सप्ताहन्त

कार्थक :  कोलाहलमा एक्लो मान्छे

शरद प्रधान |
कात्तिक ७, २०७७ शुक्रबार ११:४७ बजे

कोभिड–१९ को महामारीको बन्दाबन्दीमा काठमाडौँ निवासीहरू सबैजसो नजरबन्द जस्तै थिए । मैले लगभग टीएस  इलियटको कवितामा वर्णन भए जस्तो ‘खाली मान्छे’ महसुस गरिरहेका थिएँ । 

यस्तो जटिल अवस्थाबीच कसैलाई भेट्न बाहिर जानु लगभग असम्भव वा सायद हामी जस्तो साधारण व्यक्तिका लागि असम्भव भन्दा पनि बढी नै थियो । यस्तो अवस्थामा मैले पिटर जे कार्थकलाई अस्पताल लगिएको कुरा प्रकाश सायमीबाट सुनेँ । 


प्रकाश सायमी नेपाली संगीत, फिल्म र साहित्यको विस्तृत ज्ञानकारी राख्ने व्यक्तित्वका रूपमा परिचित छन् । भोलिपल्ट अप्रिल २२ को बिहान उनले मलाई फेरि फोन गरेर पिटर कार्थकको निधन भएको दुःखद् खबर दिए । यो समाचार अप्रत्याशित थियो, मेरा लागि । 

उनी उपन्यास लेख्दै थिए भनेको सुनेको थिएँ, जुन चाँडै प्रकाशन हुन लागेको थियो रे । लेखन कर्म गर्दागर्दै कसरी विश्राम लिनुभयो होला त, मलाई विश्वास नै लागेन । 
दुःखद् समाचारसाथ प्रकाशले भोलिपल्ट मलाई शुभारम्भ—सांगीतिक यात्राको तर्फबाट पशुपतिनाथ मन्दिरको विद्युतीय दाहसंस्कार गृहमा उनको अन्त्येष्टिमा उपस्थित हुन अनुरोध गरे । शुभारम्भ—सांगीतिक यात्राले गोपाल योञ्जनको नाममा एक पुरस्कार स्थापना गरेको थियो, जो सन् २०१८ मा पहिलोपटक प्रसिद्ध गायक–संगीतकार दुर्गा खरेलले पाएकी थिइन् । पिटर कार्थक यसको अनौपचारिक संरक्षक जस्तै थिए ।

मेरो घर पशुपतिनाथ मन्दिरको नजिक भएकाले मलाई पुलिसको कडा निगरानीबाट जोगिएर जान सजिलो भयो । पिटर कार्थक जन्मले क्रिश्चियन थिए, तर अन्तिम दाहसंस्कार पशुपतिनाथ मन्दिरमा हुनु अनौठो संयोग नै हुनपर्छ । सायद, यो उनको भाग्यको खेल थियो होला ।

मलाई पहिलो पटक पिटर कार्थकको लेखनसँग परिचय गराइदिएकी थिइन्, प्रख्यात लेखक पारिजातले । त्यसबेला म कक्षा १० मा पढ्थेँ । पारिजात दिदीसँग मैले १० मा पढ्दा नै अन्तर्वार्ता गरेको थिएँ, जहाँ उनले मलाई पिटर कार्थकको उपन्यास ‘प्रत्येक ठाउँ, प्रत्येक मान्छे’ पढ्न सुझाएकी थिइन् । यो उपन्यासले सन् १९७८ मा साझा पुरस्कार पनि पाएको थियो । पारिजातसित मैले गरेको त्यो अन्तर्वार्ता ‘हिमालचुली’मा छापिएको थियो ।

त्यसको लगभग एक दशकपछि पिटर कार्थकसँग मेरो साक्षात्कार भयो । हाम्रो मित्रता दुई दशकसम्म कायम रह्यो । खै, के भनौँ, धेरै त नभनौँ, सन् २०१२ मा हाम्रो मित्रता टुंगियो ।

पिटर कार्थक भारतको शिलङमा जन्मे । उनको प्रारम्भिक शिक्षा दार्जीलिङबाट भयो । उनले स्कुलको शिक्षा ट्रनबुल हाइस्कुलबाट गरे र सेन्ट जोसेफ कलेजबाट स्नातक गरे । 

इन्द्रबहादुर राई (दायाँ) र पिटर जे कार्थकको बीचमा लेखक । 


कलेजका बखत उनका सहपाठी नेपालका पूर्वराजा ज्ञानेन्द्र र प्रसिद्ध अभिनेता–गीतकार नीर शाह थिए । संगीतप्रतिको मोहले उनले हिलियन नामक सांगीतिक ब्यान्ड खोले । अनि यसका अलावा ज्याज संगीतका महारथी लुई बैकसँग सहकार्य गरे, ज्यामखाना क्लबमा गितार बजाउँदै । 

जब उनी विद्यार्थी थिए, प्रख्यात कवि ईश्वर बल्लभ र संगीत महर्षि अम्बर गुरुङ उनका शिक्षक थिए । संगीत र साहित्यप्रति आकर्षित गर्ने एउटा कारण यो हुन सक्छ । दार्जीलिङमा गोपाल योञ्जन, शरण प्रधान र अम्बर गुरुङसँग संगत गर, उनले । अम्बर गुरुङ र गोपाल योञ्जन नेपाल पसेपछि उनी पनि सन् साठीको दशकको अन्ततिर नेपाल पसे । 

‘मेरो रचनात्मक प्रक्रियामा, म लेखकभन्दा पहिले संगीतकार हुँ,’ उनले गत वर्ष काठमाडौँ पोस्टलाई भनेका थिए, ‘मैले नारायण गोपाल, गोपाल योञ्जन, तारा देवी, शिवशंकर र अरु धेरैका लागि गितार बजाएको छु ।’ 

उनले सन् १९९० पछि संगीत पूरै छोेडेको बताएका छन् । भनेका छन्— संगीत धेरै सीमित थियो, त्यसैले म एक कलाकारका रूपमा त्यतिबेला अघि बढिरहेको थिइनँ ।

दुई वर्षअघि उनले ‘नेपाली म्युजिक–मेकर्स’ नामक पुस्तक लेखे । पुस्तकमा संगीतकार र गायकबारे लेखेका छन् । दार्जीलिङदेखि काठमाडौँसम्मको संगीतमय यात्राबारे पनि कलम चलाएका छन्, यसमा । 

पिटर कार्थकको लेखनमा कतै पनि उनको सुरुवाती दिनहरूमा गरेको रचनात्मक लेखनबारे चर्चा भेटिँदैन । दार्जीलिङमा उनको साथीकी प्रेमिकाको बलात्कार भएको घटनाले उनी सधैँ बेचैन रहे । 

काठमाडौँ आएपछि उनी अम्बर गुरुङमार्फत प्रसिद्ध साहित्यकार शंकर लामिछानेसँग नजिकिए । पिटर कार्थकले भनेका थिए— धेरैचोटि उपन्यास पुनर्लेखन गर्न लगाएपछि मात्र ‘प्रत्येक ठाउँ, प्रत्येक मान्छे’मा भूमिका लेख्न शंकर लामिछाने सहमत हुनुभयो ।  

त्यो भूमिका नै शंकरले लेखेको अन्तिम भूमिका भइदियो । पारिजातको ‘शिरीषको फूल’मा शंकरले लेखेको भूमिकाको पनि उत्तिकै चर्चा हुने गर्छ, साहित्यिक वृत्तमा । 

कार्थकले ‘प्रत्येक ठाउँ, प्रत्येक मान्छे’ आफँैले अंग्रेजीमा अनुवाद गरे । आफ्नो अंग्रेजी अनुवाद भारतमा प्रतिष्ठित प्रकाशकहरूबाट छाप्न हरसम्भव प्रयास गरे । उनी निराश भएर एक दिन मलाई भनेका थिए— भाइ, भारतीय प्रकाशकहरूले गोर्खा वा हिमालयबारे लेखेका उपन्यास मात्र आश गर्दा रहेछन्, नेपाली लेखकहरूबाट । 

पिटरका केही कथा पनि साझा प्रकाशनबाट छापिने गरिमामा प्रकाशित भएका छन् । नेपाली भाषामा थोरै लेखेर धेरै प्रशंसा पाउने भाग्यमानी लेखकमा पर्छन्, पिटर कार्थक ।

आफ्नो दोस्रो उपन्यास ‘काठमान्ड्रुइड्स् : मोनोमिथ्स एन्ड मेन्यामिथ्स’बारे कुरा गर्दै रिपब्लिका दैनिकमा उनले भनेका छन्, ‘आफ्नो पुस्तकमा काम गर्दै गरेका बेला मैले एउटा लेख पढेँ । जहाँ नाइजेरियाली लेखक चिमामन्डा एनगोजी एडिचीमाथि लेखिएको थियो । उनी कस्तो कुरा गरिरहेकी थिइन् भने उपन्यासकारहरूलाई डबल हेलिक्स फर्ममा लेख्न सुरु गर्ने समय आयो । उनले कसरी एकल कथा अपूर्ण र रुढी छ भन्नेबारे आफ्ना विचार व्यक्त गरिन् ।

म उनको रायसँग पूर्ण सहमत भएँ । मैले आफ्नै उपन्यासमा त्यो मार्ग लिनेबारे सहमत थिएँ । म काठमाडौँमा दोहोरो कथा ल्याउने काम गरिरहेको थिएँ ।’
काठमाडौँमा छोटो बसाइँका लागि आएका पिटर कालान्तरमा नेवार युवतीसँग बिहे गरी दुई छोरासाथ यहीँ बसे । नेपालमा आएपछि उनले इटालियन निर्माण कम्पनीमा काम गर्नेदेखि क्यासिनोसम्ममा काम गरे । उनले पाटन क्याम्पसमा र ब्यांककमा पनि अंग्रेजी पढाए ।

पिटरको अँध्यारो पक्ष के थियो भने उनी आत्मकेन्द्रित थिए । आफैँ लाई मात्र ठूलो देख्ने मनोवृत्तिले पछिल्ला दिनमा उनी साथीहरूबाट पनि एक्लिए । नेपालमा अंग्रेजी लेख्ने क्रममा उनले कसैलाई पनि आफ्नो बराबरी ठानेनन् । उनी ती साथीहरूबाट टाढा थिए, जो उनको लेखनसँग परिचित थिए । ती युवाहरूद्वारा घेरिएका थिए, जसले उनको उपन्यास र नेपालीमा कथाहरू कमै पढेका थिए ।

पिटर एक ठाउँमा नै बसेर जागिर नखाने मानिसका रूपमा परिचित थिए । पत्रकारिताका क्रममा केही समय द हिमालयन टाइम्समा काम गरेपछि केही समय काठमाडौँ पोस्टसँग सम्बन्धित रहे । पछि रिपब्लिकामा पनि काम गरे । त्यो भन्दा पहिले उनी पोखराको फुलबारी रिसोर्टमा थिए । लामो समयसम्म नेपाली ट्राभलर पत्रिकामा सहसम्पादक पनि रहे । उनले असीको दशकमा भाइसँग मिलेर कार्थक ट्राभल भन्ने एजेन्सी पनि खोले ।

आफ्ना अन्तिम दिनमा उनी काठमाडौँबाट मोहभंग भए जस्तै मनोदशामा थिए । यहीँ ठाउँमा आधा शताब्दी बिते पनि उनले यहाँ आफूलाई बाहिरिया महसुस गरे । 
उनी नेपाली–अंग्रेजी साहित्यको धरोहर थिए । दार्जीलिङ  र नेपालमा उनले दिएको संगीत र साहित्यको योगदान बिर्सनुहुन्न, कसैले पनि ।


Author

थप समाचार
x