सप्ताहन्त

लाहोरमा समस्यामा फसियो, सुन्दरीले चुरा मागेकी छ...

राजाराम बर्तौला |
फागुन १५, २०७७ शनिबार ८:२५ बजे

काम केही नभएपछि पुराना स्मरणहरू टिप्दै केलाउँदा एक किसिमको आनन्द आउने रहेछ । कतिपय सम्झना विस्मृतिमा गए पनि हुनेथियो भन्‍ने खालका हुन्‍छन् भने कतिपय सम्झना चस्स बिझाउने र घरिघरि घोचिरहने हुन्‍छन् ।

कुनै यस्तो क्रियाकलाप हुन्‍छन् जो आनन्द दिने किसिमका पनि हुन्‍छन् । आखिर मानिसको जिन्दगी सम्झनाहरूको सँगालो त रहेछ । कहिले विगत ताजा बनेर अगाडि आउँछ, कहिले वर्तमान बिझाउने गरी घाउको खाटा छोडेर विगत बन्दछ । अनि विगत र वर्तमानको जोडले भविष्य डोर्‍याउने रहेछ । पलपल गरेर समय अगाडि बढिरहन्‍छ ।


हामीले हिँडेका पाइलाका डोबहरूलाई पछि छोडेर । कतिपय पदचिन्हहरू तत्काल मेटिन्‍छन् केही अलि समय रहन्‍छ र नगन्य थोरै मात्र स्मृतिचिन्हका छापहरू छोडेर जान सक्षम हुन्‍छन् दिगदिगन्तसम्म । चल्नु त छँदै छ, जिन्दगी आखिरी जसरी कल्पकल्पदेखि चल्दै आइरहेछ अविरल ।

जागिरेको जिन्दगी पनि त्यसै गरी चल्छ, जसरी अरु सर्वसाधारण मानिसहरूको नित्य निरन्तर समयको पदचापसँगै आदेश-निर्देशको तामेली गर्दै । हुन त सबै जीवहरूले प्रकृतिप्रदत्त गुण धर्मको अनुसरण गर्दै आआफ्नो वृत्तिबमोजिम जीवन चलाउनु आदेश-निर्देशकै तामेली हो भन्दा फरक नपर्ला । जागिरेको जीवन सीमित परिधिभित्र रहन स्वेच्छाले समर्पण गरेको र बन्धनमा बाँधिन स्वीकार गरेको यथार्थ हो । यही यथार्थको सांग्लोभित्र बाँधिएको हुन्‍छ स्मृतिका चिन्हहरू । अनि त्यही स्मृतिलाई सँगालेर रमाउनु पनि जिन्दगी बाँच्‍नुको यथार्थ बन्दो रहेछ ।

धेरै मानिस सोच्‍ने गर्दछन् परराष्ट्र सेवाको जागिरमा ग्ल्यामर हुन्‍छ । सुट-टाईमा ठाँटिएर देश-विदेश चहार्ने भएकाले यस्तो भनिएको होला सायद । बाहिरबाट हेर्दा त्यो हेर्न लायक नै पनि देखिन्‍छ । यस भनाइमा किञ्चित सत्यता रहेको पनि हुनुपर्दछ । त्यसैले त होला, समकालीन अन्य सेवाका साथीहरूका अव्यक्त ईर्ष्याभाव पनि देखिन्‍छ, यदाकदा व्यवहारमा । 

तर जो आँखाले देखिन्‍छ, त्यो सत्य नहुन पनि सक्दछ । अर्थात् अर्धसत्य वा भ्रम पनि हुनसक्दछ । भ्रममै बाँच्‍नु पनि मानिसहरूको नियति नै हो । भ्रमले दिने तृप्ति र सन्तुष्टि भलै क्षणिक होस् तर आनन्द दिने नै हुन्‍छ । सत्यले पर्दा नखोलेसम्म भ्रमले यथार्थ ग्रहण गरेकै हुन्‍छ । भ्रममाथि विश्वासको लेप लगायो भने त त्यसले सत्यको नै आसन जमाउँछ । परराष्ट्र सेवाको जागिर पनि यस्तै हो सत्य र भ्रमको मिश्रण खिचडी ।

यही खिचडी भित्रको हो, मेरो यो स्मृति । एक मिथ्या, दृष्टिदोष, भ्रम, राग, र अनुराग भने पनि हुने । सत्यभन्दा धेरै परको वास्तविकतालाई भ्रमको पर्दाले छोपेर लिइएको एउटा अचिन्त्य विश्वास । नामसँग जोडिएर आउने व्यक्तिको परिचय ।

हुन त नाम र नामले दिने व्यक्तिको गुणसँग कत्ति पनि तालमेल खाएको हुँदैन वास्तविक जीवनमा । कर्म आफूले गरेर आर्जन गरे पनि नाम त मातापिताले नै दिने हुन् । मातापिताले दिने नाममा मातापिताको अन्तर्आत्माको ईच्छा लुकेको हुन्‍छ सन्ततिप्रति अनि हुन्‍छ बालकको भविष्यको कामना ।

मेरा मातापिताले मलाई दिएको नाम पनि त्यस्तै एउटा चाहना हो, उहाँहरूको । आदर्श बनोस्, आज्ञाकारी बनोस्, यश र कीर्ति आर्जन गरोस् भन्‍ने नै अभिप्राय थियो होला । छोराको नाम लिँदा भगवान्को नाम पनि लिइयोस् भन्‍ने कामना पनि थियो होला । त्यसैले नाम जुराइयो राजाराम, लोकका लागि आदर्श र पूजनीय भगवान् । 

के नामले भनेजस्तै कर्म पनि हुन्‍छ मानिसको ? हुँदो हो त यो संसारमा देवदूतहरू धेरै हुने थिए । सत्कर्मको स्वराज स्वर्गतुल्य यो लोक देवभूमि नै हुने थियो । फेरि भाग्यले दिने भए मानिसले किन कर्मयोगी बन्‍नु पथ्र्यो । 
सन् २००५ को सुरु महिनातिरको कुरा हो मन्त्रालयले मलाई र झवीन्द्र अर्याल (हालै इजिप्टमा राजदूतको कार्यकाल सकेर फर्कनुभएको) लाई पाकिस्तान सरकारको परराष्ट्र मन्त्रालयअन्र्तगतको परराष्ट्र अध्ययन प्रतिष्ठानले उपलब्ध गराएको छात्रवृत्तिका लागि मनोनयन गरेको थियो । 

नेपाल सरकारले यस अघि कूटनीतिक तालिमका लागि पाकिस्तान पठाउने गरेको थिएन । पाकिस्तान सरकारको विशेष अनुरोधमा यसपटक पहिलोचाटि भाग लिइएको थियो । तालिममा सहभागी हुनेलाई खाने-बस्ने सुविधासहित पाकेट खर्चका लागि दैनिक चारसय पाकिस्तानी रुपैयाँसमेत उपलब्ध गराउने भनिएको हुँदा सहभागीहरूलाई खासै असुविधा थिएन । 

तालिममा भाग लिन जाने त भइयो तर खल्तीमा सुको पनि थिएन । आफू परिवार छोडेर जाने भएपछि परिवारका लागि आवश्यक खर्चको जोहो पनि गरेरै हिँड्न पर्‍यो । साथीभाइहरूसँग सापट माग्न पनि मन भारी भइरहेको थियो । फेरि सोचेँ, जे त पर्ला त्यहाँ पुगेपछि पैसा दिइहाल्छ । किन सापट गरेर बोझ बोक्ने ?

झवीन्द्र अर्याल मभन्दा सिनियर र अनुभवी व्यक्ति । फेरि तीनतीन महिनासम्म सँगै बस्नुपर्ने साथी एकपटक आफ्नो समस्या भन्‍नुपर्‍यो भन्‍ने सोचें । ‘जाने त भनियो झवीन्द्र सर, खल्तीमा पैसा छैन, के गर्ने होला,’ दुखेसो राखेँ ।

‘केही छैन, म केही पैसा बोकिहाल्छु त्यही पैसा खर्च गरौंला । तपाईंलाई चाहिएको लिनुहोला र पैसा हात परेपछि फिर्ता गरे भइहाल्यो,’ सजिलो उत्तर रह्यो उहाँको । ढुक्कै भइयो यति सजिलो र सहृदयी मित्र पाएकामा । यात्रामा मन मिल्ने र सहयोगी मनकारी मित्र फेला परेपछि यात्रा सजिलै काटिन्‍छ । घरको कन्तुर कोट्याउँदा भेटिएको बीस डलरको एउटा नोट च्यापेर जहाज चढियो इस्लामावादका लागि ‘ज्यानमे नही लत्ता चले कलकत्ता’ भने जसरी ।

बस्‍नका लागि इस्लामावाद सहरको बीच भागमा रहेको तीन तारे पर्यटकीय होटल ‘मार्गला’मा राम्रै व्यवस्था गरिएको रहेछ । कुनै होस्टेलमा राखिने होला भन्‍ने हाम्रो सोचाइ विपरीत तारे होटलको प्रबन्धले खुसी नै दियो । ब्रेकफास्ट, लन्च, डिनर पनि सोही होटलमा प्रबन्ध गरिएको रहेछ । भारतबाहेक दक्षिण एसियाबाट नेपाल, बंगलादेश, भुटान, श्रीलंका, माल्दिभ्स, अफगानिस्तान र पूर्वी एसियाबाट भियतनामका सहभागीहरूको जमघट भयो । त्यसैगरी अफ्रिकाबाट मादागास्कर, लिविया, घाना, रुवान्डा, मालावी लगायतका देशहरूबाट पनि सहभागीहरू आई पुगेपछि वातावरण रमाइलो बन्दै गयो । 

खल्तीमा भएको बीस डलरको नोट साटेर आएको पैसा पानी किनेर खाँदैमा सकियो । दैनिक स्टापिण्ड जानेबित्तिकै पाइन्‍छ भनेकामा त्यसको कुनै अत्तोपत्तो थिएन । प्रशासनिक ढिलाइको कारणले गर्दा स्टापिण्ड दिन केही ढिलो हुने जानकारी गराइएको थियो तर महिना दिनभन्दा बढी लाग्ला भन्‍ने सोचिएको पनि थिएन । खल्तीमा पैसा नहुनु भनेको गरिबै हुनु भने होइन तर खाली खल्तीले दिने पीडा र मानसिक तनावले दुर्बल भने बनाउने रहेछ । अनि दुर्बल मनले लघुताभास । यही बीचमा साथीभाइहरूको जन्मदिन पनि पर्‍यो सामूहिक उत्सवका रूपमा मनाउन । जन्मदिनको उपहार दिनैपर्‍यो । यस्तो अड्को फड्कोको सहारा बनिदिए झवीन्द्र सर । उहाँलाई पनि लाग्यो होला कस्तो हरितन्‍नम रहेछ यो । मेरो बाध्यता त्यस्तै थियो- दीनहीन र दयनीय ।

लाहोर सहर सुन्दर चुराहरूका लागि प्रख्यात छ । फर्केर आउँदा मेरा यी हातमा सुहाउने सुन्दर चुरा लिएर आउन नभुल्नुहोला ।

मानव अधिकारसम्बन्धी तालिमका लागि मुख्यालयबाट आएकी महिला प्रशिक्षकले एक दिन कक्षा सकेर चिया खाँदै गरेको समयमा बेलुकाको खाना सँगै मिलेर खान उहाँ बस्नुभएको पाँचतारे शेराटन होटलमा आउन निमन्त्रणा दिनुभयो । साथै उक्त डिनरमा नेपालको सहभागीलगायत मादागास्कर र घानाका सहभागीहरूलाई समेत आमन्त्रण गरिएको जानकारी दिनुभयो । आयोजक दुई जना र प्रत्येक मुलुकबाट दुईदुई जना गरेर जम्मा आठ जनाको सामूहिक भोजन हुने भयो । निमन्त्रणा पाएपछि आउन सक्दिनँ भन्‍ने कुरा पनि भएन । बोलाइएको स्थानमा तोकिएको समयमा पुगियो ठाँटिएर । खल्तीमा दाम न साम, पाँचतारे होटेलमा गएर खाम, आँट गतिलै थियो । 

राउन्ड टेबलमा सबैजना जम्मा भएपछि खानाको मेनु हेर्दै आफूलाई मन परेको एक आइटम खानाको परिकार अर्डर गर्ने कुरा भयो । टेबलमा आठ-दश थरी खानाको परिकार सजियो र चाख मानिमानी विभिन्‍न थरी पकवानको स्वाद लिइयो । खाने काम सकिएपछि बिल अगाडि आयो । हामीलाई खान आमन्त्रण गर्ने होस्टले नै पहिला बिल भएको थालीमा चार हजार राखेर बाँकी सबैले आआफ्नो भागको पैसा जम्मा गर्न बिल भएको प्लेट सारिदिनु भयो । परेन फसाद, खल्तीमा कौडी छैन ।

हुन त खान भनेर बोलाएपछि होस्टले नै बिल तिर्नुपर्ने हो । त्यही नै सोचेर गइएको पनि थियो । तर यहाँ परिस्थिति प्रतिकूल भइदियो । तयारीबेगरको परिस्थिति । संकटकाल नै लागेको भन्दा पनि हुने भयो । मानिसको जीवनमा संकट कसरी र कहिले र कुन रूप लिएर आउँछ, अनुमान गर्न सकिन्‍न । तर समस्याले समाधान पनि बोकेको हुन्‍छ भनिन्‍छ नि, हो त्यस्तै भयो । संकटमोचन भएर निस्कनु भयो झवीन्द्र सर फेरि पनि । 

उहाँको अनुभवले र अन्तरचेतनाले पैसा बोकेर हिँड् भनेको रहेछ । मेरो अवस्थाबारे त उहाँ परिचित नै हुनुहुन्थ्यो । ‘हामी दुई जना नेपालीको’ भनेर उहाँले चार हजार थपक्क प्लेटमा राखिदिनु भयो । राहतको सास लामो हुन्‍छ । एकछिन अघि लिएको स्वादिष्ट भोजनको हराएको स्वाद पुनः बिस्तारै उकालो लाग्यो । 

नाम राजा हुनासाथ असली राजा हुने भए राजाबाट सुरु हुने नाम कसैले राख्ने नै थिएनन् । मातापिताको प्रिय पुत्र पनि राजा हुन्‍छ । प्रेयसी प्रिय पुरुष पनि राजा नै पुकारिन्‍छ । उत्तम र श्रेष्ठतम भनेर जनाउन पनि राजा नै भनिन्‍छ । फेरि सबै राजा भनेको जस्तो नै उत्तम कहाँ हुन्‍छन् र ? कोही नाम मात्रको राजा हुन्‍छन्, कोही कामले, गुणले र समृद्धिले सम्पन्‍न भएर राजा कहलिन्‍छन् । जब कामले पनि होइन, गुणले त झन् हुँदै होइन, सम्पन्‍नताको त कुरा गर्न नै परेन । नाम हुनुसँग मात्र जोडिएर आएको पर्‍यो यो राजा चाहिँ । 

पाकिस्तानमा सायद जमिनदारहरूलाई राजा भनिँदो हो वा नामसँग राजा जोडिएपछि जमिनदार बनिँदो हो, यकिन भन्‍न सकिएन । तर सहभागीहरूमा यो मानिस नेपालको ठूलै जमिनदार हो भन्‍ने कुरा साउतीको भरमा एकअर्कामा चलेको हुँदो हो । बेलाबेलामा अफ्रिकन साथीहरू तिम्रो जमिन कति छ भनेर सोध्थे । तिम्रो घरमा काम गर्ने मानिस धेरै होलान् हगि भनेर अनुमान गर्थे । तिम्रो कतिवटा गाडी छ भनेर धेरै जनाले सोधेका पनि हुन् । यी कुनै पनि प्रश्नको उत्तर मसँग थिएन । हुनु पनि कसरी नभएको कुरा छ भनेर गुड्डी हाँक्नु । ढाँटेको कुरा काटे मिल्दैन भन्‍छन् । हावा फुस्केर पन्चर हुनुभन्दा हावा नभरेकै जाती हो नि । ‘म सामान्य परिवारको किसानको छोरो हुँ’ भन्‍ने मेरो जवाफलाई कसैले विश्वास नै गरेनन् । मेरो जवाफलाई ठूलो मानिसको सरलताका रूपमा बुझे होला सबैले । 

हामी होटेलमा बसेको त्यस्तै पन्ध्र-बीस दिन भएको हुँदो हो, एकदिन होटलको म्यानेजरले भन्यो, ‘तपाईंको रुम चेन्ज गरिदिएको छु । यो साँचो लिनुहोस् र रुम सर्नुहोस् ।’ ‘मलाई दिइएको रुम ठीकै त छ, झ्यालबाटबाहिरको दृश्य पनि राम्रै देखिन्‍छ, किन चेन्ज गर्नुपर्‍यो, मलाई यही रुम ठीक छ’ भन्‍ने मेरो जवाफमा उसको सिनियरले रुम चेन्ज गर्न भनेर आदेश दिएको हुँदा मैले नयाँ रुममा गएर बस्नुपर्ने बतायो । ठीकै छ त्यसो हो भने, जहाँ बसे पनि बस्ने नै हो भनेर साँचो बोकेर आएँ र एउटा हाते झोला र केही किताब च्यापेर निर्दिष्ट गरेको रुममा प्रवेश गरेँ । अचम्म, यो त पहिलाको भन्दा ठूलो, फराकिलो, सोफासेटहरू समेत भएको जुनियर सुइट पो रहेछ । यो के आइलाग्यो ? रंग दलेर स्याल सिंह हुने होइन । रंग खुइलेको क्षण स्यालले पुच्छर लुकाएर भाग्‍नुको विकल्प समेत रहँदैन । यथार्थलाई स्वीकार्नुको विकल्प पनि थिएन । 

प्रशिक्षण कार्यक्रमकै सिलसिलामा सहभागीहरूलाई अवलोकन भ्रमणका लागि लाहोर लगिने भयो । तर हामीसँगै प्रशिक्षणमा सहभागी पाकिस्तानी अधिकारीहरू भने भ्रमणमा सहभागी हुनबाट वञ्चित रहने भए । ‘तपाईंहरू लाहोर जाने हुनुभएछ । यो उपनिवेशकालीन सुन्दर सहर हो । हामी तपाईंहरूसँग जान पाएनौं । त्यो सुन्दर सहरबाट फर्कंदा मलाई के उपहार ल्याउनुहुन्‍छ,’ सहपाठी सुन्दरी पाकिस्तानी अधिकारीले समीपमा आएर निसंकोच आफ्नो कुरा राखिन् ।

यसपूर्व कुनै गफ पनि भएको थिएन । सामूहिक परिचयबाहेक व्यक्तिगत परिचय पनि भएको थिएन । प्रस्ट र खुला रूपमा उपहार ल्याइदिन भनेपछि यो मान्‍छेले अपेक्षा टार्दैन भन्‍ने विश्वासले नै त होला यति निसंकोच प्रस्तुत भएको । ‘हुन्‍छ नि, केही त ल्याउनै पर्ला । पहिलोचोटि जाँदै छु । सहर कस्तो छ, यसको के विशेषता छ र के कुराका लागि प्रख्यात छ भन्‍ने मैले जानेकै छैन । तपाईं नै भन्‍नुहोस् न इच्छा गरिएको कुरा,’ मैले भनेँ । ‘लाहोर सहर सुन्दर चुराहरूका लागि प्रख्यात छ । फर्केर आउँदा मेरा यी हातका लागि सुहाउने सुन्दर चुरा लिएर आउन नभुल्नुहोला,’ उनले आफ्ना इच्छा व्यक्त गरिन् वा भनूँ आदेश नै गरिन् । 

उनको भनाइमा सत्यता थियो कि लाहोर काँचका चुराहरूका लागि प्रख्यात ठाउँ हो । वास्तवमा सनातनी हिन्दु महिलाहरूको सोह्र शृङ्गारमध्येको ‘चुरा’ सभ्यताको विकासक्रमसँगै जोडिएको छ । सिन्ध सभ्यता र हरप्पा सभ्यतामा काँचको चुरा र पोते बनाउने र महिलाहरूले शृङ्गार प्रशोधनका रूपमा लगाउने चलन चलेको हो जो अद्यापि कायम छ । सिन्धु सभ्यता र हरप्पा सभ्यताको पतन भएपछि चुरा बनाउने पोते बनाउने कालिगडी दक्षता परिमार्जित र परिष्कृत हुँदै निरन्तर चलिआइरहेको छ । आज यी आर्य सभ्यताको मूल थलोहरूमा बहुसंख्यक मुसलमान बस्छन् । चुरा र पोते बनाउने पेसा पनि बहुसंख्यक मुसलमानहरूकै हातमा रहेको छ । नेपालमा मुसलमानहरूलाई ‘चुरौटे’ भनेर पनि भनिन्‍छ । मुस्लिम धर्ममा चुरापोतेको कुनै सांस्कृतिक एवम् धार्मिक मूल्य र महत्व छैन । यद्यपि त्यहाँका महिलामा चुरापोतेप्रतिको मोह किमार्थ कम भएको छैन । अहिले पनि चुरापोते प्रेमको प्रतीकका रूपमा रहेको छ । 

इस्लामावादबाट लाहोरका लागि हिँड्दा बाटोको दायाँबायाँ विशाल खेतका फाँट देखिन्‍छन् । खेतको बीचमा एकाध छाप्राहरूबाहेक कुनै मानवबस्ती वा आवासीय घर देखिँदैनन् । तर कतै कतै ससाना छाप्रा देखिन्‍छन् । सायद ती फसल रोपनी कटनीका लागि कामदारहरूका निमित्त निर्मित हुन् भनी अनुमान गर्न कठिन थिएन । विशाल अन्‍न भण्डारका खेत खलिहानयुक्त फाँटमा मानवीय बस्ती नदेखिनु कुनै नौलो कुरा भएन । तर मानवीय हातहरूले नै खेतीपाती गरिने हाम्रो जस्तो दक्षिण एसियामा हजारौं एकड खेतीयोग्य जमिनको वरिपरि मानवीय बस्ती नदेखिनु चाहिँ सोचनीय देखियो । 

यस्तो विशाल खेतीयोग्य जमिन कुनै एकजना जमिनदारको रहेछ । केही सीमित जमिनदारहरूको नाममा हजारौं हेक्टर जमिन हुँदो रहेछ पाकिस्तानमा । भूमिहीन जनसंख्याको हिस्सा अनुमान गरिएको भन्दा कयौं गुणा बढी रहेछ । कमैयाहरू अनगन्ती कति कति ? सामान्य जस्तो लाग्ने यस्तो दृश्यले आफ्नै देशको याद दिँदो रहेछ । हामीकहाँ पनि त यस्तै छ, ‘हुनेको भकारी, नहुनेको आरी ।’ पाकिस्तानका पूर्वप्रधानमन्त्री जुल्फिकर अलि भुट्टोले उनको संस्करणात्मक पुस्तकमा लेखेका थिए, ‘केही घन्टा सुतेर उठ्दा पनि हाम्रो जीप हाम्रै जमिनको बाटोमा गुडिरहेको थियो ।’   

लाहोरमा पुगेपछि भूमिहीन कमैया किसानहरूसँग साक्षत्कार हुने समेतको अवसर मिल्यो । तिनीहरूमा आफू भूमिहीन हुनु परेकामा दुःख या पीडा किञ्चित देखिएन बरु यसलाई पूर्वजुनीको फल वा भगवानको इच्छा भन्दै स्वाभाविक रूपमा स्वीकारेको देखियो । 

भाग्यवाद र पूर्वजन्ममा विश्वास गर्नेको जमात धेरै ठूलो देखियो । भाग्यवादमा विश्वास गर्नेहरू के त्यहाँ मात्र होलान् र ? नेपालमै पनि भाग्यवादमा विश्वास गर्नेहरूको संख्या निकै ठूलो छ । साँच्चै भनूँ भने दक्षिण एसियाको पूरै क्षेत्रमा भाग्यवादमा विश्वास गर्नेहरूको संख्या असंख्य रहेको छ । के त्यसो भए भाग्यवादमा विश्वास गर्नेहरू धार्मिक धरोहरका अवशेष हुन् ? यदि त्यसो हो भने भाग्यवादमा विश्वास गर्नेहरू सबै धर्ममा आस्था राख्‍नेहरू रहेछन् भन्‍ने बुझ्‍नुपर्ने भयो । के भाग्यवाद आस्थाको आधारमा मनोवैज्ञानिक त्रासलाई धर्मको आवरणमा गरिने अनुचित शोषण नै हो त ? आवरणमा ठ्याक्कै यही हो भन्‍न नसकिए पनि सारमा कमजोरमाथि शक्तिशालीले धार्मिक आवरणमा मनोवैज्ञानिक त्रास सिर्जना गरी शासन गर्नु नै हो भन्‍ने बुझ्‍न कठिन भएन । 

जसरी धरतीसँग मानिस, मानिससँग जनजीविका र जनजीविकासँग संस्कृति र संस्कृतिसँग धर्म जोडिएर आउँछ त्यसैगरी मानवीय सभ्यताको इतिहास पनि धरोहरका रूपमा बाँच्छ, मानवीय बस्ती अनि सहर जोडिएर । यो यस्तो सहर हो जुन सनातनी धर्मसँगै जोडिन पुग्छ । के पनि भनिन्‍छ भने त्रेतायुगका राजा रामले आफ्नो पुत्र लवलाई दिएको राज्य हो पञ्जाव र त्यसको राजधानी हो लाहोर । 

भारत स्वतन्त्र भई विभाजित हुँदा पञ्जाव पनि बाँडियो आधाआधा पश्चिमी भाग मुस्लिम बहुल पाकिस्तानमा र पूर्वीभाग हिन्दु बहुल हिन्दुस्तानमा । अनि लाहोर सहर पाकिस्तानको एउटा अभिन्‍न हिस्सा बन्यो । लाहोरमा लवको मन्दिर पनि छ भन्‍ने सुनिएको हुँदा र प्राचीन इतिहासको अवशेष हेर्न पनि पाइने भएको हुँदा यस मनमा एक किसिमको खुसी थियो भन्दा हुन्‍छ । मन्दिर त रहेछ, तर रंगशालाको एउटा कुनामा च्यापिएर राखिएको । धर्मान्धताले छोपेको मानवीय आवेगको ज्वलन्त पाटो । धन्‍न फालिएको भने रहेनछ ।  

बेलायती शासनको झल्को दिने पुराना सडक र भिक्टोरिया वास्तुकलामा निर्मित भवनहरूको उपस्थितिले लाहोर आफ्नो ऐतिहासिक विरासत बोकेर बसेको नै थियो । लाहोर पुग्दा एउटा नेपालीले नेपाली लाहुरेलाई नसम्झने गर्नु पनि भएन । नेपालीकै इतिहास जोडिएर आउने सम्झना । बेलायतीसँग नालापानीको युद्धमा नेपालले हार खाएपछि नेपाली सेनाका कमान्डर बलभद्र कुँवर पञ्जावका राजा रणजीत सिंहको सेनामा भर्र्ती भएका थिए भन्‍ने छ । त्यसपछि नै नेपाली युवाहरू रोजगारीका लागि लाहोर जाने चलन चलेको र लाहोर गएर फर्कनेलाई ‘लाहुरे’ भन्‍ने विशेषण लगाएर बोलाउने चलन रहेको हो भन्‍ने बुझाइ अहिलेसम्म कायम नै छ । 

इतिहास निर्दयी हुन्‍छ भनिन्‍छ । झन् तरबारको रेखाले कोरेको इतिहास छ भने त बीभत्स र भयंकर पनि हुन्‍छ । यसले वीरताको कथा पढ्दा जति रोमाञ्चता दिन्‍छ नि राष्ट्रवादीहरूलाई त्यसैगरी आद्र बनाउँछ मानवीय क्षतिको पाटो सन्त्रास बनेर झकझक्याउँदा विद्रुप र कुरूप देखिन्‍छ विगत । भारत र पाकिस्तानको विभाजनको पीडालाई बाघा सीमामा प्रत्येक दिन बिहान गरिने झण्डोत्तोलन र साँझ गरिने झण्डाअवतरण समारोहले घाउको खाटालाई सुक्न दिँदैन । देख्दा भव्य लाग्‍ने समारोह विभाजनको घाउको पीडा मात्र हैन, लाखौँ नागरिकको आलो रगतको सम्झना पनि हो । निर्दयी इतिहासको बकपत्र । 

यात्रा अविरल अगाडि बढ्छ भन्‍नु मात्र त हो । फेरि फर्कनु त छँदै छ जसरी चराहरू बिहान गुँड छोडेर निस्कन्‍छन् र साँझ पुनः गुँडमा फर्कन्‍छन् । हामी पनि लाहोरको यात्रा सकेर इस्लामावाद फर्कने दिन आयो । इस्लामावादमा फर्केर कक्षा कोठामा जाँदा त्यही सुन्दरीले अवश्य सोध्नेछिन्, खोई मेरो कासेली भनेर । कोसेली बोक्नु पनि छ, त्यो पनि मागिएको, केही गरी बिर्सिए पुरुषको अहंमा चोट पर्न सक्ने ।    

चुरा ल्याइदिन भनेपछि केही असमञ्जसमा परेको थिएँ । किन चुरा नै, यो केको संकेत हो ? या सामान्य अपेक्षा मात्र । चुरा ल्याएर दिँदा कुनै अनर्थ त हुने होइन आदि कुराहरू मनमा खेले । ठीकै छ, काँचका चुरा दिँदैमा के नै फरक पर्ला र भन्‍ने निचोडमा पुगेँ । यसो सोचेँ, जमिनदार भनेर हल्ला पिटेका छन् काँचको चुरा भनेर सुनकै मागे कि पो हो कि ? आफ्नै नासमझले भुँवरीमा पो परिने हो कि ? सरिया कानुनको चक्करमा फसाइदिई भने, न घरको न घाटको बीचमै लट्किन के बेर ? फूलको रसमै डुबेर मर्ने हुन् भँवराहरू । ‘झवीन्द्र सर, के गर्ने होला ? समस्यामा फसियो, सुन्दरीले चुरा मागेकी छ’ विरह पोखें । ‘मागेपछि दिने, तर टाढै रहने,’ उपयुक्त सुझाव रह्यो झवीन्द्र सरको । 

दुवै भाइसँगै गएर दुई दर्जन रंगीन चुरा किनेर लाहोरबाट फर्केपछि उसका हातमा राखिदिएँ । चुरामा देखेको कसैको आत्मीयता खेर गएन । मेरो पुरुष अहंमा कतै चोट पर्‍यो वा परेन थाहा भएन । तर एउटा जमिनदारले दिने कासेली पनि जाबो काँचको चुरा, उसले मनमनै भनी होला ।


Author

थप समाचार
x