‘अग्नि’ : मेरो छुटेको इतिहास
‘अग्नि’को अन्तिम पृष्ठ फर्काएपछि केही निमेष झण्डै स्तब्ध भएँ म । पौने तीन सय पेजको महाकाव्यमा बग्दै जाँदा भावनात्मक रूपमा उद्वेलिन हुनु अस्वाभाविक हैन । तर लामै समयदेखि वैचारिक रूपमै आन्दोलित युवालाई दिग्भ्रमित बनाइदिने यो महाकाव्यको शक्ति हो ।
आरनबाट झिकिएको रातो फलाममा बडेमानको घन बज्रिएपछिको उत्पन्न ध्वनिकम्पन जस्तो, म झङ्कृत भएँ । प्रश्नैप्रश्नको घना जंगलबाट उत्तरको विशाल मैदानमा निस्किए जस्तो, यस्तो कि उत्तरैउत्तरको चारकोशेबाट प्रश्नको अग्लो टाकुरामा उक्लिए जस्तो । काव्यको विराट् रूपलाई हृदयतः अनुभव गर्दा चकित भएँ । वर्तमानको खरानीमा उभिएर हेर्दा देखिने त्यो वैभवशाली भूत । र जर्जरपूर्ण विभेद र रगतैरगतको भूतकालीन पटाङ्गिनीमा उभिएर हेर्दा देखिने सौम्य, शान्त र सुभाषित वर्तमान समाज जस्तो यो ‘अग्नि’ महाकाव्य ।
‘अग्नि’माथि (पाठकीय दृष्टिकोण) लेख्नुका मेरा दुई कारण रहे । पहिलो, यो महाकाव्य मेरो इतिहास हो । मैले बाँचेर आएको क्रन्दनपूर्ण चित्कारले भरिएको समयको चित्रण हो । र दोस्रो, महाकाव्य लेखन र बहसको यो शून्य प्रहरको एक बुलन्द आवाज हो ।
तर, यो समीक्षा होइन । माथिका दुई कारणबारे थप प्रस्टीकरण व्यक्त गर्दछु । पाँच हजार वर्षदेखि हिन्दू वर्णाश्रम जात व्यवस्थाले समाजको पिँधमा राखेर दमन गरेको जातको पछिल्लो पुस्ताको एक प्रतिनिधि पात्र हुँ म । वर्तमान संरचनाकै सीमान्तीकृत भूमिकाबाट राज्यव्यवस्थाको मूलधारतर्फ प्रश्न सोधिरहेको युवा । या भनूँ, दुई दशकदेखि उज्यालिएको पहिचानको भिडमा उभिएर इतिहास हेर्दा खरानी खरानी देखिरहेको एक्काइसौँ शताब्दीको समय पनि हुँ ।
नियोजित सुनियोजित रूपमै इतिहासको सबै सिलसिलाबाट, क्रमबद्धताबाट, निरन्तरताबाट छुटाएर, गलहत्याएर, लखेट्दै लखेट्दै वर्तमानको नाङ्गो राजनीतिक आँगनमा होमिन बाध्य पारिएको एक जात हुँ । समकालीन कविता लेखनको पुछारमा उभिएर आफैँले आफैँलाई कवि करार गर्दा पनि मानवताहीन अभ्यासमा संलग्न एक अभियुक्त हुँ । त्यसकारण यो विषयमा लेख्न जरुरी ठान्दछु ।
यस्तो विषम परिस्थितिमा ती तमाम इतिहासमध्ये एउटा इतिहासको लहरो समाएर पहरो गर्काउने महाकाव्य हो, ‘अग्नि’ । त्यसैले यो किताब मेरो हो । म जस्तै धारा, मन्दिर, पाटीपौवामा अछूत करार गरिएका मान्छेको किताब हो । अन्तरजातसँग प्रेम र विवाह गरेर मारिएका नवराज र अजित मिजारहरूको किताब हो । युद्ध र आन्दोलनमा बगेको रगतको अछूत छिर्काले लेखिएको किताब हो र माइतीघर अगाडि उभिएर दलित युवाले राज्यलाई देखाइरहेको प्लाकार्डमा उल्लिखित तमाम नाराहरूको एक समष्टिगत व्याख्या हो । आन्दोलन हो । सशक्त आवाज हो ।
दोस्रो, महाकाव्यको शिथिल बजारमा दर्विलो खुट्टा टेक्न आइपुगेको ‘अग्नि’ वर्तमान समयको मानक हो, मापन हो र, महाकाव्य लेखनको अर्थपूर्ण घुम्ती हो । कवितालाई फेसबुक स्टाटसमा सीमित राखेर फुटकरमा भाइरल बाँच्नेहरूको भिडमा यो गीता हो, बाइबल हो, कुरान हो, त्रिपिटक हो, अर्को घोषणापत्र हो । साहित्यको ओइलाउन थालेको महाकाव्यको हाँगामा ‘कर्ण’, ‘धरा’ र ‘अग्नि’ विशिष्ट फूलहरू हुन् । नेपाली महाकाव्यको बिँडो थामिरहेका डा. लम्साललाई कथित अछूत भनिएको दलितको इतिहास किन उधिन्न पुरेको होला ?
छन्द वा लयलाई मूल आधार मानेर साहित्यको वर्गीकरण गर्दा समग्र साहित्य गद्य र पद्य गरी दुई भेदमा विभक्त छ । सरल, सहज र सरसपूर्ण गद्यमा उनिएकाले पनि ‘अग्नि’ सीमान्तीकृतका लागि समेत पठनीय छ । तर विडम्बना, प्रेमिकाको सुक्सुकाहटमाथि लेखिएको कवितामा अनेक रूपले अथ्र्याउने होडबाजी चलिरहेको बजारमा ‘अग्नि’माथि किन लेखिरहेका छैनन् समीक्षक, समालोचकहरू ? किन बोलिरहेका छैनन् बोल्नेहरू पनि ? किन बढिरहेको छ शून्य समयको आयतन ? के ठूले कामीको इतिहास पढ्न चाहदैनन् ? कि छेलाङ्गी विश्वकर्माको प्रश्न सामना गर्न सक्दैनन् उनीहरू ? यसरी मौन छ बजार कि, उनीहरू ‘अग्नि’सँग डराइरहेका छन् !
पुनश्चः यो समीक्षा होइन ।
ठाइठोक यो प्रशंसाको पुलिन्दा हो । यसका केही कारण छन् । पहिलो, जल्दै गरेको आगोको राँक भित्रबाट बडो जोखिमका साथ सुरक्षित निकालिएको जडी हो, बुटी हो । कवि डा. नवराज लम्सालप्रतिको हार्दिक भाव हो । किनकि, डा. लम्सालबाट यो महाकाव्य नलेखिएको भए, सायदै कसैले लेख्न सक्थ्यो । लामो समयदेखि दलन खेपिरहेको दलित समुदायबाट यत्तिको ओज र रापतापसहितको महाकाव्य लेखिन केही दशक प्रतीक्षा गर्नुपर्ने थियो । त्यतिन्जेल हजारौँ इतिहास, कथा र मिथक समयको आगोले खाएझैँ ठूले कामी र जेठी तरबारको इतिहास पनि आरनको गोलझैँ खरानी भएर विलीन हुन सक्थ्यो ।
दोस्रो, महाकाव्य अनूभूतिको महाप्रवाह पनि हो । महाकाव्यभित्रको जीवन, प्रकृति र समय सभ्यताको यति ठूलो विराट संरचना निर्माणमा राजनीतिक गन्ध आउँदैन । सीमित सिद्धान्त, वाद वा कुनै पद्धतिभन्दा धेरै उचाइबाट संयोजन गरिएको छ । न दलित हुनुमा कतै हीनताबोध छ, न त ब्राह्मणलाई उछितो काढिएको छ । महाकाव्य पढ्दै गर्दा बारम्बार नवराज लम्सालको थर त याद आउछ, तर ‘अग्नि’ प्रवेशमा उनले मान्छे हुन रोकेको दिन जातीय कोट फुकाल्न गरेको प्रतिबद्धताले मन तान्छ ।
तेस्रो, यो महाकाव्य दलित इतिहासको पहिलो पाइला हो । अनुसन्धानका लागि फेरको धागो फुस्किएको स्वीटर हो, अब खोल्दै खोल्दै जान सकिन्छ । घर बसेको चोयाको एक पोयो हो, अब डोकै बुन्न सकिन्छ । एक सुरुवात हो, अब लुकेका-लुकाइएका, दबेका-दबाइएका, छिपेका-छिपाइएका रहस्योद्घाटन गर्न सकिन्छ ।
इतिहासमा रातो मसी
संसारमा विकसित मानवशास्त्रले कुनै वर्ण चिन्दैन, जातको कुरै छोडौँ । तर दक्षिण एसियाको भारतवर्षमा ३५ सय वर्षअघि (ऋग्वेदको दशौँ मण्डलमा काल्पनिक विराट पुरुषको अंगबाट चार वर्णका मानिस उत्पन्न भएको उल्लेख) सुरुवात भएको वर्णव्यवस्था हाल जात व्यवस्थाको रूपमा संस्थागत र नीतिगत संरचनामा स्थापित छ । छिद्रछिद्र र तहतहमा यसरी विभाजित छ कि सुनारले विश्वकर्मालाई, विश्वकर्माले लोहारलाई टेर्दैन । कानुनतः दलित मान्छेमा रूपान्तरण भएको २०७२ सालको नयाँ संविधान पछि न हो । सामाजिक रूपमा दलित मान्छे बन्न त बाँकी नै छ ।
यस्तो जर्जर जात व्यवस्थाको पिँधमा च्यापिएर पनि दलित समुदायले नेपाली समाज विकासक्रममा पुर्याएको योगदानबारे इतिहास मौनप्रायः छ । ठूले कामी र उनको समूहले जेठी तरबार बनाएर मकवानपुर राज्यव्यवस्थाको श्रीउन्नयनका लागि गरेको योगदान सानो परिघटना मात्र हो । तर अढाइ सय वर्षसम्म यो इतिहासबारे दलित समुदाय नै अनविज्ञ रह्यो । हामीले सुन्ने गरेको बिसे नगर्चीको इतिहास के हो ? बिसे नगर्चीसँग पृथिवीनारायाण शाहले पैसा लिएकै दिन उनी जसवीर कामीको आरनमा किन पुगेका थिए ? कहाँ छ त्यो इतिहास ? कसले बताउने हो बिजुलीवीर कामीको सत्य वीरगाथा ? काले सार्की को थिए ? कहाँ छन् उनका सन्तान, दरसन्तान ? शुभघाटबाट गोर्खाली फौजलाई त्रिशुली तार्ने जलेवा माझीको इतिहास कसले कुन पानामा लेखेको छ ? लेख्न जरुरी थियो कि थिएन ? थिएन भने किन थिएन ? विभेदकारी इतिहासको पाना खोज्दै रातो मसी लिएर को आउने हो नवराज जस्तै आँट, साहस, प्रतिबद्धता र ज्ञान चेतना लिएर ?
नेपाली दलित आन्दोलनले तीन दशकदेखि इतिहास सच्याउने मुद्दालाई थप सशक्त बनाउन खोजेको थियो । जनयुद्धमा बलियो गरी स्थापित हुन खोजेको दलित आन्दोलन अजीत, रुकुम सामूहिक हत्याकाण्ड, अंगिरासम्म आइपुग्दा दुईचार नारा र प्लाकार्डमा सीमित बन्न पुग्यो । दुखद् कुरा यस्तो भयो कि आन्दोलन नै दलगत घेराबन्दीमा पुगेर निभ्यो । राज्यको बुटले निर्मम रूपमा कुल्चियो । साना झिल्का लिएर बसेका समूहले बोलिरहेको र बोल्न बाँकी मुद्दालाई ‘अग्नि’ले उठाएको छ । राजनीति र साहित्यको भेद यही आएर प्रस्ट हुन्छ कि, राजनीतिभन्दा माथि पुगेर साहित्यले अडान लिन्छ । तर हिजो ठूले कामी र आजका छेलाङ्गी विश्वकर्माहरू किन राजनीतिक परिधिभन्दा बाहिर छन् ? यसको जवाफ कसैले दिनुपर्दैन, छर्लङ्ग छ ।
अधिकारपूर्ण उत्तरको खोजी
झण्डा सिलाएर त्यही झण्डाप्रति अपनत्व महसुस गर्न नपाउने कस्तो राष्ट्रप्रेम ? आफैँले निर्माण गरेको मूर्ति पूजा गर्न नपाउने कस्तो धार्मिक सहिष्णुता ? शदीयौँदेखि निरन्तर हारेर अरुलाई जिर्तादिनुपर्ने कस्तो सामाजिक एकता र सद्भाव ?
हामीले बाँच्न खोजेको वर्तमान राजनीतिक व्यवस्था भनेको उत्तरहरूको खोजी हो । तर हाम्रा प्रश्नहरू सत्ताले कमजोर बनाउन खोज्छ, यस्तो उत्तरदायित्वविहीन व्यवस्थाले लोकतन्त्र बाँच्दैन । महाकाव्यले उठाइरहेका प्रश्नहरूको उत्तर न अहिलेको राज्य एक्लैले दिन सक्छ, न सक्नेछ, न समाजले दिन सक्ने ल्याकत राख्छ । आश्चर्यजनक मजाक त यो हो कि, जब राज्यले नै प्रश्न गर्छ र दलित आफँै यी प्रश्नहरूको उत्तर बोकेर जीवित छ । त्यही उत्तरको एउटा झिल्को हो ठूले कामी र जेठी तरबारको मिथक । वर्तमान आरनमा फलाम जस्तो इतिहासलाई इमानको खलाँतीले फुकेर तताइरहेको छेलाङ्गीहरू हाकाहाकी प्रश्न गर्छन् । भन्छन्, ‘चिया त खानुहुन्न होला यो आरनको ?’ पाँच हजार वर्ष समाजको सत्तामा बसेको तप्कालाई यो प्रश्नले प्रस्तुत गर्ने व्यङ्ग्य अर्को छैन । यो प्रश्न नेपाली समाजको मुटुमा छ, र त्यो तप्कालाई कति लज्जाबोध हुँदो हो ? त्यसको अनुभूत नवराज लम्सालहरू नै जान्दछन् ।
के हो देश ? के हो माटो ? के हो दलितको साइनो योसँग ? र कसरी सुरुवात भयो अछूत सभ्यताको धरातल ? को थिए विश्वकर्मा ? को हुन् ठूले कामी ? उनका सन्तान दरसन्तान अहिले पनि उस्तै छन् ? कि फेरियो कथा ? यो आगो के हो ? फलाम के हो ? फलाम ठोक्ने मान्छेको शरीर पनि फलाम जस्तै स्पात किन बन्छ ? तर उसको मन किन फूल जस्तो छ ? धर्म, संस्कृति, संस्कार, व्यवहार, विधि, विधान, पद्धति, प्रणाली, प्रक्रिया के हो ? के हो एउटा तरबारको राज्यभ्रमण र एकीकरण वा विस्तार या विराट् विधानमा उनिएको देश के हो ? यी यस्ता प्रश्नहरू हुन्, जसले देश दुनियाँको इतिहास, धर्म, दर्शन, राजनीति, अर्थव्यवस्था र नितान्त मनोगत भावहरूको अध्ययन खोज्छन् ।
भगवान् थुन्ने समाज
स्वतन्त्र राज्य मकवानपुरको राजधानी मकवानपुरगढी सेन वंशीय राजाहरूको राज्य सञ्चालनको केन्द्र थियो । ७ जना सेन राजाले करिब ३०० वर्ष यो राज्यमा शासन गरेको इतिहास छ । गढीभित्र वंशगोपाल मन्दिर छ । यो मन्दिरभित्र कृष्णको प्रतिमालाई फलामको साङ्लोले बाँधिएको अहिले पनि देख्न पाइन्छ । यो मिथक अत्यन्तै रोचक छ ।
एक बिहान भगवान्को पाउमा तोरीका फूलहरू टाँसिएको भक्तजनहरूले देखे । सबै सशंकित र आश्चर्यमा परे । पूजारीहरूले चियोचर्चो गर्दा भगवान् कृष्ण रातिराति बाहिर गोपिनीलाई भेट्न जाने र बिहानमात्रै फर्कने रहेछन् । मन्दिर छाडेर जाँदा अनिष्ट आइपर्ने विश्वासले भगवान् कृष्णलाई नै गाउँलेले मन्दिरभित्रै बाँधेर राखेको किंवदन्ती छ । ‘अग्नि’ महाकाव्यमा यो मिथकलाई यति सान्दर्भिक रूपमा उल्लेख गरिएको छ कि यसले तत्कालीन समाज व्यवस्थाबारे छर्लङ्ग बनाउँछ । मुक्तिदाता भगवान्लाई समेत मुक्त हुन नदिने समाजले फगत सेवकका रूपमा बाँचेको दलित समुदायलाई कुन प्रकारको व्यवहार गथ्र्यो भन्ने प्रसंग अब लम्मेतान बताइरहन परेन ।
भोगाइको जगमा उठेको पूर्वीय दर्शनको बेजोड अभिव्यक्ति
हजारौँ कथा, मिथक र विम्बले वैभवशाली पूर्वीय दर्शनको भरपूर प्रयोग भएको ‘अग्नि’ कुनै देवपुरुषको शास्त्रार्थ जस्तो लाग्छ । हिन्दु धर्मले खोज्छ जात, गोत्र, थर र उपथर, तर वेद रचियता व्यासको जात के थियो ? वशिष्ठ र अगस्ति को हुन् ? स्वर्गका वैद्य अश्विनीकुमार घोडीबाट जन्मिएका हुन् भने उनको जात के हो ? शिव र कृष्णको जात के हो ? कसले बताउन सक्ने हो ?
हिन्दूग्रन्थका तमाम स्थानमा विविध अस्त्रको प्रयोग प्रसंग आउँछ । शिवकै डमरु र त्रिशुलकै कुरा होस्, अर्जुनको गाण्डिव या पृथ्वीनारायण शाहको तरबार । काष्ठमण्डप, सत्तल, हिटी, पाटी या खुँडा, खुर्पा र खुकुरीहरू कसले बनाए ? देव युगदेखि वर्तमान समाजसम्म आइपुग्दा निर्माणमा काम गरेको त्यो तप्का कहाँ छुटिरहेको छ ? कसले छुटाइरहेको छ ? महाकाव्यले पूर्वीय दर्शनका तमाम मिथसँग जोडिएका यस्ता प्र्रसंगको रहस्योद्घाटन गर्छ कि त्यो सानो अध्ययनले लेख्न त सम्भव नै छैन, पढेर बुझ्न पनि गाह्रै पर्छ ।
वर्तमान समाजको खास समस्या के हो ? जात हो या आचरण ? जीवनको मूल के हो ? धर्म या आदर्श ? यी यस्ता प्रश्नहरू हुन् जसले अहिलेको समाजको पुनर्संरचनाको माग गर्दछ । पूर्वीय दर्शनको जगमा उभिएको यो समाजको पुनर्संरचना गर्नु भनेको जात व्यवस्थाको अन्त्य गर्नु हो ? त्यो महाकाव्यले भन्दैन, बोल्न सक्दैन । तर महाकाव्य चलाख छ । मान्छे हुन रोकेको दिन यो जातीय कोट फुकाल्ने हिम्मत राख्दछ ।
अन्तरजात प्रेम/विवाहभित्रको जर्जरता र जीवन
एउटा सञ्चारकर्मी/कविसँग आरनमा फलाम पिट्ने छेलाङ्गी विश्वकर्माले एक रातमा गरेको काव्यसंवाद हो, ‘अग्नि’ । छेलाङ्गी ठूले कामीका दरसन्तान हुन् । र उनी कथित अभिजात दरबार परिवारकै जुनीयामासँग प्रेम विवाहपश्चात् बेँसी भागेर खलाँती चलाइरहेका छन् । छेलाङ्गी र जुनीमाया जस्ता प्रेमीको कदमले निम्त्याएको परिणाम वर्तमान समयमा कायमै छ । मर्नु, मारिनुपर्ने नियति भाग्नुपर्ने वास्तविकता जिउँदो छ ।
विभेदरहित समाज निर्माणका लागि अन्तर्घुलनको अवधारणा प्रचलनमा छ । तर, जोखिमपूर्ण अन्तर्जातीय विवाहले समाजमा उत्पन्न गरेका तरंग कतिसम्म खतरनाक हुने गरेका छन् भन्ने कुराको साक्षी हामी सबै छौँ । बाँचेका दम्पतीहरूसमेत समाजबाट तिरस्कृत हुनुपर्ने वर्तमान नेपालकै चित्र छेलाङ्गी र जुनीमायाको पात्रत्वले पुष्टि गर्दछ ।
दरबार ढले पनि माटो सकिएको छैन भन्ने धारणा राख्ने जुनीमायासँग आक्रोश छ, उनलाई वंश गोपालको मन्दिरमा नाँच्न र शिव मन्दिरमा बेलपत्र चढाउन मन लागिरहेको छ, त्यो आक्रोश जात व्यवस्थाले निर्माण गरेको आन्दोलनअघिको सुषुुप्त तयारी हो । जुनीमायाले बाँचेको जीवन अन्तर्जातीय विवाह गरेका नेपाली महिलाहरूले भोगिरहेको एक साहसिक जीवन दुःख हो । जसले करुण भाव उत्पन्न मात्र गराउँदैन, आक्रोशको भाव पनि पैदा गराउँछ ।
अन्त्यमा,
‘अग्नि’ प्रवेशदेखि नै एउटा यस्तो यात्रा सुरु हुन्छ, अब लेख्न बाँकी के छ ? तर पढ्दै जाँदा डुब्दै गइन्छ, तर त्यसको गहिराइ छाम्ने ल्याकत हुनुपर्छ । कविताको विकासशील चेतना, विराट् आयाम र आख्यानीकरण कथाले महाकाव्यलाई गहुं्रगो बनाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया