कविता
मेरो विश्वास, मेरो अभिव्यक्ति र मेरो प्राप्ति
एकपल्ट बाटो बिराएर म
सधैं हिंडिरहेछु कहीं पुग्नलाई
तर कहिले कहीं पुग्दिनँ
जहाँ पुगेर अड्छु
एक टुक्रा धर्तीमाथि हुन्छु
यो एक टुक्रा धर्तीलाई
प्राप्तिको कसीमा म राख्तिनँ
किनभने जहाँ पनि म जानेर होइन
भौंतारिएर पुग्छु
कामचोर बनेर आफ्नै कर्मभूमिमा
यत्ति हो मैले पाएको सारांश जीवनको ।
मेरो विश्वास
कस्तो छ मेरो विश्वास ?
घस्रँदै बितेर के मैले आफूसँग समयलाई बिताएको छैन र ?
जबरजस्ती थाकेर मैले के घामलाई डाँडापारि थकाएको छैन र ?
नथाकोस् घाम तर मेरो यो निर्धो सान्त्वना
भलै नबितोस् मेरो अवधिभरिमा समयको इतिहास
म नभएको संसार पनि बित्छ अवश्य
तर मेरो विश्वास तर मेरो विश्वास...
पृथ्वो चिसिँदै छ आफूभित्र
एक दिन सर्वाङ्ग चिसिन्छ
के घातक लाग्यो मेरो विश्वास ?
जे सम्झ,
विश्वास त केवल म आफैँमा गर्दिनँ ।
हो मैले आफैँलाई विश्वास गर्नुपर्ने कुनै आधार छैन
जुन ठाउँमा जीवनको अन्तिम
म बाँचेकै छु त्यसदेखि यता पनि माइलस्टोन खडा थियो
बलि चढाएको भाले
भोग दिएको मान्छे
उफ्रन्छ भन्छन् गर्धन छिनिएपछि पनि दुई तीन मिनेट
हुन सक्छ विशेष त्यही दुई तीन मिनटको अभिव्यक्ति हो
यो मेरो चलबलाई ।
‘नियन्त्रण चाहिन्छ जीवनमा’ यो सत्यलाई
मैले कहीं बिर्सेर आइसकेँ
अथवा मलाई त्यसमा पनि विश्वास छैन
भो कर नगर
रित्तो मस्तिष्कको उपज
म सम्पूर्ण रित्तो मनको भइसकेँ
आफैँमा आस्था नभएको मैले
आफैलाई छलि पनि सकेँ
मैले पनि मेरो व्यक्तित्व
प्रदर्शन गरिसकेँ
किर्ते कागतमा बेरेर ।
अब म
फँसाउन र पचाउन
बिच्केर आएको खुसियाली
माकुराले जस्तै जालो बुन्न
दुई तीन गाँस विष
सायद त्यत्ति नै ओकल्न सक्छु ।
के हो हाम्रो प्राप्ति ?
के हो मेरो प्राप्ति ?
दलिनमा पासो लगाई मर्नेले
जीउँदैमा तिरस्कार गर्छ एक टुक्रा धर्ती
आफ्नो प्राप्ति
तर त्यो झुण्डिएको मुर्दामा पनि
म आफूलाई व्यक्त गर्न आँट्न सक्तिनँ
म जहाँ जान्छु
एक टुक्रा धर्तीमाथि आफूलाई पाउँछु
र यो एक टुक्रा धर्तीलाई
म प्राप्तिको कसीमा राख्तिनँ
किनभने जहाँ पनि म जानेर होइन
भौंतारिएर पुग्छु ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया