प्रशान्त किशोरको मेन्टरसीपमा विकासले देखेको बदलिंदो राजनीतिको तस्बिर
काठमाडौँ– निर्वाचनको मैदानमा हरेक राजनीतिक दल तथा तिनका उम्मेद्वारका लागि ‘गर या मर’को स्थिति हुन्छ । कतिपयले स्वतन्त्र उम्मेद्वार बनेर पनि निर्वाचनमा राम्रो प्रदर्शन गरिरहेका हुन्छन् । राष्ट्रिय राजनीतिमा नभएपनि कुनै क्षेत्र विशेषमा कुनै दल बलियोसँग आधार बनाएर बसेका छन् ।
आवधिक निर्वाचनमार्फत् लोकतन्त्रमा जनताले संविधानप्रदत्त हकको प्रयोग गर्दै जनप्रतिनिधि छान्छन् । निर्वाचनको मैदानमा आउने हरेक दल र उम्मेद्वारले आ–आफ्ना डम्फू बजाउँछन् ।
निर्वाचनको एउटा रणनीतिक नियम हुन्छ– कि आफू राम्रो गर्ने नभए प्रतिद्वन्द्वीको माहौल बिगार्ने । माहौल बिगार्ने र नकारात्मक प्रचार गर्ने पनि जनताको रोजाइमा पर्न छाडिसके ।
निर्वाचनको मैदानमा कसरी आफ्नो पक्षमा माहौल बनाउने ? अहिले नेपालमा पनि राजनीतिक परामर्श र रणनीतिकार (ट्याक्टिसियन)हरूले काम गरिरहेका छन् । निर्वाचनमा विभिन्न दबाबले उम्मेद्वारले सबैतिर ध्यान दिन पाइरहेको हुँदैन ।
कस्तो रणनीति अख्तियार गर्ने, कस्तो अभियान सञ्चालन गर्ने ? निर्वाचनमा के सन्देश दिने, स्थानीयको अपेक्षा कसरी बुझ्ने, कसरी सम्बोधन गर्ने ? यसरी निर्वाचनलाई सहज बनाउने काम राजनीतिक परामर्श फर्महरूले गर्दै आएका छन् ।
भारतमा यो अभ्यास व्यापक छ । भारतमा सन् २०१४ को निर्वाचनपछि प्रधानमन्त्री नरेन्द्र मोदीको निर्वाचन रणनीतिकार युवा एकाएक स्थापित भए । उनी हुन्, प्रशान्त किशोर । नरेन्द्र मोदीको निर्वाचनको सम्पूर्ण रणनीतिहरू उनले तय गरेका थिए । त्यो निर्वाचनको सफलतासँगै प्रशान्त किशोरले राजनीतिक परामर्श फर्म स्थापना गरे– इण्डियन पोलिटीकल एक्सन कमिटी ।
प्रशान्त किशोरको उक्त परामर्शदाता फर्मले भारतमा धेरै नेताहरू र दलहरूसँग काम गरिसकेको छ । सन् २०१४ मा प्रशान्तले मोदीका लागि ‘चाय पे चर्चा’ लगायत क्याम्पेन चलाएका थिए । मोदीको निर्वाचन अभियानलाई उचाइ दिएसँग प्रशान्त किशोरको ख्याति चम्कियो । त्यसपछि प्रशान्तले पञ्जाबमा अमरिन्दर सिंह र यूपीमा कंग्रेससँग काम गरे । इन्डियन नेशनल कंग्रेसका राहुल गान्धीसँग पनि काम गरे । पछि सन् २०१९ मा शिवसेनासँग र पछि ममता बेनर्जीको तृणमूल कांग्रेसका लागि काम गरे । प्रशान्तले आफ्नो टिममा आईआईटी, आईआईएमका ‘टप ब्रेन’हरू समेत काम गरिरहेका छन् । जो ग्रासरूटमा परिवर्तन ल्याउन चाहान्छन्, उनीहरू यो अभियानमा आकर्षित भएका छन् ।
००००
उनै प्रशान्त किशोरको मेन्टरशीपमा काम गरेका केही नेपाली युवाहरूमध्ये एक हुन्– विकास पन्त । इन्डियन पोलिटीकल एक्सन कमिटीमा आउनुभन्दा अघि उनी डेलोइटमा अडिटर थिए । हिन्दू कलेज, दिल्ली विश्वविद्यालयमा व्यवस्थापनका विद्यार्थी पन्त बहुराष्ट्रिय कम्पनीमा काम गर्दागर्दै उनलाई ‘अर्को एक वर्ष राजनीतिज्ञहरूसँग काम गरेर केही परिवर्तन ल्याउन सकिन्छ भने आऊ भनेर अफर आयो ।’
विकास भन्छन्, ‘म जस्ता युवाहरू राजनीतिमा पद्धति बसाउन सकिन्छ भनेर काम गर्छौं । राजनीतिक परामर्श फर्म भएकाले हामी दलका कार्यकर्ताजस्तो हुँदैनौं । पारदर्शी ढंगले यथार्थ सल्लाह/सुझाव दिन्छौं ।’
इण्डियन पोलिटीकल एक्सन कमिटीमा काम गर्न जाँदा उनी भर्खरै २३ वर्षका थिए । २३ वर्षे एउटा युवाले प्रत्यक्ष रूपमा लोकसभा निर्वाचनका उम्मेद्वारका लागि राजनीतिक परामर्शका लागि खटिएका थिए ।
विकासले शिवसेनासँग काम गरे । शिवसेनाका लागि काम गर्दा गाउँ–गाउँमा सर्वेक्षण गर्ने, भोल्युन्टरहरू प्रशिक्षित गर्ने, खटाउने, क्याम्पेनको योजना बनाउने लगायतका काम उनले गरेका थिए ।
‘स्थानीय नेता, सरपञ्च तथा जनतालाई भेट्ने, निर्वाचन क्याम्पेनमा गएको बेला के बोल्ने ? के एजेण्डा राखेर अत्याधिक आकर्षण पाउँछ, त्यसको राम्रो तयारी गर्नुपर्छ,’ उनी भन्छन्, ‘सँगसँगै संवेदनशीलता पनि उत्तिकै ख्याल गर्नुपर्छ ।’
खासगरी रणनीतिकारहरूले कुनै दल विशेषमा खास झुकाव नभएका मतदातालाई लक्षित गरेर काम गर्ने गरेको सुनाउँछन् उनी । ‘ठाउँ विशेष हेरेर, जनसंख्याको संरचना तथा स्थानीय अपेक्षा अनुसारका एजेण्डा बनाउनुपर्छ । त्यसलाई स्पष्टसँग मतदातासँग बताउन र उनीहरूलाई आश्वस्त गर्ने क्षमता नेतासँग हुनुपर्छ । कतिपय स्थानीयसँग अत्यन्त साधारणभन्दा साधारण सवालहरू हुन्छन् । नेताले आएर हामीसँग मत मागून । संवाद गरून्, आफ्ना कुरा उनको सामु राख्न पाइयोस् भन्ने चाहना हुन्छ ।’
विकासले महाराष्ट्रमा शिवसेनाका लोकसभा उम्मेद्वार धैर्यशील मानेसँग काम गरेका थिए । शिवसेनालाई महाराष्ट्रमा मराठा अधिकारका लागि लडेकाले मानेलाई मत दिनेमा मराठाहरू पक्कापक्की थिए । तरपनि उम्मेद्वारले आएर हामीसँग मत मागोस् भन्ने कतिपयको चाहना हुन्थ्यो । उनीहरू आफ्ना सवालहरू भावी प्रतिनिधिलाई सुनाउन चाहान्थे ।
तर रणनीतिले मात्रै कहाँ सबै ठाउँमा काम गर्छ र ?
एक खालका मतदाता पहिलेदेखि नै पूर्वाग्रही हुन्छन्, जुन दलमा आस्था छ, त्यसमा मतदान गर्छन् । रणनीतिले खास काम गर्ने भनेको कतैपनि झुकाव नराख्ने मतदातामा हुन् । जहाँसुकै त्यस्ता मतदाता ५–१० प्रतिशत भैहाल्छन् । निर्वाचनमा निर्णयक पनि तिनै हुन्, जसले तान्यो, उसले जान्यो । त्यस्ता मतदातालाई राजनीतिक परामर्शका माध्यमबाट प्रभावित गराउने अभ्यास अब नेपालमा पनि शुरु भैसकेको छ ।
रणनीति कहाँ अख्तियार गर्ने ?
विकास भन्छन्, ‘मानौं, कुनै निर्वाचन क्षेत्रमा ५२ वडा छन् भने कहाँ मतको आधार बलियो र कहाँ कमजोर छ ? त्यो पत्ता लगाएर आफू कमजोर रहेको क्षेत्रमा मतदाताको अपेक्षा के छ । मतदातासँग व्यक्तिगत भेटेर उनीहरूलाई यसअघि कसरी लाभ पुर्याइयो, अब के गर्ने भन्ने कुरामा विश्वस्त तुल्याउनैपर्छ ।’
कहिलेकाहीं पार्टीको ओहोदा अनि कार्यकर्ताले राजनीतिक कार्यकर्ताले नेताले जे सुन्न चाहान्छ, त्यही अनुसार बिफ्रिङ्ग गरेर नेतृत्वलाई यथार्थसँग अलग राखिरहेको हुन्छ । पार्टीसँग लगाव नभएकोले यथार्थ रायसल्लाह दिने र आवश्यक रणनीति बारे यथार्थ सल्लाह दिने काम परामर्शदाताले गर्न सक्छन् । कतिपय अवस्थामा नेता र कार्यकर्ताबीचको मध्यस्थकर्ताजस्तो भूमिका हुन्छ । निर्वाचनअघि दलसँग काम गर्दा दलले कहाँ कस्तो उम्मेद्वार तय गर्दा लाभ हुन्छ भन्नेसम्मको परामर्शमा इन्डियन पोलिटिकल एक्सन कमिटी सहभागी भएको छ ।
‘राजनीतिज्ञहरूसँग काम गर्दा हामी त पारदर्शी हुनैपर्छ र यथार्थ भन्नैपर्छ, कार्यकर्ता त हामी होइनौं, स्वतन्त्र धारणा बनाउँछौं,’ विकासले कुराकानीको अर्को प्रसङ्ग उठाए, ‘म एकजना राजनीतिज्ञसँग काम गर्दा उनको क्षेत्रमा ’रिसर्च’ गरें । त्यहाँ उनको कमजोर स्थिति थियो । तर उनी उक्त क्षेत्रमा आफ्नो प्रभाव राम्रो रहेको बताउने गर्थे ।’ त्यसपछि विकासले प्रमाणिक आधार दिदैं दोहोर्याएर भनेपछि उनी त्यहाँ गए र आफ्नो स्थितिबारे अवगत पनि भए । ‘कतिपय नेतालाई उनीहरूका आसेपासेले त्यहाँ नगए पनि हुन्छ, राम्रो छ भनेर ब्रिफ गरिदिएका कारण त्यसमा विश्वस्त भैरहेका हुन्छन् । तर हामीले त पारदर्शी ढंगले यथार्थ राजनीतिक नेताहरूका अगाडि राखिदिन्छौं ।’
००००
भर्खरै ग्र्याजुएसन सकेर डेलोइटमा काम गरिरहेको युवा मल्टिनेशनल कम्पनीको रोजगार छाडेर एक वर्षको लागि लामो भविष्य नदेखिएको राजनीतिक परामर्शको काममा किन तयार भएको त ? भन्ने प्रश्नमा विकास भन्छन्, ‘हामीजस्ता युवाहरू परिवर्तन चाहान्छौं । ९ देखि ५ बजेसम्म एउटा कम्प्युटर अगाडि बसेर निरस (मन्डेन) कामबाट भ्यालुएडिसन नदेख्ने म जस्ता धेरै युवा छन् । जतिबेला राजनीतिक परामर्शको काम थालें, त्यतिबेला २३ वर्षको थिएँ । राजनीतिक दलमै आवद्ध भएर काम गरेको मानिसलाई त्यहाँबाट उठेर परामर्श दिने तहमा पुग्न कम्तीमा पनि १५–१६ वर्ष लाग्छ । मैले अर्को एक वर्ष काम गर्दा नयाँ अनुभव हुन्छ र आफ्नो ज्ञान, सोच र सम्पर्कको क्षितिज फराकिलो हुन्छ भनेर लागेका थिएँ ।’
त्यसो त विकास एकै खालको संगतमा हुर्केका थिए । आवासीय अंग्रेजी स्कूलमा पढे, मल्टिनेशनल (बहुराष्ट्रिय) कम्पनीमा काम गरे । यस्तो वर्गले खासगरी समाजको तल्लो तहको (बटम अफ द पिरामिड)को धेरै कुरा बुझेकै हुँदैन । ‘हामीलाई आज गाडी उपलब्ध छैन भने अफिस जान ठूलो समस्या लाग्छ, ग्रासरुटमा मानिसहरूले अनेकन् समस्या छन्,’ उनी भन्छन्, ‘उनीहरू ४ घण्टा हिंडेर कुनै ठाउँमा काम गर्न जान्छन् । जीवनमा यतिधेरै कठिनाई र समस्याहरू हुन्छन् र पनि त्यसलाई समस्या ठान्दैनन् ।‘ यसरी ग्रासरूटमा काम गर्दा उनले वास्तविकतालाई नियाल्न पाए ।
यस्ता समस्या समाधानका लागि के गर्नुपर्छ ? यसमा पढेका, समाजलाई बुझेका धेरै मानिसका धेरै थरी सोच हुनसक्छन्, तर माध्यम भनेको एउटै हो– राजनीतिमार्फत् त्यसलाई ठीक गरिनुपर्छ, सम्बोधन गरिनुपर्छ ।
००००
राजनीतिमार्फत् ठीक गर्नका लागि मतदाता सजग, सचेत र विवेकी हुनुपर्छ । समाजले परिवर्तन खोजेको छ, परिवर्तन खोज्नेहरू साइलेन्स मेजोरिटी (अधिकतर मौन) छन् ।
अहिले पनि हाम्रो राजनीति, निर्वाचनको शैली, एजेण्डा परम्परागत छन् । नेताले विकासको सपना देखाउने । ‘पोर्क ब्यारेल पोलिटीक्स’ शैली हामीकहाँ व्याप्त छ । राज्यको साधनस्रोतमा आफ्ना इच्छाका परियोजना बोकेर नेता चुनाव लड्न मैदानमा आउँछन् । एकाथरीले विकास, समृद्धि, उद्यमशीलता र रोजगारीका कुरा गर्छन् । केहीले धर्म, जात, भूगोलका मुद्दा उठाउँछन् । गुण्डागर्दी, धाकधम्कीबाट पनि राजनीतिको रोटी सेक्ने धेरैको प्रयास हुने गरेको छ ।
‘तर अब निर्वाचनको परिवेश बदलिदैंछ,’ विकास अगाडि भन्छन्, ‘आगामी निर्वाचनमा मत दिनेहरू ४० प्रतिशत युवाहरू हुन्छन् । कास्ट, क्रिड (जाति धर्म), पैसा, रक्सी र मासुले अब निर्वाचन लडिदैंन । सजग र सचेत मतदाताका लागि केही उल्लेख्य काम हुनुपर्यो । उद्यम, रोजगार, विकास, सुशासनमा ध्यान दिन जरुरी छ ।’
००००
विश्वकै ठूलो लोकतन्त्र भारतको उदाहरणले पनि यस्तै भन्छ । २०७४ को नेपालको आम निर्वाचनमा पनि यस्तै लहर देखियो ।
सन् २०१४ मा भारतमा भारतीय जनता पार्टीको लहर आयो । त्यसमा अद्वितिय प्रचार र त्यसको एकरूपता देखिएको थियो । मोदीको प्रधानमन्त्रीत्वमा भारतमा यी परिवर्तन/उपलब्धि हुन्छन् भनेर जनतामाझ अत्यन्तै राम्रोसँग स्थापित गरियो । सन् २०१९ को निर्वाचनमा पनि मोदीले पुलवामा आक्रमणसँगै राष्ट्रवादको मुद्दा उठाए । उनका प्रतिद्वन्द्वी इण्डियन नेशनल कंग्रेस (कंग्रेस आई)ले भने मोदीलाई प्रत्यक्ष आक्रमण गरेको थियो । ‘मोदी चौकीदार चोर है’ भन्दै प्रधानमन्त्री मोदीमाथि कटाक्ष गरेको थियो । जसलाई जनताले रूचाएनन् । अर्कोतर्फ, कंग्रेस आईले ‘न्याय स्कीम’ को मुद्दा उठाएको थियो । मध्यम वर्गको कर काटेर गरिबहरूलाई लाभ दिने उक्त स्कीमको उद्देश्य थियो ।
‘त्यतिबेला मैले ग्रासरूटमा काम गरिरहेको थिएँ । ग्रासरूटमा न्याय स्कीम के हो भन्ने बुझाइएकै थिएन । मध्यमवर्गले न्याय स्कीम बारे बुझेको थियो । त्यसमा उनीहरूसँग बढी कर उठाउने कुरा थियो । स्वभाविक रूपमा उनीहरूले कंग्रेसलाई मत दिएनन्,’ विकास भन्छन्, ‘पार्टीको घोषणापत्र बनाउँदा यस्ता कुरा महत्वपूर्ण हुन्छन् । कुन सवालमा औचित्य स्थापित हुन्छ के मा हुँदैन ।’
त्यस्तै, २०७४ मा नेपालका दुई ठूला कम्युनिष्ट पार्टी मिलेर विकास र समृद्धिको दुहाई दिए । नेपाली कांग्रेसले निर्वाचनमा अघि सारेको एजेण्डा थियो– कम्युनिष्ट पार्टीले जित्यो भने अधिनायकवाद आउँछ भन्यो । एकातिर नेकपा एमाले र माओवादी मिलेर विकास र समृद्धिका कुरा गरे । रेलदेखि पानीजहाज सम्मका सपना देखाइएका थिए । कम्युनिष्ट पार्टीले अघि सारेको विकास र समृद्धिको एजेण्डा हावी भयो । उनीहरूको सन्देश (मेसेज) बलियो भयो, सन्देशबहाक (मेसेन्जर) पनि तगडा देखिए । जसले गर्दा नेपाली कांग्रेसका एजेण्डाहरू फिका देखिए ।
००००
निर्वाचनमा मेसेन्जर/आर्टिकुलेटर त्यत्तिकै महत्वपूर्ण हुन्छ । भारतमा प्रधानमन्त्री मोदी आफैंमा राम्रो ‘आर्टिकुलेटर’ हुन्, राहुल गान्धीको तुलनामा । ‘त्यसकारण शीर्ष ठाउँमा को छ, त्यो पार्टीको अनुहार हो । नरेन्द्र मोदीलाई प्रधानमन्त्रीका रूपमा अघि सार्दा उनी आफैंमा पनि राम्रो कम्युनिकेटर हुन्,’ विकास अगाडि भन्छन्, ‘नरेन्द्र मोदीको स्पष्टता (क्ल्यारिटी) र उनको अडान (पोजिसन)लाई व्यापक बनाइएको थियो । साथै उनीसँग जोडिएका पार्टीका सदस्यले पनि राम्ररी प्रचार गरे । मोदी आएपछि यस्तो हुन्छ भनेर सपना देखाउन सफल भए । त्यसकारण निर्वाचनमा ‘भिजन’ हेरिन्छ, अरुलाई गाली गर्दा त्यो कुरामा मानिसहरूले धेरै वास्ता गर्दैनन् । अब के हुन्छ जनता र देशका लागि भनेर हेर्छन् ।’
दिल्लीमा आम आदमी पार्टी (आप)ले बीजेपीसँग प्रतिस्पर्धा गरेर ६२ सीट ल्याएको थियो । आपले गभर्नेन्स र विकासको मुद्दा उठायो । जहाँ बीजेपीका मुद्दा उसको तुलनामा निकै कमजोर थिए । अरबिन्द केजरीवालले जुनसुकै फोरममा पनि विकास, सुशासन, गुणस्तरीय जीवन र सहरी विकासका योजना ल्याए । केजरीवालले अघि सारेका स्कीममा त्यहाँका जनताले फाइदा देखे, फलतः निर्वाचनको परिणाम उनीतिरै सोझियो ।
००००
निर्वाचनको रणनीति शक्ति प्रदर्शन गर्नेमात्र होइन, यो धेरैजसो तथ्यांक र ग्रासरूटमा जनताको अपेक्षासँग प्रतिध्वनित हुनुपर्छ ।
धेरै नेताको समस्या हुन्छ, काठमाडौँमा बस्ने अनि निर्वाचन क्षेत्रमा अत्यन्त कम उपस्थित हुने । निर्वाचन क्षेत्रमा कुनै काम हुँदैछ, उदाहरणका लागि मन्दिर बन्दैछ । त्यो नेताले त्यहाँ म दानदातव्य दिन्छु भनेको छ तर पनि दिदैंन भने त्यो नेताले जतिसुकै ठूलो देश बनाउने भाषण गरेपनि स्थानीयले त्यसलाई पत्याउँदैनन् ।
मतदातासम्म पुग्नु र उनीहरूको अपेक्षालाई बुझेर त्यसलाई सम्बोधन गर्नु, उनीहरूलाई आश्वस्त तुल्याउनु निर्वाचनको मैदानमा खडा भएको एउटा उम्मेद्वारका लागि सबैभन्दा महत्वपूर्ण हुन्छ ।
००००
के निर्वाचन रणनीतिले कुनै पक्षमा झुकाव राख्ने (बायस्ड) मतदातालाई पनि प्रभावित पार्छ ? यो प्रश्नमा विकासले काठमाडौँ क्षेत्र नं. १ को अघिल्लो निर्वाचनको उदाहरण अघि सारे । अघिल्लो आम चुनावमा काठमाडौँ–१ को निर्वाचनमा धेरै कांग्रेस र कम्युनिष्ट परिवारका नयाँ पुस्ताले विवेकशील साझालाई मतदान गरेका थिए । ‘पुरानो पुस्ताचाहिं परिवर्तन हुन गाह्रो छ, तर नयाँ पुस्ताले चाहिं देशदुनियाँ देखेको हुन्छ र परिवर्तन खोजीरहेको हुन्छ । नेपाली कांग्रेसका उम्मेद्वार प्रकाशमान सिंहको चुनावी रणनीति अलिक ‘कन्भेन्सनल’ थियो भने रवीन्द्र मिश्रले नयाँ खालको रणनीति अख्तियार गरेको थिए,’ विकाले उक्त निर्वाचनको उदाहरण दोहोर्याउँदै भने, ‘मुद्दामा पनि गभर्नेन्स, शिक्षा, स्वास्थ्यमा नयाँपन, भ्रष्टाचार नियन्त्रण र आर्थिक विकास साथै राजनीतिक स्थायित्वको कुरा गरिरहेका थिए । आप्रवासी कामदारका मुद्दा उनले उठाएका थिए । ती मुद्दाले नयाँ पुस्तालाई आकर्षित गरेको थियो ।’
मध्यपूर्वमा काम गर्ने वर्गले पनि सामाजिक सञ्जालमा हुने बहसलाई प्रभावित पारिरहेको हुन्छ । ‘पब्लिसिटीका लागि त्यो समूहको एजेण्डालाई राम्रोसँग उठाउने नेता वा व्यक्तिले सामाजिक सञ्जालमा राम्रो प्रशंशा पाइरहेको हुन्छ । विदेशमा काम गर्नेहरूले परिवारलाई पनि प्रभावित गर्छ,’ विकास भन्छन्, ‘नेपालमा धेरैजसो मध्यम वर्ग र निम्न मध्यमवर्गका मानिसहरू छन् । हरेक तीन परिवारमध्ये एकजना विदेश गएको हुन्छ । उनीहरूले परिवारलाई र आफन्तलाई आफ्नो बुझाईका आधारमा धारणा बनाउन प्रेरित गरिरहेका हुन्छन् ।’
००००
कुराकानी अघि बढाउँदै जाँदा मैंले उनलाई सोधें, ‘निर्वाचनको कस्तो घोषणापत्रमा मतदाताको रुचि हुन्छ ?’
उनले सहज उत्तर दिए, ‘मानौं, म कुनै निर्वाचन क्षेत्रको उम्मेद्वार छु । देशको समग्र स्थितिलाई ध्यानमा राखेर पार्टीले केन्द्रमा निर्माण गर्ने घोषणापत्र नै लिएर निर्वाचन क्षेत्रमा जाँदा त्यही घोषणापत्रले मात्र काम नगर्न सक्छ । त्यसकारण निर्वाचन क्षेत्रमा नै अनुसन्धान गरेर तथ्य, प्रमाण र आधार हेरेर निर्वाचन क्षेत्र अनुसार पनि क्षेत्र विशेषका घोषणापत्र तयार पार्दा त्यसले प्रभावकारिता ल्याउन सक्छ ।’ उनको बुझाइमा सबै मतदाताले त घोषणापत्र पढ्दैन, तर जतिले पढ्छन् उनीहरूले आफ्नो ठाउँमा के हुँदैछ भनेर हेर्छन् । ‘त्यसकै आधारमा क्पाम्पेन र एजेण्डाहरू निर्वाचन क्षेत्र विशेषका लागि तय गर्नुपर्छ ।’
निर्वाचन अभियानमा मतदातालाई उपहार कति जायज ? एक अनुभवी पुराना राजनीतिज्ञ छन् । मधेशमा उनको निर्वाचन क्षेत्र छ । त्यसै पनि मधेशमा निर्वाचन पहिल्यैदेखि महँगो हुन्छ भनिन्थ्यो । उनी निर्वाचनमा जाँदा हरेक परिवारलाई (जहाँ उनको मतको आधार थियो) एउटा साइकल र सारी पठाउँथे । अनि मत माग्न घरदैलो गर्थे ।
विकासले भारतमा निर्वाचनमा फोनको कभररूपी निर्वाचन प्रचार सामग्री निकै प्रभावकारी भएको बताए । कुनै उपहारभन्दा पनि सानो तर प्रभावकारी भएको थियो, मोबाइल फोनको कभर । जसलाई प्रचार सामग्रीको रूपमा वितरण गरिएको थियो । निर्वाचनमा कुनै दल विशेषको र उम्मेद्वारको ब्राण्डिङ्ग गर्दा फोटोहरूको प्रयोग देखि कलर कोडिङ्गमा समेत ध्यान दिनुपर्ने र एकरूपता कायम गर्नुपर्ने उनी सुझाउँछन् ।
००००
निर्वाचन आफैंमा संवेदनशील हुन्छ, संवेदनशीलता र भावनात्मक पक्षको ख्याल राख्न नसक्दा बनिसकेको माहौल बिग्रिएका उदाहरण पनि छन् । ’मैले भारतमा छँदा महाराष्ट्रमा जुन निर्वाचन क्षेत्रमा काम गरेको थिएँ, एक उम्मेदवार जैन थिए । उनले ब्राम्हणहरूको बारेमा केही संवेदनशील कुरा निर्वाचनको दौरान बोलेका थिए,’ उनले आफ्नो अनुभव सुनाउँदै भने, ‘त्यसकारण १०–१५ हजार ब्राम्हण समुदायका मानिसले उनलाई मत नै हालेनन् । निर्वाचनमा मतदाता भनेको भगवान सरह हुन्छन् । उनीहरूको भावनासँग खेल्यो भने त्यसले पासा पल्टाइदिन्छ ।
पोलिटीकल स्पेक्ट्रम र निर्वाचन २०७९ः २०७९ नेपालमा निर्वाचनको वर्ष हुनेछ । स्थानीय तहदेखि प्रदेश र संघीय प्रतिनिधिसभाको निर्वाचन आगामी वर्षमा सम्पन्न गरिसक्नुपर्छ । नेपालमा लामो विरासत बोकेका पार्टीहरू आगामी निर्वाचनमा पनि प्रतिस्पर्धीका रूपमा आउने पक्का छ । किनकी नयाँ र वैकल्पिक भनिएका राजनीतिक दलहरू २०७४ देखि २०७९ को बीचमा आफ्नो अस्तित्व नै जोगाउन मुश्किल हुने स्थितिमा छन् । पुराना पार्टीका पुराना नेता थाकेनन्, बरु तिनीहरूसँग जनता नै थाकिसके । ‘उनीहरूमा कुनै आकर्षण छैन भने जनता उत्सुक हुँदैनन् । त्यसकै फलस्वरूप नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीको नेतृत्वमा केही हदसम्म परिवर्तन भयो, आम मानिसहरूले परिवर्तन चाहेका छन् नि !’ विकासले कुराकानी टुंग्याउँदै भने, ‘युवा मतदाताको उल्लेख्य सहभागिता हुने आगामी निर्वाचनमा उनीहरूले प्रगतिशील एजेण्डा बोक्ने नेतृत्वलाई अघि बढाउने अपेक्षा गर्न सकिन्छ ।’
आगामी निर्वाचनमा विकासले नेपालमा रहेर कसका लागि के रणनीति बनाउँछन् र परिणाममा कति हिस्सेदारी पाउँछन्, त्यो भने हेर्न बाँकी नै छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया