सप्ताहन्त

ती सोझा गुरु, त्यो बांगो बाटो

इकागज |
चैत १९, २०७८ शनिबार १५:३७ बजे

गुल्मी यसै पनि कर्णाली जस्तै नेपालको विकट जिल्ला । त्यसको पनि महाविकट, अनकन्टार धुर्कोट भन्ने ठाउँमा थियो हाम्रो पहाडघर । त्यो भन्दा पहिले थप अरु विकट प्युठानको मूलपानी । त्यो भन्दा पनि पहिले कर्णालीको खस उपत्यका । त्यो भन्दा पनि पहिले हालको भारतको पौडी । र त्यो भन्दा पनि पहिले भारत र पाकिस्तान दुबैले आफ्नो भन्ने काश्मिर । के कुराको सुबिस्ताले मोहनी लगाएर त्यहाँ त्यति लामो समयसम्म बसे होलान् हाम्रा पुस्ता भन्ने सोचले मलार्ई अहिले पनि गम खुवाउँछ । बाजे बराज्युहरूले देश दुनियाँ नदेखेको भए छुट्टै कुरा हुन्थ्यो । हजुरबुबाहरू सबै वनारस गएर पढेका मानिस ! सायद मूलको पानी मीठो थियो कि ? जे होस्, धुर्कोट नेटाखर्कमा बाटो हिँड्ने सबैले थकाइ मार्ने सिमलको रुख नजिकै थियो हाम्रो बूढो घर । 

हामीबाहेक अरु सबैले हाम्रो घरलार्ई ‘बुढाघर’ र त्यस घरका मुख्य मान्छे अर्थात् हाम्रा हजुरबुबालार्ई ‘अन्धा पण्डित’ भनेर चिन्ने अनि सम्बोधन गर्ने गर्दथे । हिउँदयाम होस कि गर्मीयाम उहाँँलाई भेट्न आउनेहरूको सधैँ एकनासको लर्को नै हुन्थ्यो रे । हामीलाई देउराली वा गाउँको नेटो वा तल पनाहा खोला बेशी जहाँकहीँ भेट्ने मानिसहरूले ‘यिनीहरू अन्धापण्डितका नातिहरू हुन्’ भनी इज्जत साथ चिन्ने चिनाउने गर्थे । तर मलार्ई उनीहरूले हजुरबुबालार्ई अन्धापण्डित भनेर किन सम्बोधन गरिरहेछन् भन्ने कौतूहलले लामो समयसम्म सताएन । म आफैँमा बिन्दास थिएँ । बाल्यकालको समय नै त्यस्तै ।


हजुरबुबा अन्धो हुनुहुन्छ भन्ने तीतो यथार्थले मेरो मष्तिष्कलार्ई पहिलो पल्ट स्थायी रूपमा पीडा दिने गरी चसक्क घोचेको महसुस हुँदा सायद म छ÷सात वर्षको थिएँ ।

गुल्मीको त्यो अति दुर्गम क्षेत्र धूर्कोटबाट हामी सन् १९७७/१९७८ मा मधेस झर्ने क्रममा थियौँ । औँलो उन्मूलन भएको घोषणा नआइसकेकाले बसाइँसराइ असहज नहोस् भनी बुबाहरूले बस्नका लागि पाल्पा जिल्लाको सदरमुकाम तानसेनमा जस्तापाताको छानो हालेर तिन कोठे घरको विकल्प तयार गर्नुभएको थियो भने खाने मेलोका लागि मधेसमा केही बिगाहा जग्गा किन्नु भएको थियो । हामी अबुझ बच्चाहरूबाहेक अरु सबैमा विकट पहाडको अप्ठेरो जीवन छोडेर तराईमा फल्ने सथरीको भात अनि लतरीको दालसहितको पाल्पाली जिन्दगीको सपना हाबी हुँदै थियो रे । आमा, फुपू र दिदीहरू डोको नाम्लो गर्ने दिनहरूलाई बिदा गर्न पाएकोमा दंग थिए रे । 

हजुरबुबाले आफूसँगै लैजान भनी छुट्टयाउन लगाएका केही पुस्तकबाहेक अरू सबै उहाँले नै स्थापना गरेका केहीमध्ये नजिकैको डौढा प्राथमिक विद्यालयलाई प्रदान गर्ने दिन थियो । मलाई स्मरण छैन विद्यालय जाँदा उहाँँलाई कसले त्यो डरलाग्दो डौढाको डाँडो हुँदै डोर्याएर लगेको थियो । फर्कंदा म र मेरो भाइ सुशीललार्ई घर ल्याउने जिम्मा लगाइएको थियो । आधा बाटो हामीले नै डोर्याएर ल्याएको सम्झन्छु । त्यसपछि हामी खेल्दै, को छिटो घर पुग्ने भन्दै बाजि थापेर दौडँदै घर आउँदा हजुरआमाले खै त हजुरबुबा भनी सोधेको; हामी उत्तरविहीन भएको देखेपछि ‘लौ न यी गधाहरूले अन्धा बूढालार्ई भीरबाट धकेलेर आए जस्तो छ भन्दै चप्पल पनि नखोजी नांगै खुट्टा डाँडातिर दौडेको; आमा पनि उहाँँकै पछिपछि दौडेको क्षण सम्झँदा अझै पनि शरीरभरि भयका रौँ सिरुका घाँसझैँ ठाडा हुन्छन् यद्यपि यो चार दशक अगाडिको घटना हो जसको मुख्य चरित्रको स्वर्गबास भइसकेको पनि तीन दशकभन्दा बढी हुन लाग्यो । 

हजुरआमा र आमाले देख्दाका बखत हजुरबुबा डौढाको त्यो भीरको बाटो छातालाई लठ्ठी बनाएर त्यसकै सहारामा एक्लै हिडेर आउँदै हुनुहुँदो रहेछ । त्यस दिन साँझ परिवारका सबै सदस्यलाई आँगनमा डाकेर हजुरआमाले हजुरबुबा ७६ वर्ष पुगिसक्नु भएको र अन्धो भएकाले उहाँँलाई कँही कतै पनि एक्लै छोड्न नहुने कुरा गर्नुभयो । त्यतिवेला मैले अन्धो भनेको के हो भनी सोध्दा ठूलोदाजुले दिक्क हुँदै ‘गधालाई त्यति पनि थाहा छैन’ भनी कटाक्ष गरेको आवाज अझै पनि पग्लेको सिसा कानमा छिरेको जस्तो महसुस हुन्छ । फुपू दिदीले ‘अन्धो’को अर्थ बताएपछि मेरा विस्फारित आँखा धेरै बेरसम्म बन्द हुन सकेनन् । नेत्र भएरै पनि अन्धो भएको थिएँ, म त्यतिबेला । त्यस रातभर सुत्न सकेको थिइनँ म । डराएको मनले कल्पनामा हजुरबुबा भीरबाट खसेको अयथार्थ दृश्य मलाई झस्क्याउन आइरहेको थियो । 

हामीले अन्तःमनदेखि चेतिसकेका रहछौँ । त्यसपछि कसैले सम्झाउनै नपर्ने गरी म र मेरो भाइ सुशील हजुरबुबाको १९८६ मा स्वर्गे नहुँदासम्म अनवरत सेवामा लागिरह्यौँ । प्रातःकालमा नुहाउनका लागि बाल्टीमा पानी भरिदिनु, तमाखु बनाइदिनु, गोडा माडिदिनु, हरियो खुर्सानी लुकाएर खानासँगै दिएपछि पुरस्कार स्वरूप मिस्री वा छोडा वा किस्मिस पाउनु, बिहान÷साँझ केही समय हरियो चौरमा खाली खुट्टा हिँडाउनु, अनि धर्मग्रन्थ पाठ गर्दा उहाँँको पाठनसँगै पुस्तकका अक्षरमा आँखा दौडाउनु नियमित सेवाका कार्यरूप थिए । दिदीहरूले हजुरबुबाले गर्ने नित्य पूजाका लागि पूजा सामग्रीहरू तयार गरिदिनुहुन्थ्यो ।

तराइ देहात झरे पछि पनि हजुरबुबाले आफ्ना प्रिय पुस्तक ‘पुराण’, उपनिषद् र ‘गीता’ नित्य रूपमा पाठ गर्नुहुन्थ्यो भन्ने हेक्का भयो । अहिले म अनुमान गर्न सक्छु त्यो समयमा दृष्टिविहीन भएर केही देख्न नपाउँदाका अवस्थामा उहाँँका दिनहरू कति पट्यारलाग्दा बनेर व्यथित हुँदा हुन् ।

उहाँले ती पुस्तकहरू पाठ गर्दा मैले र मेरो भाइ सुशीलले पालो गरीकन पुस्तकमा लेखिएका अक्षरहरूमा आफ्ना आँखा दौडाउनु पर्थ्यो । उहाँले एक अक्षर नबिराई पाठ गर्दा कहिलेकाहीँ हामीले एउटा पूरा वाक्य छुटाउनु भयो भनेर झुक्याउन खोज्यौँ भने उहाँले ‘मेरो अध्ययन होइन ज्ञान बोल्छ र ज्ञान यस्तो कुरा हो जसले आफूलाई अपूर्ण छोड्दैन,’ भन्नुहुन्थ्यो ।

सयौँ पुस्तक वर्षौँसम्म पढ्दै जिन्दगी झेलिसकेपछि र समयले खारेपछि बल्ल उहाँको उक्त कथनको सहीअर्थ थाहा पाउँदै छु मैले । हजुरबुबा चर्मचक्षु बन्द भएका अन्धो तर तेस्रो नेत्र खुलेका ज्ञानवेत्ता हुनुहुन्थ्यो तर हामी चाहिँ आँखा भएका तर अगाडिको बाहेक दायाँ बायाँ केही नदेख्ने कच्चा, अन्धा, अज्ञान।

मधेस झरेपछि पनि हजुरबुबाले घर अगाडिको तुलसीको बोटमा हरेक बिहान नित्य जल चढाउनु हुन्थ्यो र पातलाई स्पर्श गरेर हरियो या पहेलो भनी ठ्याक्कै बताउन सक्नुहुन्थ्यो । भाइलाई र मलाई उहाँले गीता एवं पुराण पाठपछि नैतिक शिक्षाका चाख एवं घतलाग्दा कथा सुनाउनु हुन्थ्यो । बनारसमा अध्ययन गर्दा आफूभन्दा केही वर्षमुनिका नेपाली विद्यार्थीहरूका राजनीतिक क्रियाकलाप एवं आफूले उनीहरूलाई दिएका सल्लाह एवं सहयोगका कुरा गर्दा बीपी कोइराला आदिको नाम लिँदा भने हामी केही पनि बुझ्दैनथ्यौँ अनि ठूलोबुबाले अर्थ खुलाइदिनुहुन्थ्यो । बीपीको राजनैतिक निष्ठाको कुरा किन हामी जस्ता उमेरले साह्रै साना मानिसहरूलाई गर्नुभएको होला भन्ने कुराको हेक्का तबसम्म मलाई भएन जबसम्म मेरो आफ्नो छोरीलाई मैले अमेरिकी राष्ट्रपतिको चुनावको प्रसंग आउँदा गर्न पुग्थेँ । सुषुुप्त रूपमा हामी हाम्रा सन्ततिहरू धेरै कुराहरूमा जानकार होऊन भन्ने चाहन्छौँ ।

हाम्रो परिवार कुनै आगोले खारिएर बनेको विशुद्ध सुन जस्तो थिएन । आम परिवारमा जस्तै पारिवारिक सदस्यहरूबीच वैचारिक एवँ अन्य खिचातानी थिए । हजुरबुबा विद्वान् एवं सबैले पुज्ने, नारी पुरुष दुवैका लागि शिक्षाको सर्वसुलभताका पक्षपाती हुनुहुन्थ्यो भने पिताजी चाहिँ महात्मा गान्धीको जेठो छोरा जस्ता : ‘यावत जिवेत सुखम् जिवेत, ऋणम् कृत्वा घृतम् पिवेत’ प्रकारको दर्शनधारी हुनुहुन्थ्यो । ठूलोबुबाको स्वभाव भने ‘सर्वे भवन्तु सुखिन, सर्वे सन्तु निरामया; सर्बे भद्राणि पश्यन्तुमा कश्चित दुःख भाग्ववेत’ भन्ने थियो । उहाँँको राष्ट्रिय चेत एवं सामाजिक र पारिवारिक न्याय रामराज्यको भन्दा कम रहेन ।

बुबाले एकपटक रक्सी पिएर आएको साँझ घरमा हजुरआमासँग वादविवाद पर्यो । आफ्नो शयनकक्षबाटै हजुरबुबाले बुबालाई गाली गर्दै ‘हरे, कस्तो कुपुत्र भयो यो’ भन्नुभयो । 

अर्को दिन बिहान उहाँले मलाई आफ्नो त्यो सानो शयन कोठामा बोलाएर अर्ती दिँदै भन्नुभयो, ‘तिमी जे भए पनि आफ्नो बाबु जस्तो चाहिँ बन्दै नबन्नु । बुझ्यौ !’

८४ वर्ष पुग्दा नपुग्दै हजुरबुवाको देहान्तपछि बुबाले पनि घर छोड्नुभयो । प्रतिकूल परिस्थितिलाई अनि आफ्नो अज्ञानतालाई दोष दिएर म समय समयमा आफ्नै बाबु जस्तै बेस्करी बहकिएँ । यति बहकिएँ कि मानिसहरूले म म रहिन भन्ने सम्झिएँ । मेरो जीवनलाई नजिकबाट देख्नेहरूले मलाई पिउन मन पराउने मानिस ठाने । नचिनेकाहरूको त के कुरा भयो र ? तर मलाई, सिर्फ, मलाई मात्र थाहा छ एउटा मानिस मानिसका रूपमा सग्लो उभिनका लागि कति पल्ट बाँगा बाटाहरूबाट यात्रा तय गर्नुपर्छ, कति पटक त्याग र कति पटक संघर्ष गर्नुपर्दछ भनेर । सायद मेरा बाबुलाई उहाँँको आफ्नो बाबुबाट स्वतः रूपमा आएको प्राकृतिक स्वभाव (डिएनए) लाई मारेर नितान्त आफ्नो स्वभावमा आउन धेरै रक्सीको सेवन सहायक सिध्द भएको थियो होला । मैले आफूलाई हजुरबुबाले चाहेको नाति बन्न धेरै पल्ट आफ्ना बाबुबाट सरेका यावत् स्वभावको हजारौँ पटक हत्या गर्नु परेको छ । यस बीचमा विज्ञान दर्शनका कुरामा नजाऊँ होला । 

जे होस्, मेरा हजुरबुबाले अन्धा तर पुत्र मोहबिनाको धृतराष्ट्रिय जिन्दगी बाँच्नुभयो । गुल्मीमा आजसम्म पनि आदरपूर्वक ‘स्वर्गीय अन्धा पण्डित’का रूपमा चिनिनुहुन्छ ।

मेरा बाबुले सायद आफूले रोजेको जिन्दगी बाँच्नुभयो । निस्फिक्री, निःसन्देह आफूले चाहेको जिन्दगी बाँच्नुभयो । समाजलाई नछोई बाँच्नुभयो । समाजले छुन खोजेपछि अलग्गिएर बाँच्नुभयो । सायद उहाँँलाई आफू मरेर मलामी कमाउने लालसा कहिल्यै थिएन । मरे पछि डुमै राजा ! 

मेरो ठूलोबुबाले देवताको जस्तो जिन्दगी बाँच्दै हुनुहुन्छ । सबैको दुःख आफ्नो शिरमा लिएर श्रिडी साइबाबाको जस्तो जिन्दगी बाँच्नु हँुदैछ ।

यथार्थ चाहिँ यो भयो कि दुनियाँमा एउटै व्यक्तित्वमा गुरु र अभिभावक पाउन सक्ने भाग्यमानी कोही छन् भने तीमध्ये म पनि हुँ भन्ने सम्झँदा मात्र पनि गर्वले छाती चौडा भएको महसुस हुन्छ । आखिर जीवन के नै रहेछ र महसुस हुने कुराहरूको सँगालोबाहेक ? अन्य गुरुहरूको जस्तो शिष्यलाई पढाउने परम्परालाई कायम गरेर मेरा गुरु (जो संयोगले मेरो ठूलोबुबा हुनुहुन्छ) ले मलार्ई कहिल्यै पनि कुनै कथाको माध्यमबाट केही पढाउनु भएन । उहाँँले मलाई आफैँ उठ्न दिनुभयो । उड्न दिनुभयो । लड्नका लागि धरातल दिनुभयो । फेरि उठ्नका लागि समय दिनुभयो । विश्वासरुपी नजर म माथि राख्नुभयो । तर कहिल्यै म उड्दै माथि जाँदै गर्दा वा तल ओर्लँदै गर्दा बट्टाईलाई बलपूर्वक झट्कार्नु भएन । भाङको लस्सी पिएर तीन दिनसम्म सुत्दा पनि, दाजुको बिहेमा बियर पिएर धेरै बोल्दा पनि, दर्जनौँ गल्ती गर्दा पनि कहिल्यै हकार्नु भएन । “गल्ती नदोहोर्याउँदासम्म म यी दुईलाई कहिल्यै गाली गर्ने पक्षमा छैन ।’ म र भाइ सुशीलउपर उहाँँको विश्वास केको जगमा टिकेको थियो मलाई आज पर्यन्त थाहा छैन ।

आजभन्दा ठीक सात वर्षअघि विल्मिटनमा सम्पन्न दश–दिने विपश्यना ध्यान शिविरमा रहँदा सुरुका पाँच दिनसम्म  मसँग जीवन, जगत् र अध्यात्मसम्बन्धी करिब एक पाथी जति प्रश्नहरू हुँदा हुन । बोलेर सोध्न नपाइने हुनाले मैले कागजको टुक्रामा ती प्रश्न लेख्दै गुरुको आशन अगाडि राखिएको सानो ‘प्रश्न–बाकस’मा हरेक दिनजसो खसाल्ने गर्दथेँ । सबै प्रश्नका जवाफहरू प्रशिक्षकबाट शिविरको अन्तिम दिनमा प्राप्त हुने भनिएको थियो । छैठौँ दिनपछि मेरा प्रश्नका गाँठाहरू बिस्तारै बिस्तारै एकपछि अर्को गर्दै फुक्दै गए । दशौँ दिनको समाप्ती नजिकिँदै गर्दा जब प्रशिक्षकबाट अनुत्तरित प्रश्नहरूबारे आग्रह भयो, मसँग सोध्नका लागि कुनै प्रश्न पनि बाँकी थिएनन् ।

विपश्यना ध्यान शिविरको यो प्रसंगले मलाई सधैँ आफ्ना ती अति पूजनीय गुरुको याद दिलाउँछ । म सानो हुँदा सकी नसकी आफूभन्दा ठूला प्रश्नहरूको झोला बोकी हिड्ने गर्दथेँ । म जहाँ गयो त्यहीँ, त्यही सूर्य कसरी देखिन्छ ? मान्छे आफू किन कुकुर जत्ति पनि इमानदार हुँदैन ? मानिस नपढीकनै विद्वान् हुन किन सक्दैन ? इत्यादि प्रश्नले मलाई सताउनु सताउँथे । गुरुको अघि नहुँदासम्म म सधैँ ती झोलाका प्रश्नले थिचिएको हुन्थेँ । तर जब म गुरुको समीप पुग्थेँ, अनुत्तरित प्रश्नहरू सबै हावासरि हराउँथे । यसरी हराउँथे मानाँै ती मसँग थिँदै थिएनन् । झोला आफँै रित्तिन्थ्यो । सधैँ वात्सल्य छचल्किने उहाँँका सजीव नयन, जस्तै अप्ठेरो परिस्थितिमा पनि हाम्रो खुसीका लागि तयार उहाँको त्यो मन्द मुस्कान, उहाँँले बोल्ने छोटा, सरल एवं ओजपूर्ण सुरुवाती वाक्यहरूले मेरा सबै प्रश्नहरूको जवाफ दिइसकेका हुन्थे । अनि म गुरुको हातको बट्टाईको धागोमा झुन्डिएर आकाशिने एक चंगा जस्तै हुन्थेँ । सधैँ उहाँँको नजिक रहन पाए कस्तो आनन्दमय हुन्थ्यो होला जीवन जस्तो लाग्थ्यो । उहाँँको उपस्थितिबाट अलग भएपछि मेरो मनमा बारबार एउटा नयाँ प्रश्न डेरा गर्न आउँथ्यो : गुरुले म के सोध्दै छु भन्ने कुरा कसरी थाहा पाएर मैले सोध्नु अघि नै जवाफ दिन सकेको होला ?

आज गुरुले गायत्री मन्त्र सुनाएको बयालिस वर्ष पुग्दै गर्दा एउटा कुरा नगरी बिट मार्न सकिन । सात समुद्रपारि जीवनको डगरमा ढलपल ढलपल डग्मगिइरहँदा उहाँँको याद आयो कि हरदम मुख मात्र ‘सुँक्क’ होइन गलानै ‘हुँक्क’ भइदिन्छ । उहाँँको यादमा म सधैँ आँखाका डीलभित्र भिजिरहेको हुन्छु । सक्रिय जीवनबाट अवकाश लिनु अघिसम्म सरकारी सेवाको उच्च ओहोदामा पुगेका मेरा गुरुको घरमा छोरा, छोरी, भतिजा, भतिजी, भान्जा, भान्जी, भाइ, बुहारी एवं छरछिमेक सबैका लागि एकदमै सहज हुन सक्ने बहूमुखी व्यक्तित्व झल्झली आँखासामु चलचित्रजस्तै नाचिरहन्छ । पिठ्युँ पछाडि ईश्वरको समेत कुरा काट्ने त्यो वामपन्थी समाजले म हुर्कंदै गर्दा उहाँँलाई धृतराष्ट्रसँग तुलना गरेर मलाई भड्काउने, विचलित बनाउने प्रयास नगरेको होइन । उहाँँलाई ती सबबारे जानकारी हँुदाहँुदै पनि कहिल्यै प्रतिक्रिया जनाउनु भएन । ठूलीआमाले केही भन्नुस् न भनेको खण्डमा उहाँको सधैँ एउटै उत्तर हुन्थ्यो । 

‘मैले प्रतिक्रिया जनाएँ भने समयले के गर्ने ? म को हुँ र समयको काम आफ्नो हातमा लिनका लागि ?’


Author

थप समाचार
x