सप्ताहन्त

लेखनी सम्मानलाई शब्दकै जोडजाम !

चिरञ्‍जीवी मास्के |
फागुन १५, २०७७ शनिबार १८:४७ बजे

शब्दको ताकत, म नतमस्तक छु । 
‘कुछ पाकर खोना हे, कुछ खोकर पाना हे
जीवनका मतलब तो, आना और जाना हे
दो पल के जीवन से, एक उमर चुरानी हे,
जिन्दगी और कुछ भी नहि, तेरी मेरी कहानी हे
एक प्यारका नगमा हे...’

भारतका चर्चित लेखक सन्तोष आनन्दको शब्द हो, यो । उनी अहिले गरिबी, रोग र बढ्दो उमेरसँग एक्लै संघर्ष गरिरहेका छन् । एक साँझ भारतीय टेलिभिजन च्यानल सोनीको लोकप्रिय कार्यक्रम इन्डियन आइडलमा देखेँ, सन्तोष आनन्दलाई । कति ठूलो सम्मान उनको लेखनीको, उनको शब्दको ।


इन्डियन आइडलका जजले आँसु थाम्न सकेनन्, सहभागी नवोदिन गायकले आँसु थाम्‍न सकेनन् र सहभागी दर्शक पनि नरोई बस्न सकेनन् । उनको लेखनीको, उनको शब्दको सम्मान थियो त्यो । गायक नेहाले त पाँच लाख रुपैयाँ सहयोग नै गरिन् सन्तोष आनन्दलाई ।

गीत, एउटा शब्द, शब्दहरूको शृङ्गार र संयोजन, सङ्गीतको झंकार ।
गीत, भावनाको अभिव्यक्ति, अतीतका याद र हृदयको सहारा । 
गीत, शब्द र सङ्गीतको संयोजनबाट निस्किएको सामाजिक यथार्थ, सामाजिक क्रान्ति र समाधानको खोजी । 
गीतले विकास गर्छ, क्रान्ति गर्छ, परिर्वतन गर्छ । 
र, गीतले आफ्नो चाहनालाई अभिव्यक्त पनि गर्छ । राष्ट्रकवि माधव घिमिरेले धेरै वर्षअघि लेखेका थिए:
‘त्यसरी होस मरण, त्यसरी होस् मरण, 
त्यसरी होस् मरण...
जसरी सुत्छन् तारमा, गीतका चारु चरण
हिमाल चुली देशमा, दिनको शान्त भेषमा
जसरी गर्छन् विश्राम, सूर्यका स्वर्ण किरण
त्यसरी होस् मरण...’

साँच्चै एक सय वर्ष पार गरेपछि उनको मरण उनले भनेजस्तै गरी भयो, दिनको शान्त भेषमा विश्राम गरेजसरी । शब्दको शक्ति सङ्गीतको सरगममा तरङ्गित बनेपछि मानिस कसरी मन्त्रमुग्ध नहुने ! ठूला-ठूला परिर्वतन भएका छन् गीतले, सङ्गीतले र शब्दले । जीवन शर्माको यो गीत :
‘सिमली छायाँमा बसी, भरिया लामो सास फेरेको
उमेर भइसक्यो अस्सी, झन् धेरै दुःखले घेरेको’
होस् कि रामेश-मञ्जुलको यो गीत :
‘गाउँ, गाउँबाट उठ, बस्ती बस्तीबाट उठ
यो देशको मुहार फेर्नलाई उठ’

यी गीतले, यी गीतका सङ्गीतहरूले र शब्दहरूले निरंकुशताविरुद्ध आन्दोलनको शंखघोष गर्न कति धेरै भूमिका खेल्न सक्यो । मुठ्ठी उठाएर निरंकुशताविरुद्ध नारा लागे यी गीतका लयहरूसँग । गीत, सङ्गीत र शब्दको सम्मान श्रोताले गरे, समाजले गर्‍यो तर सरकारले गरेजस्तो लागेन ।

नत्र विश्वको ठूलो फिल्मी नगरी भारतको बलिउडमा जमेका गीतकार सन्तोष आनन्दले बढ्दो उमेरसँगै किन यति धेरै पीडा भोग्‍न विवश हुन्थे र ! भारत सरकारले गीत-सङ्गीतको संरक्षण त गर्‍यो होला तर गीतका लेखकको संरक्षण गर्न नसकेकै कारण उनले पीडा भोग्‍नु परिरहेको छ । नेपालमा सुरेश गन्धर्वहरूको पीडा पनि त्यस्तै छ । सुरेश गन्धर्वको गीतले सभ्यताको कुरा उठायो, संस्कृतिको कुरा उठायो, सीमाको कुरा उठायो । उति बेलै :

‘मधेसको मैना चरी, लेकै चर्ने लार्चे
पिरबोकी मुटुभरि, बगर बगर नाचे
आधामाया फुर्मास भो, आधामाया साँचे
त्यही मायालाई ठेगान लाउन, आजसम्म बाँचे
रिङ्के बुङ्को राँगोलाई, चुङ्के बुङ्को चुलेसीले...’

तर सुरेश गन्धर्वको पीडाको कुरा उठ्न सकेन । उनी बिरामीले थल्लिरहे, आर्थिक अभावमा रुमल्लिरहे । अहँ, कसैले नि उनलाई सुनेनन्, देखेनन्, बुझेनन् । फिल्म निर्देशक दीपकजीको सहयोगमा जब रमेश प्रसाईंले सुरेश गन्धर्वको गीत गाए तब त्यो गीतको सङ्गीत र शब्दले चर्चा पायो । गीतको भाव, गीतको शब्द र शक्तिको सबैले अनुमान लगाउन थाले । तर, फेरि पनि सुरेश गन्धर्वको पीडामा मल्हम लाग्‍न सकेको छैन ।

निरंकुशता ढाल्छ शब्दले, सङ्गीतले । सङ्गीतमा जादुयी भाव बनेर बहेको त्यो शब्दलाई सुन्छ सरकारले, समाजले, सबैले । तर सुन्दैन, देख्दैन, बुझ्दैन त्यो शब्दको रचनाकार, परिकल्पनाकार लेखकलाई सरकारले, समाजले । किन यस्तो हुन्छ ? किन ?

‘झल्को लाली ओठको, 
बाटो खुल्यो, मोटर चल्यो जुम्ला कालिकोटको’

मिलन लामाको यो गीतको भावमा डुबेर, सङ्गीतमा झुमेर कर्णालीका ठूला-ठूला भीरमा जोखिम मोल्दै सडक खनेका हैनन् मजदुरले । सडकले विकास ल्याउँछ भनेर यही गीतले नै त भनेको छ । शब्दको लयमा कर्णालीले विकास गर्‍यो । तर सरकारको चेतनामा विकास भएन र देखेन शब्दको लेखकलाई कहिल्यै ।

निर्वाचनमा मतदातालाई उत्साहित बनाउने पनि गीत नै हो । गीतमा सुनिने सङ्गीत नै हो । गीत बनाउने शब्द नै हो । अर्थात् कहीँ न कहीँ नेता चुन्‍ने, नीति चुन्‍ने, नेतृत्व चुन्‍ने पनि गीत, सङ्गीत, शब्द नै हो ।

‘हजुरबाले भन्‍नुहुन्थ्यो, सूर्यमा भोट हाल्ने
हजूरआमा भन्‍नुहुन्थ्यो, एमाले हो पाल्ने
भोट हाल्न लाहुरबाट आउँछु भन्छन् दाइले
एमालेकै झन्डा बोकी हिँडेका छन् भाइले’

यो गीतले कुनै बेला निर्वाचनमा हलचल मच्चायो, निर्वाचनको परिणाममा सूर्यलाई भरथेग गर्‍यो । तर निर्वाचितहरूले शब्दको सारथिको खोजी गरेको कहिल्यै सुनिएन । सुनिएला सन्तोष आनन्द र सुरेश गन्धर्वहरूको पीडा ? सन्तोष र सुरेशले लेखेका शब्दमा सयौँ स्रोताहरूले आँसु खसालिरहँदा, लाखौँ-करोडौँ मनहरू उद्देलित भइरहँदा वैधानिक लेखनी सम्मान कैले होला ? लेखकहरूको पीडा सुन्‍ने सरकार बनाउन के फेरि शब्दकै जोडजाम गर्नुपर्ने हो र !


Author

थप समाचार
x