सप्ताहन्त

नारायणगोपाल : एक नम्बर

मदनकृष्ण श्रेष्ठ | हरिवंश आचार्य |
फागुन २९, २०७७ शनिबार ८:१३ बजे

कुनै पनि व्यक्ति जन्मँदा हलचल मच्चाएर जन्मँदैन । सबैको जन्म सामान्य जन्म हुन्छ । अहिले पनि यस पृथ्वीमा कति मानिस प्रत्येक सेकेन्डमा जन्मँदै छन् । आ-आफ्नो परिवार-नातागोतालाई बाहेक त्यो जन्म सामान्य जन्म हुन्छ र त्यो समाचार बन्दैन । तर ती करोडौँकरोड जन्मेकामध्ये कुनै कुनैको मृत्यु हुँदा समाचार बन्दछ । देश स्तब्ध हुन्छ, संसार स्तब्ध हुन्छ । मृत्युमा त्यस्तो अवसर पाउन कर्मयोगी हुनुपर्छ र ऐतिहासिक काम गरेको हुनुपर्छ ।

नारायणगोपालको जन्ममा उहाँको परिवारबाहेक अरुलाई कुनै कौतूहल थिएन । कुनै पनि नेपालीलाई सुत्केरो परेन उहाँको जन्ममा- सामान्य मुसा, बिरालो, खरायो या मानौँ मानिस जन्मेको सरह नै थियो । तर उहाँको मृत्यु एउटा प्रमुख समाचारभन्दा पनि प्रमुख समाचार बन्यो । सारा नेपालीलाई जुठो पार्‍यो, त्यो समाचारले । सञ्चारका माध्यमहरूले पनि ठूलो महत्व दिए । मानौँ, एउटा ठूलो राजनेताको निधन भएजस्तो । त्यत्रो एकत्रित जनसमूह कुनै पनि नेपालीको मृत्युमा देखिएन, बीपी कोइरालाको निधनमा बाहेक ।


कसैकसैले नारायणगोपाललाई दिएको सम्मानप्रति असन्तुष्टि पनि व्यक्त गरे । नारायणगोपाललाई किन यत्रो सन्मान, एउटा गायक मर्दा त्यत्रो...! तर नारायणगोपाल नेपालीका एक गायक मात्र नभएर उहाँ नेपाली भाषाका सेवक पनि हुनुहुन्थ्यो । उहाँले आफ्ना गीतको माध्यमद्वारा नेपाली भाषाको प्रशस्त सेवा गर्नुभएको छ । अनेक भाषा-भेषभूषा भएको देशमा उहाँले नेपाली भाषालाई लोकप्रिय बनाउन प्रशस्त योगदान दिनुभएको छ ।

जन्म मुसो-बिरालोजस्तो, निधन बीपीको जस्तो ।

हामीकहाँ सयजना मानिसको औँलामा पनि गनी नसक्नु गायकहरू छन्, गायकको केही कमी छैन । तर नारायणगोपालको कमी छ । हुन त अरु पनि दुईचार जना मुक्त-कण्ठका गायक नभएका होइनन् । तर नारायणगोपालमा जस्तो निरन्तरता रहन सकेनन्, अरुमा आठदशवटा गीत गाउँदछन्, नेपाल थर्काउँदछन् अनि बिलाउँछन् । नारायणगोपालले ‘स्वर्गकी रानी मायाकी खानी’ देखिन् ‘विरही माया अधुरो रह्यो’सम्म जति गाउनुभयो सबै गीतले नेपाल र नेपाली बस्ती थर्कायो । 

उहाँको कुनै पनि गीत अलोकप्रिय भएर खेर गएन । नारायणगोपालको स्वरमा ‘हिप्नोटाइज’ (मन्त्रमुग्ध) गर्नसक्ने क्षमता थियो । किङ मिदासले ढुङ्गालाई छोए पनि सुन भए जस्तो नारायणगोपालले कविता छोए पनि राम्रो र लोकप्रिय गीत भएर निस्कन्थ्यो । 

अंग्रेजी गीतका पारखीहरूले अर्को एल्भिस प्रेसली, हिन्दी गीतका पारखीहरूले अर्को रफी, मुकेश र किशोर कुमार नपाएको जस्तै नेपाली गीतका पारखीहरूले पनि अर्को नारायणगोपाल पाउन निक्कै गाह्रो पर्ला-पाइहाले पनि अझ केही दशक कुर्नुपर्नेछ । 

नारायणगोपाल बित्‍नुभएको एक वर्ष नाघिसक्यो तर उहाँको गीत रेडियो नेपालमा एक नम्बरमै छ । क्यासेट बिक्रीमा एक नम्बरमै छ । टेलिभिजनमा पनि उहाँको गीत एक नम्बरमै छन् । यो एक नम्बरी अझ धेरै वर्षसम्म कायम रहनेछ । 

गायकको केही कमी छैन तर नारायणगोपालको कमी छ ।

कसैकसैले उहाँलाई घमण्डी पनि भन्ने गर्दथे । तर हामी त्यस कुरोमा सहमत छैनौँ । उहाँ अति स्पष्टवक्ता हुनुहुन्थ्यो, हुने कुरोलाई हुने र नहुने कुरोलाई नहुने भनिदिनु हुन्थ्यो । कोही रिसाओस्, कोही खुसाओस्- उहाँलाई कुनै मतलब थिएन । 

हामीले पनि नारायणदाइसँग राम्ररी सङ्गत गर्ने मौका पाएका थियौँ । उहाँसँग साथ लागेर कार्यक्रम गर्ने मौका पाएका थियौँ । बडो रमाइलो हुन्थ्यो । रङ्गमञ्चमा हामी हसाउँथ्यौँ रङ्गमञ्चबाहिर उहाँले हामीलाई खूब हँसाउनुहुन्थ्यो । कार्यक्रम पनि खूब जम्दथ्यो । तर अब उहाँको साथमा कार्यक्रम गर्ने मौका हामीले आफ्नै आँखाअगाडि गुमायौँ । 

जुनबेला उहाँले वीर अस्पतालको पलङमा कहिल्यै पनि नखोल्ने गरी आँखा चिम्लनुभयो त्यसबखत उहाँका भाइहरू, धर्मपत्नी, उहाँलाई अन्तिम घडीसम्म साथ दिइरहने वसन्त चौधरी र उहाँका मनपर्ने दुईजना भाइ हामी पनि त्यही थियौँ । (मह-सञ्चार, काठमाडौं) (२०४९ मा नारायणगोपाल संगीत कोषबाट प्रकाशित ‘बागिना, नारायणगोपाल स्मृति अंक’बाट । हालै यसलाई अजम्बरी पब्लिकेसनले पुनःप्रकाशन गरेको छ ।) 


Author

थप समाचार
x