सप्ताहन्त

अनि कर्मदा कहिल्यै देखिइन !

दीलिप रानाभाट |
फागुन १, २०७७ शनिबार १९:५८ बजे

दसैँमा के के गरिन्छ ? सबै नेपालीले जे गर्छन् हामीले पनि गर्ने त्यही नै हो । अरूले गर्नेभन्दा हामी सागर र म एउटा फरक काम गथ्र्यौ । दसैँमा बोका काटिसकेपछि आमाले भान्सामा राखेको बोकाको रगतको बाटाबाट हराउँथ्यो एक बटुको रगत र त्यस रगतबाट लेखिन्थे महिनाको एक, एक गोटाका दरले ६ महिनालाई पुग्ने गरी चिठ्ठी । अनि सागरको भने एकै महिनामा सकिने गरी लेखिन्थे चारवटा सुन्दर नाम । कुरूप अक्षरमा । यो सिलसिला चलेको दुई वर्ष भइसकेको थियो । पहिलो वर्षका रगतका चिठ्ठी उसलाई दिन नपाएर कट्कटिएर बसेका थिए । जसलाई अरू कसैले देख्लान् भन्ने डरले म आफैले च्यातेर फ्याँकेको थिएँ । यसपटक भने मसँग मज्जैले आँट पलाएको थियो, चिठ्ठी उसलाई दिनलाई । मेरो त्यो आँट स्कुल खुलेपछि भागेर कहाँ पुग्ने हो, ठेगान थिएन ।

दसैँ बिदा सकिएपछि स्कुल खुल्यो । उसको पछि लाग्ने अझै दुई, तीन जना थपिएका छन् भन्ने हल्ला थियो स्कुलमा । अब उसको बाटो ढुक्ने र मौका मिलेमा आफ्नो कुरा राख्ने सात जना पुगिसकेका थिए ।  ६ जनाको बारेमा स्कुलमा सबैलाई थाहा थियो । सातौं नम्बरमा म पनि छु भन्ने सागरलाई बाहेक अरू कसैलाई थाहा थिएन र सागरले यो कुरामा मलाई कहिल्यै धोका दिएन । कसैलाई भनेन ।


 एक दिन हाफ छुट्टीमा म आफ्नै कक्षामा कर्मदालाई कसरी पट्याउने भनेर सोच्दै थिएँ त्यतिनै बेला कर्मदा र रीता हाम्रो कक्षाको बाटो हुँदै आउँदै गरेको देखेँ । मैले यस्तो मौका फेरि नपाउन सक्थेँ त्यसैले हतारहतार चिठ्ठी भएको कापीको पाना च्यातेर पिलेन बनाएर उनीहरू आएतिर उडाए । पिलेनले टेक अफ त समयमै गर्या हो, घुम्दैघुम्दै त्यहाँ त पुग्यो तर डिले भयो । ऊ कटिसकेकी थिई । पिलेनले कर्मदालाई भेटेन, नेपाली  पढाउने कल्पना मिसलाई भेट्यो । मिसले आफ्नो दाहिने हातमा भएको कापीको खातलाई देब्रेमा सारेर झुकेर प्लेन टिपिन् र पाइलट खोज्दै यताउति हेरिन् । मेरो सातो गयो ।  कान राता भए । अनुहार कालोनीलो भयो । खुट्टा हिलोमा धसिएजस्तो भयो । म नजिकै देखेर मिसले सोधिन्, ‘ओइ लुरे यो तैंले उडाको हो ?’ हो भन्ने आँट मलाई आएन । टाउको मात्रै तल माथि हल्लाएँ । 

मलाई लाग्यो अब स्कुल छोड्नुपर्ने भो । धन्न मिसले पिलेन भित्र हेरिनन् । म कक्षामा सबैभन्दा सानो भएकाले उनले त्यस्तो शंका गरिनन् । मेरो पिलेनलाई काँधमाथिबाट मतिर उडाउँदै भनिन् ‘ला तेरो पिलेन जहाँ पायो त्यहीँ फोहोर नगर, एक पटकलाई मात्रै छोडेको हो । अर्को पटक देखेँ भने तेरो कन्सिरी तान्छु नि । ९ कक्षामा पुगिसक्यो अझै केटाकेटी जस्तो कागजको पिलेन उडाएर बस्छ ।’ उनी पिलेन उडाएर अफिसतिर लागिन् । पिलेन उड्दै उड्दै मतिर आयो । मेरा सपना उड्दै उड्दै खै कता बिलाए ।

पुस आयो । १ २ ३ स्कुलको वार्षिकोत्सव । हाम्रा लागि हलुवा खान पाउने दिन । पोहोर समोसा खान पाइएको थ्यो । यसपालि हलुवा छ रे । कस्तो मजा । यस्तो खानेकुरा खान पाउने वर्षमा एक पटक त हो नत्र सधैँ मकै भट्टमास ।

४ बज्यो, भाषण नै भाषणले हाम्रा कान टट्टाइसकेका थे त्यत्तिकैमा माइक फु फु गर्दै हरि सरले भन्नुभो, ‘सबैजना आआफ्नो ठाउँमा बस्नुहोला हाम्रा स्वयम्सेवक भाइबहिनीहरूले तपाईं बसेकै ठाउँमा खाजा ल्याउनुहुनेछ ।’ ठूल–ठूला सिलोटका बाटा बोकेर तीन चार वटा टोली खाजा बाँड्न आए । बाटाभित्र सादा पत्रिकामा बेरिएका हलुवाका डल्लाले हाम्रा पेट कुर्दैथे अनि कल्याङकुलुङ गरिरहेका हाम्रा पेटले हलुवाका डल्ला । मेरा आँखाले चाहिँ ..., भो भन्दिनँ ।

अघिदेखि नदेखिएकी कर्मदा हामी बसेकै सिसौको बोटमुनिको बेन्चीमा हलुवा बाँड्दै आइपुगी । ओ माछापुच्छ्रे ! म त झन्डै ढलेको ।

हरि र बले भएभरको बलले बाटा उचाल्दै हिँडे, कर्मदाले सबैलाई एक एक पोका हलुवा हातमा हाल्दी । आकाशे रङको सर्ट, घुँडासम्म नीलो फ्रक र खैरो स्वेटर लगाएकी उसले दुई चुल्ठी रातो रिबनले बाँधेर आफूले लगाएको पच्चिस रुप्पेँखाले राता चप्पल पड्काउँदै फर्याक फुरुक गर्दै हलुवा बाँड्दै थिई ।

‘ओइ ह्याँ देउन हाम्लाइ पनि ।’ सविनले मस्किदै भन्यो ।

के हो सबिने ? सबै केटाहरूले एकै स्वरमा जिस्क्याउँदै आवाज निकाले ।

कर्मदा रिसाइ । आँखा ठूला बनाइ र निधार खुम्च्याइ ‘मुर्दारहरू तिमोरको काट्टो सबैलाई दिँदै छु त, पख् न एकछिन ।’ सब चुप भए म अक्क न बक्क । त्यस्तो राम्रो अनुहारबाट यस्तो नमिठो गाली ! 

पुस सकियो, माघ सकियो, फागुन पनि सकियो, चैत लाग्यो, चैत  पनि सकियो । ए होइन होइन बिर्सेछु, जाँच सकियो । चैत बाँकी थियो । यो मस्र्याङ्दीमा पौडी खेल्नको लागि गज्जब समय हो । हामी बहाना बनाइ बनाइ पौडी खेल्छौँ ।

सबैले आफ्ना कपडा फुकाल्यौँ । रामेले चिच्याउँदै भन्यो । ‘आज पारिबाट जसले धेरै पानी अमला ल्यायो, कर्मदा तेसकी ।’ यो कस्तो भागबण्डा हो ? हामीलार्ई देख्यो कि मुर्मुरिँदै मुर्दारहरू भन्दै तर्किने ऊ जसले धेरै पानी अमला ल्यायो उसकी हुने? मलाई त रिस उठेर आयो । मासाले कर्मदा बाख्रा हो र काटेर भाग लाउनलाई ? मनमनै मैले रामेलाई गाली गरेँ ।  रामेसहित हामी सबै पारि जानलाई तयार भयौँ । उसले एक दुई तीन भन्यो तिनमा हामी सबै हात तिखो बनाएर पानीमा हाम फाल्यौँ । छप्ल्यागं । अरु के गरे थाहा भएन मलाई हल्का रिस पनि उठ्यो । डुबेर्रै पारी पुग्न मन लाग्यो ।

आवेगले मान्छेको बेग बढाउने रहेछ ।

 ऐया !

पानीबाट माथि टाउको निकालेँ । पारी पुगिसक्या रैछु । अरू पछाडि नै थिए । तालु दुख्यो । हातले रगडेँ र पानी अमलाका बुटा खोज्दै माथिमाथि चढेँ । साना साना ढुंगाका चेपमा पानी अमलाका बुटा भएको भिरालो ठाउँ थ्यो त्यो । अलिक माथि फाँट सुरु हुन्छ । फाँटभन्दा माथि कर्मदाको गाउँ छ ।

 म पानी अमलाका बुटा उखेल्दै फाँटनेर पुगेछु ।

‘ओई के गरेको?’ एउटा चर्को आवाज आयो । झस्केँ । चिनेको आवाज । यसो माथि हेरेँ । खेतको डिलमा कर्मदा रैछे । लाज लाग्यो । हत्त न पत्त हातमा भएको पानी अमलाको गाँजले कट्टु छोपेँ ।

‘टाउकोमा के भयो?’ सधैं पड्किँदै कुरा गर्ने उसले नरम स्वरमा सोधी ।

ओ माछापुच्छ्रे ! म त छक्कै ।

‘हँ के भा छ र?’ दुवै हातले समातेको पानीअमलाको गाँजलाई देब्रे हातले मात्रै समातेर दाहिने हातले मैले आफ्नो टाउको छामे, हातमा अलिकती रगत देखेँ । बल्ल मलाई दुख्यो । ‘अघि ढुंगामा ठोक्किएको थियो काटेछ ।’ मैले बिस्तारै भनेँ ।

सैँ बिदा सकिएपछि उसको पछि लाग्ने अझै दुई, तीन जना थपिएका छन् भन्ने हल्ला थियो स्कुलमा । ६ जनाको बारेमा स्कुलमा सबैलाई थाहा थियो । सातौं नम्बरमा म पनि छु भन्ने कसैलाई थाहा थिएन ।

‘के के उपद्रो गर्छस् है सधैं ।’ ऊ अलि झर्किइ, ‘पख् म गन्नेको झार खोज्छु, त्यहीँ बस् माथि नआइज फेरि सबैले देख्छन् ।’ ऊ माथिल्लो गराको कान्लामा गन्नेझार खोज्न गई, म तालु थिचेर त्यहीँ बसेँ । त्यति धेरै दुखेको थिएन, सानो चोट थियो सायद ।

‘गन्ने नै पाइएन, हुन त चैतमा के पाइन्थ्यो ?’ ऊ नियाउरी भई, ‘पख् है ।’ उसले आफूले ओढेको सल निकाली एउटा टुक्रा च्याती र मेरो टाउको बाँधिदिई । मलाई अप्ठ्यारो लाग्यो, सँगसँगै खुसी पनि । त्यस्ती कडा मान्छेले यो के गर्दैछे ? पत्याउन गाह्रो हुँदैथ्यो ।

अलि ख्याल गर्न पर्दैन आफ्नो ? ऊ त रुन्चे भई अनि ‘कति मस्र्याङ्दीमा डुबिराख्छस्, बगायो भने ?’

‘बगायो भने मोरिन्छ ।’

‘जे पायो त्यही नबोल है’ उसले मुठ्ठी बनाएर माझी औँलाले मेरो निधारमा हानी ।

‘ऐया, के भो त म मरेर ?’ मैले नजाने जसरी सोधेँ ।

‘तँलाई मन पराउनी धेरै छन् तेरो पीरले मोर्लान् नि फेरि,’ केटीले गम्भीर कुरा गरी ।

केटीको मनमा केही छ । मैले आफ्नै मनलाई भने ।

‘जा जा अब मुन्टी अरू गोठालाले देखे भने मेरो घरमा कुरा लाइदिन्छन् ।’

‘पख न एकछिन’

‘भो हुन्न जा भनेको,’ उसले मलाई धकेल्दै भनी ‘बोरु मलाई पानी अमला देन ?’

मैले आफ्नो कट्टु छोपेको पानी अमलाको जराबाट पानीअमला टिपेर दिएँ ।

‘थुक्क लाज नभको,’ उसले अर्कोतिर हेरेर भनी

मलाई बल्ल याद भयो कट्टु मात्रै लगाको । अलिक पछि हटेर म तल एउटा ढुँगाको छेल परेँ ।

‘भोलि नि आउँछेस् बाख्रा हेर्न?’ 

किन भन्नी तँलाइ?

‘तँ भोलि आइस् भने म भोलि यतै ल्याउँछु बस्तुबाख्रा ।

यतै ल्याइज पौडी खेल अनि भोलि चैँ आफ्नो टाउको दुई टुक्रा बना है ।’ उसले स्वाङ पार्दै भनी, ‘आउँदिनँ म । जा के अब छिटो’ ऊ मलाइ नहेरी माथिल्लो गराको कान्लो चढी । एकचोटी फर्केर हेरी, आफ्नो दाहिने हातको चोरऔँला मतिर देखाइ, कुप्रो बनाइ र हल्लाइ । अनि जिस्क्याउँदै भनी ‘कुरी कुरी लुसे ।’ म उसलाई हेरिरहेँ ।

नदीको किनारबाट आवाज आयो ‘ओइ लुसे, काँ मोरिस् । कति टिपिस् ?’ ‘आएँ आएँ ।’

म हस्याङफस्याङ गर्दै नदी किनार पुगेँ । कुमारले सबभन्दा धेरै पानीअमला टिपेछ । ऊ खुसी हुँदैथ्यो कर्मदा मेरी भन्दै । म बाहिर रिसाएजस्तो गरेर भित्र भने मुसुमुुसु हाँँस्दैथेँ ।

था छ मलाई कर्मदा कसकी?

भोलिपल्ट केटाहरू बस्तुभाउ छबिसे लैजाउँ भन्दैथे मैले जिद्दी गरेर बालुवाबगर लैजाउँ भने । बालुवाबगर लगियो । हिजो जस्तै आज पनि केटाहरूको बाजी सुरु भो । आज केटाहरूको बाजी पारि जाने थिएन । वारि नै बसेर गाई तार्ने थियो । पातला पातला ढुङ्गाहरू पानीमा बेस्सरी हान्दा ढुङ्गा तैरिँदै तैरिँदै पारि पुग्छ त्यसलाई हामी गाई तार्ने भन्छौँ । हरि चिच्यायो ‘जसले गाई तार्यो उसले डट डट डट हात पार्यो हात पार्यो ।’

डट डट डट किन लेख्यो भन्नुभो होला है ? खासमा कर्मदाको नाम कर्मदा होइन नि, त्यो त मैले राखेको नाम हो । मलाई बाहेक कसैलाई थाहा छैन । उसलाई पनि ।  मैले कसरी राखेको थाहा छ ? एक दिन पौडी खेल्दा म बीचमा भएको ढुंगामा बसेर उसलाई के भनेर बोलाउने होला भनेर सोच्दै थिएँ ठ्याक्कै सम्झेँ, कर्मदा । कर्मदा, मेरी मस्र्याङ्दीको पुरानो नाम । कर्मदा मेरी मायाको नयाँ नाम ।

सबै जनाले दश बाह्र वटा  पातला ढुंङ्गा बटुलेर गाई तार्न सुरु गर्यौँ । कसैको गाई तरेन, सबको डुब्यो । आज ऊ कसैकी भइन ।

त्यो दिन आफ्ना दुइटा पाठापाठीसहित हाम्री काली बाख्री हराइ । सबैजना घर फर्के म बाख्रा खोज्न हिँडे । धेरैबेर खोज्दा पनि बाख्री भेटिइन । कर्मदा भेटिई । पारिबाट चर्को आवाज आयो ओई... कर्मदाले बोलाकी रैछे । हाम्रोतिर भन्दा कर्मदाको तिर नदीको किनारसँगै अग्लो भाग छ त्यसैले हाम्रोतिरको सबै कुरा उनीहरूले देख्छन्,उनीहरूको तिरको हामीले देख्दैनौ । म दौडिँदै पानीछेउ गएँ । ऊ पनि बिस्तारै बिस्तारै किनारमा झरी । उ मस्र्याङ्दी पारि म वारि चिच्याउँदै एकअर्कासँग कुरा गर्यौँ । किन एक्लै डुलिराको ? उसले सोधी ।

बाख्रा हरायो

‘हेरन मुर्दारको किरिया हाम्रो गाई पनि हरायो’, उसले रुँदै भनी

‘एकदमै ठीक भयो’, मैले मनमनै भनेँ, ‘नरोन भेटिइहाल्छ नि त्यही हराएर त हाम्रो भेट भयो नि’, उसलाई सम्झाए जसरी मैले भनेँ ।

मलाई पारि जान मन थ्यो । तर सकिनँ । आज भित्र कट्टु लगाउन बिर्सेछु ।

हामीले एकअर्कालाई एकछिन मज्जाले हेर्‍यौँ । ऊ अलिक शान्त भई । पानीछेउ आई र ढुंगामा बसेर आफ्ना खुट्टा पानीमा डुबाई । मैले पनि उसले गरेजस्तै गरेँ । उसले मलाई ताकेर अञ्जुलीले पानी फ्याँकी । पानी नदीको आधा पनि पुगेन तर पनि त्यसले मेरो मन भिजायो । निथ्रुक्क । उसले तीन चार पटक त्यसरी नै पानी मतिर फाली, मैले पनि फालेँ । पानी दुवैतिर पुगेन । हामी दुवैजना जोडजोडले हाँस्यौ । अनि चुपचाप एकअर्कालाई हेरिरह्यौ ।

बगिरहेको पानी रोकियो । उडिरहेका चरा रोकिए । समय रोकियो, टक्क ।

उसको गाई हरायो, मेरो बाख्रा । यसले हाम्रा लागि एकदमै ठूलो उपाय दियो, एकअर्कालाई भेट्ने ।

हिजो झुक्किएर हराएका हाम्रा बाख्रा र गाई आजदेखि  हामीले जानी जानी बथान छुट्ट्याएर पर लगाउन थाल्यौँ  जसले गर्दा हाम्रो उस्तै भेटघाट हुन थाल्यो ।

हिजो जस्तै । ऊ पारि म वारि, एकअर्कालाई हेर्दै । पानीमा खुट्टा डुबाउँदै । बेलाबेला जोडजोडले कराउँदै बोल्दै । अनि कहिलेकाहीँ चिसो पानीले १०८ पटक मुख धुँदै । कर्मदालाई रीताले भनिदिएकी थिई गंगामा १०८ पटक मुख धोयो भने आफूलाई मन परेको मान्छे पाइन्छ ।

बथान छुट्ट्याएर पर लगाए पनि काली बाख्री सधैँ मभन्दा धेरै अगाडि घर पुग्न थाली । दिनदिनै घर ढिलो पुग्न थालेपछि त्यसदिन आमाले चुलोमा भात पकाउँदै गर्दा सोध्नुभो ‘हैन तँ काँ मोर्छस् त सधैँ ? खाली गंगा तिराँ हराउँछ, किच्कन्निस पल्क्या छस् कि क्या हो ?’ सानी बहिनी रोशनीले .आमालाई उकास्दै भनी ‘हो हो आजभोलि दाइ कोसँग हो पल्केको छ रे, सबैले त्यसै भन्छन् ।’ ‘चुप लाग तेरो काली बाख्री कस्तो छ थाहा छ ? बथान छोडेर काँ काँ पुग्छ अनि म के गर्नु त ?’ काली बहिनीको पेवा थियो ऊ उसलाई खुब माया गर्थी । बाख्रालाई गाली गर्‍यो भनेर ऊ रोई । अब बहिनीलाई पनि  रुवाइस् है ? फलामको कराइमा तातिरहेको तेलमा खुर्सानी पड्काउँदै आमा कराउनुभो ‘यल्लाई त के भाको छ कुन्नि राम्रोसँग त कुरै गर्दैन आजभोलि । पख् न बाउ त आउन दे भएभरको कुरा लाउछु ।’

आमा भुत्भुताउन थाल्नु भो ।

‘स्कुल बिदा हुँदा नि कहीँ जान पाछैन । सँगैका साथी कोही मामाघर गछन्, कोही कहीँ गछन् । म दिनदिनै गोठालो जान पर्‍या छ । त्यही पनि उ यसको प्याओले त हो नि दुःख दिनी ।’ नजिकै भएको लोटालाई लात्तीले हानेर भर्‍याङमा खुट्टा बजार्दै म माथिल्लो तल्लामा गएँ ।

हामीले एकअर्कालाई एकछिन मज्जाले हेर्‍यौँ । उसले मलाई ताकेर अञ्जुलीले पानी फ्याँकी । पानी नदीको आधा पनि पुगेन तर पनि त्यसले मेरो मन भिजायो । निथ्रुक्क ।

 वारि ढुँगामा बसेर म मुख धुधैथेँ, कर्मदा पनि पारि त्यसै गर्दै थिई ।

‘आज १००८ पल्ट मुख धुने है । १००८ पल्ट मुख धोयो भने कहिल्यै छुट्टिनु पर्दैन रे ! रीताको हजुरआमाले भन्नुभाको रे’ कर्मदाले मस्र्याङ्दीको बोली जितेर भनी ।

हामी छिटो छिटो मुख धुन थाल्यौँ । २०० सम्म त गन्न भ्याएका थियौँ त्यसपछि बिस्र्यौँ । मुख भने धँुदै गयौँ ।

म एक्कासि पानीमा खसेँ, बिस्तारै पिधमा पुगेँ । त्यसपछि कर्मदा पनि पिँधमा आइपुगी । हामी दुवैलाई सास फेर्न गाह्रो भो । कर्मदाको शरीर बिस्तारै अर्कै हुँदै गयो । एकैछिनमा ऊ त सुनौलो र रातो रंङ मिसिएको सुन्दर माछा बनी । म पनि बिस्तारै बिस्तारै माछा बनेँ, पानी रङको नीलो माछा । हाम्रा पखेटा आए । एकअर्कालाई हेर्‍यौँ र पानीभित्र पौडिन थाल्यौँ ।

उहुहु.......

कर्मदा रमाई, म पनि क्या खुसी भएँ ।

म पनि कराउँदै उसको पछि लागेँ ।

हामीले त्यस्ता राम्रा माछा कहिल्यै देखेका थिएनौँ । आज आफंै माछा भयौँ ।

हुईए..... क्या रमाइलो ।

हामी बेतोडले पानीमा पौडिन थाल्यौँ । कहिले मैले उसलाई पछ्र्याउँदै, कहिले मलाई उसले पछ्याउँदै । अरू माछाहरू हामीलाई देखेर दंग पर्न थाले ।

त्यसैबेला पानीले आफ्नो रंग फेर्न सुरु गर्‍यो, ऊ नीलोबाट बिस्तारै सप्तरंगी हुन थाल्यो । पूरै नदी एउटा लामो इन्द्रेणी बन्यो र हामीलाई आफ्ना प्रिय रंग बनायो । काखमा राख्यो । हामी दुवै जना करायौँ ‘ए माछाहरू हो आऊ जाम घुम्न ।’

ढुंगाका काप, लेउ, नदीको पिँधको हिलो सबैलाई जिस्क्याउँदै हामी खेल्न थाल्यौँ ।

हाम्रा पखेटा लामा लामा हुँदै गए र चराका जस्तै भए । कस्तो अचम्म ! माछाको शरीरमा चराका पखेटा । पानीबाट बाहिर निस्केर हामी आकाशमा उड्न थाल्यौँ ।

तल सप्तरंगी नदी, रंगीन ढुङ्गाहरू, हरियो घाँसे मैदान, जनावरहरू उहुहु...कस्तो रमाइलो ! हामीलार्ई भेट्न बादलहरू आए, उनीहरूका चिसोले चिस्याए ।

‘सधंै यस्तै भैदिए हुन्थ्यो है ?’ ऊ आफ्ना पखेटा फिजाएर छुनुमुनु गर्दै भन थाली । ‘मैले भनेको होइन त १००८ पल्ट मुख धोयो भने सधैं सँगै हुन पाइन्छ रे भनेर ।’ म उसलाई हेरेर मुस्कुराएँ मात्र, केही बोलिन । उड्दै उड्दै हामी ढुंन्डुर गुफामा गयौँ । त्यहाँ हामी कहिल्यै गएका थिएनौं । बाटोमा आफ्नो घर बनाउन परबाट चुच्चामा माटो बोकेर आइरहेका एक जोडी गौँथली देख्यौँ । ‘ए गौंँथली राम्रोसंँग बलियो घर बनाउ ल !’ कर्मदाले मायालु भएर गौँथलीका जोडीलाई भनी । उनीहरूले हामीलाई एकछिन वाल्ल परेर हेरे अनि मुस्कुराउँदै आफ्नो बाटो लागे । चुच्चामा माटो भएकाले केही बोलेनन् सायद । ‘हामी पनि गौंथलीले जस्तै घर बनाउनुपर्छ है ।’ कर्मदा खुसी हुँदै भन्दै गै ।

‘हुन्छ’ । मैले आफ्ना पखेटा फट्फटाउँदै भनेँ । हामीले आफ्नो बेग बढायौँ । सिमसिम पानी पर्‍यो । आह...। तल बाँदरको हुल देखियो हामी उनीहरू नजिक गयौँ । उनीहरू कराउन थाले । आफ्नो हुलमा कोही आएको मन परेन सायद । हामी ढुंडुरतिर लाग्यौँ । पहराका चेपमा परेवाहरू कुरकुर गर्दै आफ्ना बचेरालाई चारो खुवाउँदै थिए । ‘ए परेवा हो बच्चालाई मिठोमिठो खानेकुरा ख्वाउ ल ! कर्मदालाई कति माया चराहरूको, तिनका बच्चाहरूको ?’ म टोलाएँ । ‘हामी पनि हाम्रा बच्चाहरूलाई यसरी नै घुमाउँदै मिठोमिठो खानेकुरा ख्वाउने ल !’ परेवाहरूले खुसीले कुर कुर गरे । हामीले बाघ देख्यौँ । हामीलार्ई देखेर ऊ गर्जियो तर पनि डर लागेन । आज ऊ आफन्त जस्तै लाग्यो ।

हामी ढुंडुरको झरनामा पुग्यौँ । झरना भित्र पसेर बाहिर निस्केर पखेटाका पानी फट्कार्दै बादलै बादलको बाटो तिनलाई छल्दै नदी फक्र्यौँ । जहाँ सप्तरंगी मस्र्याङ्दी आफ्ना प्रिय रंगहरूलाई कुर्दै थिई । नदीले खुसी हुँदै आफ्ना रूपहरू हामीलाई देखाउन थाली । ऊ कहिले ताल भई, कहिले भूमरी । कहिले मुस्लो भई र कहिले सर्पजस्तै नागबेली बनी । यो कस्तो जादूमयी नाच उसको ?

सधैँ यहीँ बसेर मेरा दुइवटा कर्मदालाई मात्रै हेरिरहुँ लाग्यो मलाई ।

परबाट एउटा चरा उड्दै हामीतिर आयो । चिल रहेछ । ऊ रिसाउँदै आफ्नो बेग बढाउदै आयो । कर्मदा र म त्यहाँबाट भाग्यौँ । उ हामीलाई लखेट्दै पछि पछि आयो । कर्मदालाई पखेटामा ठुँग्यो, उ तल खसी । म कर्मदाको पछि पछि तल गएँ । चिल फर्केर अझै हाम्रो पछि आयो । छप्लयाङ ! हामी दुवै पानीमा खस्यौँ । चिसो...नदी आफ्नो रंगमा आयो । कर्मदाको ढाडबाट रगत बग्यो । अनि आँखाबाट पिलपिल गर्दै पीडा । म निरीह भएँ । नदी चिसो भयो ।

एकैछिनसम्म साथीजस्तै लागेको नदी दुश्मन लाग्यो । कर्मदा छट्पटाउदै थिई मैले टाउको उठाएर माथि हेरेँ । चिल अझै हामीलाई कुर्दैथ्यो । आफ्नो आहारा किन छोड्थ्यो र ? कर्मदाको छट्पटी मलाई असह्य भयो । मैले चिच्याउँदै चिललाई कराएँ । ‘जा... जा..ह्याँ किन आको ? जा भनेको जा...।’ चिलले आँखा आगोका लप्का जस्तै राता राता बनाउदै मलाई झम्टिन आयो । ऐया ...!

बाबु के भो तँलाई ? ओई लुसे । आमाको आवाज सुनेँ । जुरुक्क उठेँ । शरीर पसिनै पसिना भएको थ्यो । आमासँग बोल्न खोजेँ आवाज आएन । घाँटी सुकेको रैछ । आमाले निधार सुम्सुम्याउनु भयो । बहिनी न्याउरी भएर हात समाई । ‘दाइको हात रगड्दे’ । आमाले रुँदै भन्नुभो र अंखोराको पानी ख्वाइदिनुभो । एकछिन पछि अलि सजिलो भो ।

‘नराम्रो सपना देखिस् ? खाली गङ्गा गङ्गै हिँड्छस् भूत लाग्यो कि के गर्‍यो ।’

‘होइन उडेको सपना देखेको रैछु, अनि उड्दाउड्दै खसेर ढुंगामा बजारिएँ ।’ आमालाई शान्त पार्न अलि सजिलो भए जसरी भनेँ । ‘ल अब राम्रोसँग सुत अनि रोशनी सुत तँ पनि ।’ म पल्टिएँ, निद्रा लागेन । मनमनै अनेक तर्कना चलिरहे । बहिनी नजिकैको आफ्नो ओछ्यानमा सुत्न गई । आमा मेरोे हात समाएर त्यहीँ बसिरहनुभो ।

बिहान बाख्राबस्तु चराउन जान लाग्दा आमाले आज राति उडेको सपना देखेको भन्याछस् पौडी नखेल है उडेको सपना देख्यो भनी डुबिन्छ रे भन्नुभो । ल ल हुन्छ भनेर म हिँडे ।

आज पनि मैले कालीबाख्री र उसका पाठापाठीलाई अरु बथानसँग छुट्ट्याएर पर लगाएँ । सबैका बाख्राबस्तु बथानमा थिए । सबै घर फर्के । मेरो उही दैनिकी । बाख्रा छोड्न खोजेर ढुंगामा गएर बसेँ । धेरैबेर बस्दा पनि कर्मदा आइन । पौडी खेलेर पारि गएँ । माथि फाँटसम्म पुगेँ । ऊ कतै देखिइन । कोही पनि देखिएनन् ।

मैले त्यहाँ भएका सबै ढुंगालाई सोधेँ । घाँसलाई सोधेँ । उसको र मेरो पहिलो भेटका साक्षी पानीअमलाका बुटालाई सोधेँ । अनि एक्लै उभिइरहेको ठूलो आँपको रुखलाई सोधेँ  ‘तिमीहरूले कर्मदालाई देख्यौ ?’ अहँ कसैले केही जवाफ दिएनन् । सब चुुपचाप बसे ।

आँपको रुखबाट एउटा चिल उडेर गयो । मेरो मनमा चिसो पस्यो । कतै यो त्यही चिल त्यही त होइन ? कतै यसैले कर्मदालाई केही त गरेन ? चिलले मलाई हेरेन, मैले चिललाई हेरिरहेँ । चिल पर पुग्यो । बिलायो । म हतासिँदै वारि फर्केँ । साँझ पर्न लागिसकेको थियो । वारि आएर ढुंगामा फुकालेका आफ्ना लुगा लगाएँ । त्यहीँ बसिरहेँ ।

सागर, आमा र बैनी मलाई खोज्दै आइपुगे ।

‘ढुंगामा के टोलाएर बस्याछस् । दिउँसै मसान लाउनी ठाउँमा साँझसम्म पनि ह्याँइछस् है  ?’ आमा रिसाउनु भएन बरु डराउनुभो । ‘आज त बाख्रो पनि घर आको छैन ।’ .बहिनीले भनी । सागरले केही भनेन । सायद उसले मेसो पाइसकेकोथ्यो म यहाँ किन बसेको छु भनेर । तर उसलाई पनि मैले यो कुरा भन्न पाएको थिइन । ऊ पालुङटार गएको थियो । मामाघर ।

म कसैसँग नबोली ढुंगाबाट चउरमा आएँ । आमा मुर्मुरिँदै हुनुहुुन्थ्यो । हामीले एकछिन बाख्रा खोज्यौँ । भेटेनौँ । ‘अब त रात पर्न थालिसक्यो अर्को गामको बथानमा गयो कि अब भोलि सोधम्ला हिँड घर ।’ आमाले डर र रिस मिसाएर भन्नुभो । बैनी रुन्चे भई । हामी घर फक्र्यौँ ।

त्यो रात आफ्नो प्यारी हराएर बहिनी आवाज निकालेर घुक्कघुक्क रोइरही । म आफ्नी प्यारी नभेटेर आँखामा आँसु लिएर पिलपिल रोइरहेँ । आमा आफ्ना प्याराप्यारीको हालत देखेर टोलाएर  दलिनमा बसिरहनुभो । उहाँको मन रोयो सायद । हामीले नदेख्ने गरी ।

भोलिपल्ट, पर्सिपल्ट, निपर्सिपल्ट कर्मदा कहिल्यै देखिइन । रामेले पारि पुगेर खबर ल्यायो । ऊ पढ्न पोखरा गै रे । एस.एल.सी को रिजल्ट आएपछि पनि उतै बस्ने रे ।

म अलमल्लमा परेँ । पोखरा जाने मान्छेले मलाई पहिल्यै किन भनिन ?

कर्मदालाई रीताले भनिदिएकी थिई, गंगामा १०८ पटक मुख धोयो भने आफूलाई मन परेको मान्छे पाइन्छ ।

वैशाख लाग्यो । नयाँ शैक्षिक सत्र सुरु भयो हामी दस कक्षामा पुग्यौँ । कर्मदा स्कुल आइन, उसका कक्षाका कोही पनि आएनन् । उनीहरूले त्यसै वर्ष एस.एल.सी. दिएका थिए । अघिल्लो वर्षजस्तो मन स्कुलमा बसेन मेरो । बालुवाबगरमै कतै अल्झेको थियो कर्मदाको यादसँगै ।

असार लाग्यो पहिलो हप्ता एस एल सी को रिजल्ट सुनाएर बाँकी स्कुल बिदा गर्ने कार्यक्रम थियो । मेरा लागि नतिजाले केही प्रभाव पार्थेन तर कर्मदासँग भेट्न पाउने भएकाले मन फुरुङ हुने नै भयो । स्कुलमा तामझाम मज्जैले थियो । यस वर्ष स्कुलले नतिजा जिल्लाभरिमै राम्रो ल्याएको चर्चा थियो गाउँभरि । अरु सबै विद्यार्थी देखिए, कर्मदा देखिइन् ।

मेरा आँखाले उसलाई खोजिरहे । आउन ढिला भयो होला आउँदै होली भन्ने लागिरह्यो । कार्यक्रम चलिरह्यो, के के भयो मलाई याद नै भएन । कानले सुने केवल एउटा वाक्य ‘यस वर्षको हाम्रो स्कुल टपर हुनुहुन्छ सुश्री ... तर दुःखको कुरा के छ भने उहाँ हामीमाझ हुनुहुन्न । असार १ गते आर्मी र माओवादीबीच भएको भिडन्तमा परी उहाँको मृत्यु भएको जानकारी हामीले पाएका छौँ । यो हामी सबैको लागि ठूलो क्षति हो । उहाँको आत्माको शान्तिको लागि म सबैजनालाई एक मिनेटको मौन धारणा गरिदिनुहुन आग्रह गर्दछु ।’ त्यसपछि मैले केही देखिनँ । केही सुनिनँ ।


Author

थप समाचार
x