लोकसंस्कृति
जब विक्रमशाही सुनकेसराको रूपलावण्यमा भुले...
यो चन्दननाथको देश, वलिराजको देश । यो वलिराजले जोगीबाट पाएको देश । यहाँ अयश–आराममा लाग्नेलाई भलो हुँदैन ।
एकादेशमा परापूर्वकालमा एउटा राजा थिए । उनकी सुनकेसरा नामकी रानी थिइन् । होइन । ईशाको सत्रौं शताब्दी (१६०२–१६३१ ई.) मा विक्रमशाही नामका राजा जुम्लाको राजगद्दीमा थिए ।
उनी वलिराजका छैटौं उत्तराधिकारी हुन् । उनी प्रतापी र प्रजावत्सल राजा थिए । उनको राज्य पूर्वमा मुक्तिनाथसम्म फैलिएको थियो । उनका सामने सबै राजा नतमस्तक थिए । राजा विक्रमशाहीको राजकाल बडो आनन्दपूर्वक चलेको थियो । देशमा अमनचैन थियो । प्रजा सुखी थिए । उनलाई ऐश्वर्यले नपुग्दो केही थिएन ।
एक दिन एउटा दूत आएर दरबार लागेका बेला अनकनाएर बस्छ । राजाले उसको कुरा बुझ्न मन्त्रीलाई अह्राउँछन् । मन्त्री दूतसित सबै कुरा बुझ्छन् । दूतको कुरामा मन्त्रीलाई घत लाग्छ ।
यता राजा पनि दूतले के कुरा ल्यायो होला भन्ने मनमनै विचार गरिरहेका थिए । मन्त्रीले एकान्त पारेर राजालाई सबै कुरा बिन्ती गरे ।
दूतले कुनै राज्यमा एउटा राजा छन् । उनकी सुनकेसरा नामकी मैयाँ छन् । उनी अति रूपवती र शीलवती छिन् । मैयाँको विवाहयोग्य उमेर भइसकेको छ । राजा योग्यवरको खोजीमा छन् । मौसुफ जस्तो योग्य रूपवान् राजालाई पाएर उनी धन्य हुनेछिन् । हजुरलाई पनि त्यस्ती ३२ लक्षणले युक्त भएकी परमसुन्दरीलाई रानी बनाउन पाए आनन्द लाग्नेछ । हामो दरबार उज्यालो हुनेछ ।
दूतले ल्याएको यो खबर राजाले मन्त्रीबाट सबिस्तार सुने । राजा सुनकेसरा मैयाँको रूपलावण्यको वर्णन सुनेर सुनकेसराप्रति विह्वल हुन थाले ।
यसै समय खोचरनाथ घौल्यात्रीमा जाड (भोटे) राजा झम्पन राज्य गर्दथे । झम्पन पनि सुनेकसरा मैयाँलाई पाउन विह्वल थिए । विक्रमशाहीको दूतले झम्पनको सबै कुरा पत्ता लगाएको थियो ।
दुवै राजा सुनकेसराप्रति मरिमेट्न थाले । अन्त्यमा जीत विक्रमशाहीको भयो । सुनकेसरा मैयाँ जुम्लाकी रानी भइन् । राजा विक्रमशाही बडो खुशी भए । दरबारियाले बकस पाए । अरूले भोज खाए । दिन अघि बढ्दै गयो ।
काठमाडौंको मण्डला थियटरमा 'सुनकेशरी' नाटकमा अभिनय गर्दै सिर्जना अधिकारी, सुलक्षण भारती, सोमनाथ खनाल लगायत । तस्बिर : नवीनबाबु गुरुङ
सुनकेसरा मैयाँ जुम्लाको दरबारमा आएपछि राजा विक्रमशाही उनकै रूपलावण्यमा भुले । राजकाजको कुनै काम वास्ता भएन । देशको आमदानी घट्न थाल्यो । प्रजा दुःखी हुँदै गए । भाइभारदारले प्रजालाई पिरेको पिर्यै भयो । त्यो सुनिदिने कोही भएन । सेनामा शिथिलता आयो । गाउँघरका स्वास्नीमान्छे पनेरामा कुरा काट्न थाले— दरबारमा यस्तो छ ।
विक्रमशाहीका दरबारको कुरा एक–दुई गर्दै झम्पनका कानमा पुग्यो । उनी पनि सुनकेसरालाई पाउन लालायत थिए । झम्पन सुनकेसरालाई हरण गरेर आफ्नो दरबारमा लैजान चाहन्थे । उनले यसका लागि धेरै प्रयत्न गरे । झम्पन कति पटक गुप्त रूपले जुम्ला आए गए त्यसको सूचना राजा विक्रमशाहीलाई कसैले दिएन । न उनलाई नै पत्ता लगाउने चासो थियो । यो अवस्था उनलाई घातक सिद्ध भयो ।
राजा विक्रमशाहीलाई शिकार गर्न निकै चाख थियो । उनी कुशल शिकारी थिए । एक दिन शिकारमा जाने तयारी भयो । साथमा सुनकेसरा रानी पनि जाने भइन् । निर्दिष्ट ठाउँमा शिकारको थर्पु लाग्यो ।
विक्रमशाही आफ्ना परिचारकका साथ दिनभर शिकारमा जान्थे र बेलुका फर्कन्थे । कहिले रातमा पनि शिकार हुन्थ्यो । कुनै दिन दिउँसो गए धेरै रात बिताएर फर्किन्थे । शिकारबाट फर्केपछि आफ्ना सबै बहादुरी आफ्नी रानी सुनकेसरालाई सुनाउँथे । एवं रीतले विक्रमशाही शिकारमा व्यस्त थिए । रानी आफ्ना सहेलीका साथ राजा शिकारबाट कहिले फर्केलान् भनेर बाटो हेरिरहन्थिन् । दुवै एकअर्कालाई देख्न नपाउँदा आतुर हुन्थे ।
सबै व्यक्ति झम्पनका सेनाका कब्जामा परे । झप्पन सुनकेसराको हरणमा सफल भए ।
झम्पनलाई सुनकेसरा पाउने उत्कट अभिलाषा थियो तर उनी सदा असफल रहन्थे । झम्पनले विक्रमशाही शिकारमा गएको कुरा थाहा पाए । विक्रमशाही कति बेला शिकारमा जान्छन् त्यो कुरा आफ्ना दूतद्वारा झम्पनले पत्ता लगाइसकेका थिए ।
एक दिन झम्पनले राजा विक्रमशाहीको शिकार शिविरमा हमला गरे । त्यस समय विक्रमशाही शिकारमा गइसकेका थिए । त्यहाँका सबै व्यक्ति झम्पनका सेनाका कब्जामा परे । झप्पन सुनकेसराको हरणमा सफल भए ।
विक्रमशाही शिकारबाट फर्के । बाटामा आफ्नी रानीलाई सुनाउने कुरा गम्न थाले । आज यो कुरा भने रानी खुशी हुनेछिन् । राजा थर्पुमा आइपुगे । तर त्यहाँ केही थिएन । विक्रमशाहीका मनमा सा¥है खिन्नता उत्पन्न भयो । यो सबै खेल झम्पनकै हो भन्ने कुरा उनलाई निश्चय भयो । एक मन त सोचे सोझै गएर झम्पनलाई आक्रमण गरौं । तर त्यहाँ त्यसो गर्न उनीसित पर्याप्त सेना थिएन । अतः उनी आफ्नू राजधानीमा फर्के ।
राजधानीमा फर्केपछि झम्पनसित लड्ने तयारीमा लागे । विक्रमशाहीले झम्पनको राजधानीमा आक्रमण गरे तर यसमा उनलाई सफलता मिलेन । केही दिनपछि पुनः आक्रमण गरे यसमा पनि उनी पराजित भए ।
दुई–दुईपल्ट हार खाएपछि विक्रमशाही निकै निराश भए । राजा भएर उचित कुरामा युद्धबाट विमुख हुनु पनि उनलाई मन लागेन । आफ्नू धेरै–जसो सेना सखाप भइसकेको थियो । उनले मनमनै सम्झे– “शाइमलशाही ।”
त्यस समय साइमलशाहीको नामका रासकोटी प्रतापी राजा तीखाशूलीमा राज गर्दथे । विक्रमशाही र साइमलशाहीबीच मामाचेला फुपूचेलाको सम्बन्ध थियो । विक्रमशाही साइमलशाहीको दरबारमा पुगे र यावत् वृत्तान्त भने ।
साइमलले आफ्नू सेना दिएर उनको सहायता गर्ने वचन दिए । ठूलो तयारीका साथ झम्पनमाथि आक्रमण भयो । दुवैतर्फबाट घमासान युद्ध भयो । यस पटक विक्रमशाही विजयी भए । यो घटना घटेको अनेक शताब्दी बित्यो । तर यहाँको जनता आज पनि यस घटनाको वर्णन लोकगीतको रूपमा यस प्रकार गाउँदै छ—
झम्पनको जीजाजिउथैं गाई दौनै गइछन् ।
माज मैडा पारो राखी वाउली चूटी रोइछन् । ।
चूटी यल्या फलाम य ठोकी यल्या कीला ।
साइमल् साइका पल्टनले हीन लाग्या घला ।।
छोपी यल्या झम्पनक वानी अल हात ।
लूटी गयो राजपाट छुटी गयो थात ।।
झम्पनकी कान्सी रानी तामाडाडु धुन्छन् ।
झम्पनका सातै रानी कठै भनी रून्छन् ।।
झम्पनका टेक्न्या लौरी ठौर ठौर बुट्टा ।
झम्पनका पल्टन भरी कठै छाति कुट्टा ।।
कुच्ची कारम साइमा डाँडा चारै सल्ली बेल ।
छकाल झुल्याका घाम झम्पन पडया नेल ।।
झम्पनको लाइन बोखु छुरीले छेक्याको ।
झम्पन जाड नेल पड्नु कर्ममा लेख्याको ।।
झम्पनको रातो पाखी राती काली धागी ।
सेर्सेर् मांसु खान्या झम्पन कोद्या लीटालागी ।।
झम्पनको रातो गोरु उदो मुख हुक्का ।
पान्सेर मासु खान्या झम्पन् नाली वौर बुक्का ।।
झम्पनको चड्न्या घोडो उदो हेरी खिल्क ।
झम्पनको सुनको टोपी चौघान् डील मिल्क ।।
झम्पनको पतनपछि यस भेकमा कति घटना घटे होलान् । विक्रमशाहीपछि उनका कति उत्तराधिकारी भए । राजकाजका कति घटना घटे । १७८९ ई. मा गोरखा राजवंशले यस क्षेत्रमा आक्रमण ग¥यो । यो उसको अन्तिम घटना थियो । ऊ अब जुम्ली राज्य नभएर नेपाल अधिराज्यमा विलीन भयो । ऊ आजसम्म सानो थियो अब ठूलो भयो; जसरी जवा र तिलानदी कर्णालीमा पुगेर जलराशिमा मिलेर ठूला हुन्छन् ।
जवानदी, तिलानदी, हिमानदी मिली ।
कर्णालीलाई भेट्न गइन् गर्दै झिलिमिली ।।
जुम्ला चारैतिर हिमाली शृंखलाले घेरिएको अति नै मनमोहक ठाउँ हो । यहाँ पुग्ने यात्री यस अनुपम दृश्यबाट प्रभावित नभई रहन सक्तैन । त्यसै कारण यहाँको जनता गाउँछ —
दखिनकी भागिरथी उत्तर् सरोबर ।
अरू देश कैले हुन्थ्या हिमाल् बरोबर ।।
(पुरातत्वविद् जनकलाल शर्माको पुस्तक ‘कौतुकमय डोल्पो’बाट । आजभन्दा ५१ वर्षअघि उनले गरेको कर्नाली यात्रा–वर्णन रोचक छ । कर्नाली सभ्यता र संस्कृतिमा डुबाउँदै अनि कर्नाली प्रकृतिमा डुलाउँदै लेखिएको यो पुस्तक नेपालका यात्रा–साहित्यमध्ये उत्कृष्ट पुस्तकमा पर्छ ।
‘जोसमनी सन्त परम्परा र साहित्य’ पुस्तकका लागि मदन पुरस्कार तथा ‘हाम्रो समाज : एक अध्ययन’ पुस्तकका लागि साझा पुरस्कार पाएका शर्मा संस्कृतिविद् र साहित्यशास्त्रीसमेत हुन् । ‘महाकवि देवकोटा : एक व्यक्तित्व, दुई रचना’, ‘ललित–कला र साहित्य’ जस्ता पुस्तकका लेखक शर्माका संस्मरण समेटिएको कृति पनि पठनीय छ । ‘कौतुकमय डोल्पो’लाई मञ्जरी पब्लिकेसनले हालै पुनःप्रकाशन गरेको छ ।)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया