‘अटोग्राफ’ साहित्य लेखनको पाठशाला
मानिसले साहित्य लेखनको सुरुवात कसरी गर्छन् होला ? कति वर्षको उमेरबाट साहित्य लेख्न सुरु गर्छन् होला ? साहित्य लेखनमा प्रेरणा कसरी मिल्छ होला ? अहं जिज्ञासा हो यो, व्यक्तिको साहित्य लेखन इतिहासका लागि । कक्षा १० सम्म अध्ययन गर्दा मलाई साहित्य लेखनको खासै भेउ थिएन । विद्यालय शिक्षाका लागि आवश्यक पर्ने लेखनबाहेक अन्य लेखनकला ममा थिएन । २०४४ सालमा एसएलसी परीक्षा सकेर कलेज पढ्ने तयारीकै क्रममा मैले साहित्य लेखन सुरु गरेको मधुरो सम्झना छ ।
लेखनको प्रेरणा भने मैले २०४२ सालतिरै पाएको हो । कक्षा ८ मा अध्ययन गर्दै गर्दा । प्रसंग रोचक छ, विमला दिदी हुनुहुन्छ, मलाई धेरै माया गर्नुहुन्थ्यो । काठमाडौँबासी (अहिले अमेरिकामा हुनुहुन्छ) । उहाँहरूकै संगतले मैले २०४२ सालतिर ‘अटोग्राफ’ (स्वहस्त लेख) बनाएँ । त्यो समय ‘अटोग्राफ’ लेखनका लागि खुब चल्तीको समय थियो । मलाई याद भएसम्म २०५०/२०५२ सम्मै ‘अटोग्राफ’ लेखन चल्तीमै थियो ।
मेरो पहिलो ‘अटोग्राफ’मा विमला दिदी र उहाँका केही साथीहरूले लेख्नुभयो । कविता लेख्नुभयो, मुक्तक लेख्नुभयो, सूक्ति लेख्नुभयो । कता-कता तिनै लेखन हरफहरूले ममा साहित्यिक चेतना जागृत भएछन् क्यार ! २०४२ सालमा बनाएको मेरो ‘अटोग्राफ’मा मैले भने कुनै कुरा लेखेको थिइनँ । नढाँटी भनौँ भने त्यतिबेला ममा लेखन सीप नै थिएन । त्यो ‘अटोग्राफ’लाई जतनसाथ राखेँ मात्र त्यतिबेला । एसएलसी सकेर कलेजको दौड लगाउने ताका २०४५/२०४६ सालतिर पुरानो ‘अटोग्राफ’लाई पुनर्लेखन गरियो । र मैले आफ्नो तर्फबाट एउटा कविता लेखेँ :
‘कल्पनाको शून्य संसारमा
रुमल्लिरहेछु
सम्पूर्ण हाँसो बाँडी
आँसुमा डुबिरहेछु
चाहना अनि आवश्यकता
यी दुई चीज पूर्ति गर्न
समाज अनि संसारसँग
लडिरहेछु
यथार्थको उराठ संसारमा
बाँचिरहेछु
रित्तिन लागेको केही आँसु
साँचिरहेछु
हाँसो नभएर के भो र
आँसु भए पनि देखाउन सक्छु
खुसी नभएर के भो र
दुःखी नै भएर पनि
बाँच्न सक्छु ।’
२०४२ सालमा बनाएको ‘अटोग्राफ’को भावना पढेर जागृत मेरो साहित्यिक चेतले २०४५ सालतिर कविता कोर्ने आँट गर्यो । २०४४ साल माघमा एसएलसी दिएलगतै मैले केही कविता र मुक्तक कोर्न सुरु गरेँ । मैले ‘अटोग्राफ’मा राखेको कवितात्मक भावना सायद त्यतिबेला मलाई उत्कृष्ट लागेको लेखन हुनुपर्छ ।
भर्खर भर्खर उपन्यास पढ्ने हुटहुटी जागेको त्यतिबेलाको युवा मष्तिस्कमा ‘अटोग्राफ’ले साहित्य लेखनमा ऊर्जा थपिदिएको थियो । ‘अटोग्राफ’ भरिदिनुहुने आफन्त र साथी भाइहरूको लेखनलाई पछ्याउदै मैले पनि अक्षरको लहर मिलाउने र शब्दको जाल बुन्ने कला सिकेको हो भन्ने लाग्छ । तीनै अक्षरको लहर र शब्दको जाल कतै कविता बने, कतै मुक्तक बने, कतै कथा र व्यंग्यसमेत बने । अझ भनौँ भने त्यतिबेला ‘अटोग्राफ’ले अक्षर र शब्दको बाँकी मिलाउन सिकाएकैले अहिले म पत्रकार बन्न सकेको छु । मेरो ‘अटोग्राफ’मा २०४६ असोज १३ गते काठमाडौँको कस्तुरी दिदी (कस्तुरी शाह) ले कविता लेख्नुभएको छ :
‘आँसु र हाँसो त के हो ?
मिलन र बिछोड त के हो ?
यो त जिन्दगीको रित हो
यो सानो चिह्न दिन सक्नु नै
दिदी भाइ बीचको सम्झनाको प्रतीक हो ।’
त्यही ताका हुनुपर्छ, भक्तपुरको दिदी हुनुहुन्थ्यो शेफाली तुलाधर, उहाँले पनि सन्देशमूलक कविता लेख्नुभएको थियो, मेरो ‘अटोग्राफ’मा । जसले मलाई आज पर्यन्त सचेत गराइरहेको छ ।
‘आउँछन् धेरै उकाली ओराली
एकनास पाइला चाल्दै जाऊ
लक्ष्यमा पुग्न सजिलो हुँदैन
आत्तिएको मनलाई सम्हाल्दै जाऊ ।’
‘अटोग्राफ’ले साहित्य लेखनलाई प्रारम्भिक शिक्षा त दिन्छ नै, समयक्रममा टाढिएको आफन्त, साथीभाइको सम्झनालाई पनि सुरक्षित गरिरहन्छ । मेरो ‘अटोग्राफ’ भर्ने धेरै आफन्त अहिले टाढिनुभएको छ, साथीभाइ आ-आफ्ना मेसोमा अल्झिनुभएको छ । तर ‘अटोग्राफ’को भावनाले ती दिनका सम्झनालाई ताजा र आडिलो बनाइरहेको छ ।
म बेला-बेलामा ‘अटोग्राफ’ पल्टाएर हेर्छु । २०४२ सालदेखिका लेखन सुरक्षित छन्, मेरो ‘अटोग्राफ’मा ।
अहिले नेपाल सरकार सञ्चार तथा सूचना-प्रविधि मन्त्रालयका सञ्चारविज्ञ छन्, राजेन्द्र मानन्धर । त्यतिबेलाको मेरो सहयात्री । उनी अहिले व्यस्त छन्, भेटघाट पातलै छ । उनले मेरो ‘अटोग्राफ’मा केही साहित्यिक भाव कोरेका रहेछन् :
‘ती वेदनाहरू, ती कथाहरू
म अनि मेरो जिन्दगी,
भयानक कालरात्रिको सागरमा डुबेको छ ।'
अर्का मित्र छन्, भक्तपुरका । दौलतविक्रम तुलाधर । अहिले स्वास्थ्य मन्त्रालयअन्तर्गत कतै अफिसर छन्, सायद । भेट नभएको धेरै भयो । उनले २०४६ जेठ १८ गते मेरो ‘अटोग्राफ’मा कविता कोरेका रहेछन् :
‘तिम्रो साम्राज्यभित्र
मैले त बाँच्नु छ
जसरी हुन्छ बाँचिदिन्छु
तिम्रो आदेशमा
आफ्नो मुटुमाथि
जति सक्दो
आघात परे पनि
सहिदिन्छु
तिमीले मेरा इच्छाका
बाधाहरू भत्काए पनि
मेरा लालुपाते विश्वासहरू
सुकाए पनि सहन्छु
सहेरै बाँचिदिन्छु ।’
साहित्यका विविध विधा छन् । कविता लेखनमा पनि धेरै प्रयोग भएको पाइन्छ । ‘अटोग्राफ’ले त्यतिबेला लेखनको धेरै आयाम र प्रयोगलाई उपयोग गरेको देखिन्छ । तिनै लेखन प्रयोगले अहिले पनि साहित्यको गति बढाएको छ, नयाँ-नयाँ विषयवस्तुमा केन्द्रित गराउँदै ।
२०४६ ताका नामबाट कविता लेख्ने प्रयोग राम्रै भएको थियो । त्यतिबेलाका राम्रा लेखक थिए, दिनेश श्रेष्ठ । पछि केही समय पत्रकारितामा पनि जमे उनी । हिजोआज भने लेखन अभ्यास र प्रयोगबाट ओझेलमा छन् उनी । मेरो ‘अटोग्राफ’मा उनले मेरो नामबाट कविता लेखेका रहेछन् :
चि - चिट चिट पसिना र
र - रगतको भल बगाउँदै अनि,
न् - न्यायको बिगुल फुक्दै
जी - जिउन के नै गरिनँ र यहाँ, तर
वी - विवश छु ।
‘अटोग्राफ’, साहित्य लेखनको पाठशाला हो, मेरा लागि । लेखनको चेत र सीप मैले ‘अटोग्राफ’बाटै प्राप्त गरेँ । म जस्ता अरु धेरैले पनि ‘अटोग्राफ’बाटै साहित्यको श्रीगणेश गरेको हुनसक्छ । त्यसमा कति स्थापित साहित्यकार बने होलान्, कति पत्रकार बने होलान्, कति नेता, कर्मचारी र सामान्य घर गृहस्थीमै रहे होलान् ।
म अहिले पनि बेला-बेलामा ‘अटोग्राफ’ पल्टाएर हेर्छु । २०४२ सालदेखिका लेखन सुरक्षित छन् मेरो ‘अटोग्राफ’मा । त्यसमा आफ्ना भावना, सुझाव र सिर्जना कोर्नेमध्येका केहीसँग सम्पर्क नभएको तीन दशक नै पुगिसकेको छ । केहीसँग अहिले पनि नियमित भलाकुसारी हुन्छ । केही आफ्नो कर्ममा व्यस्त भएकाले फोनमा मात्र सम्पर्कमा छन् ।
उनीहरूमध्ये कति पत्रकार भए, कति नेता भए, कति साहित्यकार भए, कति कर्मचारी भए अनि केही घर गृहस्थीमा रमाइरहेका छन् । त्यतिबेला लेख्ने तर अहिले नलेख्नेहरू साहित्यसँग निकट छन् । अहिलेसम्म लेख्नेहरू अब्बल छन् । त्यसैले पनि ‘अटोग्राफ’ साहित्य लेखनको पाठशाला हो भन्दा मलाई आत्मसन्तुष्टि मिल्ने गर्छ ।
‘अटोग्राफ’को चलन नभएको भए, ‘अटोग्राफ’मा लेख्ने अवसर नबनेको भए । के थाहा म पत्रकारै हुने थिए कि थिइनँ ? साहित्यमा चासो बन्ने थियो कि थिएन ? या लेखन सीप हुन्थ्यो कि हुन्थेन ? लेखनलाई अवसर, स्थान र उत्साहको खाँचो हुन्छ । यी तीनै कुरा ‘अटोग्राफ’ले दिनसक्छ । त्यसैले, यस अर्थमा पनि ‘अटोग्राफ’ साहित्य लेखनको पाठशाला हो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया