चिबु : एक फिल्मी नोस्टाल्जिया
‘ओइ ओरकाने ! ओम हलमा आज ‘एक नम्मरको पाखे’ फिलिम लाग्न लाऊ रै’छ नि ! हेर्न जान्नस्, जाइन ?' माइलाले खुबै जोस्सिँदै आएर सुनायो । अरूका कानभन्दा मेरा अलि लामा-चौडा भएर दिदीले सप्रेम राख्दिएको नाम हो- ओरकाने । यो नाम दिदी र आमाले अक्सर मलाई गाली गर्दा प्रयोग गर्ने भएर होला, मलाई फिटिक्कै मन पर्दैन ।
त्यही नाम आज माइलाले प्रयोग गर्यो । उसको ‘ओरकाने’ शब्द छनोटले निदाइरहेका मेरा कन्सिरीका रौँ एकाएक ठाडा हुन पुगे । एक मन त लाग्यो, साला हुर्याइदिउ क्यार यसलाई ! को हो यो भाते, मलाई ‘ओरकाने’ भन्ने हिम्मत गर्ने ? तर, उसको पछिल्लो समाचारले भने मेरो गर्मीलाई पूरै शीतल पार्दियो ।
‘हो र !’ म हौसिए,’ त्यै राजेश हमालको घोडावाला फिलिम हैन ?’
माइलाले आफ्नो टाउको तलमाथि हल्लायो ।
‘तर, मसँग पैसा छैन नि त यार ! कस्तरी हेर्ने ?’
‘सब सेटिङ म मिलाउँछु । तँ ढुक्क हो न केटा ।’ म ढुक्क भएँ ।
यसो यताउति हेरेँ, घरमा दिदीआमा कोही देखिएनन् । टन्टै साफ ।
‘ल गैहालम् हिँड् !’
हामीलाई दौडेर हलसम्म पुग्न दुई मिनेट पनि लागेन । हलमा भीडभाड सुरु भइसकेको थियो । पैसा तिर्दै, हलभित्र छिरिरहेथे मान्छेहरू । माइलो र म अलि कुनातिर टुसुक्क बसेर मान्छेको भीडभाड सकिने पलको प्रतीक्षा गर्न थाल्यौँ । हल भन्नु के थियो र !
होटेलका बेडहरू हटाएर बनेको ठिकठाकको गोदाम कोठा । कोठाभरि लहरै सजिएका काठका २०/२५ थान बेन्च । बेन्चको अघिल्तिर फुच्चाफुच्चीहरूका लागि गुन्द्री बिछ्याइएको खाली स्पेस । र, सबैभन्दा अगाडि काठको अग्लो टेबलमा टुसुक्क ठड्याइएको २४ इन्चे रंगीन टीभी । कालाखेत मात्रै नभएर आसपासका गाउँहरूमै सबैभन्दा ठूलो रंगीन टीभी ओम हलकै थियो ।
२०६० सालतिरको सोलार प्यानलको जमाना । बत्ती बाल्नै धौधौ परेको बेला पनि तेलबाट चल्ने जेनेरेटर ल्याएर फिलिम चलाइरहेथे- ओम हलका एक मात्र मालिक मिस्टर ओमप्रकाश । त्योबेला आसपासका सबै गाउँमा खुबै हाइहाइ थियो उनको ।
गोरो अनुहार, चिटिक्कको ज्यान र सफाचट कपडामा उनी सधैँ लोभलाग्दा भएर हिँड्थे । झन् त्यसमाथि अझ विशेष चमक थियो ‘ओम फोटो स्टुडियो’ । रंगीचंगी पर्दाका अगाडि उभिएर फोटो खिच्ने भनेपछि मान्छेहरू हुरुक्कै हुन्थे । अझ केटीहरूको त के कुरा गर्नु । चाडबाडमा टीका दक्षिणाबाट जुटेका सबै पैसा उनीहरू यहीँ खनाउँथे ।
जेहोस् ! मिस्टर ओमप्रकाश, ओम सिनेमा हल र ओम फोटो स्टुडियोको माहौलले गाउँको महफिल जमेको समय थियो त्यो । ‘ओइ जाइन ! आइज अब छिरम् भित्र । सबै जना छिरिसके ।’ माइलो जुरुक्क उठ्यो । म नि ऊ सँगसँगै उठेँ । ‘ओइ ! कता तिमीहरू ? पैसा छ र भित्र छिर्नलाई ?’ ढोकामा बसेका मिस्टर ओमप्रकाश बम्किए । माइलाले केही कानेखुसी गरेजस्तो पनि गर्यो । थुप्रै पल्ट । तर अहँ ! उनले मान्दै मानेनन् । ‘आज पूरै हल पैसा तिरेका मान्छेहरूले हाउस फुल भइसक्यो । जाऊ उता । फुस्सा जाइनहरूका लागि ठाउँ छैन आज ।’
मिस्टर ओमप्रकाश बिस्तारै मलाई मान्छे कम् यमदूत बढी लाग्दै गए । मानौं दया, माया, करुणा त कुनै वन्यजन्तुको नाम हो यिनका लागि । तपाईं आफैं भन्नुस् न, हामी दुईजनालाई यसो खुसुक्क छिराउँदैमा के जान्थ्यो यिनको ! कत्ति न हामीले उनको सारा घरबारी नै सिध्याइदिन लाए जस्तो । मेरा फुच्चे कन्सिरीका रौँ फेरि ठाडा हुन थाले ।
मिस्टर ओमप्रकाशले अन्तत: ढोका लाएरै छोडे । ढोका मात्रै लाएको भएनि यसो प्वालबाट छुस्स हेर्न त हुन्थ्यो नि ! उनले कालो न कालो मोटो पर्दाले दृश्य पूरै अँध्यारो पार्दिए ।
अब बाहिर बसेर झोक्रिनु सिवाय अरू कुनै विकल्प रहेन ।
बेलाबखतमा मान्छेहरू हल छिर्ने निस्किने गरिरहन्थे । ढोका खुल्ने, बन्द हुने क्रममा हाम्रा आँखा एकाएक चनाखा हुन पुग्थे । झिलिक्क नै सही, ढोकाको प्वालबाट यसो फिलिम हेर्न त पाइन्थ्यो । तर यो सुवर्ण साइत १०, १५ मिनेटमा मुस्किलले एकपल्ट मात्र जुर्थ्यो ।
यस्तैमा मेरो फुच्चे दिमागमा एउटा गज्जबको आइडिया फुर्यो । माइलालाई त्यही लात मार्दै म माथितिर कुँदिहालेँ । ओम हलको माथिल्लो तलामा विराजमान थियो, के.सी. होटेल । के.सी. होटेलको अँध्यारो कर्नरमा टुसुक्क बसेर सधैंझैं मेरा बा आफ्नो नित्य कर्ममा लीन थिए । सितन जाबोलाई बालै नदिने मेरा बा त्यो दिन पनि बिनासितन नै गिलासको रक्सी स्वाट्ट घुट्क्याउदै थिए । म पुगेँ सरासर पुलिस चेकिङको शैलीमा ।
बा हच्किए ! रक्सीका दिवाना भए पनि मेरै छेउमा रक्सी घुट्क्याउन भने अलि हच्किन्थे उनी । ‘काँ आइस् ओइ तेरी माटोक्ने ? जा, घर जा सुरुसुरु ।‘देख्ने बित्तिकै बम्किहाले बुढा । म पनि उनकै उत्पादन न परेँ । पछि हट्ने त कुरै रहेन । ‘आमाले तुरुन्त बालाई ल्याएर आइज भनेकी छिन् । जाम् हिँड्नुस् घर ।‘बुढाले कुरा बुझिहाले । कालो कोटको भित्री गोजीबाट सुटुक्क पाँच रुपियाँ झिकेर मेरो हातमा थमाइदिए ।‘जा गइहाल् अब । भाग् ।’
अब किन पो बस्नु थियो र मलाई ! पाँचको रातो नोट ढलकढलक ढल्काउँदै मसहित हलतिर दौडिएँ । हतार हतार सिधै गएर ओम हलको ढोका ड्याम्मै हान्दिएँ । माइलो बाहिर कतै देखिएन । बिचरा ! हल्का टिठ पनि लाग्यो उसको । मिस्टर ओमले पर्दाबाट यसो चियाउन थालेका मात्रै के थिए, मैले सुरुमै पाँचको रातो नोट टलक्क टल्काइदिएँ । बिचरा ! ढोका नखोली सुखै भएन उनलाई ।
हल कोठा अब उपरान्त केसी होटलको ग्राहक सुत्ने कोठामा परिणत हुने भयो । बेन्चको सट्टा लहरै बेडहरू राखिए । दर्शकको बदलामा ग्राहकहरू आउने भए । ओम हल पूर्णत: गेस्ट हाउस बन्ने भयो ।
मिस्टर ओमले खोल्दिएको ढोकाबाट सानसहित सरासर भित्र छिरेँ म । तर अफसोस् ! मेरो सान धेरैबेरसम्म टिक्न भने पाएन । हलको स्पेसल टिकट एरिया उर्फ गुन्द्री पूरै खचाखच देखियो । गुन्द्रीमा गुन्द्रुक जसरी कोच्चिएर बस्नुको विकल्प रहेन । दुई तिहाइ ज्यान भुइँमा र एक तिहाइ गुन्द्रीमा थन्क्याउँदै जसोतसो फिलिम हेर्न बसियो ।
नोट :
सल्यान कालाखेतको तत्कालीन ओम सिनेमा हलमा दुई खालको टिकट व्यवस्था थियो ।
पहिलो : अगाडिको गुन्द्रीमा मज्जाले पलेँटी कसेर फिल्म हेर्न चाहनेका लागि रु. ५ को स्पेसल टिकट ।
दोस्रो : बेन्चमा बसेर टीभीसँग डाइरेक्ट आँखा जुधाउँदै हेर्न चाहनेका लागि रु. १० को बाल्कोनी टिकट ।
०००
धेरै चोटि हेरिसके पनि ‘एक नम्बरको पाखे’ मलाई उस्तै मन पर्थ्यो । खासगरी राजेश हमालको घोडाले गुण्डाहरूलाई साफ धुलाई दिएको सिन मेरो फेबरेट थियो । माइलालाई पनि यो सिन खुबै मन पर्थ्यो । उसलाई किन पनि मन पर्थ्यो भने, फिल्ममा घोडाको नाम पनि ‘माइला’ नै थियो । सायद, घोडाले गुन्डा कुटिरहँदा, लुरे माइलालाई पनि आफैँले फाइट हाने जस्तो पो लाग्थ्यो कि !
बिचरा माइलो ! अहिले ऊ पनि सँगै भइदिएको भए, दुवैजना कसरी चिच्याउँदा हौँ । सँगसँगै फिल्म हेर्न नपाएकोमा मन हल्का चसक्क भयो । तर, फिल्मी दृश्यहरूले उसको अभाव धमिलो पार्दिए । सुरुदेखि नै आज पनि त्यही सिनको प्रतीक्षामा थिएँ म । सिन आयो । सदाझैँ हुटिङ थामिनसक्नुको भयो । घोडाको वाहवाही गरियो ।
अन्तत: फिल्म सकियो । दर्शक सबै प्रफुल्ल देखिए । उता ढोकामा बसेका मिस्टर यमदूत सरी ओमप्रकाश झन् खुसी थिए, दर्शकको खचाखच भीड देखेर । सबैलाई अगाडि लाउँदै म भने सबैभन्दा अन्तिम दर्शकको रूपमा बाहिर निस्किँदै थिएँ ।
निस्किनै लाग्दा ढोकानेरको बेन्चमुनि एउटा रातो नोट खसिरहेको देखियो । म एकाएक चनाखो बनेँ । सुटुक्क छेउमा गएर लुसुक्क खुट्टाले छोपिहालेँ । यसो यताउति चेक गरेँ । कसैले भेउ नपाएको ढुक्क भएपछि झ्यापझुप्पै नोट उठाइहालेँ । भारु २० अर्थात् नेपाली ३२ रुपैयाँ रै’छ ।
जिन्दगीमा पहिलोचोटि यति ठूलो नोट भेटाउन सकेकोमा म लास्टै खुसी भएँ । हस्याङफस्याङ गर्दै हतारहतार सिँढी उक्लिन थालेँ । किनकि जतिसक्दो छिटो घर गएर आमालाई सानसहित आफ्नो मेहनतको फल देखाउनु थियो मलाई ।
खुसीले खुट्टा भुइँमा थिएनन् मेरा । आधाउधी सिँढी चढेको हुँदो हुँ सायद, बाँकी चढ्न सकिएन । खुट्टा चिप्लिहाले । गल्र्यामगुर्लुम गइयो, सीधै तल सिँढीको फेदमा । चिबु काटिएछ । रगताम्मे भइसकेको थिएँ । हल्काफुल्का रिँगटा पनि लाग्दै थियो । दृश्यहरू बिस्तारै मधुरा हुँदै गए । त्यतिञ्जेल मान्छेहरू जम्मा भइसकेका रै’छन् ।
कसले खबर पुर्र्याएछ खै, आमा पनि आइसक्नुभएछ । अनेक मधुरा दृश्यहरूबाट उहाँ एकाएक स्पष्ट भएर आउनु भयो । चोटको भन्दा डर अब उहाँको लाग्न थाल्यो । मलाई थाहा थियो, अब ढुक्कै मर्नेवाला थिएँ म । बुढीले मायाले सुम्सुम्याउने त कुरै थिएन, सटासट चुट्न थालिन् । गाली गर्ने र भकुर्ने सिलसिला सँगसँगै चलिरह्यो । ‘तेरी ज्यालाई टोक्लास् र ! किन गर्छस् यस्तो अत्याचार, ए मुर्दार ?’ हेर्दाहेर्दै बूढी त रुन पो थालिन् ।
‘बाउको परान चौबिस घण्टा रक्सीमा, छोरो नहुने फिलिम भन्यापछि मर्लाजस्तो । पढ्नु लेख्नु केही छैन । खाली डुल्यो(हल्लियो, खायो, साले लोफ्फर । पख् ! म मर्र्यापछि था’ पाउँलास् तैँले ?’ गाली गरेर थाकेपछि बूढीले मलाई घरनजिकैको मेडिकल लिएर चिबु सिलाउन लगाइन् ।
घाउ भष्मे चर्किरहेको थियो । तर जति चर्किएनी कराउन कहाँ पाउनु ! बूढीको कुटाइ खाने डरले पनि म जतिसक्दो सहिरहेको थिएँ । अब त झन् दिदी पनि थपिएकी थिई । काली माता र दुर्गा माताको यो अलौकिक जोडीका सामु म बबुरोको के पो लाग्थ्यो र ! खैर ! भेटिएको नाथे ३२ रुपैयाँको बदलामा रू. १०० बराबरको औषधि खर्च गराएकोमा म निकै लज्जित बनेँ ।
०००
एक बिहान बजारका सबै रमितेहरू ओम हल अगाडि जम्मा भएका देखिए । माहौल अलिक गर्मिलो देखियो ।
भीडमा माइलो पनि झुल्कियो । कुरा बुझ्न अब अरूलाई सोध्नै परेन ।
‘ओइ गठ्ठी ! यतिका मान्छे किन जम्मा भा’का ?’
‘ओइ बड्डा ! तैले था’ पाइनस् ? ओम हलको टीभी त चोरले गायब पार्दैछ नि त !’
‘लाऽऽऽ हो र ! कै’ले ?’
‘हिजो राति रे !’
खबर निकै नमीठो लाग्यो ।
मनले मानिरहेकै थिएन ।
अब फिलिम हेर्न नपाइने भो भन्ने सोच्दा मनमा झनै कालो अँध्यारो बादल मडारियो । ओम हलको पर्दाभन्दा पनि सयौं गुणा कालो, हजारौं गुणा अँध्यारो ।
सबैजनाले चोरबारे आआफ्नै अड्कल पोखिरहेका थिए ।
‘टाढाको मान्छे त पक्कै हैन त्यो चोर ! नत्र कस्तरी था’ पाउँथ्यो यत्रो टिक्निक ?’
‘नजिकौ भया त था’ भइजानो क्यार ! तिमी पनि फुस्सा कुरा गर्छौं । मेरो ठोकुवा भयो, टाढैको मान्छे हो त्यो ।‘
‘ओमको कोइ दुश्मन पो थियो कि ! उसको भलो देख्न नसकेको । नत्र त किन चोथ्यो होला र !
अनेकले अनेक अड्कल थापे । तर अहँ ! न चोर भेटियो, न टीभी ।
सबैभन्दा अगाडि काठको अग्लो टेबलमा टुसुक्क ठड्याइएको २४ इन्चे रंगीन टीभी । कालाखेत मात्रै नभएर आसपासका गाउँहरूमै सबैभन्दा ठूलो रंगीन टीभी ओम हलकै थियो ।
बरू के चै भयो भने, केही दिनमै हलको ढोकाबाट वर्षौंदेखिको कालो पर्दा हटाइयो । बेन्च, गुन्द्री, टीभी-टेबल एकएकगरी सबै हटाइयो । हेर्दाहेर्दै पत्यारै नलाग्नेगरी ओम हलको अस्तित्व क्षणभर मै नामेट पारियो । मिस्टर ओमप्रकाशले अब फेरि अर्को टीभी नल्याउने नै भए । ‘ओम सिनेमा हल’मा अब कहिल्यै कुनै फिल्म नलाग्ने निश्चित भयो । त्यतिमात्रै कहाँ हो र !
अबका दिनहरूमा ढोका बाहिरको पिँडीमा टीभीको एक झिलिंगो पाउने आसमा टुसुक्क बसेका दुई फुच्चेहरूको अनुहार कहिल्यै देख्न नपाइने भो । फिल्म हेर्दै सिँगानका झरना बगाउने सिँगानेहरूले फेरि कहिल्यै गुन्द्रीमा पलेँटी कस्न नपाउने भए । छोरालाई पैसा थमाउँदै फिल्म हलतिर पठाएर आनन्दले रक्सी घुट्क्याउने मेरा बाले अब कहिल्यै चैनको सास फेर्न नपाउने भए ।
हल कोठा अब उपरान्त केसी होटलको ग्राहक सुत्ने कोठामा परिणत हुने भयो । बेन्चको सट्टा लहरै बेडहरू राखिए । दर्शकको बदलामा ग्राहकहरू आउने भए । ओम हल पूर्णत: गेस्ट हाउस बन्ने भयो । त्यसपछिका दिनहरूमा मिस्टर ओमप्रकाश खै कताकता गुमनाम हुँदै गए । उनीसँगै गुमनाम भए बचपने फिल्म, फिल्मी दुनियाँ र त्यहाँका रंगीन चरित्रहरू पनि । धेरैपछिसम्म पनि हामी उहीं पुराना डाइलगले म चलाइरह्यौं । राजेश, निरुता, निखिल, दिलीपका फिल्मी रमझम केही अधुरा रहिगए ।
अहिले पनि जबजब म कुनै फिल्म हेर्न बस्छु, तबतब ओम हलको यादले मनमा साह्रै काउकुती लाउन थाल्छ । सम्झनाका ती सबै दृश्यहरू ओम फोटो स्टुडियोको रिलझैं ब्ल्याक एन्ड ह्वाइट मोडमा फर्फर फर्फर फरफराइरहन्छन् । अझै पनि । घरनजिकै ओम हल नहुँदो हो त, यो फिल्मी दुनियाँबारे सायदै म केही विवरण गर्न पाउँदो हुँ । फिल्मका रंगीन पर्दाहरूमार्फत नै सही अनेक भूगोलका ती अतृप्त रुमानी गल्लीहरूको स्वाद लिने मौका सायदै पाउँदो हुँ ।
जय सिनेमा !
जय ओम हल !
चियर्स जिन्दगी !!!
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया