'करिया'ले किन मदन पुरस्कार पाएन होला ?
'करिया' उपन्यास २०७७ सालको मदन पुरस्कारका लागि छानिएका ९ ओटा कृति मध्ये एक थियो । कृष्ण अविरलद्वारा लिखित 'करिया' उपन्यासमा विभिन्न शीर्षकहरूमा समेटिएका ३७ ओटा बेग्लाबेग्लै उपशीर्षकहरू रहेका छन् भने, अन्तिमको एउटा शीर्षकमा चाहिँ 'करिया'का बारेमा जानकारी दिइएको छ । तत्कालीन अवस्थामा कमारा कमारी राख्ने र पशुलाई झैँ बेचबिखन गर्ने परम्परा विश्व व्यापी रूपमा व्याप्त समस्या थियो ।
'करिया' कमारा कमारीका रूपमा मान्छेले मान्छेकै बेचबिखन गर्ने वा मानव तस्करी हुने परम्परालाई विषयवस्तु बनाएर लेखिएको उपन्यास हो । यो सामाजिक इतिहास बोकेको उपन्यासमा ठालु, सामन्ती शोषकहरूले गरिबहरूलाई भेडाबाख्रालाई झैँ बेच्ने, अनि बेचिने मान्छे र उसका परिवार निरीह प्राणी झैँ बस्ने, साना दुधे बालकलाई छुटाएर भए पनि बेच्ने परम्पराको चित्रण गरिएको छ । यो कृति किन पुरस्कृत भएन होला !
यो यथार्थवादी सामाजिक उपन्यास हो । यो आञ्चलिक उपन्यास हो । यस उपन्यासले नेपालको एउटा कालखण्डको इतिहासलाई रोचक तरिकाले कल्पनाका फुलबुट्टा भरेर पाठकका अघि पस्किएको छ । आजका प्राय नेपाली पुस्ताले कहिल्यै नसुनेको इतिहासको चित्रण यस उपन्यासमा गरिएको छ । उपन्यास पढेका वेलामा तत्कालीन समय र परिस्थिति पाठकले सजिलै बुझ्न सक्तछ वा तत्कालीन समाज पाठकका दिमागमा छर्लङ्ग हुन्छ । त्यसका साथै उपन्यासकारले तत्कालीन समाजको चित्रण गरेर आजको समसामयिक समाजप्रति पनि ठुलो व्यङ्ग्य गरेका छन् ।
मदन पुरस्कार कमलमणि दीक्षित र रानी जगदम्बाको संयुक्त प्रयासबाट स्थापना भएको हो । रानी जगदम्बा चन्द्र शमशेरकी कान्छी बुहारी हुन् । कमलमणिका पुर्खा राममणि चन्द्र शमशेरका कर्मचारी हुन् । चन्द्र शमशेरले कमारा कमारी प्रथा उन्मूलन वा अमलेख गरे भन्ने कुरो इतिहासमा पाइन्छ, तर चन्द्र शमशेरलाई करिया उन्मूलन गर्ने प्रेरणा राममणि आदीले दिएका हुन् भन्ने कुरो चाहिँ यसै उपन्यास पढ्दा जानकारी पाइन्छ ।
मेरा विचारमा राममणिका सन्तानका आँखा परेका भए अथवा मूल्याङ्कन कर्ताहरूले राम्ररी विचार पुर्याएका भए 'करिया' उपन्यासले मदन पुरस्कार अवश्य पाउने थियो, तर २०७७ सालको मदन पुरस्कार 'लिम्बुवानका ऐतिहासिक दस्तावेज सङग्रह' जस्तो महत्त्वपूर्ण ग्रन्थका लेखक भागिराज इङ्नामले पाए । इङ्नामलाई हार्दिक बधाइ ।
पाठकलाई इतिहास वास्तविक घटना हो र कथा वा आख्यान भनेको चाहिँ काल्पनिक हो भन्ने विश्वास हुन्छ । साहित्यकारले कल्पनाले बुनेर कथा बनाउँछ, त्यसैलाई फिक्सन भनिन्छ । इतिहासकारले इतिहासमा घटेका घटनालाई टुक्राटाक्री गरेर खोज्छ र ती घटनाहरूलाई जोडेर काल्पनिक कुरा पनि थप्छ र वास्तविक घटना जस्तै पारेर बनाउँछ ।
यसरी वास्तविक घटनामा काल्पनिक कुरा पनि थपेर सत्य जस्तै पारेर बुनेर इतिहास लेखिन्छ । 'करिया' उपन्यासमा पनि आजको युगले बिर्सेको सामाजिक इतिहास जिउँदो पारिएको छ । उपन्यासकारले आफ्नै गाउँघरका ओरिपरि घटेका घटनालाई आफैले देखे भोगेका पात्रलाई सम्झँदै कथा बुन्दै, इतिहाससँग जोड्दै उपन्यास अघि बढेको छ ।
इतिहास बुझ्न त्यस वेलाका अनेक कृतिहरू पढ्नु पर्छ, भन्ने नव इतिहासवादी विचारबाट यो उपन्यास प्रभावित छ । यो उपन्यास लेख्नका लागि उपन्यासकारले त्यस वेलाका इतिहासका साथै अनेक कृतिहरू पढेर त्यस वेलाको लुकेको आर्थिक, सामाजिक र इतिहासको पाटो पनि चित्रण गरेका छन्, जस्तै : 'करिया अमलेखका लागि भनेर पशुपतिनाथ मन्दिरको ढुकुटीबाट ३६ लाख ७० हजार रुपिञा निकालेकोमा करिया मालिकहरूलाई भुक्तानी दिँदा जम्मा ५१ हजार सात सय ८२ रुपिञा मात्रै खर्च भएको थियो (३०८), ‘पायोनियर’ पत्रिकाले १९ अगस्ट १९२६ को अङ्कमा पशुपतिनाथको गुठीबाट लिएको रकम र करिया मालिकहरूलाई भुक्तानीको तथ्याङ्कसहितको समाचार छापिदियो (३०८)', आदि ।
मिसेल फुकोका भनाइमा अरुले जुन कुरालाई सत्य मान्छन्, वास्तवमा सत्य त्यही मात्र नहुन सक्छ । जुन कुरो शासक, ठुलाबडा, धनी जमिन्दार, आदिले यही नै सत्य हो भनेर देखाउँछन्, वास्तविक सत्य चाहिँ कुनाकाप्चातिर लुकेको हुन सक्छ । मान्छे आफ्नो स्वार्थ भएका कुरालाई सत्य मान्ने, र जुन कुरामा आफ्नो स्वार्थ छैन, त्यसको अस्तित्व नै छैन भन्ने मान्छ । विश्लेषण गर्ने हो भने हरेक डिस्कोर्स (प्रवचन वा मान्यता) भित्र अन्तर्विरोध हुन्छ । डिस्कोर्स निर्माण गर्नेहरूले नै दर्जा दिएका हुन्छन्, जस्तै : समाजमा पुरुष ठुला महिला साना, धनी ठुला गरिब साना, शासक ठुला जनता साना, सहरको राम्रो गाउँको नराम्रो, गोरा ठुला काला साना,आदि । 'करिया' उपन्यासले हाम्रो समाजमा परम्परागत रूपमा रहेका त्यस्ता अनेक मान्यताहरूको चित्रण गरेको छ, जस्तै :
'सात दिन भित्रमा हरायेका मान्छेको सास वा लास केही भेटियेन भने हाम्रो रीतिअनुसारको कर्म गर्नुपर्छ । धर्मपत्नीले सती जानुपर्छ ।'(८५), 'भित्र भान्सामा चाहिँ पतिले खाएकै जुठो थालमा खाना पस्केर सुबेदार्नी खान थालिन् ।'(३५)
जुन महिलाहरूले ९ महिना सम्म गर्भमा छोराछोरी बोक्छन्, र मृत्युतुल्य कष्ट पाएर छोराछोरीलाई जन्माउन सक्छन्, वा राष्ट्र चलाउन सक्ने सन्तानलाई जन्म दिन सक्छन्, तिनै महिलाहरू चाहिँ तल, अनि सबै काम अरुलाई लगाएर उपरखुट्टी लाएर खाने पुरुष चाहिँ माथि हुने परम्परा माथि उपन्यासमा तिखो व्यङ्ग्य गरिएको छ । पिटर ब्रुकरका अनुसारमा जुन शक्ति महिलामा छ, त्यो शक्ति पुरुषमा हुँदैन, महिला जति महान् पुरुष हुँदैनन् भन्ने अवधारणा दोस्रो चरणको महिलावादी आन्दोलनले ल्याएको हो ।
यो उपन्यास महिलावादी विचारबाट प्रभावित छ, जस्तै : 'मर्दहरू बोलिरा ठाउँमा तँ जैरीले किन जान्ने हुनुपरो? खुरुक्क भित्र जा ।' (३२) गुणेकाजीले पत्नीलाई हप्काए । (३२), 'किनकि बैँसालु उमेरदेखि नै वैदव्य जीवन बाँच्दै आएकी उनलाई गाउँका धेरैजसोले बोक्सी भनेर देखिसहँदैनथे । कसैका पेटमा बच्चा अडिएन, कसैका बाख्रापाठा मरे, कसैका गाईभैँसीले कुनै साँझ दूध दिएनन् भने पनि अपजस उनैका टाउकामा आइलाग्थ्यो' (२७), 'विवाहित महिलाहरू जब घरबाट गलहत्याइन्छन्, उनीहरूको सहारा दैव पनि बनिदिँदैनथे ।
सामान्य सहानुभूति दिनेसम्म पनि कोही हुँदैनथे । बरु त्यस्ता बेसहारा बनेका एकल महिलालाई बोक्सीको बात लगाउन, उनीहरूलाई खिसीको पात्र बनाउन स्वयम् महिलाहरू नै अगाडि सर्थे । पँधेरा वा दोबाटोमा कतै जम्काभेट भइहाल्यो भने पनि आँखा तर्थे । पुरुषले पनि मौका पाउनासाथ उनीहरूमाथि यौनकुण्ठा मेटाउन अस्त्र प्रयोग गर्थे । समाजका सामु खुब आदर्शका कुरा गर्नेहरू पनि त्यस्ता स्त्रीहरूको हुर्मत लिने सवालमा तल्लो स्तरमै झर्थे '(१५७) ।
उत्तर उपनिवेश वादका पक्षधरहरूले उनीहरूका साहित्यमा हारेका, कमजोर र निम्सरो आवाज दबाइएका पात्रहरूलाई नायक बनाएर वा केन्द्रमा रहेका वा जित्ने पात्रलाई खलपात्रका रूपमा चित्रण गर्ने गर्छन् । त्यसै गरी यस उपन्यासको विषयवस्तुले नै यो उपन्यास उत्तर उपनिवेश वादबाट प्रभावित भएर लेखिएको छ भन्ने बुझिन्छ, जस्तै : 'अन्तिम सास फेरिरहेको बलेलाई नजिकैबाट हेर्दै बद्रीमानले भने, 'हिर्काउँदाखेरि पनि अलि विचार पुर्याउनुपर्छ नि ! हेर त, एक सये ४० रुप्याँ दाम छिनभरमै स्वाहा भयेन अब' (११८),'ए सानीका बा, कमाराकमारी त खोप्रामा येउटै छैनन् ! लौन कता गए.' (१०८), 'अनाहकमा बाह्र वर्षअघि तैँले मेरो आँखा फुटाइदियेको थिस्, तेसको बदलामा मैले तेरो...काटिदिये पनि पाप नलाग्ने हो ।' ...करियामाथि अतेचार गर्नेको कुन गति हुन्छ भन्ने कुरा अरूहेरूले पनि थाहा पाउनुपर्छ । र, बाँचुन्जेल तँलाई पीडा भैर'नुपर्छ ।'(२७३)
फ्रान्सेली राज्य क्रान्ति अघि संसारभरि सामन्त वाद थियो, ठुला साना, धनी गरिबको समस्या समानता र स्वतन्त्रता थिएन, तर फ्रान्सेली राज्य क्रान्तिले ती सबैलाई स्थापित गर्यो । फ्रान्सेली राज्य क्रान्ति (१७८९- १७९९) र बेलायती औद्योगिक क्रान्ति (१७६०-१८४०) का कारणले गर्दा मध्यम वर्गको विकास भयो ।
फ्रान्सेली राज्य क्रान्तिको प्रशंसा गरेर थुप्रै साहित्यकारहरूले आफ्ना रचना मार्फत समर्थन गरे । त्यसैको फलस्वरूप बेलायतमा दास प्रथा मुक्त भयो । संसारभरि दास प्रथाको विरोध हुन थाल्यो । सबैले समानता र स्वतन्त्रताको बिकुल फुक्न थाले । परिणाम स्वरूप उपन्यासमा व्यक्त भए अनुसार नेपालमा पनि राममणि आदी र मणिरत्न जस्ता पात्रको प्रयासले चन्द्र शमशेरले करिया अमलेख गरे ।
यो उपन्यास मार्क्सको वर्गीय द्वन्द्वबाट प्रभावित छ, जस्तै: 'हाम्ले ले'को, खा'को हिसाब भयेजस्तै हाम्ले दिनरात, झरी-घाम नभनी चार पुस्ता अगिदेखि काममा दलियेको नि हिसाब होला हुन्च कि मालिक ।' (११७), देब्रे गोडामा छिराइसकेको काँचो छालाको जुत्ताको झटारो दिइहाले । उसका मुखैमा लाग्ने गरी (११७), 'घरबुना खाँडीको कछाड, मन्थलीको लाले दर्जीले सिएको तुने दौरा, सैपु भोटेडाँडाका अने सार्कीका बाबुले सिएको काँचो छालाको कानेजुत्ता र भादगाउँले कालो टोपीमा ठाँटिएर हिँड्थे उनी ।' (६३)
मिखाइल बख्तिनका अनुसार संसारभरिमा कुनै कृति कसैसँग पनि प्रभावित नभएको हुनै सक्तैन । कुनै पनि लेखकले आफ्नो कृतिको रचना गर्दा भिन्दा भिन्दै कृति तथा ठाउँहरूबाट विचारहरू ल्याउँछ र एक ठाउँमा थुपार्छ अनि नयाँ कृति रच्छ, कुनै पनि साहित्य अरुका कृतिहरूबाट प्रभावित भएकै हुन्छ । त्यसैले जुन जुन कृतिहरूबाट प्रभावित भएर नयाँ कृतिको सिर्जना हुन्छ, ती कृतिहरू बिच अन्तरपाठात्मक सम्बन्ध भएको हुन्छ । पहिले नै लेखिएका कृतिहरूको शीर्षक यस उपन्यास भित्र उपशीर्षकका रूपमा रहेकाले के बुझिन्छ भने, ती सबै कृतिहरूसँग यो उपन्यासको अन्तरपाठात्मक सम्बन्ध रहेको छ ।
तत्कालीन समयमा समाजमा देखिएका विवाहका अनेक प्रकारहरू उपन्यासमा पाइन्छ, जस्तैः बाल विवाह, अनमेल वा बेमेल विवाह, बहु विवाह, पत्नी जीवितै भएका पुरुषले पनि अनेक पत्नी भोग्ने, अनि रक्षक नै भक्षक भने जस्तै करियाहरू जसका घरमा बसेका हुन्छन्, तिनै मालिकहरूले कमारीलाई बलात्कार गर्ने, ती अधबैँसे कमारी मात्र नभई तिनका छोरीहरूलाई पनि नछोड्ने र ती बालिकाहरू माथि शोषण गर्ने पुरुष समाज, पुरुषले ६०-६४ वर्षको भए पनि १२ -१४ वर्षका बालिका बिहे गर्ने परम्परा ! पुरुष कहिल्यै बुढो नहुने, महिलाले सधैँ पुरुषको अत्याचार सहेर बस्ने चलनलाई जायज मान्ने चलन यस उपन्यासमा चित्रित छ ।
उपन्यासमा तत्कालीन समाज र पात्रको चित्रण गरेर आजको समसामयिक समाजप्रति पनि ठुलो व्यङ्ग्य झल्किएको छ भन्न सकिन्छ । दयानिधिले करियातर्फबाट जन्मिएका आफ्ना छोरीका साथै गाउँभरिका करियाका छोरीहरू सहरमा भएका बडाहाकिम कहाँ ओसार्छ । चेलीबेटी बेचबिखन गर्नका लागि भारतका कोठीहरूमा पुर्याउने कार्यका नाइके र दयानिधिमा फरक नै के छ र ?
दयानिधि प्रतिनिधि पात्र हो । दयानिधि चेलीबेटी बेचबिखन गर्छ, देशको नीति नियम बनाउने माथिल्लो तहसम्म उसको सम्पर्क छ । उसकै धन सम्पत्ति धेरै छ ।उनै गाउँको ठालु हो । उ नै करियाहरूको रक्षक र भक्षक दुवै हो । धर्मको ठेकेदार पनि उही, गाउँमा उँचनिच व्यवहार गर्ने, अर्काको घर, जग्गा धन सम्पत्ति जालझेल गरेर आफ्ना नाममा पार्ने पनि उही, गाउँमा आफ्नो इज्जत बढाउनलाई श्रीमद्भागवत महापुराण सप्ताह लगाएर पाप पखाल्ने अनि सबैको प्रशंसा बटुल्ने पात्र पनि उही ! कस्तो दोहोरो चरित्र ! हाम्रो वर्तमान पनि पो के फरक छ त ! नाम पनि कस्तो उल्टो 'दयानिधि !!'
उपन्यासमा बडाहाकिम पात्र फ्रायडको पराहंबाट प्रभावित छ । विकृत मानसिकताको पात्र हो बडाहाकिम । यस उपन्यासमा उपन्यासलाई यथार्थता दिनका लागि नेपाली भाषाको पुर्वेली भाषिका भेद वा बोलिचालीको भाषा प्रयोग गरिएको छ । पूर्वी पहाडी भेकमा बोलिने नेपाली भाषालाई तत्कालीन समयमा जस्तोसँग बोलिन्थ्यो वा जसरी बोलिन्छ, त्यसरी नै उपन्यासकारले पात्रहरूलाई बोल्न लगाएका छन् । उपन्यासमा भाषालाई जीवन्तता दिन खोजिएको छ, जस्तैः '‘लु, एउटा काम गरौँ दाजु ।’ मुईले (९), रइछु (१०), कारन (११), लेराइज (१२), लगेसि (१०२), बैशाखाँ (१०५), घराँ (१०६), गयेका (१०६), पिर्थिवी' (१६२), आदि ।
आजका पुस्ताले कहिल्यै नसुनेको नेपाली इतिहासको एउटा सिङ्गै पाटो र आफ्ना पिता पुर्खाले देखेको, भोगेको नेपाली समाज र संस्कार, इतिहास, राजनीति अनि नेपालको भूगोललाई यस उपन्यासले जस्ताको तस्तै प्रस्तुत गर्ने प्रयास गरेको छ । लेखकले आफ्ना कृतिमा बेग्लाबेग्लै पात्रहरूको सिर्जना गरेर तत्कालीन परिस्थितिको आफ्नै गाउँघर ओरिपरि मानिसहरूले भोगेका, देखिएका र लेखककै अन्तरमनमा लागेका कुराहरूलाई कुनै न कुनै पात्रका माध्यमद्वारा आफ्नै मनका कुराहरू भन्छ ।
उपन्यासमा समान जात भएका दयानिधिले रमानाथ रेग्मीलाई हेपेको देख्ता के बुझिन्छ भने, ठुला जातले साना जातका भनेर मात्र हेप्ने, धनी, ठालु र सामन्ती जमिन्दारहरूले कमारा कमारीलाई मात्र हेप्ने वा होच्याउने होइन रहेछ, शक्ति भएकाले वा जसको बोलावाला छ, त्यसले कुनै कमजोर वा आवाज दबिएको एक्लोलाई हेप्ने वा दुख दिने रहेछ। लोभ, ईर्ष्या, डाहा, आरिस, आदिका कारणले एउटै जातका मान्छे आफ्नै जातका मानिसहरूबाट पनि हेपिन्छन् र गाउँ छोड्न बाध्य हुने रहेछन् ।
केही वर्ष अघि मलाई पनि राममणि आदीले लेखेको 'मणिकोष'मा काम गर्ने अवसर मिलेको थियो । उनका नाति कमलमणि दीक्षितका साथमा उनको गैह्रीधारा स्थित निवासमा पुगेर उनका छोरा केशवमणि दीक्षितका साथ राममणि आदीकै अक्षरलाई आफ्ना हातले छाप्ने सौभाग्य मलाई मिलेको थियो । आज उनैका प्रयासले करिया मोचन भएको पढ्न पाउँदा म पनि रोमाञ्चित भएकी छु ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया