सप्ताहन्त

जे सार्थक

चिरञ्‍जीवी मास्के |
चैत १४, २०७७ शनिबार १३:२२ बजे

अलिक पहिलेको कुरा हो । म ‘प्रत्येक ठाउँ, प्रत्येक मान्छे’ सम्झिरहेको थिएँ । ‘प्रत्येक ठाउँ, प्रत्येक मान्छे’ (उपन्यास) पढ्न पाएको भए एउटा उपलब्धि नै हुने थियो भन्‍ने मलाई लागिरहेको थियो । एउटा अनलाइनको खबरले मलाई झस्काइदियो । ७७ वर्षको उमेरमा पिटर जे. कार्थकको मृत्यु ! 

कार्थक उनै थिए, जसले २०३४ सालको साझा पुरस्कार प्राप्त (शङ्कर लामिछानेको भूमिका रहेको) ‘प्रत्येक ठाउँ, प्रत्येक मान्छे’ लेखेका हुन् । पिटर जे. कार्थकको बाल्यकालसँग मेरो बाल्यकाल फिटिक्कै मेल खाँदैन । फेरि पनि एउटा समानता छ, उनको र मेरो । मामाघरको पालनपोषण । 


दार्जीलिङको नोरबस्तीमा रहेको मामाघरमा पिटर जे. कार्थकको बाल्यकाल बित्यो । दार्जीलिङबाट कस्सिएर हिँड्दा दुई दिनमा पुगिने नोरबस्तीले कार्थकलाई धेरै कुरा सिकाएछ । नोरबस्तीका साथीहरुसँग गोठाला र खेताला गएको परिवेशले धेरै कुराको पाठ सिकाएको हुनुपर्छ । दार्जीलिङबाट नोरबस्ती लाग्दा भेटिने पुलबजार, बिजनबारी जस्ता ठाउँले उनलाई एउटा सफल लेखक बनाउन धेरै कुरा दिएको हुनुपर्छ । 

नोरबस्ती र बिजनबारीमा प्राथमिक तहको अध्ययन सकेर दार्जीलिङ उक्लिएका पिटर जे. कार्थकले युवा अवस्थामै गीत, सङ्गीत र साहित्यका धेरै आयाम पार गरिसिध्याए । तर जीवनको महत्वपूर्ण पल काठमाडौँमा बिताएका कार्थकलाई काठमाडौँले नै आफूसँग लीन गराएको छ । 

कार्थकसँगको त्यो समानता मैले दोलखाको चरिकोटमा बिताएँ । यद्यपि म चरिकोटमै छु, मामाघरकै आश्रयमा । तर त्यो बाल्यकाल अब मेरो स्मृतिमा मात्र रहेको छ । किनभने बाल्यकालको त्यो पल अब फिर्ता हुन सम्भव नै छैन । चरिकोटमा अहिले व्यक्ति, वातावरण र बस्तीसमेत परिर्वतन भएको छ । 

बाल्यकालमा चरिकोटको जैकुटीमा स्कुलबाट भागेर एक्लै भाँडाकुटी खेलेर बसेको, सातदोबाटो, भालुखोला र पुशपति डाँडामा ग्याविन तारको मोटर बनाएर गुडाउँदै दौडिएको, आसपासका दाँैतरीहरुसँग लुकामारी खेल्दै रमाएको सबै सबै स्मरणमा मात्र रहेको छ । 

रातभरिको हिमपातले भोलिपल्ट सखारै घरको आधा ढोका नै ढाकिएको र छानामा जमेको हिउँ हप्तौँसम्म टल्किरहेको सम्झना घोरिएर आँखा चिम्म गर्दा फ्ल्यासब्याकजस्तै खण्डखण्डमा स्खलित हुँदै जान्छ । विद्यार्थी कालमा चरिकोटमै राजेन्द्र मानन्धर, शम्भु गौतम, भोजराज न्यौपाने जस्ता सहकर्मीहरुसँग साहित्यिक प्रकाशन, छलफल र गोष्ठी तथा प्रतियोगितामा निक्कै सक्रिय बनियो । हाम्रो साहित्यिक अभियानमा आदरणीय गुरुहरु देवदास श्रेष्ठ (स्वर्गीय), कृष्णबहादुर गौतम, चोकबहादुर दहाल, चित्रबहादुर केसीलगायतले खुबै उत्साह भर्नुभयो । सहयोग तथा साथ दिनुभयो । २०४५/०४६ सालतिरको त्यो साहित्यिक लगावकै परिणति थियो, ‘प्रत्येक ठाउँ, प्रत्येक मान्छे’ पढ्ने उत्सुकता । 

त्यसो त दार्जीलिङ पृष्ठभूमिमै लेखिएका प्रकाश कोविदको ‘देवता’, ‘अर्को जन्म’ जस्ता उपन्यासले मलाई साहित्यिक शब्द र वाक्यहरुमा लयबद्ध गरिदिएको थियो । अनि दार्जीलिङको पृष्ठभूमिमा परिचित । अहिले पनि म टिस्टा- रङ्गुल, मिरिक, घुम बस्ती, जौ बारी, सुकिया जस्ता नामसँग परिचित छु जस्तै लागिरहन्छ ।

पिटर जे. कार्थकको ‘प्रत्येक ठाउँ प्रत्येक मान्छे’ उपन्यास मैले सर्वाधिक खोजी गरेको साहित्यिक कृति हो । उनको मृत्यु मेरा लागि कोही परिचित मान्छे गुमाएजस्तै भएको छ ।   

पिटर जे. कार्थकले दार्जीलिङमै इन्द्रबहादुर राई जस्ता गुरुसँग शिक्षा लिन सके । शिवकुमार राईका उपन्यासहरु पढेर आमाले गर्नुभएको खुसीको अनुभूतिले उनलाई लेखक बनाउन प्रेरित गर्‍यो । ईश्वर बल्लभ, अम्बर गुरुङ जस्ता गुरुहरुबाट सङ्गीत सिक्न सकेका पिटरले रन्जीत गजमेर, प्रताप सुब्बा, अरुण थापा जस्ता सहयात्री पाउन सकेकाले पनि संगीत र लेखनको राम्रो गन्तव्य पहिल्याउन भ्याए । 

उनै लेखक साहित्यकार पिटर जे. कार्थकको ‘प्रत्येक ठाउँ प्रत्येक मान्छे’ उपन्यास मैले सर्वाधिक खोजी गरेको साहित्यिक कृति हो । पिटर जे. कार्थकको मृत्यु मेरा लागि कोही परिचित मान्छे गुमाएजस्तै भएको छ । पिटर जे. कार्थकलाई मैले देखेको या भेटेको हैन । केही समय पहिले नै सेतोपाटी अनलाइनमा उनको उपन्यास ‘प्रत्येक ठाउँ, प्रत्येक मान्छे’बारे पढेपछि उनीबारे जान्ने खुलदुली भने पक्कै मनमा थियो । र ‘प्रत्येक ठाउँ, प्रत्येक मान्छे’ जसरी पनि पढ्ने हुटहुटी लागेकै हो । तर त्यो उपन्यासको खोजीमा त्यति बेला साझा प्रकाशनदेखि रत्नपार्क, पुतलीसडक र प्रदर्शनी मार्गका सबै पुस्तक पसल चहार्दा पनि भेट्न नसक्दा स्वाभाविक रुपमा निराशा बढेको थियो । झन् पुस्तकको लेखकको मृत्युले त मनका उराठिला भाव गन्तव्यहीन शृङ्खलामा अघि बढेको भान  भइदियो । अहिले मेरो हातमा पिटर जे. कार्थकको ‘प्रत्येक ठाउँ, प्रत्येक मान्छे’ परेको छ । 

ब्रिटिस शासकले भारतको दार्जीलिङलाई सबै कुराले सम्पन्न बनाइदिएको छ । पिटर जे. कार्थकको ‘प्रत्येक ठाउँ, प्रत्येक मान्छे’ पढ्ने आकांक्षा जन्मनुको एउटा कारण दार्जीलिङको सुन्दरता पनि हो । मूल कारण भने इन्द्रबहादुर राई, अम्बर गुरुङ, गोपाल योञ्जन, सूर्यविक्रम ज्ञवाली, धरणीधर कोइराला, पारसमणि प्रधान, डेनी डेन्जोम्पा, रणजीत गजमेर, ईश्वर बल्लभ, प्रताप सुब्बा, अरुण थापा जस्ता लेखक, साहित्यकार, गीतकार, कलाकार, संगीतकारलाई अद्भुत प्रतिभा प्रष्फुटित गर्न सहयोगी बनेको थलो (दार्जीलिङ) बारे जान्ने उत्सुकता नै हो । 

दार्जीलिङले नेपाली साहित्यलाई धेरै दिएको छ । साहित्यिक कृति, साहित्यकार, गीत, संगीत र त्यसका सर्जक सबै दिएको छ । चिसोले कठांग्रिएर हुस्सुको हुलसँग बाफिँदै दार्जीलिङमा युवावस्था बिताएका धेरै सर्जक कुनै न कुनै माध्यम र मनस्थितिबाट अभिप्रेरित हँुदै काठमाडौँ झरेपछि सहिद गेट र सिंहदरवार वरपर वसन्त ऋतुमा झरीसँग खुलेका बैजनी ज्याकारान्डा फूलसँग साइनो गाँस्दै यतै भुलेका छन् । 

तिनैमध्येका एक हुन्, पिटर जे. कार्थक । वीरगञ्ज हुँदै काठमाडौँ आएका उनले दार्जीलिङको परिवेश समेटिएको ‘प्रत्येक ठाउँ, प्रत्येक मान्छे’ मात्र लेखेका छैनन्, काठमाडौँ परिवेश समेटिएको अंग्रेजी साहित्य पनि लेखेका छन् । र अर्को अंग्रेजी पुस्तक लेखनकै क्रममा उनको मृत्यु भएको छ । 

म उनीजस्तो लेखक बन्न सक्दिनँ किनभने मलाई साहित्य लेख्‍न आउँदैन । तर म साहित्य पढ्न असाध्य धेरै रुचि राख्छु । त्यसैले त मेरा हात, मन र मस्तिष्कमा अहिले पनि ‘प्रत्येक ठाउँ, प्रत्येक मान्छे’ छ । पिटर जे. कार्थकलाई सार्थक सलामी र शब्दाञ्‍जलि ।  


 


Author

थप समाचार
x