विश्व

भारतमा कोरोनाबाट एकैदिनमा ८१ हजार सङ्क्रमित, ४६९ जनाको मृत्यु

इकागज |
चैत २१, २०७७ शनिबार ५:५४ बजे

नयाँदिल्ली : भारतका कोरोना भाइरसबाट सङ्क्रमित र मृत्यु हुनेको सङ्ख्या दिन प्रतिदिन तीव्र रुपमा बढ्दै गइरहेको छ । सरकारी अधिकारीले शुक्रबार दिएको जानकारी अनुसार भारतमा एकै दिनमा थप ८१ हजार ४६६ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।  

त्यसैगरी ४६९ जनाको पछिल्लो २४ घण्टामा कोरोनाकै कारण मृत्यु भएको पनि अधिकारीले जनाएका छन् । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार भारतमा अहिलेसम्म कूल सङ्क्रमितको सङ्ख्या एक करोड २३ लाख तीन हजार १३१ पुगेको छ । 


भारतमा कोरोनाभाइरसबाट मृत्यु भएकाहरुको कूल सङ्ख्या भने एक लाख ६३ हजार ३९६ पुगेको पनि अधिकारीहरुले जानकारी दिएका छन् । भारतमा अहिले पनि छ लाख १४ हजार ६९६ जना कोरोनाबाट सङ्क्रमित अवस्थामै रहेका छन् ।  

सङ्क्रमित र मृतकहरुको सङ्ख्या दिन प्रतिदिन बढ्दै गए पनि राजधानी दिल्लीमा भने लकडाउन लागू गर्ने कुनै योजना नरहेको मुख्यमन्त्री अरविन्द केजरीवालले बताएका छन् । महामारी फैलिँदै गएकाले फेरि लकडाउन लागू हुने आशंका र चर्चा चलिरहेका बेला शुक्रबार उनले लकडाउन लगाउने योजना नरहेको स्पष्ट पारेका हुन् । (एएनआई)


Author

थप समाचार
x