एक छाक खानाका लागि श्रीलंकामा छट्पटाइरहेकी गर्भवती साहना
श्रीलंका संकट :
कोलम्बो- सबैभन्दा पहिला तपाईंलाई बास्नाले तान्छ त्यो पनि ताजा पकाएको भात, दाल र साग । ती पकाएका भात, दाल तरकारी अथवा साग लाइनमा लामवद्ध भएको दर्जनौँ परिवारलाई प्लेटमा पस्किने गरिन्छ । लाइन लाग्नेमा बच्चाका आमाहरू पनि हुन्छन् । तर त्यसरी प्राप्त खाना उनीहरूका लागि दिनभरमा केवल एक छाकका लागि मात्र पनि हुन सक्छ । ‘हामी भोकै भएकाले यहाँ आएका हौँ,’ चार सन्तानकी आमा चन्द्रिका मानेल भन्छिन् ।
आफ्ना छोराछोरीलाई खुवाउनुअघि दाल र पालक मिसाएर हातले भातको गोला मुछेपछि उनी खाना किन्न पनि संघर्ष गर्नुपरेको उनी बताउँछिन् । ‘कुनै निश्चित समयमा म उनीहरूलाई दूध र चामल दिन्छु, तर कुनै तरकारी पकाउँदिन किनभने तरकारी धेरै महँगो छ ।’
घटेको विदेशी सञ्चिति र बढ्दो मुद्रास्फीतिले पछिल्ला महिनाहरूमा श्रीलंकाको अर्थतन्त्रलाई ध्वस्त पारेको छ । राज्यको कोषलाई संकुचित गर्ने कर कटौती तथा महत्वाकांक्षी पूर्वाधार परियोजनाहरूको लागि चीनबाट लिइएको ठूलो ऋण र शासकीय अव्यवस्थाले नै संकट निम्त्याएको मानिन्छ ।
पर्यटनलाई असर गर्ने महामारी तथा युक्रेनमा जारी युद्धका कारण तेलको मूल्यमा भएको असामान्य बढोत्तरीले श्रीलंकाको अवस्था झन खराब बनाएको छ ।
युनाइटेड नेसन्स चिलड्रेनका अनुसार श्रीलंकामा अब मानवीय संकटको संघारमा छ । उसका अनुसार श्रीलंकाका ७० प्रतिशत परिवारले २०२२ को सुरुवातसँगै खानामा कटौती गरेका छन् भने देशमा इन्धन र आवश्यक औषधीको मौज्दात सकिने अवस्थामा छ ।
'मेरा बच्चाहरू दु:खी र खराब अवस्थामा छन्'
मानेल पहिलो पटक सामुदायिक भान्सासम्म पुगेकी हुन् किनभने उनले अन्य विकल्पहरू पाउन सकेकी छैनन् । ‘जीवनको लागत धेरै उच्च छ, हामी बाँच्न ऋण लिइरहेका छौं,’ उनी थप्छिन् ।
एक एकल महिला तीन दिनसम्म कटहरमात्र खाएर बस्न बाध्य भएपछि पास्टर मोसेस आकाशले एक महिना अघि मात्र कोलम्बोको एक चर्च हलमा भान्सा सञ्चालन गरेका हुन् । मोसेसका अनुसार विगत चार महिनादेखि दोस्रो छाक खान नपाएकाहरू यहाँ आउने गरेका छन् । र यहाँ खाना लिन आउने संख्या ५० बाट बढेर २ सय ५० सम्म पुगेको छ ।
किनभने केवल जुन महिनामा खाद्यान्नको मूल्यमा ८० प्रतिशतले वृद्धि भएको छ । ‘मैले अधिकांश बालबालिकाहरू देखेको छु र उनीहरू मध्ये अधिकांश कुपोषित छन्,’ मोसेस बताउँछन् ।
३४ वर्षीया गर्भवती साहना पनि आफ्ना तीन साना छोराछोरीसँग लाइनमा छिन् । उनको बच्चा सेप्टेम्बरमा जन्मने छन् र उनी भविष्यको बारेमा चिन्तित छिन् ।
‘मेरा छोराछोरीहरू दु:खी छन् । उनीहरूले पीडा भोगिरहेका छन् । म मेरा बच्चाहरूलाई बिस्कुट वा दूधको प्याकेट पनि किन्न सक्दिन,’ साहना बताउँछिन् । साहनाका श्रीमान ज्यालादारी मजदुर हुन् र उनले हप्तामा केवल १० अमेरिकी डलरमात्र कमाउँछन् ।
‘हाम्रा नेताहरू राम्रो जीवन बिताइरहेका छन् । यदि तिनीहरूका छोराछोरीहरू खुसीसाथ बाँचिरहेका छन् भने, मेरा छोराछोरीहरूले किन सक्दैनन् ?, ’ उनी सोध्छिन् ।
जतिबेला साहनाका बच्चा जन्मिनेछन्, त्यतिबेलासम्म अवस्था थप नाजुक हुने आशंका गरिएको छ ।
कोलम्बोका मेयरले हालसालै राजधानीसँग केवल सेप्टेम्बरसम्मका लागि मात्र खाद्यान्न रहेको बताएका थिए ।
इन्धन तथा खाना पकाउने ग्यासका साथै दैनिक विद्युत कटौतीका कारण मानिसहरुले ताजा खाद्यान्न खरिद तथा तयार पारिएका ताजा खाना किन्न जान असमर्थ छन् ।
‘परिवारले पहिल्यै खरिद गर्दै आएका बस्तु खरिद गर्न असमर्थ छन् । उनीहरुले खानाको मात्रामा कटौती गरिरहेका छन् जसका कारण बालबालिकामा कुपोषणका खत्तरा छ,’ युनिसेफका प्रतिनिधि क्रिस्चियन स्कुगले भने ।
(बीबीसीका लागि रजनी वैद्यनाथनले लेखेको आलेख इकागजका सञ्जीव शाहले भावानुवाद गरेका हुन्)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया