पुस्तक समीक्षा
प्रश्नहरूको सही मूल्यांकन लक्षित किशोरीहरू गरून्
काठमाडौँदेखि ‘कुमारी प्रश्नहरू’ आइपुग्यो । दुई-तीन दिनमा पढिभ्याएँ पनि । संयोग नै होला यो किताब पढेर ट्वीटरमा रिभ्यू लेख्ने घोषणा पनि गरिसकेको समयमा दुर्गा कार्की वक्ता रहेको साहित्य मेला हेर्न पाएँ ।
मनमा किताब पठनले एक खालको समीक्षात्मक विचार उदय गरिरहेको थियो तर लेखकलाई सुनेपछि त्यसमा केही परिमार्जन आयो । स्वाभाविक हो ।
नेपालयको प्रकाशनमा छापिएको यो कथा संग्रहभित्र तेह्र कथा छन् । प्रत्येक कथामा मूलत: नारी पात्रहरूको भोगाइ, सोचाइ र जीवन-सङ्घर्षलाई अभिव्यक्त गरिएको पाइन्छ । र, प्रायश: पात्रहरू युवा छन् । तिनीहरू अधिकाधिक विद्रोही स्वभावका र पृथक् विचार राखेर समाजमा उभिएका छन् ।
दुर्गा कार्कीले पोखरामा नेपाल साहित्य महोत्सवमा भनेजस्तै यी कथा ती पात्रहरूका समवयका साथीहरूले पढ्दा हुन् त तिनीहरूले आफ्नोपनको बेग्लै आभास गर्न पाउने थिए । ती लक्षित समूहका अपनत्व र ममतामा कथाहरूको झन् उज्ज्वल समीक्षा हुँदो हो । खैर, पाठकका रूपमा अवश्य ती चञ्चले केटीहरू, शारीरिक परिवर्तन भोगिरहेका चिन्तित युवतीहरू, अनि नारी स्वतन्त्रता उपभोग गर्न घरका चौघेरा नाघिरहेका किशोरीहरूले मनमा समीक्षा गरिरहेकै होलान् ।
तिनीहरूको समीक्षाभन्दा मेरो फरक होला, तैपनि यी कथाहरूमाथि विचार राख्ने सानो प्रयास गर्दैछु । खासगरी म कथाहरूले उप्काएका केही प्रश्नहरूलाई मुखरित गर्दैछु । माथि भनिहालियो, विशेषत: किशोरीहरूमा ज्यादातर केन्द्रित छन् उनका सबैजसो कथाहरू । तर नारी देह र स्वभावसँग सोचाइ र भोगाइको संयोजन गर्ने क्रममा आम सामाजिक मूल्य र मान्यताहरूलाई बेपर्वाह छोडेको भने पाइँदैन । बरु तिनले थुप्रै प्रश्नको निर्माण गरेका छन् ।
‘लाइट बाल्ने केटो’ कथा पढ्दा प्रश्नहरू यसरी उब्जिन्छन् : एउटा चोरका दृष्टिमा पनि सही काम हुन्छन् ? उसका जायज कर्महरूलाई नैतिक समाजले कसरी ग्रहण गर्ला ? चोरको नैतिकता हुन्छ कि हुँदैन ? चोरले समाजप्रति दायित्व वहन गर्छ कि गर्दैन ? के चोरले प्रेम गर्न पाउँछ ?
त्यस्तै प्रश्नहरूको खात ‘फ्यामिली फोटो’ले थुपार्छ । के कुनै हत्यालाई सही मान्न सकिएला ? यस कथामा जसरी कर्ममै नगरे पनि कम्तीमा वचन, सोचाइ वा कल्पनामा कयौँ नारीहरूले पतिहरूको हत्या गरिरहेका त छैनन् ? के त्यस्ता हत्याहरू त्यस चरित्र र परिस्थितिका लागि उपयुक्त हुन् ?
समग्रमै हेरियो भने एउटै मालाका फूलहरू जसरी धेरै कथा एक आपसमा गाँसिएका पाइन्छन् ।
‘साथे’ कथा अन्य कथाहरूभन्दा बेग्लै धरातलमा रचित कथा हो । यसले अनमेल विवाहको पक्षमा प्रश्न औँल्याएको म पाउँछु । के उमेर नमिल्दा विवाह जति सबै अस्वाभाविक नै हुन् ? व्यक्तिको खुसीसँग सरोकार राख्ने कुराहरू के सामाजिक कसीमा पनि स्वीकार्य हुनैपर्दछ ?
यस्तै ‘पोइल’ कथाले अर्कातिरबाट प्राश्निक जालो फिँजाएको देख्छु म । उसका प्रश्नहरू छन् : पोइल जानु व्यभिचार नै हो ? अनैतिक नै हो ? सबै पोइला जानेहरू बैँसले मात्तिएकै हुन् ?
कथा संग्रह हुनुको नाताले कथाहरू विभिन्न बनोट र विषयका हुनु वाञ्छनीय हो । तर यसमा चैँ मलाई लाग्यो, एकै धारमा कथाहरू बगेका हुन् कि ? जस्तो : शीर्षकथा ‘कुमारी प्रश्नहरू’ र ‘निर्दिष्टा पार्ट टू’ धोकाको पटाक्षेप र मूल पात्रको अडानी निर्णयको मूल कथानकमा बुनिएका छन् भने ‘मनमाया’ र ‘सँघार’ महिला संवेगका लागि आम मान्यतामाथि जाइलाग्ने विद्रोही नारी पात्रहरूलाई केन्द्रमा राखेर रचना गरिएको छ ।
समग्रमै हेरियो भने पनि एउटै मालाका फूलहरू जसरी धेरै कथाहरू एक आपसमा गाँसिएका पाइन्छन् । तथापि यसले त्यस्तो विधि एकाकीपन ल्याएको भन्न मिल्दैन । किशोरकालीन संवाद र प्रेमको चित्रणमा यथार्थपरकता दिइनु केही कथामा रहेको सुन्दर पक्ष हो । जस्तो : पात्रहरूका फेसबुकमा बोलिने भाषा, शैली र स्माइलीहरू । झगडाका बहानाहरू उल्लेख गर्दै लेखिएको कुरा यस्तो यथार्थबोधी छ :
‘कहिले फोन नउठाएको निहुँमा, कहिले समयमा मेसेज रिप्लाई नगरेको निहुँमा, कहिले पिएर मात्तिएर बोलेको निहुँमा, कहिले बर्थडे बिर्सिएको निहुँमा...।’ अथवा केही अप्ठ्यारा अनुभवहरूको चित्रण यसरी गरिएको छ, ‘उसले तीन वर्षको अवधिमा आफूले खाएका इकोनका चक्कीहरूको संख्या सम्झन खोजी । महिनावारी नहुन्जेल डरैडरमा बिताएका दिनको हिसाबकिताब सम्झन खोजी ।’
(पाँच सेकेन्ड) नारी संवेदनाको सही चित्रण वास्तवमै नारी लेखकहरूबाटै सम्भव छ भन्ने मेरो बुझाइ छ । यसको चरितार्थ ‘रगत’ कथामा पनि पाइन्छ ।
परिवेशको मिहिन वर्णन पढ्दा ती वातावरणहरूमा आफैँ पुगेर मेहनत गरेर अध्ययन गरेको प्रस्ट्याउँछ भने संवादको समुचित प्रयोग र शीर्षकसँग तालमेल उनको पहिलो संग्रहमै आइसकेको निख्खारता हो । यसभित्र धन्सार, साथे, खाक्रें जस्ता आञ्चलिक शब्द प्रयुक्त भएको पनि पाएँ, जसको अर्थ कथामा बुझे पनि अझ जान्ने चाहनामा छु । जे होस् मेरो पठनमा कथाहरूले सामाजिक स्थापित बुझाइहरूमा अनेक खालका प्रश्न उब्जाएको पाएँ । आजको पिँढी ती प्रश्नहरूको निरन्तर जवाफ मागिरहेको छ । यो संग्रहको सही मूल्याङ्कन भने लक्षित उमेरका किशोरीहरू गरून् भन्ने म चाहन्छु ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया