगो दक्षिण एसियाली देशका श्रम आप्रवासीहरूको पारिवारिक समस्यामाथि घुमेको हुँदा यसलाई ठूलो भूगोलको साझा समस्याका रूपमा नेपाली पाठकले बुझ्न पाउँछन् । 

पुस्तकको नाम : प्रवास 
विधा : उपन्यास 
लेखक : सुमित शर्मा समीर 
मुद्रण : सुरज प्रिन्टिङ प्रेस, काठमाडौं 
संस्करण : पहिलो, २०२०


Author

थप समाचार
x