‘विश्रान्त’ महाकाव्यमा बगेका अविश्रान्त भावधारा
वास्तवमा मैले यहाँ कुनै सैद्धान्तिक समालोचना गर्न खोजेको होइन त्यसमा पनि महाकाव्य माथि समालोचना गर्नु खेलाँची काम अवश्य पनि पनि होइन । यद्यपि साहित्यको पाठक भने जरुर हुँ । त्यसकारण आफूले पढेको कृतिका बारेमा सामान्य पाठक प्रतिक्रिया लेख्ने जमर्को मात्र गरेको हुँ । २०७८ फागुनमा नेपाली साहित्यको बजारमा एउटा महाकाव्यले प्रवेश पाएको छ जसको नाम विश्रान्त हो र कवि हुन् रूपक अलंकार । शिखा बुक्सले प्रकाशन गरेको उक्त माहाकाव्यले तेह्र सर्ग र करिब बाह्र सय श्लोकको मध्यम आकारमा विस्तार पाएको छ । अब लागौँ यसै महाकाव्यको अन्तर्यतिर ।
नेपाली साहित्यमा महाकाव्यको स्थान महत्त्वपूर्ण छ तर कुलदेवताको जस्तो । साहित्यको कुलदेवता महाकाव्य हो । कुलका मानिसहरू वर्ष दिनमा एक दिन द्याली गरेर कूलपूजा गर्छन् त्यसपछि बन्द भएको मन्दिर फेरि अर्काे सालको द्यालीमा मात्र खोल्छन् । श्रद्धा र आस्था नभएको होइन तर द्यालीको परम्परा नै यस्तै छ । मतलब के हो भने महाकव्य पूज्य भएको छ तर पठ्य भएको छैन । ओहो महाकाव्य रहेछ कसरी पढ्नू ? कसरी बुझ्नु ? जस्ता प्रश्नको घेराबन्दीमा परेर मानिसहरू महाकाव्यको वारिपरि पर्नै नचाहाने स्थिति बनेको छ । यस्तो स्थिति बन्नुमा महाकाव्यकारको प्रस्तुति र पाठकमा देखिएको पठन क्षमताको ह्रास दुबै कारण हुन् । विश्रान्त महाकाव्यको सरल र सहज प्रस्तुतिले उपर्युक्त समस्यालाई चिर्ने प्रशस्त प्रयत्न गरेको छ ।
पवित्रभूमिका रूपमा स्थापित नेपालको महिमागानका साथ विश्रान्त महाकाव्यको यात्रा प्रारम्भ भएको छ । यही नै महाकाव्यको मंगलाचरण पनि हो । ऋषि, महर्षि, विद्वान्, साधु, सन्त, महात्माहरूको विश्राम स्थलका रूपमा महाकाव्यले नेपाल भूमिलाई लिएको छ । प्रकृतिक छटाले भरिपूर्ण यस भूमिलाई सम्पूर्ण मानवले पनि विश्राम स्थल बनाउन सक्छन् । मानव मनका बह तथा पिरलाई भुलाउन सक्ने सामथ्र्य यहाँको प्रकृतिसित छ । कुनै देवालयको प्रांगणमा बसेर यस्तै सोचिरहेको देवभक्त पुजारीको सामुन्ने एक जना विरक्त साधु देखा पर्दछ । अनुहार र शरीरका बिच के नमिले के नमिलेजस्तो लाग्ने साधुलाई पुजारी प्रश्न गर्दछन् :
साधो, कहाँदेखि डुलेर आयौ
भेट्यौ कहाँ के र टिपेर ल्यायौ ?
विश्रान्त महाकाव्य पुजारी र साधुको संवादबाट सुरु भए तापनि यसमा युद्धकालीन नेपाली समाज प्रतिविम्बित छ । हजारौँ वर्षदेखिका प्रताडनाबाट मुक्तिका लागि न्यायप्रेमी जनताले लडेको युद्ध नै यस महकाव्यको कथा हो ।
हक अधिकार र स्वतन्त्रता पाउनका लागि क्रन्तिको अग्निकुण्डमा होमिनु नै पर्दछ । गरिब घरमा जन्मिनु, निम्नवर्ग वा कथित तल्लो जातमा जन्मिनु मानिसको गल्ती होइन तर आफ्ने अधिकारका लागि संघर्ष नगरी जसरी जन्मियो त्यसरी नै मर्नु चाहिँ कायरता हो नपुंसकता हो र आत्मबोधको अभाव हो । त्यसकारण बाँच्नु नै छ, जिउनु नै छ भने उच्च शिर गरेर आत्मसम्मानका साथ बाँच्नुपर्छ । कसैले आफ्नो स्वार्थपूर्तिका लागि अरुको अधिकार र स्वतन्त्रतालाई कुण्ठित गर्न खोज्छ भने त्यसका विरुद्ध संघर्ष गर्नुपर्छ । कलमबाट शान्ति नमिलेपछि, नीति नियम र पक्षपाती कानुन तथा संविधान परिवर्तन नभएपछि बाध्य भएर बन्दुक गोला बोक्नु परेको पीडालाई महाकाव्यले कारुणिक रंग दिएको छ ।
जब कुनै मानिस व्यक्तिगत स्वार्थबाट माथि उठ्छ । जसको मन देशप्रेमले भरिएको छ । जसको हृदय सामाजिक सांस्कृतिक रूपले शोषण तथा उत्पीडनमा परेका तमाम दु:खी मानिसको अवस्थाले द्रवित हुन्छ तब मात्र ऊ आफ्ना रहरहरूलाई समेत सर्वहाराका रहरसित एकाकार बनाई युद्धमा होमिन्छ । यसका लागि महान् चिन्तन तथा उदार हृदयको आवश्यकता पर्दछ । दुनियाँको सुखदु:खमा एकाकार हुने अदम्य साहस भएको वीर इतिहास निर्माणमा सफल हुन्छ । यस्तै वीरको वीरत्व कवितामा यसरी आएको छ :
तिमी एक आमा र यो देश आमा
मलाई दुवैको उही प्यार आमा
तिमी वीर जन्माउने वीर आमा
र यो वीर हुर्काउने देश आमा ।
काव्यका पद्य पढिरहँदा आफ्नै कथा व्यथा पढिरहे झै पाठकलाई लाग्दछ । यो नै काव्यको शक्ति हो । केही संकेत गरेर सबै कुरा भन्ने काव्यको सामथ्र्य र कविको प्रतिभा हो । कलात्मक तथा आलंकारिक भाषा लिपिएको काव्यमा पानीमा माछा खेलेझैँ शब्दहरू खेलेका छन् त्यसैले कुनै पनि पंक्ति निरर्थक र निरुद्देश्य बनेका छैनन् । प्रत्येक पंक्ति नयाँनयाँ भाव उजागर गर्न सफल देखिएका छन् । मानव जीवन सधैँ एकनासको हुँदैन । आपत विपत जुन समयमा जोकोहीलाई पर्न सक्छ । महाकाव्य युद्धको कथा भएकाले यहाँ त विपद नै विपदको बाढी आउने नै भयो । त्यसमाथि प्रकृतिले समेत विपद रूप धारण गरेपछि हुन्छ के त ? महकाव्यले भनेको छ :
संसार भत्क्यो परिवार भत्क्यो
त्यो स्वर्गजस्तो घरबार भत्क्यो
आशा र उत्साह उमंग भत्क्यो
भविष्य निर्माण प्रसंग भत्क्यो ।
महाकाव्यको नायक आफ्नी आमा र श्रीमतीका अगाडि क्रान्तिमा सामेल हुने घोषण गर्दछ एक्कासि :
म बोक्दै छु शस्त्रास्त्रको आज झोला
कि यो ज्यान बच्ला कि यो ज्यान खोला ।
तर श्रीमतीको धारण अर्कै छ :
सिरानी लगाएर झोला र गोला
चढी लास थुप्रो तरी रक्त खोला
रुवाएर मान्छे कहाँ क्रान्ति होला
ढिँडो साग खाऔँ यही शान्ति होला ।
तर श्रीमतीको शान्तिका कुरामा उसको चित्त रमाउँदै । होला ढिँडो सागमा रमाउन सकिएला त र आत्मसम्मानविना त चौरासी व्यञ्जनमा पनि रमाउन सकिँदैन । त्यसैले यो लडाइँ आत्मसम्मानको लडाइँ हो । नयकको निष्कर्ष यही हो ।
विभेद, अन्याय तथा अत्याचारका विरुद्धमा जब विचार चल्न थाल्दछन्, जब कलम चल्न थाल्दछन्, जब बन्दुक बोल्न थाल्दछन् तब अशिक्षित अज्ञानीका पसिनामा पौडी खेलेर शीतलताको अनुभव गर्नेहरूको समय सकिन्छ । पद्य बोल्दछ :
युगौँ चुसेर जो फुले गरीबको परिश्रम
विचारको सियो घुस्यो फुटे तुरुन्त बेलुन ।
युद्धको चपेटामा परेका कतिले परिवार गुमाए । कतिले इष्टमित्र गुमाए । प्रियजनको वियोगमा दु:खी हुन पनि पाएनन् । रुन पाएनन् । आँसुलाई भित्रभित्र दबाएर रणभूमिमा देश परिवर्तन महान् आशा लिएर लडेका छन् । त्यसैले क्रान्तिमा लागेका मानिसलाई महाकाव्यले सम्मान गरेको छ । लडाइँ कसैको रहर होइन तर बाध्यता छ यस्तो :
सबै खेत खन्छन् भकारी छ रित्तो
सबै गोरु जोत्छन् गरी छेउ भित्तो
जहाँ अन्न जो रासका रास फल्छन्
उनैका भुँडीमा मुसा पो दगुर्छन् ।
आफ्नो परिश्रमको रसले आफ्नै आँत भिजाउन नपाएपछि मानिसले युद्ध नगरेर भजन गर्छ त ? युद्ध बाढी हो बाढीले हिउँदभरि थुप्रिएको फोहोर त बगाउँछ नै कतिपय किनारका खेत पनि बगाउँछ । बालीनाली बगाउँछ । पुल पुलेसा कुलो नहर पनि बगाउँछ तर वातावरणको शुद्धताका लागि बाढी जरुरी छ । त्यस्तै राजनीतिक तथा सांस्कृतिक फोहोर बगाउनका लागि युद्धको बाढी आवश्यक छ ।
साँच्चै धर्म समानता यदि भने यो धर्मको युद्ध हो
मान्छौँ कर्म सदा बरोबर भने यो कर्मको युद्ध हो
साँच्चै नै यदि सत्य दृष्टि छ भने यो सत्यको युद्ध हो
साँच्चै चिन्तन न्यायपूर्ण छ भने यो न्यायको युद्ध हो ।
निश्चित पनि युद्ध समयको माग थियो भने त्यसले बोकेको उद्देश्य पनि राम्रा थिए । युद्धबाट खोसिएका सुख अवश्य पनि हृदयविदारक भए नै तर प्राप्त उपलब्धि पनि कम महत्त्वपूर्ण थिएनन् तर तिनलाई स्थापित गर्ने र कार्यान्वयन गर्ने बेलामा नेतृत्वमा देखिएको उदासीनता, पदलोलुपता, विलासिता, सम्पत्तिको मोह, परिवारवाद जस्ता कुप्रवृत्तिले क्रान्तिको उद्देश्य तथा प्राप्तिलाई नै दुषित गराएकामा भने महाकाव्यले असन्तोष र आक्रोश व्यक्त गरेको छ । महान् भनिएको क्रान्तिले पनि केही सीमित व्यक्तिलाई सत्ताको सोपान चढाएको, आन्दोलमा एकताबद्ध मानिसहरू आन्दोलनका प्राप्तिलाई संस्थागत गर्ने बेलामा छिन्नभिन्न भएको प्रति महाकाव्यले खेद व्यक्त गरेको छ ।
विश्रान्त महाकाव्य एक जीवन नभएर हजारौँ जीवनको प्रतिनिधि हो । महाकाव्यले जीवन के हो ? मृत्यु के हो ? देश के हो ? जानता के हुन् ? जस्ता प्रश्न मात्र उठाएको छैन चित्त बुझ्दो उत्तर पनि देखाएको छ । महाकाव्यमा दश बर्से जनयुद्धदेखि वर्तमान राजनीतिसम्मको परिवेशले काव्यत्व पाएको छ । त्यसकारण युद्ध र विषादको कहानी यसमा मुखरित भएको पाइन्छ । काव्यका प्रत्येक पंक्तिमा नेपाली जनताको पीडा छछल्किएको पाइन्छ भने राजनीतिक, सामाजिक, धार्मिक, तथा सांस्कृतिक क्षेत्रमा देखिएका तमाम समस्यहरूलाई वैचारिक ढंगमा केलाउन महाकाव्य सफल भएको देखिन्छ ।
केही व्यक्तिका कुप्रवृत्ति र कुकर्मलाई हेरेर समग्र विचार वा विचारप्रसूत क्रान्तिलाई दुत्कार्न हुँदैन बरु क्रान्तिका क्रममा अपूर्ण देखिएका कार्यलाई वैकल्पिक क्रान्तिका माध्यमबाट पूर्ण गर्नुपर्छ भन्ने सकारात्मक विन्दुमा महाकाव्यले विश्राम लिएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया