पुस्तक समीक्षा
अग्ला राजनीतिज्ञको गहन दृष्टिकोण
बीपी कोइराला नेपाली नेताहरूमा सबैभन्दा अग्लो कद भएका नेता हुन्, उनको बहुआयमिक व्यक्तित्व र ख्याति नेपालमा मात्र सीमित छैन । दक्षिण एसियाली प्रमुख नेताहरूको नाम लिनुपर्दा बीपी कोइरालाको नाम शीर्ष स्थानमा आउँछ ।
निकै पिछडिएको नेपाली समाजमा बीपी निकै दिग्गज नेता थिए । बीपीका कतिपय विचारहरू अभिलेखित छन्, कतिपय उनका भाषण, प्रचवन, अन्तर्वार्ताहरू संग्रहमा छैनन् । २०३६ देखि २०३९ सालसम्म बीपी कोइरालासँग निकट हुने अवसर पाएका नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. चिरञ्जीवि नेपालले बीपीको आर्थिक सोचमा केन्द्रित रहेर ‘बीपी कोइरालाको आर्थिक विचार’ नामक पुस्तक हालै सार्वजनिक गरेका छन् ।
यो पुस्तक सन् २०१० मा प्रकाशित ‘बीपीज् इकोनोमिक थट’ पुस्तककै निरन्तरताको रूपमा आएको छ । उक्त पुस्तकको अनुवादीत सामग्रीका अतिरिक्त २०१५ सालमा जननिर्वाचित सरकारले प्रस्तुत गरेका बजेटहरू तथा बीपी कोइरालाका अन्य लेख, अन्तर्वार्ताहरू, बीपीबारे लेखिएका पुस्तक, अभिलेखित मन्तव्य समेतलाई आधार मानी लेखकले बीपीसँगको सानिध्यमा आफूले अन्तर्क्र्रियाका क्रममा प्राप्त बीपी कोइरालाका विचारलाई सन्दर्भ र परिवेश अनुसार व्याख्या/विश्लेषण गरेका छन् ।
बीपी कोइरालाको आर्थिक विचारमा मूलतः कार्ल मार्क्स र महात्मा गान्धीको प्रभाव पाइन्छ । यद्यपि बीपीले व्यवहारिक र आफ्नो मुलुकका लागि अनुकुल आर्थिक नीति तथा योजनाको पक्षमा विचार राखेको पाइन्छ ।
तत्कालीन अवस्थामा नेपालमा अधिकांश ग्रामीण भूभाग रहेको परिप्रेक्ष्यमा बीपीले विकसित देशमा पढेका वा काम गरेका योजनाविद्ले सम्पन्न मुलुकहरूका लागि अनुकुल हुने विकासको योजनाले नेपालको ग्रामीण विकासलाई सम्बोधन गर्न नसक्ने अवधारणा राखेको पाइन्छ । खासगरी गाउँको कठीन जनजीवन, बेरोजगारी, न्यून सीप तथा औजार, यन्त्र, उपकरण र प्रविधिको कम प्रयोगका कारण न्यून उत्पादन न्यून थियो, आजपर्यन्त त्यो समस्या छ । बीपीले सम्पन्न देशहरूमा गाउँ भनेका पनि सहरकै एउटा भाग जस्तो हुने, आधारभूत पूर्वाधारको व्यवस्था हुने भएकाले त्यहाँ अबलम्बन गरिएका ग्रामीण विकासका विधि नेपालका लागि उपयुक्त हुँदैन भनेका छन् ।
बीपीको आर्थिक विकासको सोच समयक्रममा परिवर्तन भैरहेको देख्न सकिन्छ । नेपालमा २००७ सालमा जहानियाँ राणाशासनको अन्त्य र प्रजातन्त्रको उदयका दौरान उनले ‘नेपाललाई आधुनिक बनाउने’ भन्ने गरेको बीपीका निकट समाजवादी नेता प्रदीप गिरीले धेरै वार्ता र अभिव्यक्तिहरूमा उल्लेख गरेका छन् । यद्यपि, २०११ सालपछि बीपीले मुलुकमा संगठन निर्माणका दौरान देशव्यापी भ्रमण गरेर आफैंले मुलुकको आर्थिक–सामाजिक परिवेशलाई महसुस गरेपछि योजना निर्माण गर्ने ठाउँमा ‘हलो जोतिरहेको किसानको तस्बिर अगाडि राखेर योजना बनाउनु’ भनेका छन् ।
लेखक बीपी कोइरालाको सान्निध्यमा रहँदा बीपी जीवनको उत्तरार्धतिर थिए । उनी पछिल्लो समय गान्धीबाट बढी प्रभावित थिए र सोही अनुसार आफ्ना विचारहरू मुखरित गरेको देखिन्छ । तेश्रो विश्वका लागि अमेरिकी मोडलको विकास उपयुक्त हुँदैन भन्ने बीपीको सोच देखिन्छ । यसको प्रसंग बीपीको आत्मवृत्तान्तमा पनि पाइन्छ । अमेरिकामा व्यक्तिपिच्छेका निजी सवारी साधन, त्यस ढङ्गको उपभोगले स्रोत साधनको दोहन अत्याधिक हुने बीपीको विचार थियो ।
बीपीले यस सवालमा ‘स्मल इज ब्युटीफूल’नामक बेलायती लेखक ई.एफ.सुमेकरको विचार मन पराएको पाइन्छ । बीपीको विचार दीगो विकासको आधुनिक अवधारणासँग मेल खाल्छ । एक गतिशील नेताका रूपमा उनका विचार समय अनुसार परिस्कृत भएका पाइन्छन् । तर बीपीले श्रम सघन उत्पादनमूलक उद्योग, रोजगारी, पूर्वाधार निर्माण, सार्वजनिक सेवा प्रवाहमा चुस्तता र गुणस्तर सुधारमा सधैं जोड दिएको पाइन्छ ।
उत्पादनका साधनमा कुलीनको एकाधिकार नहोस् भन्ने मार्क्सको सिद्धान्तलाई अनुसरण गरिकन २०११ सालपछिको मन्त्रिपरिषद् बैठकबाट जमिनमा विर्तावालाको स्वामित्व अन्त्य गर्ने निर्णय भएको र २०१५ सालपछि संसद्बाट कानुन निर्माण भएको प्रसङ्ग पुस्तकमा पढ्न पाइन्छ । खासगरी उत्पादनका साधनहरू जमिन, श्रम र पुँजीमा कुलीन वर्गको अधिपत्यले समाजमा तल्लो वर्ग (बटम अफ द पिरामिड) सधैं पछि परिरहने हुन्छ भन्ने मार्क्सको विचारले बीपीलाई प्रभावित पारेको देखिन्छ ।
बीपीले सन् १९६० जुन २६ मा आयोजना गरेको पत्रकार सम्मेलनमा दोस्रो पञ्चवर्षीय योजनामा १ अर्ब ९६ करोड रुपैयाँ खर्च गर्ने, त्योमध्ये ४५ करोड रुपैयाँ कृषि क्षेत्रमा खर्च गरेर पाँच लाख रोजगारी सिर्जना गर्ने र ३० प्रतिशतले राष्ट्रिय आय वृद्धि गर्ने उल्लेख गरेको प्रसङ्ग लेखकले पुस्तकमा समावेश गरेका छन् ।
बीपीले आर्थिक विकाससँग सरोकार राख्ने अन्य आयामहरूमा पनि चर्चा गरेका छन्– राजनीतिक नेतृत्वको जवाफदेहीता अभिवृद्धिमा जोड दिदैं उनले प्रजातन्त्र र आर्थिक विकासलाई परिपूरक मानेका छन् । देशभर समान विकासको अवसर र राज्यका तर्फबाट सिर्जना गरिने लाभमा सबैको पहुँच अर्थात् समावेशी विकासको अवधारणा अघि सारेका छन् । उनले पश्चवर्ती उत्पादन सम्बन्ध (ब्याकवार्ड लिंकेज)लाई जोड दिएका छन् ।
बीपीले स्पष्टसँग राजनीतिलाई पेशा बनाउनुहुन्न भनेका छन् । राजनीतिलाई पेशा बनाउनेहरूले सुशासनको प्रत्याभूति दिन सक्दैनन् भन्नेमा बीपीको स्पष्ट चिन्तन देखिन्छ । एक समाजवादी नेताका रूपमा बीपीलाई बजार अर्थतन्त्रले गरिबका लागि काम गर्नेमा सन्देह देखिन्छ, यद्यपि बजारलाई सम्पूर्ण रूपमा बेवास्ता गरेर जान सकिदैंन भन्ने पनि बीपीले यकिन गरेका छन् । बजारले पूर्ण रूपमा अर्थात् स्वचालित ढङ्गले काम गर्ने अवस्थामा पुर्याउनका लागि ‘आय र सम्पत्ति, शक्ति संरचना र ज्ञान तथा सीपको अझै राम्रो वितरण गरी आम नागरिकलाई प्रतिस्पर्धी’ बनाउनुपर्छ अर्थात् ‘समान अवसरसहित खेल्नयोग्य खेलमैदान नभएसम्म बजारहरू तटस्थ वा प्रतिस्पर्धी हुन सक्दैनन् ।’
भारत, चीन, अमेरिका, रूस, इजरायल लगायत विभिन्न मुलुकहरूसँग उन्नत कूटनीतिक सम्बन्ध विकास गरेर ति राष्ट्रहरूबाट नेपालले वैदेशिक सहायता पनि प्राप्त गरेको थियाे । इजरायललाई स्वतन्त्र राष्ट्रकाे मान्यता दिने नेपाल दक्षिण एसियामा पहिलाे देश थियाे र याे बीपीकाे अगुवाइमा भएकाे थियाे । यद्यपि बीपीमा वैदेशिक सहायतामाथि निर्भरता र धेरै लगाव देखिदैंन । वैदेशिक सहयोगमा निर्भरता कम गर्दै आन्तरिक राजस्व र जनताको बचत बढाउन ऋणपत्र जारी गर्नुपर्ने बीपीको दृष्टिकोण पुस्तमा पढ्न पाइन्छ ।
बीपीले उत्पादन तथा रोजगारीमा आधारित स्थायित्वसहितको मजबुत अर्थतन्त्रको परिकल्पना गरेको देखिन्छ, जुन आज पनि नेपालका लागि त्यत्तिकै सान्दर्भिक देखिन्छ । आन्तरिक स्रोतको परिचालन, समावेशी र समन्यायिक विकास तथा जनमैत्री बजार प्रणालीको परिकल्पना गरेको देखिन्छ ।
समग्रमा, पुस्तकले बीपीको आर्थिक सोचतर्फको अर्को आयामलाई थप उद्घाटित गरेको छ । बीपीबारे अध्ययन, अनुसन्धान, लेखन तथा जानकारी राख्न चाहाने सबैका लागि पुस्तक अत्यन्त उपयोगी छ । बीपी कोइरालाको आर्थिक विचारबारे बुझ्न यो पुस्तक एउटा आधारको रूपमा आएको छ । आगामी दिनहरूमा थप खोज, अध्ययन, अनुसन्धानमार्फत् यो पुस्तकलाई समृद्ध बनाउन सकिने प्रशस्त ठाउँ छ ।
पुस्तकको नाम : बिपी कोइरालाको आर्थिक विचार
लेखक : डा. चिरञ्जीवी नेपाल
प्रकाशक : शिखा बुक्स
मूल्य : रु.२५०
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया