सप्ताहन्त

नियति : बाघखोर प्रज्ञा—२

लिलाराज खतिवडा |
कात्तिक २२, २०७७ शनिबार १६:३० बजे

झिसमिसेमा युवक बाघ आफ्नो बासस्थान पुग्यो । तर सुनसान ! त्यहाँ उसको परिवारको नामोनिशान थिएन । अघिल्लै दिन सम्भावित खतरालाई आँकलन गरेर भेडाबाख्राको बथान अज्ञात स्थलतर्फ पलायन भइसकेको थियो । 

ऊ आफ्नो ‘घर’मा बसेर अनेक गम खान थाल्यो । म को हुँ ? बारम्बार उसले आफूलाई यो प्रश्न सोधिरह्यो । किन यस्तो भयो ? अनि मलाई नै किन ? कहाँ बेपत्ता भयो मेरो परिवार ? त्यो बूढो बाघले किन ममाथि हमला बोल्यो ? किन उसले मलाई मेरो आफ्नै साथीको रगत चटायो ? अनि किन म त्यो बूढो बाघले जस्तो गर्जिन पुगेँ ? 


त्यस जवान बाघका मनमा अनेक प्रश्न मडारिएर उसलाई विचलित तुल्याइरहेका थिए । गर्धनमा बूढो बाघले गहिरो दाँत गाडेकाले त्यहाँ उसलाई निकै दुखिरहेको थियो । उसलाई हल्का ज्वरो पनि आएको थियो ।

घाम झुल्कियो । वातावरण पुलकित भयो । पशुपन्छी र वनस्पतिहरू घामको पारिलो रापले आनन्दविभोर थिए । तर त्यो युवक बाघ बिल्कुलै किंकर्तव्यविमूढ थियो । घाम झुल्किए पनि उसलाई भने जताततै अन्धकार महसुस भइरहेको थियो ।

घड्याक्क ! 

यत्तिकैमा नजाने कहाँबाट त्यो बूढो बाघ फुत्त त्यहाँ देखा पर्यो । फेरि एकपटक युवक बाघको मुटुको धड्कन तेज हुनपुग्यो । ऊ सतर्क पनि भयो । 
युवक बाघको अवशादग्रस्त हालत देखेर बूढो बाघ जोडसँग हाँस्न थाल्यो । अप्रत्याशित आक्रमणको अन्दाज गरिरहेको युवक बाघ जंगलै थर्काउने बूढो बाघको हाँसो सुनेर छक्क पर्यो ।

अबेर नगरी बूढाले युवकका आँखा छेड्ने दृष्टिपात गरेर भन्यो, ‘नालायक ! हिजो किन भागिस् ? म तँलाई तेरो वास्तविकता उजागर गर्दै थिएँ । तँ भेडो या बाख्रो होइनस् ! तँ एउटा बाघ होस् ! जंगलको राजा !!’

सुनेर युवक बाघका रौँहरू ठाडा भए । ऊ निर्निमेष त्यो बूढो बाघका आँखाहरूमा गुरुत्वाकर्षित थियो । बूढाको रहस्यमय कुराले युवक झन्झनाइरहेको थियो । 
बूढाले अगाडि भन्यो, ‘आइज मसँग । यो तेरो बासस्थान होइन । तेरो बासस्थान त नदीपारिको त्यो घनघोर जंगल हो । हिजो मैले तँभित्रको बाघत्वलाई चोट पुर्याएर हाम्रो जिन्दगीको पहिलो पाठ सिकाएँ । आज अब म तँलाई दोस्रो पाठ सिकाउँछु ।’

चुनाव हार्दैमा यस्तो बिजोग हुन्छ भन्ने जानेको भए ऊ किन घुस्थ्यो, राजनीतिमा ?

बूढो बाघका आश्चर्यजनक कुराले युवकको अवशाद हठात गायब भयो । कताकता उसलाई लाग्यो कि बूढो सत्य बोलिरहेको छ । उसको डर पनि अचानक गायब भइसकेको थियो । कुनै सम्मोहित प्राणीझैँ युवक लुरुलुरु त्यस शक्तिशाली बूढो बाघको पछि लाग्यो । 

नदीमा पुगेर बूढो बाघले भन्यो, ‘हेर् आफ्नो चेहरा पानीमा !’

युवकले नदीको पानीमा परावर्तित आफ्नो चेहरा हेर्यो अनि अझ धेरै छक्क पर्यो । उसले पुलुक्क बूढो बाघको चेहरा पनि हेर्यो । अनि फेरि पानीमा परावर्तित आफ्नो चेहरा नियाल्यो । ऊ घनिभूत आश्चर्यले ओतप्रोत थियो ।

बूढाले गर्जन मिसिएको आवाज ओकल्यो, ‘तँ बाघ होस् ! जंगलको राजा ! अब जाग् ! अनि जंगलमा राज गरेर बस् !’

यस्तो लाग्यो, युवकको ‘इन्स्टिंक्ट’ ह्वात्तै सतहमा आयो । अनि ऊ झन् उग्र पाराले एकपटक फेरि गर्जिन पुग्यो । 

त्यसपछि बूढाले उसलाई घना जंगलमा लगेर छाडिदियो ।

जाँदाजाँदै युवकलाई उसले भन्यो, ‘अब शिकार गर्न सिक् । अनि जंगलमा आफ्नो जिन्दगीलाई मंगल बना ! पढाउनुपर्ने पाठ मैले तँलाई पढाइसकेँ । लौ, गरी खा !’

अनि बूढो बाघ जंगलको घना गर्तमा अलप भयो ।

युवक लगभग जागिसकेको थियो । अचानक उसलाई हनहनी भोक महसुस भयो । ठीक त्यसैबेला एक हुल हरिणहरू बाटो बिराएर उसको छेउमा पुगे । युवकले बिजुली गतिमा छलाङ लगायो र एउटा जवान हरिणलाई कर्यापझ्याप पार्न सफल भयो । अरु हरिण भागारे भाग भए । लाग्यो, युवकको ‘इन्स्टिंक्ट’ पूर्णतः जागृत भएको थियो । 

फटाफट उसले हरिणलाई सफाचट तुल्यायो । उसको मुख र जुँगा रगतले लतपतिए । उसले एउटा भयानक गर्जनले जंगल थर्कायो ।

केही दिनपछि, सर्कसका केही कर्मचारी पासो लिएर आफूलाई चाहिएका जनावर समात्न जंगल घुसेका थिए । पासोमा बाख्रा, भेडा र खरायो जस्ता जनावरलाई राखेर एकातिर लुकेर बसेका थिए ।

युवक बाघ सिकारको खोजीमा जंगल विचरण गरिरहेको थियो । सिकार हान्ने दाउमा ऊ पासोमा परिहाल्यो । सर्कसका कर्मचारीहरूले पासोमा परेका आवश्यक जनावरहरूका साथमा उसलाई सहर लगे । र, सर्कसमा तालिम दिन थाले । 

करिब एक वर्ष सर्कसमा अनेक चटक देखाएपछि एक दिन अचानक निमोनियाका कारण त्यो युवक बाघको असामयिक मृत्यु हुन पुग्यो । कर्मचारीहरूले उसको छाला काढेर राखे ।

०००

एउटा नेताले दोस्रो पटक चुनाव हार्यो । चुनावमा अत्यधिक पैसा खर्च गरेका कारण ऊ दिवालिया भयो । उसलाई पार्टीले तेस्रो पटक चुनावमा उठ्न टिकट दिएन । बरु अनेक आरोप लगाएर साधारण सदस्यताबाट नै निष्काशन गरिदियो । आखिर यहाँ सबै बलेकै आगो जो ताप्ने गर्छन् ।

नेता भोकभोकै पर्यो । स्वास्नीले पनि छोडेर गई । बालबच्चाको बिजोग भयो । अनि नेता कामको खोजीमा निस्कियो । तर कसैले उसलाई काम दिएन । त्यसै पनि नेता, हातमा कुनै सीप थिएन । गफ दिएर खान पल्किएको । अनेक ढोङ र आडम्बरमा जिएको । बिचौलियाका रूपमा ज्यादा काम गरेको । अनि दुई पटक चुनाव हारेको ! कसले के काम दिने ?

अहँ, त्यो नेतालाई कसैले काम दिएन । दिनभरि काम खोजेर ऊ साँझ लखतरान भएर घर फर्किन्थ्यो । घरमा अन्नको एउटा गेडो पनि थिएन । यति उधारो खाएको थियो कि टोलमा मुख देखाउन लायक पनि थिएन, ऊ । मान्छेहरूले उसलाई पत्याउन छाडिसकेका थिए । दुई सन्तानको बिजोग नै हुन पुगेको थियो । साँझ डेरा नजिकैको एउटा पसलमा गएर उसले अनेक बिलौना गर्यो । अनि एक किलो चामल र आधा किलो आलु फुत्काएरै छाड्यो । 

अघिसम्म चार पाउ टेकेर खेल देखाइरहेको ऊ अर्को बाघ पिँजडामा घुसेपछि दुई खुट्टा टेकेर ठिंग उभियो । अनि चिच्यायो, ‘बचाओ, बचाओ !’

उसले चामल र आलु एकै ठाउँ राखेर उसिन्यो । भुटुन पनि सकिएको थियो । नुनसँग केटाकेटीले उसिनेको आलु र भात खाए । उसलाई त्यो खाना निलिएन । रातभर ऊ निदाएन । उसलाई पार्टी र राजनीतिसँग अत्यधिक घृणा जागेको थियो । चुनाव हार्दैमा यस्तो बिजोग हुन्छ भन्ने जानेको भए ऊ किन घुस्थ्यो, राजनीतिमा ?

भोलिपल्ट बिहानै ऊ पुनः कामको खोजीमा निस्कियो । सहरमा एउटा सर्कस लागेको थियो । अचानक ऊ सर्कसको कार्यालय पुग्यो र व्यवस्थापकलाई भेट्यो । अनि एउटा जागिरका लागि अनुनय गर्न थाल्यो ।

नेताले भन्यो, ‘जे काम पनि गर्छु हजुर ! सर्कसका घोडाहरूको लिदी पनि सोहोर्छु । कुकुरहरूलाई नुहाइदिन्छु । मलाई काममा राख्नुहोस् !’

व्यवस्थापकले बडो मिहिन पाराले नेतालाई माथिदेखि तलसम्म हेर्यो । अनि सोध्यो, ‘पहिले के काम गर्थ्यौ ?’

नेताले भन्यो, ‘राजनीति गर्थें । चुनाव हारेँ । बिजोग भो । जसरी पनि मलाई एउटा काम मिलाइदिनुपर्यो, हजुर !’

‘नेता जस्तो मान्छेले सर्कसमा के काम गर्न सक्छौ, होला ?’ व्यवस्थापकले संशय व्यक्त गर्दै सवाल गर्यो ।

नेताले घड्याप्पै व्यवस्थापकको पाउ समात्यो र थप अनुनय गर्न थाल्यो । व्यवस्थापकलाई अलिक दया पनि पलायो । उसले नेताका आँखामा घोचेर हेर्दै भन्यो, ‘गर्ने नै हो भने एउटा काम छ !’

‘गर्छु हजुर ! जे पनि गर्छु !’ नेताले बडा टिठलाग्दो आवाजमा भन्यो ।

व्यवस्थापकले अगाडि भन्यो, ‘हाम्रो एउटा बाघ केही दिनअघि मर्यो । त्यसको छाला हामीले काढेर राखेका छौँ । तिमीले त्यो छालाभित्र पसेर बाघको अभिनय गर्नुपर्छ । बाघको गर्जन रेकर्ड गरेको एउटा सानो क्यासेट पनि हामी तिमीलाई दिनेछौँ । बस् तिमीले बेलाबेला त्यसको बटन दबाउनु पर्छ । तयार छौ ?’

सुनेर नेता निकै खुसी भयो । भन्यो, ‘गरिहाल्छु नि, त्यो जाबो काम ! मैले जीवनभर त्यही त गरेँ । नजाने कति किसिमका आवरणहरूमा घुसियो । कस्ताकस्ता भेष बनाइयो । कस्ताकस्ता अभिनय गरियो । क्यासेट प्लेयर जसरी नै बोलियो पनि । पार्टीले जेजे भन् भन्यो त्यही त बोलियो !’

व्यवस्थापकले भन्यो, ‘तिमी आजैबाट काम थाल्न सक्छौ । आज अभ्यास गर्नू । भोलिबाट दर्शकहरूलाई बाघ बनेर तमासा देखाउनु पर्छ । तयार छौ ?’ 

नेताले सहमतिको टाउको हल्लायो । 

अनि उसलाई बाघको छालाभित्र घुस्न लगाइयो । अनि ऊ तमासा देखाउने अभ्यास गर्न थाल्यो । यो काम उसलाई औधि मजा आयो ।

भोलिपल्ट सबेरै ऊ काममा पुग्यो । बाघको छाला ओढ्यो । स्यानो क्यासेट प्लेयर पनि साथै लियो । अनि चार पाउ टेकेर बाघको जस्तो छलाङ लगाएर चटक देखाउन थाल्यो । बेलाबेला ऊ क्यासेटको बटन दबाएर बाघको गर्जनको आवाज निकाल्थ्यो । दर्शकहरूले मजा लिई लिई बाघको खेल हेरे ।

साँच्चै नै केही दिन काम गरेपछि नेतालाई खुब जोस चलेर आयो । उसलाई यो काम बडा गज्जब पनि लागेको थियो । केही दिनमा नै ऊ काममा पोख्त पनि हुन पुगेको थियो ।

उसको खेल हेरेर दर्शक निकै खुसी थिए । व्यवस्थापकले उसको तलब पनि बढाइदिएको थियो । कसैले अन्दाजसम्म पनि गर्न सकेनन् कि बाघको छालाभित्र चुनाव हारेको एउटा नेता घुसेर तमासा देखाइरहेको छ ।

आठ महिना बिते । एक दिनको कुरा हो, पिँजराभित्र बाघको छालामा घुसेर नेता बडो मजाले खेल देखाइरहेको थियो । दर्शकहरू चाख मानेर उसको खेल हेरिरहेका थिए । यत्तिकैमा अचानक पिँजराको ढोका खुल्यो र अर्को एउटा बाघ त्यहाँ घुस्यो । नेताको सातोपुत्लो उड्यो ।

अघिसम्म चार पाउ टेकेर खेल देखाइरहेको ऊ अर्को बाघ पिँजडामा घुसेपछि दुई खुट्टा टेकेर ठिंग उभियो । अनि चिच्यायो, ‘बचाओ, बचाओ !’
दर्शकहरू छक्कै परे । यो के भइरहेको छ ? यो कस्तो आश्चर्य हो ? 

यत्तिकैमा समय नगुमाई अर्को बाघ नेताको छेउमा आयो । नेता बेहोस हुँदाहुँदै बच्यो । तर अर्को बाघले उसको कानैनिर गएर भन्यो, ‘चुप लाग् घामड । तैँले मात्रै चुनाव हारेको छस् ? मैले पनि त चुनाव हारेको छु !’


Author

थप समाचार
x