शब्दसित खेलिरहनुको (कु)लत छु म
सर्वप्रथम, म एउटा सामान्य मान्छे हुँ । अरूजस्तै । मभित्र अनेक भावना, विचार, दुःख–सुख, आरोहअवरोह, चिन्ता, सपना आदि छन् । जीवन भोगाइका तीतामीठा अनुभव छन् । यी सारा कुरा कसैलाई भन्न चाहन्थेँ । तर सकिनँ । तसर्थ म आफ्ना कथाव्यथा कसैले भनिदियोस् भन्ने चाहन्थेँ । सोच्थेँ, कसैले लिपिबध्द गरिदिएको होस् । आफ्ना मुद्दा मूलधारमा स्थापित भएको हेर्न चाहन्थेँ । यसरी आफूलाई खोज्दै म पुस्तकको जगत्मा पाइला टेक्न पुगेँ । पुस्तकका ठेलीमा घुसेको थिएँ ।
हरेक किताब पढ्न थालेँ । जुन मेरो हातमा पर्न आएँ । यसैगरी पुस्तकालयसँग पनि जोडिन पुगेँ । आजकाल कुनै दिन पनि म पुस्तक नपढी बस्नै सक्तिनँ । पुस्तकका पात्र, परिवेश र कथा मलाई सजीव लाग्छ । प्रत्येक पुस्तक म जीवनझैँ प्रेम गर्छु । प्रत्येक शब्दलाई म सम्मान गर्छु । किताबका अक्षरमा आफ्नो खोज अझै सकिएको छैन । यो खोज त्यतिबेलासम्म चलिरहन्छ । जतिबेलासम्म म आफूलाई प्राप्त गर्ने छैन । कहिलेकाहीँ । लाग्छ, यो खोज कहिल्यै समाप्त हुँदैन । दौडिरहेछु, एउटा पुस्तकबाट अर्को पुस्तकमा । आफैँलाई पुस्तककै जगत्मा समाहित गर्दै ।
पुस्तकले जीवनलाई बृहत् कोणबाट नियाल्न सिकाएँ मलाई । एउटै विषयवस्तुमा दुई भिन्न विचारसमेत सही हुन्छन् भन्ने स्वीकार्न विवश तुल्याए । अनगन्ती विषयबारे बुझाएँ । तर, ती सबै प्राप्त थिएनन् । अधुरा थिए । थोरैले मात्र मेरा भावना समेट्न सके । केही हृदयका वरपरसम्म त पुगे । तर, गहिराइमा हैन । केहीले समयको बर्बाद गरे । तर, तिनीले एउटा ज्ञान दिए । कमसेकम मेरा रुचि र अरुचिका क्षेत्र चिनाएर गए ।
त्यसैले म सधैँ ऋणी र आभारी छु पुस्तकसँग । फेरि पनि कुरा सकिएको छैन । तिनीले मैले देखेका, भोगेका पात्र, परिवेश र कथाबारे बताउन असमर्थ थिए । मलाई एक्लाएका थिए । कालान्तरमा । कताकता मेरा कथा पछाडि परेको महसुस गर्न थाले । तत्पश्चात् मैले कलम उठाएको हुँ । र, व्यक्त गर्न खोजेको हुँ आफूलाई शब्दमार्फत् । म कुन विषयमा लेख्छु । यो कुनै सवाल नै हैन । म तमाम विषयमा कलम चलाउँछु । जुन मैले पढ्न चाहेको थिएँ । तर, पाइनँ ।
कुनै विशेष कामधन्दा छैन । तर, सधैँ व्यस्त हुन्छु । एक्लोपन, सन्ताप, उदास, पीडा, यातना, आशा, निराशाले थिचिएको छु म । उठ्नै नसक्ने गरी ।
शब्दसँग खेल्छु म । घोरिन्छु, छटपटिन्छु र स्वपीडामा हुन्छु । हृदयका भावना नउत्रन्जेल लेखिरहन्छु । लेख्छु, फ्याँक्छु । अनि फेरि लेख्छु । लेखनमा मैले दुःख स्वीकारेको छु । त्यसैले त म हरबखत एकान्तमा हुन्छु । घण्टौँ झ्यालबाट घोत्लिन्छु । निरुद्देश्य गल्लीमा यताउति बरालिन्छु । सोच्नका लागि कुनै कुरा हुन्न । तर, सोचिरहन्छु । कुनै विशेष कामधन्दा छैन । तर, सधैँ व्यस्त हुन्छु । एक्लोपन, सन्ताप, उदास, पीडा, यातना, आशा, निराशाले थिचिएको छु म । उठ्नै नसक्ने गरी । झट्ट देख्दा म सकुशल छु । तर, म रोगीझैँ भएको छु । यो मेरो दुर्भाग्य, विडम्बना केही हैन । म लेख्नको आनन्दमय पीडामा छु । हजारौँ विकल्पमध्ये मैले चुनेको मार्ग हो यो ।
म हरेक वाक्य र शब्द तौलिन्छु । कुन वाक्य, कुन शब्दले मलाई अभिव्यक्त गर्न चुकेका छन् । कुन अनुच्छेद मेरो भावनाको सीमा बाहिर उभिएका छन् । ती सबैलाई काट्छु, छाँट्छु । छानीछानी वाक्यको गठन गर्छु । चाहे त्यो वर्षाैदेखिको लेखनको प्रतिफल नै किन नहोस् । त्यसैले त म एउटा सिंगो पाण्डुलिपि फोहोरको टोकरीमा फ्याँक्ने सामथ्र्य राख्छु, आगोमा जलाउने दुस्साहस गर्छु वा पानीमा बगाउने आँट गर्न सक्छु ।
म लेख्नमा बारम्बार हराउँछु । कहिलेकाहीँ । आफैँले बनाएका पात्र र परिवेश यथार्थ ठान्छु । छुट्टाउनै नसक्ने द्विविधामा पर्छु । यथार्थ र कल्पनाको संसार । होटल, पसल, गोरेटो, भीड, यात्रा फेरि चिहान । जहाँजस्तो परिबन्दमा पनि म सोचमग्न हुन्छु । पात्र र परिवेशको खोजमा भौँतारिएको पाउँछु आफूलाई ।
लेखनको माध्यमबाट म जगत्सँग सम्बन्ध स्थापना गर्छु । जुन समाजमा जन्मिएँ, हुर्किएँ । त्यहीँ समाजसँग जोडिन प्रयत्नशील छु । लेखक समाजबाट टाढिएर लेख्न सक्तैन । तसर्थ म समाजमा रहन्छु । र, हरेक शब्द सामाजिक हितमा खर्चिन्छु । म कहिल्यै पलायन हुनै सक्तिनँ । एकपटक शब्दको संसारमा डुबिसकेको छु । अब उत्रने सम्भावना छैन । जतिसुकै बल गरुँ, भाग्ने कोसिस गरुँ । भाग्ने कुनै मार्ग छैन । किनकि मैले सबै ढोका बन्द गरेर अघि बढिसकेको छु ।
म आफूजस्तै पाठकका लागि लेख्छु । जोसँग म परिचित छु वा अपरिचित । जसले मलाई पढ्न चाहन्छन् । मेरो बारेमा थाहा पाउन चाहन्छन् । जसले म के सोच्छु, के गर्दैछु, मेरो धारणा के छ बुझ्न चाहन्छन् । उनैका लागि लेख्छु । म आम मानिसका निम्ति लेख्छु । जो मसँगै हुर्किएका छन् । मसँगै बाँचेका छन् । जसले मेरो जस्तै दुःख, पीडा खेपेका हुन्छन् । र, दबाबमा जीवन घिसारेका हुन्छन् । म पाठकसँग सुमधुर सम्बन्ध स्थापना गर्छु । पाठककै कथा सुन्छु, हेर्छु, पढ्छु र उनैलाई सुनाउँछु । आफूलाई जहिलेसुकै पाठकको अगाडि प्रष्ट्याउँदै लग्छु ।
जति म पाठकमा समर्पित हुन्छु, त्यति नै आत्मसन्तृष्टि पाउँछु । पाठकसँग संवाद गर्छु । संवाद सूत्रको रूपमा मैले शब्दलाई छु । यो सम्बन्ध टुटाउने छैन । सदा एउटा नयाँ आयाममा विस्तार गर्नेछु । यसैका लागि पाठकलाई लक्षित गर्दै शब्द फ्याँक्छु । ऊ शब्दलाई मैले झैँ प्रेम गर्छ । उसलाई शब्दप्रतिमोह छ । जतिसक्दो शब्दैमा रम्न खोज्छ ऊ । तसर्थ मेरो आश्चर्य बुझ्छ । ऊ नकार्न सक्छ वा स्वीकार्न । सवाल गर्न सक्छ । कमसेकम कुनै न कुनै प्रतिक्रिया, राय जनाउँछ । जसबाट म आफूलाई पाठकमाझ जीवित रहेको महसुस गर्छु ।
त्यसैले त म एउटा सिंगो पाण्डुलिपि फोहोरको टोकरीमा फ्याँक्ने सामथ्र्य राख्छु, आगोमा जलाउने दुस्साहस गर्छु वा पानीमा बगाउने आँट गर्न सक्छु ।
म युध्दभूमिमा होमिएको सिपाही हुँ । लड्न मसँग बन्दुक, बमबारुद र सेना छैनन् । मेरो अस्त्र भन्नु कलम हो । सिपाही भनेका शब्द हुन् । एजेन्डा भनेका विचार हुन् । र, म जहाँ उभिएको छु । त्यहीँ नै मेरो रणभूमि हो । त्यसैले हरेक युध्द, क्रान्ति, शान्ति र आमूल परिवर्तनमा आफ्नो भूमिका खोज्छु । यो मेरो अस्तित्व जोगाउने अचूक समय हो । जसबाट बञ्चित हुन चाहन्नँ । म आम मानिसको भीडमा उभिन्छु । हातमा हात समाएर । काँधमा काँध मिलाएर । म त बस् यस्तै ऐतिहासिक कालखण्डको जीवनभर प्रतीक्षामा थिएँ । म किन पछि पर्ने थिएँ ? मोर्चाको अगाडि उभिन्छु । आफ्ना हर सम्भावना र विचारलाई लिएर । पाठकलाई एउटा ठोस गन्तव्यमा पुर्याएरै छाड्छु । यही नै मेरो धर्म हो । म हुनुको अर्थ हो । र, मेरो लेख्नको प्रस्थान बिन्दु हो ।
म इतिहासको एउटा कालखण्डमा जन्मे । यस कालखण्डसँग जोडिन चाहन्छु । यस अवधिमा घट्ने हरेक घटना प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा मसँग सरोकार राख्छन् । यहाँ उब्जेका हरेक सबाल मेरा पनि हुन् । ती सबाल गरिबी, बेरोजगारी, आणविक अस्त्र, युध्द, उग्र राष्ट्रवाद आदि हुन सक्छन् । म प्रष्ट हुनुपर्छ र बोल्नुपर्छ यी विषयमा । मौनताको आफ्नै अर्थ होला । तर, मलाई यो छुट छैन । यदि म बोलिनँ भने मैले अपराध गरिरहेको हुन्छ । मेरा अपराध अक्षम्य छन् । म सजायको त्यति नै भागीदार हुन्छु । जति एउटा अपराधी हुन्छ । निकट भविष्यमा समाज उन्नत पथ लम्के प्रश्न नउठ्लान् । कथम् कदाचित् । यसो नभए म माथि धेरै प्रश्न उठ्नेछन् । किनकि म यस ऐतिहासिक क्षणसँग जोडिएको थिए । लेखक भएर । मैले नांगो आँखाले सबै देखेको थिएँ । मैले त सत्य लेख्न प्रण गरेको थिएँ । त्यसो भए म किन चुप थिएँ ? किन मैले आफ्नो जिम्मेवारी वहन गरिनँ ? म किन चुकेँ ? यस्ता हजारौँ प्रश्न भविष्यले मलाई सोध्नेछ । त्यस समय म नाजवाफ हुन चाहनँ ।
लेख्ने मेरो नियति हो । एउटा लत हो । म कुनै अन्य लतबाट छुट्कारा पाउँन सक्छु । तर लेख्नबाट हैन । म लेख्नेछु, आफ्नो समयका निम्ति । पूर्ण इमानदार र प्रतिबध्द भएर । जे मैले देखे, अनुभव गरें । र, जसलाई मैले जीवनभर आत्मसात् गरेँ ।
समय सधैँ एकनासले बग्न सक्दैन । एउटा यस्तो समय आउँछ । जहाँ म विश्राम लिनुपर्छ । मेरो दृष्टि कमजोर हुन्छ । सोच्ने शक्तिमा ह्रास आउँछ । रोगव्याधीले सताउँछ । इच्छा हुँदाहुँदैसमेत म लेख्न सक्तिनँ । ममा जुन आँट, साहस र तागत थियो । त्यो क्षीण हुन थाल्छ । तब म आफ्नो लेख्नको जोडघटाउ गर्छु । शब्दको हिसाब लगाउनेछु । पूरा शक्ति लगाएर विगतमा फर्किन्छु । इतिहासको अध्यायमा आफ्नो उपस्थिति खोज्छु ।
आफ्नाे पसिना, त्याग र बलिदानको लेखाजोखा गर्नेछु । अवश्य । म सोध्नेछु, आफैँलाई । के मूल्य चुकाएको छु मैले ऐतिहासिक स्वर्णिम क्षणमा ? के कुनै पश्चात्ताप छ जीवनसँग ? के कुनै गुनासो छ, आफ्नाे लेख्नुसँग ?
यदि साँच्चै, म लेखनको माध्यमबाट जनमानसमा जोडिएको भए म खुसी हुन सक्छु । सन्तुष्टिको सास फेर्न सक्छु । अन्यथा पश्चात्ताप र ग्लानिमा भासिनेछु । म जीवनको अन्तिम सास शान्तसँग फेर्न चाहन्छु । चैनसँग मर्न चाहन्छु । यसैका लागि मैले जीवनभर शब्दसँग खेलिरहेछु । निःस्वार्थ लेखिरहेछु । केवल लेखिरहेछु ।
(स्याङ्जामा बसेर साहित्य लेख्ने कार्की आफ्नो पहिलो उपन्यासमा काम गरिरहेका छन् ।)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया